रूपन्देही: रुपन्देहीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–७ भैसाघानका २० वर्षीय रियाज अहमद रहेका छन् । रियाजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले उनलाई सोमबार राती पक्राउ गरेको थियो । पक्राउ परेका रियाजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संघका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी र हालको आर्थिक मन्दीका कारण अप्ठेरोमा परेको सञ्चारजगतलाई अनुदान कटौतीले अझै आहत पुग्ने भन्दै सरकारलाई यसतर्फ छिटो ध्यान दिन आग्रह गरिएको छ ।
काठमाडौं: गृह मन्त्रालय (सचिवस्तर)को जेठ ५ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो । प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेललाई प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । सो अवसरमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै जिम्मेवारीसमेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाउनुपर्ने निर्देशन दिए । उनले संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्नेसमेत बताएका थिए ।
पोखरा: पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागीहरुलाई मंगलबार मुवाँथाई खेलको शैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ । थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी खेलहरुसमेत गरिएको क्षेत्रीले बताए । सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए । उक्त समर क्याम्पको यहि शनिबार समापन गर्ने तयारी समेत भइरहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए। दिक्षान्त समारोहसहित कार्यक्रमको समापन गरिने र सहभागिहरुलाई ब्याण्डसमेत प्रदान गरिने छ । मुवाँथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षेत्री यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने बताए । 'मुवाँथाई खेलको विकासका लागि हामी प्रतिबद्ध छौं । विश्वमा यो खेलको प्रोफेसानिलिजम बढे संगै त्यसका लागि तयारी आवश्यक छ । नेपाल पनि यो खेलमा सक्षम छ भन्ने सन्देश दिन आवश्यक छ,' उनले भने ।
काठमाडौं: सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएका छन् । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक ९२८ औंपटक० सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् । सबैभन्दा पहिले उनको सगरमाथा आरोहण यात्रा १९९२ मा सपोर्ट स्टाफको रुपमा सुरु भएको थियो । हालसम्म उनले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।
जनकपुरधाम: मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज मङ्गलबार मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो । नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनकारी दिएको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका कृष्णकुमार यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कांग्रेसकै वीरेन्द्र सिंहलाई दिने तयारी भइरहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन् । यसअघि कृषि मन्त्रालयमा जनमतका इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्हालेका थिए। लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन । यसअघि मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा, जनमत र नेकपा माओवादी केन्द्र भएका थिए ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पोखरा: पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका ६ खहरेचोक हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकको विद्युतको पोलमा ठक्कर खाँदा मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका ४ का १७ वर्षीय संगम बानियाँ घाइते भएका छन्, मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते बानियाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको युनियनको १० औं जिल्ला अधिवेशनले मिश्रको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष(खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ(सुमन), सह-सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक रहेका छन् ।

