पोखरा: कास्कीको माछापुच्छ«े गाउँपालिका १ खिम्राङस्थित सेती नदीमा फसेका तेजेन्द्र घर्ति मगरको सकुशल उद्धार भएको छ । नेपाल सशस्त्र प्रहरी बलको टोलीले आज (आइतबार) सेती नदीमा फसेका २० वर्षीय घर्तिमगरलाई सकुशल उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति युवकले सेती नदीमा पौडी खेलेर नदी पार गर्छु भन्दा बीच भागमा नै अड्किएको अवस्थामा आएको जानकारी पछि सकुसल उद्धार गर्न सफल भएको जानकारी दिएको छ । माछापुच्छ«े १ खिम्राङस्थित निर्माणाधिन हाईड्रोपावरमा कार्यरत घर्तिमगरलाई उद्धारपछि उनका साथी दिपक घर्तिमगरको जिम्मा लगाएको कास्की प्रहरीले जनाएको छ । नदीमा युवक फसेको जानकारी पछि सशस्त्र प्रहरी र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उद्धार गरेको हो ।
कर्णाली नदीमा डुबेर एक जना बालिका बेपत्ता भएकी छन्। शनिबार दिउँसो कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी १२ वर्षीया बबिता टमटा कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन्। उनी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार बेपत्ता बालिकाको खोजी भइरहेको छ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘युवा तहबाट सरकारले अभियानमा जुन समर्थन पाएको छ, आउने दिनमा अरू फाइल खुल्दै जानेवाला छन् ।’ सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उहाँले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गर्नुभयो ।
काठमाडौं: आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो। प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो। सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ। सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्। असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।
पोखरा: पोखरा महानगरपालिका ३२ स्थित बडहरे तालखोलामा अस्थायी पुल निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली नेतृत्वको टोलीले आज (आइतबार) जोखिमयुक्त पुलको स्थलगत अवलोकन गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो । स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री जुग्जालीले सो खोलामा अबको दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउने बताए । त्यसका लागि पूर्वाधार विकास कार्यालय कास्कीलाई मन्त्री जुग्जालीको निर्देशन छ । यस्तै पोखरा–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले वडा, महानगर र मन्त्रालयले समन्वय गरेर तत्काल अस्थायी पुल बनाउनले सहमति भएको बताए । ‘पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन भएको छैन’ उनले भने ‘दिर्घकालिन समस्या समाधानका लागिमोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेका छौ ।’ वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन । तालखोलामा आवत जावत गर्न बनाइएको पक्कीकल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका थिए । सो स्थलगत अवलोकनका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसँगै मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, मन्त्रीका निजी सचिव ई. आनन्द भट्टराई लगायतको टोली तालखोलामा पुगेको थियो ।
