काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

गण्डकी:    वनपाखा चहारेर ऐँसेलु टिप्छन् । मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन् । त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन् । ऐँसेलु टकार्दै गाडीको झ्यालतिर हात लम्काउँछन् । यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन् । कसैले गाडी रोकेर ऐँसेलु किन्छन्, कोही वास्तै नगरी हुइँकिन्छन् ।      कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका कतिपय महिलाले हिजोआजको दैनिकी यसरी नै कटाउँछन् । मङ्गलबार मध्यपहाडी पुष्पलाल लोकमार्गमा मनमाया विकसँगै तीन महिला ऐँसेलु बेचिरहेका भेटिए । झरीकोसमेत पर्वाह नगरी उनीहरु हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका थिए ।      विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाउनुभयो । “बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ”, उहाँले भन्नुभयो, “टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैप¥यो ।”      महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य रु एक सय राखेका छन् । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हन् ।      “ऐँसेलु बेच्न सजिलो त छैन, धेरैले त वास्तै गर्नुहुन्न, कोहीकोहीले गाडी रोकेर चाख मानीमानी किनेर खानुहुन्छ”, विकले भन्नुभयो, “फुर्सदका दिनको सदुपयोग पनि भएको छ, घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ ।” बढीजसो सहरिय मानिसको रोजाइमा ऐँसेलु पर्छ । विदेशी पर्यटकले पनि किनेर खान्छन् ।       लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्ने भेटिन्छन् । पहाडी भेगका अरु राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ ।       बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिन्नन् । बागलुङको काठेखोला गाउँपालिका–५ का दुई दाजुभाइ शिशिर र विश्वास पनि केही दिनअघि सडकमा ऐँसेलु बेचिरहेका भेटिए ।      शनिबारको फुर्सद पारेर गाउँ नजिकैको वनबाट ऐँसेलु टिपेर ल्याएको शिशिरले सुनाउनुभयो । त्यसअघि उनीहरुलाई ऐँसेलु बिक्री हुन्छ भन्ने थाहा पनि थिएन । अन्यत्र पनि सडकमा ऐँसेलु बेचेको देखेर आफूहरुले सिकेको शिशिरले बताउनुभयो ।       कापीकलम र खाजाखर्च जुटाउने सोचले ऐँसेलु बेच्न बसेको उहाँको भनाइ थियो । उनीहरुसँग ऐँसेलु किनेर खाएपछि गोरखाका अमृतराज उपाध्ययले बालपनको सम्झना आएको बताउनुभयो । उहाँले पोखरादेखि गलकोटसम्म पुग्दा ठाउँठाउँमा ऐँसेलु बेच्न बसेका मानिस भेटेको सुनाउनुभयो ।      पहिलेपहिले वनपाखा धाएर ऐँसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्योक्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा एँेसेलु पाँक्ने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो ।       “ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने विज्ञले बताएका छन्, तर हामीकहाँ यसबारे खासै चासो र अध्ययन भएको पाइँदैन”, उहाँले भन्नुभयो, “केही ठाउँमा ऐँसेलु सङ्कलन गरेर बेच्न थालिएको छ, वनमा यसै खेर जाने फलबाट किसानले कमाइ गर्नु सुखद कुरा हो ।”      वनस्पति विज्ञका अनुसार मझौला काँडेदार बुट्यान ९झाडी०मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसयदेखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफैँ उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ ।       ऐँसेलुमा भिटामिन सीलगायत सुक्ष्म पोषकतत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्णरुपमा जैविक फल हो । ‘गोल्डेन हिमालयन रासबेरी’ले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि तेह्रथुमलगायत पहाडी जिल्लाका किसानको आयआर्जनको बाटो बनेको छ, ऐँसेलु ।

