विकास कोषबाट ५ करोड पाउने भएपछि कास्की सांसदका मिश्रित प्रतिक्रिया: विद्या भन्छिन् –‘गलत’

कास्की | जेठ १६, २०८०

विकास कोषबाट ५ करोड पाउने भएपछि कास्की सांसदका मिश्रित प्रतिक्रिया: विद्या भन्छिन् –‘गलत’

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

 

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५‍.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ ।

 

सरकारले यसपटक सांसद विकास कोषमार्फत प्रत्येक निर्वाचित सांसदलाई ५ करोड रुपैयाँ आफ्नो क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्न छूट दिएको छ । जसअनुसार १ सय ६५ सांसदलाई दिन ८ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ । 

 

सांसद विकास कोषमार्फत छुट्याइएको ५ करोड रुपैयाँबारे यसो भन्छन् कास्कीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद:

 

मनबहादुर गुरुङः (कास्की क्षेत्र नम्बर–१)

अब जनताले संघीय सांसदलाई नियम, कानूनमात्रै बनाऊ है भन्छन् भने अलग कुरा हो । तर विकास पनि चाहिन्छ भन्ने हो भने  सांसद विकास कोष ठिकै हो । आफ्नो क्षेत्रमा आवश्यकता हेरेर सांसदले विकासकाखातिर योजना बनाइ खर्च गर्नु उचित हो । बरु उक्त रकम ठिक ठाउँमा खर्च भए नभएको हेर्नुपर्याे, खबरदारी गर्न पर्यो । 

 

बजेटमा चालुभन्दा पूँजीगत खर्च कम आएकाले विकास कोषको रकमले निर्वाचन क्षेत्रको विकासमा टेवा पुग्न सक्छ । आफुले जिताएर पठाएको सांसदसँग जनाता जोडिने प्रभावकारी माध्यम पनि हो विकास कोष । 

 

५ करोड रुपैयाँ संघबाट चलाउँदा त्यसको प्रतिफल न्यून पनि हुनसक्छ । तर यही रकम निश्चित क्षेत्रमा त्यहाँको आवश्यकताअनुरुप खर्च गर्न सकियो भने त्यसको लाभ प्रत्यक्षरुपमा जनताले पाउँछन् । एकोहोरो ५ करोड रुपैयाँ ​सांसदलाई दिइयो भनेर विरोध हैन, हामीले पायौं अब रचनात्मक सुझाव र पारदर्शितातर्फ लागौं भनेर आमजनता सक्रिय भएको राम्रो हो । अझ यसरी बुझौं, यो रकम सांसदमार्फत जनताले पाएको बजेट हो । 

 

विद्या भट्टराई: (कास्की क्षेत्र नम्बर २)

बजेटले पुनः ब्युँझाएको सांसद विकास कोषप्रति सुरुदेखि नै मेरो सैद्धान्तिक असहमति छ । रवीन्द्र अधिकारीपछिको मेरो कार्यकालमा कोषले निरन्तरता पाउँदा पनि ४ करोड रुपैयाँको हिसाबकिता प्रेसमिटमार्फत सार्वजनिक गरेको हुँ । एक शब्दमा भन्नुपर्दा यो ‘गलत’ हो ।

 

कोषप्रति मुलतः मेरा ३ असहमति छन् । पहिलो असहमतिको कारण हो, सांसदबीचको विभेद । कोषमार्फत प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड रुपैयाँ विनियोजन गर्दा समानुपातिकबाट सांसद भएकाहरुप्रति विभेद गरेको ठहर्छ । जनताको प्रतिनिधिबीच भेदभाव गर्ने कोष अव्यवहारिक छ । 

 

व्यवस्थापिका संसद भनेको राष्ट्रिय नीति निर्माणको थलो हो । यहाँ सांसद स्वयंले कति रकम लिने वा दिने भनेर अभ्यास गर्ने हैन । संसदको मर्मविपरित काम भइरहँदा जनस्तरबाट खेप्नु परेको प्रश्न र सुन्न परेको आलोचनाले राम्रो सन्देश जाँदैन भन्ने मेरो दोस्रो असहमति हो । 

 

त्यस्तै, विनियोजित रकम कहाँ, कसरी खर्च गर्ने भन्ने कार्याविधि छैन । आफुखुशी खर्च गर्दा दुरुपयोग हुँदैन भनेर भन्न सकिँदैन । त्यसको अनुगमन गर्ने बलियो संयन्त्र छैन । चेक एण्ड ब्यालेन्स गर्ने बलियो मेकानिज्म नहुँदा बजेटको नतीजा अब्बल आउँदैन । महालेखा परीक्षकको प्रतिवेदन हेर्ने हो भने सरकारी पैसाको दुरुपयोग नभएको कुनै ठाउँ भेटिदैन । यसकारण सांसद विकास कोषप्रति मेरो पहिल्यैदेखि असहमति छ । 

 

दामोदर वैरागी:  (कास्की क्षेत्र नम्बर-३)


हामीलाई बजेट दिनुभन्दा ऐन, कानून निर्माण र विकास आयोजनााको अनुगमनमा खटाएको भए राम्रो हुने थियो । तर बजेटमा व्यवस्था भइहाल्यो अब आवश्यकताअनुसार ठूलासाना काम गर्नेतर्फ लाग्दा नै वेश हुनेछ । त्यसो त पूँजीगत खर्चमा कम बजेट छुट्याइएकाले कोषको रकमले निर्वाचन क्षेत्र भनौ वा स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने नै छ । 

 

निर्वाचन क्षेत्रमा २०–५० लाखको बजेटले पनि करौडौको काम हुने गरेको उदाहरण भएकाले यसको प्रत्यक्ष लाभ जनताले पाउनेछन् । यद्यपि, सांसदलाई ५ करोड दिनु भन्दा पनि १–१ करोडका ५ आयोजना दिनुपर्छ भनेर हामीले सदनमा माग गरेका हौं । प्रतिपक्ष र गठबन्धनका अघि हामी सानो देखिएकाले सुनुवाई भएन । 

 

हाम्रो पार्टी नेकपा एमालेका प्रमुख सचेतक र सचेतकतले विरोध गर्दागर्दै पनि प्रस्तावमा समर्थन जनाउन बाध्यकारी भयो । समर्थन नगर्दा पनि कोष विरोधीको ट्याग लगाइन्थ्यो । 
 

 

जहाँसम्म कार्यकता पोस्ने भन्ने आरोप छ, त्यस्तो हुँदैन । कोषबाट अघि बढ्ने योजना र कामको प्रत्यक्ष अनुगमन गर्ने काम जिल्ला समन्वय समितिको हो । कोषले गर्दा जिसस पनि सक्रिय हुने भएको छ । यहाँ ५ करोड लिएर मनपरी गर्ने छूट सांसदलाई छैन । मतदाताहरुको चेतना र हाम्रो उत्तरदायित्वकाकारण कोषको प्रत्यक्ष लाभ जनताले पाउनेछन् । 

म्याग्दीः   डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ।   पैतालिस दिनको अवधिमा  जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्य...

थप पढ्नुहोस्

गोरखाः  वि.सं २०७२ साल वैशाख १२ को भूकम्पमा ज्यान गुमाएहरुको सम्झनामा बारपाकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।   बारपाक सुलिकोट गाउँपालिकाले वुधबार भूकम्पमा परी दिवंगत भएकाहरुको सम्मान...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका १४ चाउँथेमा गएराती बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको पर्यटक बसले सोही दिशातर्फ जाँदै गरेको...

थप पढ्नुहोस्