पाँचथर: पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल खसेको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक मिलन थापाले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि झापा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन थापाले सरकारी शिक्षण संस्थाको सुधारका लागि कुनै कसर बाँकी नराख्ने र शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गरिने बताएका छन् । सामुदायीक बिद्यालयका तर्फबाट कास्की जिल्लामा छात्राहरुको तर्फबाट प्रथम भएकी पोखरा २६ लक्ष्मी उच्च माविमा अध्यानरत छात्रा मेनुका शर्मालाई वडाले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारी र सामुदायिक विद्यालयमा बिद्यार्थीहरुलाई जामजाम गर्ने परिस्थिति निर्माण गर्नका लागि वडा कार्यालय प्रयत्नशिल रहेको बताए । थापाका अनुसार पोखरा महानगरपालिका वडा नं। २६ ले नेपालमा नै पहिलो पटक वडा अध्यक्षसँग बालबालिका कार्यक्रम संचालन गरेको र उत्त कार्यक्रम प्रभाबकारी भएकाले मासिक एक पटक उक्त कार्यक्रम संचालन गरिने जानकारी गराए । थापाले सरकारी शिक्षण संस्था सुधारका लागि वडाले केहि सिर्जनसिल योजनाहरु अगाडी सारेको बताए । उनले शिक्षा क्षेत्रलाई अंक मापनको मात्र बिषय अतिरिक्त कृयाकलापमा पनि जोड्नुपर्ने आवश्यकता रहेको बताए । यसअघि पनि वडा कार्यालयले बिभिन्न बिधामा विजय हाँसिलगरि वडाको नाम जिल्लामा राख्न सफल भएको भन्दै सम्मान गरेको बताए । आगामी दिनमा पनि वडाको नामलाई जिल्ला र देशमा राख्ने बिद्यार्थीहरुलाई सम्मान र हौँसला दिनका लागि कुनै कसर बाँकी नराख्ने बताए । थापाले सम्मानित छात्रालाई उच्च शिक्षाका लागि पनि सहजीकरण गर्ने बताए । वडाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थराज रानाभाट, लक्ष्मी भट्टराई, वडा शिक्षा समितिका सचिव मिना भट्टराई भण्डारी, सदस्यहरु हरिप्रसाद अधिकारी, रमेश भट्टराई, प्रकाशलाल श्रेष्ठ, बेदप्रसाद बास्ताकोटी, लक्ष्मी माध्यमिक विद्यालयका विद्यालयका प्रधाननध्यापक जगन्नाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् । लामो समयसम्म शिक्षण पेशामा रहि नेपाली भाषा शिक्षण मार्फत विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पोखराको मदरल्याण्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो । शिक्षण पेशाबाट निवृत्त भए पछि पनि तिमिल्सिनाले लेखन कार्य मार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, विद्यालयले नगद १० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रले तिमिल्सिनालाई सम्मान गरेको हो । बरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल लगायतले तिमिल्सिनालाई माला, दोसल्ला ओढाएर सम्मान गरेका हुन् । बिक्रम संबत १९९९ सालको पौषमा पोखरा महानगरपालिका वडा नं. २३ चैनपुरमा जन्मनु भएका तिमिल्सिना चार दशक शिक्षण पेशामा रहि महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँले २१ वर्ष पोखरा महानगरपालिका वडा नं. ५ को वाराही माध्यमिक विद्यालयमा प्राचार्यको भूमिकामा रहेर विद्यालयको शैक्षिक तथा पूर्वाधारको गुणस्तमा बृद्धि तथा बिकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।
काठमाडौं: भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ । जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ । यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ । यसअघि फिल्म ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित फिल्म बनेको छ । टिजरले यो प्रतिक्षालाई अझै बढाएको छ ।
पोखरा: लमजुङको जिताकोटमा सम्पन्न विष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ रनिङ शिल्डको उपाधि पोखराको गन्नी एफसीले जितको छ । जिताकोट गोल्डेन फ्युचर युवा क्लबद्वारा साउने संक्रान्तिको अवसरमा आयोजित फाइनल खेलमा सुन्दरबजार एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै गन्नी एफसीले उपाधि जितेको हो । उपाधिसँगै गन्नीले (१ सय तोला बराबरको चाँदीको) रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख १५ हजार प्राप्त गर्याे । यस्तै उपाविजेता बनेको सुन्दरबजारले मेडल र प्रमाणपत्रसहित नगद रु ७० हजार प्राप्त गर्याे । सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नीका अनुज भण्डारी घोषित भए । यस्तै सर्वाधिक गोलकर्ताका रुपमा १० गोल गरेका रोशन क्षेत्री पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आकाश रानाभाट घोषित भए । कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा फेयर प्लेको ट्रफी १० हजारसहित केवाइसी खमारीबोटले जितेको थियो । विजेता तथा उपविजेता टोलीलाई मध्यनेपाल नगरपालिकाकी उपप्रमुख सीता गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पाेखरा: अविरल वर्षात्पछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ज पूर्णरूपमा अवरूद्ध बनेका छन्। सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ, त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ। यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ। यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ। मौसमजन्य विपदका कारण राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।
चितवनको कालीखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको हो । बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । पहिरो पन्छाउने क्रम शुरु भए पनि पानी परिरहेकोले समस्या भएको छ । थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो ।
बागलुङ: बागलुङ बडिगाड गाउँपालिकामा वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत फेला परेका छन् । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सूचना अधिकारी शारधा प्रसाद चौधरीले बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जानकारी दिए । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेकाे छ । प्रहरीका अनुसार अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।
काठमाडौं: निजी क्षेत्रका छाता सङ्गठनले नेपाल राष्ट्र बैंकले हिजो आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले चालु आर्थिक वर्षका लागि हिजो राष्ट्र बैंकले सार्वजनिक गरेको नीति समय अनुकूल नभएको बताएका हुन् । संयुक्त विज्ञप्ति निकालेर उनीहरूले उच्च ब्याजदर, न्यून माग, नगद प्रवाहमा भएको समस्या, न्यून उत्पादन एवम् रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरूको सामना गर्ने गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थतन्त्रलाई मन्दीको अवस्थाबाट उकास्न सहयोग नपुग्ने नीति आएको बताएका हुन् । गएको आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण लक्ष्य १२ दशमलव छ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षका लागि यस्तो लक्ष्य साढे ११ प्रतिशतमा झारिएको छ । यसरी निजी क्षेत्रमा विस्तार हुने कर्जा सङ्कुचित गर्दा बजेटमार्फत सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन निजी क्षेत्रको ठहर छ । मौद्रिक नीतिले ब्याजदर नियन्त्रणमा पहलकदमी लिन नसकेको, कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न दिइनुपर्ने, पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने लगायतका माग पनि पूरा नभएको उनीहरूको भनाइ छ । यस्तै ठूला ऋणीहरूको सुपरीवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने व्यवस्थाले निजी क्षेत्र निरुत्साहित हुनसक्ने आशङ्का जन्माएको पनि विज्ञप्तिमा उल्लेख छ । वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको कार्यदिशा हुने व्यवस्था समेटिए पनि के सुविधा दिने भन्ने प्रष्ट नभएको निजी क्षेत्रले जनाएको छ । समग्रमा अर्थतन्त्रमा चरम निराशा रहेको अवस्थामा मौद्रिक नीतिले निजी क्षेत्रको विश्वास बढाई अर्थतन्त्र चलायमान बनाउन सक्ने कार्यक्रम तत्कालका लागि ल्याउन नसकेको उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सको ठहर छ ।