पोखरा:    नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ ।   एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले मेयर नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएको र अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको भन्दै छानबिनका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  ‘हामी निष्पक्ष छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्छौं,’ दवाडीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सहकारीका अध्यक्ष नेपाली र सञ्चालकहरूलाई सर्वसाधारणको रकम यथाशिघ्र फिर्ता गर्न र छानबिनमा सहयोग गर्न पनि आग्रह गर्दछौं।’ सहकारीमा बचत गरेका सर्वसाधारण नागरिकले आफ्नो रकम फिर्ता माग्न थालेपछि नेपाली गत शुक्रबारदेखि सम्पर्कविहीन छन् । पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी संस्था चलाएका नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको पाइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका दोस्रो पटक निर्वाचित मेयर समेत हुन् ।   

मनाङ:     हिमाली जिल्ला मनाङमा नयाँ वर्ष २०८० को पहिलो महिनामा सबैभन्दा बढी इजरायलका पर्यटकले भ्रमण गरेका छन् । जोखिमयुक्त पदमार्गमध्ये विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गमा इजरायली पर्यटकले भ्रमण गरेका हुन् ।            नेपाल आउने पर्यटकमध्ये अधिकांश पर्यटक यहाँ पुग्ने गरेका छन् । जिल्लामा वर्षको पहिलो महिनामा सबैभन्दा बढी इजरायलका नागरिकले भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का तमकाशी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सय ५१ इजरायली नागरिकले मनाङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ ।            त्यस्तै, तीन सय ४९ फ्रान्सका नागरिकले भ्रमण गरेका छन् । रसियन तीन सय ३२, युनाइटेड किङडम (युएस) का दुई सय दुई, युनाइटेड स्टेटस (युएस)का एक सय ९५, जर्मनीका एक सय ७७, अष्ट्रेलियाका एक सय ७३, भारतका एक सय २९, नेदरल्यान्डका एक सय २९ सहित ७३ देशका नागरिकले मनाङ भ्रमण गरेका अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा मात्रै ७३ राष्ट्रका एक हजार नौ सय ३० पुरुष र एक हजार तीन सय ५८ महिला तथा एक अन्य गरी कूल तीन हजार दुई सय ८९ नागरिकले मनाङ भ्रमण गरेका छन् । “विगतमा कोभिड–१९ को सङ्क्रमण र बाढीपहिराको जोखिमले गर्दा पर्यटकको आवागमन ठप्प रहेकामा अहिले चलायमान भएको छ”, प्रमुख गौतमले भन्नुभयो ।            कोभिड-१९ को सङ्क्रमणपश्चात् सहज बनेको जनजीवनले गर्दा अहिले विश्वका पर्यटक नेपाल आउने क्रम जारी छ । विभिन्न देशका नागरिक नेपाल भित्रिने क्रममा विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । विश्वकै जोखिम पदमार्गका रुपमा परिचित यहाँ यात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताउनुभयो ।       विगतमा एक पनि मनाङको जोखिम स्थलमा भ्रमण आउने पर्यटकलाई समस्या हुने गरेको थियो । अहिले बर्सात समय सुरुआत भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरेको गौतमले बताउनुभयो ।      “पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले गाइड बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।”       गाइड भएपछि सूचना पाउन सहज भएको उहाँले बताउनुभयो । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा गाइडको सहयोग हुने हुँदा सहज हुने गरेको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । केही समयअगाडि मात्रै मनाङ पर्यटकको आवागमन बढेसँगै होटल पाउन सकस भएको पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत बढी हुने गरेको छ ।              पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।            अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् ।

