काठमाण्डौ: काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । नगरपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि साउन १८ गते परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ । बूढानीलकण्ठभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदकले आधारभूत तहको लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तहको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन् ।
पोखरा महानगरपालिकाले आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेको छ । पृथ्वी चोकदेखि सेती पुलसम्मका सडक छेउमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार पार्किङ निषेध गरेको महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिनुभयो । बसपार्क भित्र भोलिदेखि दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे समेत गरी कम्तीमा एक सय ५० वटा गाडी पार्किङ गर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।
महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्। प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ। शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए। घाइते अवस्थामा देखेपछि डिएसपी यादवलाई अस्पताल पुर्याइएको उनले बताए। उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ। अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ। जनकपुरबाट उनी त्यसराति जलेश्वर किन पुगेको भन्ने खुलेको छैन। घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ।
नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागि सिफारिस भएका छन्। शनिबार प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गरेको हो। ६४ जनामध्ये नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय, सुर्खेतमा कार्यरत वरिष्ठ सई मोहन लाल आंगा श्रेष्ठ सूचीको एक नम्बरमा छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगालमा कार्यरत लोकराज पाठक दोस्रो सूचीको दोस्रो नम्बरमा छन्। सूची:
नेपाल(भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो । भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए । नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।
पोखरा: नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी हुँदै पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् । उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् । थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् । सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।
पोखरा: पोखराको मुख्यचोक लखनचोक (पृथ्वीचोक) देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो । जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारी साधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुप्मा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’ उक्त निर्णयलाई अवैज्ञा गरेको खण्डमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।
पाेखरा: गण्डकी प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्र गरेको छ। प्रदेश स्थापनादेखि आर्थिक वर्ष २०७९/०८० को अवधिमा ८५ वटा सडक पुल बनाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। मन्त्रालयका पूर्वाधार विकास निर्देशक राम पराजुलीले प्रदेश सरकारले हालसम्म ६६८ किलोमिटर सडक कालोपत्र, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण भएको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कालोपत्र, ग्राभेल र कच्ची गरी कुल ३६० किमी सडक निर्माण भएको थियो। त्यसमध्ये १६५ किमी कालोपत्र, ११६ किमी सडक ग्राभेल र ७९ किमी कच्ची सडक निर्माण गरेको थियो। आर्थिक वर्ष २०७७/७८ मा कुल ४५१ किमी सडक बन्दा २११ किमी कालोपत्र, १५२ किमी ग्राभेल र ८८ किमी कच्ची सडक बनेको थियो। आव २०७६/७७ मा ६५ किमी कालोपत्र, १३८ किमी ग्राभेल र ७१ किमी कच्ची गरी कुल २७४ किमी सडक निर्माण तथ्यांक रहेको छ। गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका लागि नयाँ आर्थिक वर्षका लागि ११ अर्ब १६ करोड बजेट विनियोजन भएको छ । यो खबर अन्नपूर्ण पोष्टमा सन्तोष गौतमले लेखेका छन् ।
नवलपरासी (पूर्व): विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरी रहेका छन् । उनको साथबाट बुप्रेनोर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनारगन ५० एम्पुल बरामद गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित चौधरीलाई फेला पारेको थियो । पक्राउ परेका उनीमाथि लागुऔषध कसुरमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

