पर्वत: पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते हुनुभएको थियो । उहाँहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पु¥याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् । त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उहाँकी छोरी ३० वर्षीया रेखा सुनार घाइते हुनुभएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिनुभयो । उहाँहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाँको भनाइ थियो । चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्यतको मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो ।
रोल्पा: रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ । गए राति चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो। राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी ९स्याङ्जा० र गिरीराज आचार्य (धरान) लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए। मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो। पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ। उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ।
चितवन : चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो । बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
काठमाण्डौ: आज पनि काठमाण्डौबाट फोहर बोकेका गाडी बञ्चरेडाँडा जानबाट रोकिएका छन् । फोहरका गाडीलाई अवरोध नगर्ने मौखिक सहमति भए पनि कार्यान्वयनमा आएको छैन । काठमाण्डौ उपत्यकाबाट पाँच दिनदेखि फोहर बोकेका गाडी रोकिएका छन् । यसले गर्दा उपत्यकाका ठाउँठाउँमा फोहरको सङ्कलन पनि रोकिएको छ । जनघनत्व र चाप धेरै भएको सहरी क्षेत्रमा फोहर थुप्रिन थालेको छ । असन, न्युरोड, कलङ्कीलगायत मुख्यमुख्य सहरका सडक छेउछाउमा फोहरको डङ्गुर थुप्रिएको छ । यसले दुर्गन्ध फैलिन थालेको छ । काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहर बञ्चरेडाँडा लैजान नपाउँदा सङ्कलन पनि रोकिएको बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ महानरभित्र मात्रै दैनिक साढे ६ सय टन फोहर निस्कन्छ । सहमति पछि पनि फोहर बोक्ने गाडीलाई किन अवरोध भइरहेको हो भन्नेबारे आफूहरु अन्योलमा रहेको उहाँको भनाइ छ । समस्या समाधानका लागि आज सम्बन्धित पक्षसँग छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासिन्दासँग फोहर लैजाने सहमति नहुञ्जेलसम्म फोहर उठाउन नसक्ने जनाएको छ । महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार अझै चार–पाँच दिन फोहर उठ्ने सम्भावना छैन । स्थानीय बासिन्दाको मुख्य माग थपिँदै जाँदा सहमति जुट्न कठिनाइ भएको उहाँको भनाइ छ । स्थानीयबासिन्दाले भने सरकारले फोहरको राम्रो व्यवस्थापन नगरेसम्म अवरोध नहट्ने बताएका धादिङको धुनिबेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । उनीहरुले फोहरलाई पूरै माटोले छोप्न र दुर्गन्ध फैलिनबाट रोकेपछि मात्रै फोहर लैजान दिने बताएका नुवाकोटको ककनी गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले बताउनुभयो ।