पोखरा:   पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि पोखरा महानगरपालिका वडा नं। १४ र १५ भिड्ने भएका छन् ।  पोखरामा आज (बुधबार) सम्पन्न भएको सेमिफाइलनमा खेलमा पोखरा महानगरपालिका १५ ले ३० लाई र पोखरा १४ ले २७ नम्बर वडालाई पराजित गर्दै फाइलनमा स्थान पक्का गरेका हुन् ।  पहिलो सेमिफाइनल खेलमा पोखरा महानगरपालिका वडा नं. १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन । खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए ।  खेलको अतिरिक्त समयमा १५ का सचिन भण्डारीले टोलीका लागि विजयी गोल गरेका थिए ।  यस्तै बुधबार नै सम्पन्न भएको दोस्रो सेमिफाइलन खेलमा पोखरा महानगरपालिका वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । वडा नं. १४ का आशिष र नरेनले २–२ गोल गर्दै टोलीलाई फाइनल पु¥याएका थिए ।  पोखरा महानगरपालिका १४ का आशिष कार्कीले टोलीको लागि खेलको १७ औ मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाएका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए । पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका भोलि पोखरा महानगरपालिका १४ र १५ पोखरा रंगशालामा ११ बजे भिड्ने  प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।   प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा:   थिंकस्मार्ट इन्टरनेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेसले राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठलाई ब्राण्ड एम्बेस्टर बनाएको छ ।   आगामी एक वर्षका लागि फुटबलर श्रेष्ठसँग थिङ्क स्मार्टल इन्टरनेसनल कन्सल्टेन्सीले एम्बेस्टरका रुपमा सहकार्य सम्झौता गरेको हो ।   कन्सल्टेन्सीको तर्फबाट फुटबलर श्रेष्ठसँगको सम्झौता पत्रमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङ राजुले हस्ताक्षर गरेका थिए ।   सम्झौतापत्र हस्तान्तरणपश्चात बोल्दै कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत गुरुङले सुमित श्रेष्ठ पोखरेलीको सान मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । उनले फुटबलर श्रेष्ठसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै बाँकी खेलजीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए  ।    यस्तै ब्राण्ड एम्बेस्टर बनेका श्रेष्ठले आफ्नो तर्फबाट एिम्बेस्टरको भूमिका निभाउन कटिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।   थिंकस्मार्टको एम्बेस्टर बनेका फुटबलर श्रेष्ठले सम्झौतापत्र अनुसार ४ किस्तामा १ लाख प्राप्त गर्नेछन् ।   फुटबलर श्रेष्ठ नेपाली फुटबल जगतका उदीयमान खेलाडी हुन् । उनी हाल जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् ।   थिंकस्मार्ट कन्सल्टेन्सीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहने विद्यार्थीहरुका लागि क्यानडा, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्ड लगायतका देशमा सेवा प्रदान गर्दै आएको छ ।   

पोखरा:  पोखरा महानगरपालिका ११ मा आफ्नै भतिजीलाई करणी गरेको आरोपमा ठुलोबुवा प्रकाउ परेका छन् ।    कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार ४४ वर्षिय एक पुरुष पक्राउ परेका हुन् ।   पक्राउ परेका उनीविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको थियो ।    सोही आधारमा कास्की प्रहरीले ति व्यक्तिलाई हिजो (मंगलबार) बेलुकी पक्राउ गरेको डिएसपी विकले बताए । ‘जाहेरीकै आधारमा पक्राउ गरेर करणी कसुरमा मुद्धा दर्ता भएको छ, सुनगाभा न्यूजसँग डिएसपी विकले भने, ‘अहिले म्याद थप गर्नका लागि अदालत लगिएको छ । त्यसपछि विस्तृत रुपमा थप अनुसन्धान हुन्छ ।’   उनका अनुसार पक्राउ परेका ति व्यक्तिले ४ वर्षीया नाबालिगलाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।  (घटना पारिवारिक भएकाले पीडक र पीडितको नाम गोप्य राखिएको)      

पोखरा:  सामाजिक सञ्जालमार्फत नाबालिगलाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरुन्चौरका २१ वर्षीय मनिष भुजेल रहेका छन् ।   भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले कास्की प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।   भुजेलले इस्न्यापच्याट एवम् भाइबरमार्फत नाबालिगसँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाएर अश्लील कुराकानी गर्ने भिडियो च्याटकोे स्क्रिन रेकर्ड गर्ने र भुजेलले भनेको नमानेको खण्डमा पीडितलाई धम्कीपूर्ण म्यासेज गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले  जनाएको छ ।   पक्राउ परेका भुजेललाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।   

