पोखरा: पोखरामा एक युवती बेपत्ता भएकी छिन् । कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा पोखरा महानगपालिका २७ डाँडाकोनाकका १३ वर्षीया निरुता थापा रहेकी छिन् । उनी गत महिनाको २२ गतेदेखि बेपत्ता रहेको कास्की प्रहरीले बताएको छ । प्रहरीका अनुसार घरमा कसैलाई नसोधी हिडेकी थिइन् । दुईहप्ता हुदाँ बितिसक्दासमेत सम्पर्कमा नआएपछि कास्की प्रहरीलाई खोजिदिन भन्दै निरुताको परिवारले गुहारेको छ । कास्की प्रहरीले पनि सामाजिक सञ्जालमा सूचना जारी गर्दै आम नागरिकलाई खोजतलासमा सघाउ पुर्याउन आग्रह गरेको छ ।
काठमाडौं: बिहीबार नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १८ जेठमा सुनले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको कारोबार १ लाख १३ हजार १ सय रुपैयाँमा भएको थियो । आज प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको हो । आज तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ । बुधबार १४ सय ९० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।
काठमाडौं: स्कुटी अनि मोटरसाइकलमा प्रयोग हुने ब्रेकको सामानभित्र लुकाएर भन्सार कटाएको ८० किलो बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गर्यो। सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कटाएको सामान ट्याक्सीमा लोड गर्दागर्दै प्रहरीसहित गएको विभागको टोलीले नियन्त्रणमा लियो।सुनको परिणाम मध्यरातसम्म यकिन भएको छैन। विभाग प्रमुख नवराज ढुङ्गानाका अनुसार सुन ८० किलो भन्दा बढी हुनसक्ने अनुमान छ। विभागले सुन तस्करीमा संलग्न रहेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएको छ। एक जना ट्याक्सी चालक, अर्का एक भन्सार एजेन्ट हुन्छ। तेस्रो व्यक्तिको परिचय खुलाइएको छैन। भन्सार जाँचपास भएर सामानको रूपमा सुन बाहिरिएको विशेष सूचनाको आधारमा विभागले अप्रेशन गरेको बताइएको छ।सुन तस्करीमा विभागले गरेको यो अहिलेसम्मकै ठुलो अप्रेशन हो। यस अगाडि भन्सारको मिलेमतोमा भित्रिने सुन प्रहरीले नियन्त्रणमा लिँदै आएको थियो। यो अप्रेसनमा भने प्रहरी समेत पछि परेको देखियो। बरामद भएको सुनको परिणाम अनि शैलीले सङ्गठित तस्करी समूह नै यसमा संलग्न देखिन्छन्। करिब एक अर्ब बराबरको सुन हो बरामद भएको। सहजै भन्सार पास भएकाले तस्करीमा सङ्गठित समूहको संलग्नता देखिन्छ।यसमा प्रधानमन्त्री मातहत रहेको राजश्व अनुसन्धान विभाग खटिएकाले समेत गृह मन्त्रालय मातहतको सुरक्षा निकाय समेत शंकामा परेको छ। विमानस्थलमा प्रहरीको विभिन्न युनिट खटिन्छन्। मानव बेचबिखन ब्युरो, लागू औषध ब्युरो, विशेष ब्युरो अनि उपत्यका प्रहरी कार्यालयका सादा पोसाकका प्रहरी समेत खटिन्छन् विमानस्थलमा। त्यसमा डिआइजीको नेतृत्वमै प्रहरीहरू समेत खटिएका छन्। तर कसैले सङ्केत नपाउनु सामान्य घटना देखिन्न। यस्तो अप्रेसनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको परिचालन हुने गरे पनि बुधवारको घटनामा ब्युरो देखिएन। असार १२ मा विभागको प्रमुख भएर आएका ढुङ्गाना यस अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा थिए। उनकै नेतृत्वमा यति ठुलो परिमाणको तस्करीको सुन समातिएकाले यो अप्रेसनमा प्रधानमन्त्री कार्यालय समेत संलग्न देखिन्छ। अहिले राष्ट्रिय अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहतमै छ। निरन्तर बदनाम भन्सार हालसालै इलेक्ट्रिक चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा विमानस्थल भन्सारका कर्मचारी समातिएर कारागार समेत पुगे। चिनिया व्यापारीले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारी मिलेर साटेर बेचेका थिए। यही घटनामा नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल, साहेब राव पाण्डुरङ मरगले पुर्पक्षका लागि थुनामा गए।