गलकोट: कुनै दिन दुर्गम ठाउँका रूपमा चिनिने ताराखोला गाउँपालिका अहिले सुगममा परिणत हुन थालेको छ । गाउँपालिकाअन्तर्गतका दुर्गम गाउँमा फराकिला सडकमा सवारी गुड्लान भनेर कसैले सोचेको थिएन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट ताराखोला एक दिनमा मुस्किलले पुग्न सकिन्थ्यो । स्थानीय तहपछि ताराखोलामा बिस्तारै विकासको ढोका खुल्न थाल्यो । दुर्गम गाउँपालिकाका रूपमा चिनिएको ताराखोला विकासले क्रमशः सुगम बन्दै गएको छ । भौगोलिक विकटताका कारण विकासमा पछाडि परेको ताराखोला गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक पुगेको छ । गाउँपालिकाको त्रिशूल चोकदेखि माझखर्क गाउँसम्म गाउँपालिकामै पहिलो पटक सडक कालोपत्र भएको छ । गाउँपालिकाको रिजालचोकमाथि रहेको त्रिशूल चोकदेखि माझखर्क हुँदै खरिखोलासम्म सडक कालोपत्र भइरहेको छ । दश किमी सडकमध्ये अहिले छ किमी सडक कालोपत्र भइसकेको छ । गाउँपालिकामा नै पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताउनुभयो । “गाउँपालिकामा पहिलो पटक कालोपत्र सडक निर्माण भएको छ, यो सुखद क्षण हो, हाम्रो निरन्तर प्रयास र गण्डकी प्रदेश सरकारको रु २२ करोड लागतमा सडक कालोपत्र भइरहेको छ”, अध्यक्ष विकले भन्नुभयो, “अब गलकोटबाट ताराखोला तर्फसमेत कालोपत्रको काम सुरु भएको छ, रिजालचोकदेखि ताराखोलाको केन्द्रतर्फ आउने शहीद मार्ग सडक आगामी वर्षमा कालोपत्रको सुरुवात हुनेछ, यी तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् ।” सडकको ट्याक मात्रै रहेको ताराखोला पुग्न अहिले बागलुङको काठेखोला गाउँपालिका–५ बिउँको रिजालचोकदेखि भुस्कात हुँदै भातखानेडाँडा, बागलुङको गलकोट नगरपालिका–६ हुँदै ताराखोला गाउँ र त्रिशूल चोक हुँदै माझखर्क हुँदै खरिखोला पुग्ने तीन सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने गाउँपालिकाको योजना छ । त्यसमध्ये अहिले ताराखोला–सरपाण्डी–खरिखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्रको चरणमा छ । गाउँपालिकाको पहिलो प्राथमिकताका रूपमा रहेको रिजालचोकदेखि भातखानेडाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले शहीद मार्गको नामकरण गरेको छ । उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । ताराखोलाको माझखर्क गाउँमै कालोपत्र सडक आएपछि स्थानीय खुसी भएका छन् । ताराखोला–१ माझखर्क गाउँमै सडक कालोपत्र भएपछि विकासको महसुस भएको स्थानीय बलबहादुर रोकामगरले जानकारी दिनुभयो । गाउँपालिकामा पहिलो पटक भएको सडक कालोपत्र आफ्नै गाउँमा परेको माझखर्कका रोकामगरको भनाइ छ । उहाँले सडक कालोपत्र भइसक्दासमेत सवारीसाधनको भाडादर भने नघटेको गुनासो गर्नुभयो । पूर्वाधार विकास कार्यालयले ताराखोलाको त्रिशूल चोकदेखि सरपाण्डी हुँदै खरिखोलासम्मको सडक २०७७ मङ्सिर ४ गते रु २२ करोड ८३ लाख २० हजारमा रसुवा इलाईट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । दुई वर्षमा सक्नेगरी भएको ठेक्का सम्झौता कोरोना महामारीका कारण केही ढिलाइ भएको थियो । वि।सं। २०७९ मङ्सिरमा कालोपत्र सक्नुपर्ने भए पनि सडकको कार्यप्रगतिका आधारमा २०८० मङ्सिरसम्म म्याद थप गरिएको छ । उक्त सडक खण्डको छ किमी कालोपत्र भइसकेको छ भने वर्षा रोकिएपछि पुन चार किमी सडक कालोपत्र गरिनेछ । अहिले भइरहेको कालोपत्रमा पुनः अर्को कालोपत्र थपिने पूर्वाधार विकास कार्यालयका प्राविधिक चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । उहाँले बर्खा लगत्तै बाँकी रहेको चार किमी सडक कालोपत्रको काम थालिने बताउनुभयो । ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीका प्रतिनिधि देवेन्द्र लम्सालका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ७५ प्रतिशत रहेको बताउनुभयो । मौसमले साथ दिएमा आगामी मङ्सिरसम्म सबै सडक कालोपत्र गरेर हस्तान्तरण गर्ने बताउनुभयो । गाउँपालिकाको मुख्य सडकको रूपमा रहेको शहीद मार्ग भने कालोपत्रका लागि सङ्घीय सरकारले ठेक्का आह्वान नगर्दा समस्या भएको छ । निरन्तरको प्रयास र पहलकदमीबीच ताराखोला जोड्ने दुई सडक कालोपत्र हुन थालिएको र त्यसमध्ये ताराखोलामा पहिलो पटक ताराखोला–सरपाण्डी–खरिखोला सडक कालोपत्र भएको छ । गलकोटदेखि ताराखोला आउने सडकको भने अहिले गलकोट खण्डमा मात्रै कालोपत्र भइरहेको छ ।
नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’ मार्फत मञ्चन गर्न लागिएको हो । नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यस नाटकमा हाम्रो करेसावारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला,अदुवा, लौका, धनियाँ, कार्को, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जुन बालबालिकाका लागि बढी रुचिकर हुनसक्छ । नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमायाको बनेर अञ्जु दाहाल, गोलभेडाको बनेर रोशनी रामदाम, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले दर्शकको ध्यान खिच्ने छन् । जसको लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसावारी निर्माण गरिएको छ । स्टेज कलरफूल देखिदा थिएटर प्रवेश गर्ने वितिकै बालबालिकाको ध्यान आर्कषित गर्नेछ । केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको निर्देशनमा तयार भएको हो । नाटकका लेखक केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए । नाटकका निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नको लागि महत्वपूर्ण बन्ने बताइन् । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेश्वरी देखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भएपनि अभिभावक, शिक्षक र आम नाटकप्रेमीको लागि समेत उत्तिकै महत्वपूर्ण रहेकोले पब्लिक सो को रुपमा मञ्चन गर्न लागिएको खुलाए । १ घण्टा १० मिनेट अवधिको नाटकको अर्को महत्वपूर्ण पाटो संगीत पनि रहेको छ । संगीत संयोजक कमल केसीले गरेको मेहनत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ । नाटकलाई धेरैं दर्शक माझ पु¥याउन बजार व्यवस्थापक प्रकाश पराजुलीले त्यसको हिसाबकिताब राख्न बक्स अफिसमा रहेर शुभेक्क्षा शर्माले सघाएकी छन् ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिनु भएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंङगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज पोखरामा उद्घाटन गर्दै उहाँले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताउनुभयो । “वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरवौ रुपैयाको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ” मन्त्री थापाले भन्नुभयो, “वनको संरक्षण र उपयोग गर्ने खालको प्रदेश वन ऐन छिट्टै आउने तयारी भई रहेको छ ।” जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अनुकुलनतर्प लाग्ने खालका योजना अघि बढाउदै समाजका विपन्न एवम् सिमाकृत वर्गको उत्थानका लागि सामाजिक संघसंस्थाको ध्यान जानुपर्नेमा उहाँको जोड थियो । जथाभावि निर्माण गरिने भौतिक पूर्वाधारको कारण पानीलाई असर पार्ने, तालतलैया एवम् सिमसार क्षेत्रसंगै वातावरणमा समेत प्रभाव परेको उल्लेख गर्देै मन्त्री थापाले भन्नुभयो, वातावरणको संरक्षण र लच्छित वर्गको जिविकोपार्जनमा सहयोग पुगेमात्र परियोजना सफल हुने विश्वास व्यक्त गनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल, हिमाल, जग्गल र जमिन प्राणवायु भएको वताउँदै यसको संरक्षणका लागि सवैको साथ र सहयोग रहने बताउनुभयो । पोखरा वनाउने सवैको दायित्व भएको उल्लेख गर्दै उहाँले अव्यवस्थितरुपमा हुने विकास निर्माणले जोखिम बढाउनुको साथै वातावणमा समेत प्रभाव पर्ने हुँदा त्यसका लागि समयमै सचेत हुनु पर्ने आवश्यकता औल्याउनुभयो । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जनताको जनजिविकालाई सहज वनाउँदै वातावरण, तालतलैयाको संरक्षण एवम् अपराध गतिविधिको न्यूनिकरणमा परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । युएसएआइडी जल जंगल कार्यक्रमका प्रमुख क्यारि फार्लेले सन्ततिको भविष्य निर्माणका लागि वातावरणको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत चितवन अन्नपूर्ण, तराई आर्क, कर्णाली संरक्षण तथा कैलाश पवित्र भू—परिधिमा काम गर्ने जानकारी दिनुभयो । विस लाख हेक्टर जैविक दृष्टिले महत्वपूर्ण क्षेत्र सुधार गर्दै त्यस क्षेत्रका वासिन्दाको आयआर्जन, सुधारिएको जलश्रोतबाट लाभ, तालिम, जलवायु सम्वन्धि जानकारी र ३०० निजी क्षेत्रका उद्यमहरुले दिगो अभ्यास वा सुरक्षा उपायहरु एकीकृत गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव मनमाया पगेनी भट्टराईले जलवायु परिवर्तनको कारण तराईमा अत्याधिक गर्मी, पहाडमा पहिरोजाने, हिमालमा हिउ नहुने अवस्था सिर्जना भएको बताउनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव धनेन्द्र बहादुर खनाल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणकोषका उपनिर्देशक अजय कार्की,परियोजना उपप्रमुख दिवेश ज्योति,डा. बाबुराम लामिछाने, लगायतले जलवायु परिवर्तनले पारेका असर र न्यूनिकरणका उपाएका बारेमा चर्चा गर्नुभएको थियो ।
काठमाडौं: व्यवसायी दीपम मल्होत्राले त्रिभुवन विमानस्थलमा समातिएको सुनमा आफ्नो कुनै सारोकार नभएको भन्दै नियोजित रुपमा मेरो र व्यवसायिक प्रतिष्ठामा आंच पुर्याउने दुरासय भएको बताएका छन्। त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार पत्रकार सम्मेलन गरी उनले आफ्नो भनाइ राखेका हुन्। उनले विमानस्थल भन्सार जाँचपास भएर बाहिरिएको सुनमा आफ्नो कुनै संलन्नता नरहेको बताएका छन्। मिडियामा फोटोसहित उक्त सुनमा आफ्नो हात रहेको भन्दै समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको बताए। कानुनी प्रक्रियामा जाने जानकारी उनले दिए। ‘म र मेरो परिवार सहितको व्यापार व्यवसाय नेपालको कानुन बमोजिम काम भैरहेको छ,’ उनले पत्रकार सम्मेलन गर्दै भने,‘आफ्नो सम्पूर्ण व्यापार व्यवसायको आम्दानीको विवरण सरकारी निकायमा बुझाएको छु।’ उनले दोस्रो व्यक्तिलाई प्रयोग गरी व्यापार व्यवसाय नगरेको बताए। सञ्चार माध्यममा उल्लेख गरिएका कुनैपनि व्यक्तिसँग सम्बन्ध र चिनजान समेत नभएको मल्होत्राले दाबी गरेका छन्। व्यवसायिक जीवनलाई क्षति पुग्नेगरी आफूविरुद्ध समाचार आएकोमा उनले आपत्ति जनाए। उनले सुन ल्याउने गिरोहलाई उम्काउनका लागि आफ्नो नाम जोडिएको आशंका व्यक्त गरिएका छन् । तर, सुन आयात गर्ने व्यक्तिसँग आफ्नो कुनै चिनजान नरहेको मल्होत्राले बताए । उनले भने, ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध छन् । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबा गरेको छैन । सुन आयात गर्न मसम्बद्ध कुनै माध्यमबाट भुक्तानी भएको छैन ।’ समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए । ‘अनुमान र आशंकाका आधारमा समाचार लेख्दा कसैले मसित जानकारी लिन चाहेन,’ उनले भने ।

