काठमाडौं: त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्। निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ रहेका छन् । हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो। कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो। ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो। ‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’ शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्याएको स्रोत बताउँछ। रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो।
पोखरा: नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ । १० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् । १० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले जनाएको छ । सेन्टर करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । शोरुमको उद्घाटन गर्दै मन्त्री जिसीले नेपालमा उद्योग विकासका लागि दक्ष जनशक्तिको अभाव रहेको सुनाए । उद्योग तथा व्यवसाय सुरु गरे पनि चर्को राजनीतिको मारमा पर्ने गरेको उनको भनाइ थियो । ‘हाम्रा राजनीतिक दलका पनि गल्ती छन् । युनियन खोल्दिहाल्ने, त्यसको भोलिपल्टैबाट अर्को वितण्डा सुरु,’ मन्त्री जिसीले भने, ‘कति आम्दानी, कति खर्च भन्दा पनि युनियन कहीं न कहीं म्यानुप्लेट हुँदा समस्या भइरहेको छ ।’ नेपाल फुटवेयर एसोसियनका उपाध्यक्ष रुद्रनाथ न्यौपानेले नेपाली बजारलाई आवश्यक पर्ने शतप्रतिशत जुत्ता, चप्पल उत्पादन गर्न सक्ने गरी नेपाली उद्योग तयार भइसकेका बताए । ‘नेपालमा जडित औजार, मेसिन र पूर्वाधारका हिसाबले लगभग १२, १३ करोड जोडीभन्दा बढी जुत्ताचप्पल उत्पादन गर्न सक्ने हाम्रो क्षमता छ,’ उनले भने । न्यौपानेले नेपालमा वार्षिक करिब ११ करोड जोडी जुत्ताचप्पलको खपत हुने जानकारी दिए । उनले भने, ‘त्यसमध्ये ६५ प्रतिशत नेपाली जुत्ताचप्पलको उत्पादन खपत भइराखेको छ । अब त्यो ६५ लाई सय प्रतिशत पु¥याउन उत्पादनमात्रै नभएर बिक्रीवितरण च्यानललाई पनि व्यवस्थित बनाउन लागिरहेका छौं ।’ उत्पादक र उपभोक्ताबीच बिक्री च्यानल लामो हुँदा उत्पादकको भन्दा बढी बिचौलियाको हालीमुहाली हुँदै आएको न्यौपानेको भनाइ छ । सोही परम्परालाई भत्काउँदै उत्पादकलाई सिधै उपभोक्तासम्म जोड्न मिल्ने गरी बिजनेस सेन्टरको अवधारणा ल्याइएको उनले जानकारी दिए । फुटवेयर बिजनेस सेन्टरका अर्का उपाध्यक्ष सुरज बञ्जाडेले पर्यटनका हिसाबले गण्डकी अग्रणी स्थानमा रहेको र अब उद्योगमा पनि अग्रणीस्थानमा ल्याउने आफूहरुको योजना रहेको सुनाए । ‘यो सेन्टरले हामीलाई मात्रै होइन, पोखराका आसपासका उद्यमी जो, जुत्ताचप्पलमा लगानी गर्न चाहनुहुन्छ, उहाँहरुलाई पनि सहयोग हुने विश्वास लिएका छौं,’ उनले भने । फुटवेयर बिजनसेस सेन्टर उद्घाटनका अवसरमा विशेष छूटको पनि व्यवस्था गरिएको छ । साउन महिनाभरि सेन्टरमा भएका हरेक कम्पनीका उत्पादनमा १५ प्रतिशतसम्म छूटको व्यवस्था गरिएको बञ्जाडेले जानकारी दिए ।
पोखरा: लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् । लोकतान्त्रिक तमु संघ कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार भएको प्रथम अधिवेशनबाट १७ सदस्यीय समिति गठन गरेको हो । सो समितिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ छानिए । यस्तै सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए । नवनिर्वाचित वडाध्यक्ष मादी गाउँपालिका ९ का वडाध्यक्ष हुन् ।
पोखरा: नेवा: पत्रकार पुच: कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् । शनिबार सम्पन दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएकी हुन् । यस्तै उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चुनिए । कार्यसमिति सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय रहेका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कास्कीमा नेवा समुदायबाट महिला पत्रकारहरु न्युन रहेको भन्दै आफुले पत्रकारीताको माध्यमबाट नेवास् संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताएकी थिइन् ।
मनाङ: आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक भित्रिएका छन् । नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो । बाह्र हजार सात सय ७९ पुरुष, सात हजार चार सय ८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए । अन्नपूर्ण पदमार्गलाई जोखिम पदमार्गका रूपमा लिने गरिएको उनले बताए । मनाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यहाँ घुम्न आउने पर्यटकले हिम शृङ्खला तथा हिमतालको नजिकबाट अवलोकन गर्न सक्ने एक्यापका प्रमुख गौतमले बताए । साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई यहाँ आकर्षित गर्ने उनको भनाइ छ । यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन् । थोराङ्ला पास गर्न २१ दिन लाग्ने गरे पनि अहिले मोटरेवल सडकका कारण यात्रा छोटिएको छोटिएको स्थानीय बताउँछन् । अहिले यस पदमार्ग १२ दिन यात्रा पूरा गर्न सकिन्छ । उक्त पदमार्ग कास्कीको नयाँ पुलमा पुगेर टुङ्गिन्छ ।
लमजुङ: साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र करिब ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो। रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रँदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरू पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन् । जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंलासोथार र दोर्दीका केही ठाउँहरूमा धान रोपाई अझै बाँकी रहेको उनले बताए। रेग्मी भन्छन्, 'वर्तमान समयमा पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरू मारमा परेको र रोपाई ढिला भएको हो र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ ।' कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत वर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेती हुने प्रक्षेपण गरिएको उनले बताए। कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । असारको पहिलो दोस्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ । विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरूमा चेतै धान खेतीसमेत हुने गरेको पाइन्छ।
दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ । असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए । व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए । उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिनुभयो । ‘न त सडक छ, न त कोल्डस्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ’, कृषक अकबरसिंह धामीले भने । बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ । ‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ, व्यासवासीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भने ।
पाल्पा: पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ । रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो । फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । प्रहरी चौकी हुगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर अनुसन्धान सुरु गरेको छ ।
हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको हो। महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिए। करिब चार दशक पुरानो हेटौँडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको हो।