काठमाण्डौ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गएको असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरी २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । यस अवधिमा पुरीको वैध आय एक करोड २० लाख ७७ हजार सात सय ४८ रुपैयाँ बराबर रहेको पाइएको छ । त्यसमा पारिश्रमिक, अन्य भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्था वा सहकारीबाट प्राप्त रकम, ब्याजआय र जग्गाको मुआब्जालगायत रहेको छ । यस अवधिमा पुरीले दुई करोड २४ लाख ८१ हजार छ सय ९० रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । खर्चको तुलनामा आय कम रहेको तथा वैध स्रोतसमेत नभएको पाइएकाले आयोगले नापी अधिकृत पुरीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । आयोगले बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरेको छ । सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको पाइएको छ ।
पोखरा: गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको निसीखोला गाउँपालिका कृषि तथा पशु उत्पादनको उर्वर भुमि हो । पालिकाबासीहरु सामान्य खेतीकिसान,भेडाबाख्रा,गाईभैसी पालनमै व्यस्त छन् । परम्परागत कृषि र पशुपालनलाई थप व्यवस्थित बनाउन स्थानिय सरकारले पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम बनाएको छ । नयाँ आर्थिक वर्षको सुरुवातबाट नै गाउँपालिकाले कृषि उत्पादन,विस्तार र प्रवद्र्धनमा जोड दिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् । “वन जलस्रोत र संस्कृति, पर्यटन र कृषि,सभ्य सम्मुनत सुखी र समृद्ध निसी” भन्ने मुल नाराका साथ पाँच वर्षको मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पालिकालाई समृद्ध बनाउने कार्य सुरु भएको उपाध्यक्ष घर्तीमगरले बताए । “बार्हौ गाउँसभाबाट मध्यवर्ती खर्च संरचनाको आधारमा टेकेर पाँच वर्षको आवधिक योजना बनाएका छौ”,उनले भने,“यसै योजना मार्फत पालिकाको नारामा उल्लेख गरिएका मुख्य विषयहरुलाई प्राथमितामा राखेर पुरा गर्ने कसरत गरेका छौ ।” स्थानिय सरकारले कृषि रणनीतिक योजना मार्फत पालिकालाई आत्मनिर्भर बनाउनका लागि मुख्य गरि आलुखेतिलाई प्राथमिता दिएको छ । पालिकाभर परम्परागत शैलिमा हुदै आएको यसखेतिको तथ्याङ्क संकलन कार्य जारी रहेकोले त्यपछि यसको उत्पादकत्व बढाउने,बजारीकरण गर्ने लगाएतका योजना बनाउने उनले बताए । पालिकामा विशेषगरि बर्खे र हिउदे गरि दुई सिजनमा आलु उत्पादन हुदै आएको छ । उपाध्यक्ष घर्तीमगरका अनुसार पालिकालाई तेलमा पनि आत्मनिर्भर बनाउने उद्धेश्यले गत वर्ष परिक्षण स्वरुप पहिलो पटक प्रत्येक कृषकलाई सुर्यमुखिको विउ वितरण गरिएको छ । यो अभ्यासले राम्रै उत्पादन दिने आशा पलाएको र तेल पेल्ने मेसिन पनि अनुदानमा उपलब्ध गराउने योजना रहेको छ । साथै निसीखोलाका निसेलढार लगाएत केहि उच्च स्थानमा स्याउ खेति हुदै आएकोले बाँकी स्थानमा यो खेतिको अभ्यास गरि पालिकालाई स्याउ पकेट क्षेत्र विस्तार गर्ने क्रम जारी रहेको र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ । “हाम्रो पालिकामा ४ हजार उचाई भन्दा माथि पर्ने भुगोल छन्,निसेलढोर लगाएत उच्च स्थानमा स्याउखेति हुदै आएको छ”,उपाध्यक्ष घर्तीमगरले भने, “हावापानी र सुहाउदो माटो अनुसार बाँकी ठाँउमा पनि स्याउ पकेट क्षेत्र विस्तार गर्ने यस वर्ष १० लाख बजेट विनियोजन गरेका छौ ।” अवको ५ वर्षमा स्थानिय सरकारले भांगो खेति,तेलहन खेति,स्याउ,आलु,मकै,जौँ,गहुँ लगाएत रैथाने बालीको संरक्षणमा जोड दिदै आत्मनिर्भरताको कदम चालेको छ । “कृषि र पशुपालनमै आश्रित यहाँका स्थानियले उत्पादन गरेको वस्तुले राजधानी काठमाडौँसम्मको बजार धान्न सक्ने क्षमता छ,उनले भने, “अझै उत्पाकत्व बढाउने र बजारीकरण गरि स्थानियको आयआर्जनलाई सुनिश्चित गर्न स्थानिय सरकारले हरपर्यत्न कोसिस गरिरहेको छ ।” समुन्द्रि सतहबाट ८ सय ८९ देखी ४ हजार मिटर सम्मको उचाईमा र २४४.