मनाङ: विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् । बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापा मगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका–८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका–८ की ४७ वर्षीया लीला तामाङ, धादिङ रुविभ्याली गाउँपालिका–५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका–२, फुन्तिवाङ घर भई नार्पाभूमि गाउँपालिका–२ छ्याज्यामा होटेल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढा रहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीले जानकारी दिनुभयो । भुईँ बारुला पोलेर खाएका उनीहरूलाई रातिदेखि मुटु, छाती तथा जिउ पोल्न थालेपछि थप उपचारका लागि लमजुङ सामुदायिक अस्पताल पठाइएको प्रनाउ भण्डारीले बताउनुभयो । उहाँका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् ।
काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुले धरौटी आवश्यक नहुने बताएका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै परामर्श व्यवसायीले संघीय शिक्षा ऐनको दफा ६५ को उपदफा ५ (३) बुँदा प्रति आपत्ति जनाउँदै धरौटी लगायतको विषय खारेज गर्न माग गरेका हुन् । व्यवसायीले दफा नसच्याए चरणबद्ध बिरोधका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत दिएका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परामर्श क्षेत्रलाई व्यवस्थित तथा नियन्त्रण गर्ने बहानामा संघीय शिक्षा ऐनमा धरौटी लगायतको विषय समावेश गरेको आरोप व्यवसायीको छ । परामर्श व्यवसायीले अनुमतिपत्र प्राप्त शैक्षिक परामर्श दिने संस्थाले कुनै नेपाली नागरिकलाई वैदेशिक शैक्षिक संस्थामा अध्ययन गर्न पठाउन वा त्यस्ता शिक्षण संस्थामा भर्ना गर्न शैक्षिक परामर्श सेवा लिइसकेपछि निज भर्ना हुन नसकेको वा त्यस्तो शिक्षण संस्थाले सम्बन्धित मुलुकमा गुणस्तर सुनिश्चित प्रत्यायन प्राप्त नगरेको भएमा त्यस्तो संस्थालाई तोकिएको अधिकारी तोकिए बमोजिम कारवाही गरि उपदफा (५) बमोजिमको धरौटी रकम जफत गर्न सकिनेछ भन्ने माथि उल्लेखित उपदफा प्रति शैक्षिक परामर्श क्षेत्रका सम्पूर्ण संघ र महासंघको ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले नेपालबाट वैदेशिक शिक्षामा अध्ययन गर्न जाने विद्यार्थीहरूको शैक्षिक र भाषाको योग्यताका आधारमा विभिन्न देशको विद्यालय, महाविद्यालय र विश्व विद्यालयले भर्ना लिई विद्यार्थीलाई अफर लेटर आउने भएकोले सो वमोजिम नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा कार्यालयबाट पत्र लिई देश अनुसारको विदेशी मुद्रा सटहीको अनुमति लिई ’क’ वर्गको वाणिज्य वैँक खाताबाट प्रत्यक्ष रकम पैठारी हुने हुँदा राज्यले लिने ३ प्रतिशत शिक्षण सेवा कर प्यान कार्ड मार्फत लिई रकम पैठारी हुने र भिसा प्रक्रिया शुरु हुँने भएकाले यस व्यवसायमा धरौटी आवश्यक नपर्ने स्पष्ट पारेको छ । विद्यार्थी भिसा प्राप्त भएपछि सम्वन्धित शिक्षण संस्थामा अध्ययनका लागि जान सक्नेछन् र भिसा रिजेक्सन भएमा शिक्षण संस्थाको नियम वमोजिम अभिभावकको जुन बैंक खाताबाट रकम प्रेसित गरिएको हो सोहि बैंक खातामा रकम फिर्ता हुँने व्यवसायीले बताए । शैक्षिक परामर्श पेशा सेवामुखी व्यवसाय हुनुका साथै यसले शैक्षिक तथा भिसा परामर्श दिने भएकोले सेवा दिए वापत न्युनतम शुल्क लिने भएको हुँदा धरौटीको रकम आवश्यक नपर्ने भन्दै व्यवसायीले दफा ६५ उपदफा ५ र ६ खारेजीको माग गरेका छन् । युवाहरूले लगानी गरेको शैक्षिक परामर्श व्यवसायलाई धरासायी पार्ने गरी ऐन र नियमावली निर्माण भएको हुँदा २० औं अर्ब लगानी रहेको यस व्यवसायी क्षेत्रमा ३० औं हजार नेपालीहरूको रोजगारी जोखिममा परेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पोखरा: लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा ३३ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोनिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो । सो अवसरमा बोल्दै ला. मोहन खड्काले शहरबाट नजिकै रहेतापनि शैक्षिक गुणस्तरमा एपं अन्य गतिविधिका लागि लायन्सले योगदान गर्दै आएको बताउनुभयो । त्यसैगरी ड्रिष्ट्रिक चिफ एडभाइजर बास्तोलाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा काम गर्दै आएको भन्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइराख्ने बताउनुभयो । त्यसैगरी पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष दिपक सुवेदीले लायन्स क्लब अफ चौतारीले गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो । यस अघि क्लबले शैक्षिक सामाग्री वितरण, सो विद्यालयमा अध्ययनरत भगवती खत्रीको गम्भीर रोगको उपचार लगायतका सहयोगहरु गर्दै आएको क्लबका अध्यक्ष ऐरले बताउनुभयो । कार्यक्रममा मोटिबेस्नल स्पिकरका रुपमा रहनुभएका प्रतिभा उ.मा.विका प्राचार्य ला किरण सापकोटाले विद्यार्थीहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि सर्भरसस्त सपना देख्नुपर्ने र सपना पूरा गर्न मेहेनत, हिम्मत र इमान्दारीता सँगै लिएर हिड्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी अर्का मोटिबेस्नल स्पिकर सृष्टि केसीले हरेक क्षेत्रमा मेहेनत, इमान्दारीता र दृढ इच्छा शक्तिका साथ काम गरेमा सफलताका हात पर्ने बताउँदै उहाँले एकले भन्दा एकजुट भएर काम गरेमा शक्ति प्रदान हुने उल्लेख गनुभयो । कार्यक्रममा दृष्टिबिहिन केसीको नृत्यले विद्यार्थीहरुले मनोरञ्जन लिएका थिए । सो विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु रहेको छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्सको माध्यमबाट गरिएको आँखा शिविरबाट यस अगाडि २१ जना विद्यार्थीलाई चस्मा सिफरिस भएको जानकारी दिनुभयो ।