काठमाडौं:  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका छन् ।   बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका हुन । उनले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्चमात्रै बढाएको बताए र आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिएका छन्। अध्यक्ष यादवले नीति तथा कार्यक्रम सङ्घीयता कार्यान्वयन गर्ने गरी नआएको पनि बताए । उनले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरूले भरिपूर्ण भएको टिप्पणी गरे ।   उनले भने , ‘नीति तथा कार्यक्रममा प्रदेश र पालिकालाई केन्द्र सरकारले नियन्त्रण गर्न खोजिएको जस्तो देखिएको छ । यो भनेको सङ्घीयताको मूल मर्म र भावना विपरीत हो । सङ्घीयताको संरचना नै त्रुटिपूर्ण छ, यसलाई सुधार गर्ने कि नगर्ने रु प्रदेशहरूको नामाकरण खोलानाला, खोल्साबाट गरिएको छ । यसलाई ऐतिहासिक पृष्ठभूमि र पहिचानका आधारमा गर्ने कि नगर्ने रु सच्याउने कि नसच्याउने रु संविधानको अनुसूचीमा उल्लेख गरिएका अधिकार प्रदेशहरूले प्रयोग गर्न पाइराखेका छैनन् । त्यो दिने कि नदिने रु प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण वा समायोजन गर्ने कि नगर्ने रु सङ्घीय निजामती ऐन रोकेर प्रशासन र कर्मचारीको अवस्था प्रदेशमा कहिले पूरा गर्ने रु आर्थिक स्रोत र साधनमाथिको अधिकार नदिइकन सङ्घीयता कार्यान्वयन हुन्छ र रु यसबारेमा नीति तथा कार्यक्रममा लेखिएको छैन । अमूर्त, काल्पनिक कुरा र मिठा शब्दले भरेर समाज र राष्ट्रको निर्माण गर्न सकिँदैन ।’

पाेखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन् ।   स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ  ।’   मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । जनप्रतिनिधिको गुनासोपछि बुधबार बिहान आफैँ स्टोर हेर्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गरेका थिए ।   सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकल अनुसार १० प्रतिशत औषधी इमरजेन्सीकालागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै स्टोरमा औषधी रहेको जानकारी गराए । उनले सबै प्रकारका औषधी अझै १० प्रतिशत अपुग रहेको भन्दै भएका औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पु¥याउन नसकेको बताए । इमरेजन्सीकालागि बाहेक औषधी स्टक नरहेको उनले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।   मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भएपनि स्वास्थ्य उपकरणहरुभने सक्दो धेरै प्रयोगकालागि पठाउन सुझाब दिएका छन् । साथै उनले ११ जिल्लाका कम्तीमा एक/एक पालिकाका प्रमुखहरुलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताए । ‘हामी र स्थानीय तह बिच कम्यूनिकेशन नहुँदा पनि केही समस्या भएको छ, उहाँहरुलाई प्रदेशमा औषधी छ हामीले पाएनौँ भन्ने परेको हुन सक्छ’ उनले सचिवलाई निर्देशन दिँदै भने ‘यो बारेमा तत्काल स्थानीय तहका प्रमुखहरुलाईपनि जानकारी गराउनुहोला ।’   मुख्यमन्त्री पाण्डेले आफुलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए र  मुख्यमन्त्री पाण्डेले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशिल रहेको बताउँदै अहिलेको स्थित भन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताए । ‘हामीसँग साधन स्रोत सिमित छ, आवश्यकता र पूर्तीलाई कसरी ब्यवस्थित गर्ने भन्ने योजनामा हामी छौँ’ मुख्यमन्त्री पाण्डेले भने ।