पोखरा: जनता समाजवादी पार्टीका महिला नेतृ बुद्धिकुमारी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी (कास्की क्षेत्र नं २) गुरुङ जसपा परित्याग गरी आज (शुक्रबार) राप्रपा प्रवेश गरेकी हुन् । उनलाई राप्रपामा राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री माननीय पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले पार्टीमा स्वागत गरे । सो अवसरमा पूर्व मन्त्री गुरुङले राजनीतिक सफलताका लागि शुभकामना व्यक्त गर्दै नयाँ शिराबाट राजनीतिमा होमिनुपर्नेमा जोड दिएका थिए ।
पोखरा: प्रेस सेन्टर नेपाल कास्कीले पोखरा महानगरपालिका ६ लेकसाइडस्थित माया थकाली भन्छा घर एण्ड रेष्टुरेन्टका सञ्चालकले पत्रकार हेमराज अधिकारीलाई गरेकोे अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ । प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै होटल व्यवस्थापनले पोखरामा क्रियाशिल पत्रकार तथा फेवा खबर डटकमका सहसम्पादक हेमराज अधिकारी लगायत फेवा खबर टिममाथि अभद्र व्यवहार गरेको भन्दै माफि माग्नुपर्ने बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘रेष्टुरेन्टमा खाना खाने क्रममा अखाद्य वस्तु (स्टिलका टुक्रा) भेटिएपछि सोको भिडियो क्यामेरामा कैद गरी सञ्चालक विशाल चौधरीलाई जानकारी गराउने क्रममा सञ्चालक चौधरीले सञ्चार समाग्री तोडफोडको प्रयास गर्दै अपशब्द बोल्दै अभद्र व्यवहार गरेको घटनाले स्वतन्त्र प्रेसमाथि प्रहार गरेको ठहर छ ।’ यस्तै सेन्टरले प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको घटनामा पत्रकारलाई नै दोषारोपण गरेकाले पत्रकारितामाथि हस्तक्षेत्र भएको ठहर गरेको छ । ‘प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको अभद्र व्यवहारको घटनामा उल्टै पत्रकारलाई नै भिडियो किन खिचेको भनेर प्रश्न गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ दुर्व्यवहारको घटनामा संलग्नलाई सचेत गराउँदै माफी माग्न र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धताका लागि सम्बन्धित पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ । यद्यपी विज्ञप्तीमा क्षमायाचना मात्रै भनिएपनि पत्रकारहरुले होटल सञ्चालक तथा प्रहरीलाई कानूनी कारवाही गर्नुपर्ने बताएका छन् ।
काठमाडौँ: राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याए । ‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए । नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी भुमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकीर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता समेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो । व्यवस्था परिवर्तनका लागि बित्यो । हामीले निरंकुशताका अनेक जन्जालहरुलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं । यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो । तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं । रुमलिएका छौं । यसकारण यो रुमलिएकोलाई युवाहरुले चिर्नु हुनेछ । र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरुको काँधमा छ । यहाँहरुले भविष्यमा नेतृत्व गर्नुहोस् ।’ अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुव्र्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको सिको गर्दै हुने अपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतियुक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल रहेको समेत बताए । अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भुमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताए ।
पोखरा: गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीमगरले पोखराको यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर बिहीबार अनुगमनमा गएका हुन् । अनुगमनमा पुगेका मन्त्री जुग्जालीमगरले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको बुझ्नका लागि अनुगमनमा पुगेको बताए । उनले सोसँगै सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको सुनाए । उनले सेवाग्राहीको चाप कम गर्न पोखरासँगै अन्य जिल्लाको कार्यालयमा पनि सेवा बिस्तार गर्ने बताउदै आएका छन् । मन्त्रीको अनुगमनको क्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले सहज रूपमा सेवा उपलब्ध गराउदै आएको ब्रिफिङ गरेका थिए । जुग्जालीमगरले भौतिक तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीमुखी काम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए । जुग्जालीमगरको नेतृत्वपछि राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुदै आएको छ । जसले गर्दा कार्यालयमा हुने सेवाग्राहीको चाप कम भएको छ ।
काठमाडौं: एक टिभी शाेमार्फतजातिय सद्भाव भड्काउने खालकाे अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए । उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। अहिले पक्राउ पुर्जी जारी भएकाे छ।’ पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए । यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै अभिव्यक्ति दिएकी थिइन् । सो विषमा मुस्लिम समुदायले बेवास्ता गरेपनि नेपालको तेस्रो ठुलो जनसँख्या रहेको मगर समुदाय र तामाङ समुदायमा आँच पुगेको भन्दै चौतफी विरोध भएको थियो । त्यसपछि सदनमा सांसद इश्वरी घर्तीमगर र शुशिला तामाङले पाण्डेलाई कारवाहीको माग गरिएको थियो ।
खोटाङ: खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट रसुवाका लागि छुटेकाे ना ६ त २४६६ नम्बरको ट्र्याक्टर पल्टिँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको ज्यान गएकाे हाे। खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको नेर्लामा बिहीवार हिजाे बेलुका ट्र्याक्टर पल्टिएर गम्भीर घाइते भएका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । उहाँको शव पोष्टमार्टमका लागि इन्द्रेणीपोखरी लगिएको छ ।
काठमाडौं: सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला १४ हिमाल ९२ दिनमै आरोहण गर्दै नेपाली पर्वातारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले नयाँ रेकर्ड कायम गरेका छन्। हिजो बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर उक्त रेकर्ड कायम गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए। पुर्जाको रेकर्ड पनि धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए। तर अहिले पुर्जाभन्दा आधा समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन्। योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ। उनीहरूसँगै हिजै २१ जनाको टोलीले माउन्ट केटुको सफल आरोहण गरेका छन्।
काठमाडौं: मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।
काठमाडौं: नेपालले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ४९ लाख रूपैयाँको गोलभेँडा भारतलाई बेचेको छ । भन्सार विभागको तथ्यांक अनुसार १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात गरिएको छ । उक्त गोलभेँडा असारमा मात्रै निर्यात भएको हो । आर्थिक वर्ष २०७८/०७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो । भारतको राजस्थानमा आएको आँधीका कारण केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको थियो । एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको १ सय २० देखि १ सय ५० भारूमा कारोबार भइरहेको थियो । तर अहिले भने १ सय भारु भन्दा कम भइसकेको छ । यो खबर सेतोपातीमा सुनिता सिटौलाले लेखेकी छिन् ।