३७ वर्ग कि.मी. क्षेत्रफल फैलिएको निसीखोला गाउँपालिका प्रशस्त हरियो घाँसे मैदान र चरिचरणको सुव्यवस्थित भुगोल समेत हो । प्रशस्त चरिचरणको भौगलिक सु–व्यवस्थाकै कारण हाल करिव २५ हजारको संख्यमा भेडाबाख्रासंग कृषकहरु आवद्ध रहको उनको दावी छ । किसानलाई प्रत्साहन गर्नका लागि अवको एकवर्षमा संघ सरकारबाट उपलब्ध भएका कृषि तथा पशुमा आधारित विभिन्न अनुदानका कार्यक्रमलाई लागु गर्ने स्थानिय सरकारले तयारी गरेको उनले बताए । “स्थानिय सरकाले यो वर्षदेखि कृषकलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु ल्याउने योजनामा छ,यो सेवा प्राप्त गर्नका लागि कृषकहरु पालिकाको सम्पर्कमा आउनुपर्छ,” उनले भने,“हाम्रो पालिका जिल्लाको निकै विकट भुगोलमा पर्छ,पर्याप्त सुचनाको सुविधा छैन र वास्तविक कृषकलाई फुर्सद नभएकोले सेवाको पहुँच सम्म आउन समस्या छ,त्यसैले अव छिट्टै हामी नै स्थलगत रुपमा कृषक कहाँ पुगेर तथ्याँक संकलन गरि उनीहरुलाई सेवाको पहुँचमा ल्याउने योजना बनाएका छौ ।” स्थानिय सरकारसंग पर्याप्त बजेट नभएपनि यहाँका कृषकको आवश्यकता र भोगोलका दृष्टिले के–कस्तो कार्यक्रम ल्याउन सकिन्छ त्यसको विषयमा पालिकाले स्थानियसंग छलफल,अनुसन्धान र अभ्यास जारी राखेको उनले बताए ।
पोखरा: अविरल वर्षाका कारण पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको छ । हिजो (शनिबार) करिब दिउँसो साढे ३ बजेदेखि परेको अविरल पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको हो । सडक भासिदा ग १ ख ५५०१ नम्बरको टिप्पर खाल्डोमा परेको छ । उक्त मार्गको सडक भासिएपछि बस्ती नै जोखिम रहेको स्थानीय सन्दीप थापाले बताए । उनका अनुसार गएराती भासिएको हो । ‘अहिले भ्वाङ पुर्न भनेर आको टिम्परनै भ्वाङमा परेको छ, वडासँग समन्वय गरेर निकाल्ने प्रयास भइराछ,’ थापाले भने । तस्बिरहरु:-
पोखरा: पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे । सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत हुनुपर्ने उल्लेख गरे । सुनारले व्यवसायीको हकहितका लागि विशेष मापडण्डसहितको नीति निर्देशिका तर्जुमा गर्ने पक्षमा महासंघ रहेको बताए । नेपाल सरकारले अहिले सुन आपुर्ती कम गर्दै आएको बताउदै उनले सो विषमा सरकारलाई ध्यानाकर्षण गर्नका लागि महासंघले पहल गरिरहेकोसमेत बताएका थिए । कार्यक्रममा अधिवक्ता विनिता नेपालीले व्यवसायीलाई पर्ने समस्याको बारेमा सहजीकरण गर्दै कानुनी सहायताका विषयको बारेमा प्रशिक्षण दिएकी थिइन् । यस्तै सिए अमृत गदलले व्यवसाय मर्यादित र व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्नका लागि मद्दत पुग्ने तरिकाले लेखा सम्बन्धि तालिम दिएका थिए । सो तालिमपश्चात निकै उपयोगी कार्यक्रम रहेको सहभागि व्यवसायीहरुले बताएका थिए । सोही क्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको तर्फबाट रेडिमेट सुनका गरगहनकाे सट्टा ५० ग्राम काँचो सुन भन्सार छुटमा पाउने व्यवस्था गर्नका लागि महासंघलाई ध्यानाकर्षण गराएको थियो । कास्कीका अध्यक्ष राम बहादुर विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कास्कीका प्रथम उपाध्यक्ष भरत विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इश्वर विकले गरेका थिए ।