भेपमा सुन राखेर ल्याउने चिनिया व्यापारी फरार भए। फरार भएका चिनिया व्यापारीसँग माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनको छोराको निकट सम्बन्ध रहेको खुल्यो। तर प्रतिवादी भने बनाइएन। ब्रेक शु मार्फत २ हजार किलोभन्दा बढी सुन तस्करी भएको अनुमान प्रारम्भिक अनुसन्धानमा यसअघि पनि पटक(पटक रेडी ट्रेडले ब्रेक शु आयात गरेको खुलेको छ । त्रिभुवन विमानस्थल भन्सार र दुई महिनामा करिब २२ पटक यस्तै ‘ब्रेक शु’ आयातपछि सुरक्षा जाँच गरेर लगेको देखिएको स्रोतले बतायो । यसले यसअघि पनि अहिलेकै शैलीमा सुन तस्करी त भएको थिएन रु भन्ने आशंका जन्माएको अधिकारीहरुको भनाइ छ । अनुसन्धान अधिकृतहरुका अनुसार अब त्यो कोणबाट पनि अनुसन्धान हुनेछ । ‘यसअघि ब्रेक शु भनेर आयात हुँदा पनि आजजस्तै तरीका अपनाएको हुन सक्छ र हरेक पटकमा १०० किलोका दरले ब्रेक शु आएको हुन सक्छ,’ स्रोतले भन्यो ‘आज जुन अवस्थामा सुन भेटियो यसले २ हजार किलोभन्दा धेरै सुन पछिल्लो २ महिनामा भित्रिएको आशंका जन्माएको छ ।’ सुनदेखि जग्गा कारोबारीसम्म तस्करीमा यस अगाडिका सुन तस्करीमा सुन व्यापारको आवरणमा रहेकादेखि जग्गा कारोबारीसम्म तानिएका थिए। प्रहरीसम्म सुन तस्करी गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेर जागिर समेत गएको थियो। सुन तस्करीमा प्रतिष्ठित व्यापारीहरू समेत जोडिँदै आएका छन्।यस अगाडिको ३३ किलो सुन तस्करीको अनुसन्धानले त हाउजिङ व्यवसायीदेखि नेतासम्मको धन्दा खुलायो। धेरैको पोल खुल्ने भएपछि प्रतिवेदनै गोप्य राखियो। ३३ किलो सुन तस्करीमै विमल पोद्दार, महावीर गोल्यान, राजकुमार दारुका, सञ्जय खेतान,प्रभात अग्रवाल लगायतमा पक्राउ परेका थिए। ३८ क्विन्टलसम्म सुन तस्करी भएको खुलेको यो समूहमा भुजुङ गुरुङ समेत देखिए। तस्करी भरियाका नाइके चूडामणि उप्रेती देखिएका थिए। पोद्दार सुन तस्करीमा पटक पटक जोडिने गरेका छन्। उनी २०६९ असोज १९ गते सवा १ करोड विदेशी मुद्रासहित समातिएका भारतीय नागरिक विनोदकुमार सोनीको केसमा समेत जोडिएका थिए। सोनी पक्राउ परेपछि उनले बोकेको रकम सुन तस्करीको भएको खुलेको थियो। यो घटनाको अनुसन्धानमा सिल्भर सिटीका पोद्दार, दरबारमार्गमा रहेको तत्कालीन इविसु ज्वेलर्सको मुरारीलाल जमालिया समेत जोडिएका थिए। राजकुमार दारुका, आरके ज्वेलर्सका राजेन्द्र शाक्य समेत तस्करीमा जोडिए। ३३ किलो सुन तस्करीको अनुसन्धान अगाडि बढ्दै जाँदा जब पोद्दार पक्राउ परे हतार हतार समितिको अनुसन्धान टुङ्गाइयो र प्रतिवेदन बुझाउन लगाइएको थियो।
काठमाडौं: प्रहरीले त्रिभुवन विमानस्थल काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ । बरामद मुद्रा करिब सवा करोड रुपैयाँ बराबर रहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो । यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करीको मुद्राको साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरी स्रोतले जनायो । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ । राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो । विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरुको मिलोमतोका कारण सुन, विदेशी मुद्रा तस्करी लगायतका अपराध मौलाउँदै गएको छ । प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडान नम्बर एच ९-५४५ द्वारा काठमाण्डौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ९ तुलसिपुरका २४ वर्षिय अनिस थापालाई ब्यागेज चेकिङ एरियामा निजको शरीर खानतलासी एवं साथमा लिई आएको लगेजहरुलाई एक्सरे गर्ने क्रममा निजले लिई आएको खैरो रंगको ‘फेसन इटाली’ लेखिएको लगेज भित्र सेतो प्लाष्टिकले यापिङ गरेको अबस्थामा वरिपरि चाउचाउ राखिएको बीचमा अमेरिकन डलर १०० दरको थान ४१४ ले हुन आउने अमेरिकी डलर ४१ हजार ४ सय, रियल ५०० दरको थान- २१२, २०० दरको थान- ३२, १०० दरको थान- ७१ ले जम्मा साउदी रियल १ लाख १९ हजार ५ सय, ओमान रियाल ५० दरको थान-२६, २० दरको थान-१, १० दरको थान – २, ५ दरको थान – २, १ दरको थान- ७ ले जम्मा ओमानी रियाल १ हजार ३ सय ५७, बहराईनी डिनार २० दरको थान-१४, १० दरको थान – २, ५ दरको थान- १, १् दरको थान- ३ ले जम्मा बहराइनी डिनार ३ सय ८ बराबरको रकम लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयान दिएको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ एरियामा अनिसलाई छाड्न आएकाहरुले प्रयोग गरेको बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क(कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए। समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ। त्यस्तै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारीसमेत गरेको छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए। राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन। हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो। विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ। जसमा एक जना एजेन्टसमेत छन्। विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ ।
चितवन: चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो। चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए। जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए। यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताए। डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो। यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन्। डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उनको भनाइ छ ।
काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका अरु युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जित्नुभएको छ । नेपालकी युवा सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेका आयोजक वन योङ वर्ल्डले जनाएको छ । वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । अवार्डका लागि सोवितासँगै विभिन्न देशका १५ सांसद, मेयरलगायत सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये पाँच जनालाई अवार्ड दिँदै आएको छ । सोविता गौतम नेपालकी सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा सर्ट लिस्टमा छनोट हुनुभएको थियो । संस्थाले नेतृ गौतमलाई आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीतिमा उदाएकी पात्रको रूपमा चिनाएको छ । संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञलाई यस्तो अवार्ड दिने गरेको छ ।
राेल्पा: रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले याे कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हाे । याे कार्यक्रम साउन १ गतेदेखि नै लागू भएकाे गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिनुभयो । बैंकमा खाता खोली जम्मा गरिने याे रकम २० वर्षसम्म झिक्न पाइने छैन । 'छोरी जन्मिँदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ', उपाध्यक्ष डाँगीले भन्नुभयो । छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले सक्षम बनाउका लागि याे कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ । याे कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा याे कार्यक्रम ल्याएकाे हाे ।
काठमाडौं: अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदैछ । अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । महिला विश्वकपको यो नवौँ संस्करण हो । पहिलो पटक ३२ टिम सहभागी यस विश्वकप पहिलो पटक दुई देशले आयोजना गर्दैछन् । साविक विजेता समेत रहेको अमेरिका प्रतियोगिताको उपाधि दाबेदारको रुपमा छ र लगातार तीन पटक उपाधि जित्दै उपाधि संख्या ५ पुर्याउने योजनामा छ । अमेरिकाले सर्वाधिक चार पटक उपाधि जित्दा जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि जितेका छन् । पछिल्लो पटक २०११ मा एसियन राष्ट्र जापान च्याम्पियन बनेको थियो त्यसपछि २०१५ र २०२१ मा अमेरिकाले विश्वकप उपाधि जितेको थियो । पहिलो दिन दुई खेल महिला विश्वकपको पहिलो दिन दुई खेल हुँदैछन् । जसमा समुअ ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ । यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समयअ नुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच हुनेछ । यो खेल सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । महिला विश्वकप अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ गरी कूल १० स्टेडियममा खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।