कास्की: के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ? त्यसो हो भने ल्वाङ गाउँ घुम्न नछुटाउनुहोला। लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन। हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ। प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ। पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ। सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ। ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ। पोखरासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो। गुजुमुज्ज गुरुङ बस्ती। सेतो र गेरु रङ पोतिएका एकनासे घर। ढुङ्गाकै छाना, आँगन र बाटो। वास्तुकला झल्काउने झ्यालढोका। स–साना गल्ली, गल्छेँडा र तगारा। ल्वाङ गाउँका आकर्षण हुन् यी। गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव भुल्छन्। प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन्। विसं २०६७ मा घरबास (होमस्टे) सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो। सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ। एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ। पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ। प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताइन्। ‘यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको सङ्ख्या केही घटेको छ,’ उनले भनिन्, ‘पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ।’ हिउँदमा दन्तेलहरझैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले ल्वाङ गाउँको सौन्दर्य उसैगरी खुल्छ। समुद्री सतहदेखि चौध सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुछ्रे अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ। अध्यक्ष गुरुङले गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशी–विदेशी अध्यताहरूसमेत ल्वाङ गाउँ आउने गरेको जानकारी दिइन्। ‘बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउँछौँ, हाम्रो रैथाने खानाको स्वाद चखाउँछौँ,’ उनले भनिन्, ‘कसैले इच्छा गर्नुभयो भने करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गर्छौँ।’ निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको उनको भनाइ छ। घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको घरबास सञ्चालक माया गुरुङले बताइन्। ‘वर्षात्का बेला टुसा, निउरोको परिकार बन्छ, गुन्द्रक त सँधै हुन्छ,’ उनले भनिन्, ‘यहीँको मकै, कोदो, जौँबाट बन्ने परिकार पाहुनालाई खुवाउँछौँ।’ मासुजन्य परिकारका लागि स्थानीय कुखुराको बढी प्रयोग हुन्छ। पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेको घरबास सञ्चालक बताउँछन्। “ल्वाङ गाउँ आएका पर्यटकले एकदेखि दुई रातसम्म यहाँ बिताउँछन्”, घरबास सञ्चालक गुरुङले भनिन्, ‘अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरू पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन्।’ सप्ताहन्त मनाउन ल्वाङ शुक्रबार ल्वाङमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ। जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन ल्वाङ पुग्छन्। बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ। ‘कुनै शुक्रबार त ठाउँ नपुगेर पाहुनालाई जेनतेन राख्नुपर्छ,’ घरबास सञ्चालक गुरुङले भनिन्, ‘बिदामा फुर्सद निकालेर कर्मचारी, व्यवसायीलगायत स्थानीय पाहुना बढी आउनुहुन्छ।’ अहिले वर्षात्का बेला पनि आन्तरिक पर्यटक ल्वाङ पुगिरेका छन्। विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि त्यहाँ पुग्ने पनि उत्तिकै हुन्छन्। चलचित्रको छायाँङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ। ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँङ्कन यही गाउँमा भएको थियो। ल्वाङ गाउँको सौन्दर्य यत्तिमा सीमित छैन। गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो। एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ। चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन्। ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने ल्वाङ गाउँमा पहिलोपल्ट विसं २०५३÷०५४ तिर चिया रोपिएको थियो। ल्वाङ गाउँमा ‘एक्याप’को कार्यालय बसेपछि पर्यटकीय गतिविधि सुरु भएको स्थानीयवासी प्यारी गुरुङले बताइन्। ‘फाट्टफुट्ट पर्यटक देखिन थालेपछि महिला समूह बनाएर होमस्टे सुरु गरेका हौँ, पहिले अहिले जस्तो पर्यटक आउँदैन थिए,’ ६० वर्षीया गुरुङले भनिन्, ‘अहिले त दिनमै सयौँ पाहुना आउँछन्, गाउँको मुहार नै फेरिएको छ।’ गुरुङ पनि घरबास व्यवसायमा आबद्ध छिन्। उनको घरबासमा ४० जनाको क्षमता छ। पर्यटकस्तरीय कोठासहितको सुविधा घरबासमा छ। पर्यटकलाई पारिवारिक वातावरणमा बास र खानाको प्रबन्ध गर्ने गरिएको व्यवसायी गुरुङले बताइन्। बेलुकाको खाना र बिहानको खाजा, खानासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु। १२ सय तोकिएको छ। खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ। उक्त ‘प्याकेज’मा एकछाक सादा खाना र एकछाक खानामासु हुन्छ। माछापुच्छ्रे–८ का वडाध्यक्ष रामबहादुर गुरुङले ल्वाङ गाउँमा ‘पार्किङ’, फोहरमैला व्यवस्थापन आदिको समस्या रहेको बताए। खोलामुखबाट ल्वाङ गाउँ जोड्ने तीन किमी सडक कालोपत्र हुन बाँकी छ। सो सडक स्तरोन्नतिकाका लागि गण्डकी प्रदेश सरकारले ठेक्कामा लगाउने तयारी गरेको छ। ‘ल्वाङ गाउँ ग्रामिण पर्यटनको केन्द्र बनेको छ, अब गुणस्तरीय पूर्वाधारको खाँचो छ,’ उनले भने, ‘स्तरीय सडक, पदमार्ग, सुविधायुक्त होटललगायत सुविधा दिन सके देशविदेशका पर्यटकलाई भित्र्याउन सकिन्छ।’ ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहन नै ल्वाङ गाउँको मुख्य आकर्षण रहेको उनले बताए। ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिने वडाध्यक्ष गुरुङले बताए । वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो। गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले ल्वाङ र घलेललाई राज्ने गरेका हुन्। पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ। पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ। मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ। पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ।
काठमाडौँ: कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए । शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।
रौतहटमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गौर नगरपालिका-३ पोखरिया टोलस्थित मस्जिद छेउमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी छन्। उनीसहित केही व्यक्तिहरूले सोही ठाउँका प्रिन्स अन्सारीलाई गत आइतबार बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यसरी सामाजिक सञ्जालमा बाहिरिएपछि प्रहरीले कुटपिट गर्ने व्यक्तिहरूको खोजी गरी अन्सारीलाई पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
काठमाण्डौ: झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो । कृषि मन्त्रालयअन्तर्गत सञ्चालित त्यस विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका कर्मचारीले आर्थिक अभाव देखाउँदै चार दिनअघि सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताउनुभयो । प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ । विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको छ। यसैबीच, उपभोक्ता जागरण अभियानको टोलीले मंगलवार विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई भेटेर चार दिनदेखि बन्द रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । उपभोक्ता जागरण अभियानका सचिव विशाल थापाले प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गर्नुभयो । प्रयोगशाला सङ्घीय सरकारको कृषि मन्त्रालय मातहत रहेको र स्थानीय स्तरमा त्यसको सञ्चालनका लागि नगरपालिकाले एउटा मेसिन र दुई कर्मचारी खटाएको विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिस अनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । उनका अनुसार पुरस्कार राशी जनही २५ हजारसहित सम्मानपत्र र दोसल्ला रहेको छ । वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको थियो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् । थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् । उनीहरुलाई साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ । पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङलाई यो पुरस्कार अर्पण गरिसकेको छ ।
विराटनगर: मोरङका मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका मिटरब्याज पीडित विनित सोनारको मृत्यु भएको हो । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै विष सेवन गरेका कटहरी गाउँपालिका-३ का अन्दाजी ३२ वषर्ीय विनित सोनारको बुधबार बिहान मृत्यु भएको हो । डा. नितेष तिवारी विरुद्ध सोनारकी पत्नी रीताले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो । जिल्ला प्रशासन कार्यालयमा छलफल पछि बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि सुनारले विष सेवन गरेका थिए । विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।

