पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाण्डौ:  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बुधवार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ ।   आजको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेको हो ।   बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनुभयो ।   सभामुखले बैठक सञ्चालन गर्न सघाउन पटक–पटक आग्रह गरे पनि एमालेले नाराबाजी गर्दै बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली चाँडै ल्याउने बताएका छन्।   मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका छन्।   ‘हामी तत्कालै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ, यसका लागि कानुन  मन्त्रालयको राय लिन बाँकी छ, नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्नु पर्दैन,’ मन्त्री श्रेष्ठले भने, ‘अहिले अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत मात्रै गरिएको छ, पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको हो।’   नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा तिनका सन्तानले वंशजका आधारमा नागरिक पाउने व्यवस्था संविधानमा नभएको र  संविधानमा नभएको कुरा नियमावलीबाट अपेक्षा गर्न नसकिने पनि श्रेष्ठले बताए।    उनले नेपाली आमाका सन्तानले सहज रुपमा नागरिकता पाउने व्यवस्था अहिलेको संविधान र ऐनले गरेको बताए।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर ज्यान गएको छ । यादव दाजुभाइको ज्यान गएपछि बगही गाउँ शोकमा डुबेको छ ।    गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।    खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उहाँले बताउनुभयो ।    मंगलवार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौ:  सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मंगलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।    सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको ज्यान गएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । सोमवार रातिदेखि नै बेपत्ता चौधरीको शव मंगलवार बाँके खोलामा फेला परेको थियो ।    त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बाग्मती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको ज्यान गएको हो । स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेका थिए । बाग्मतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ ।   यसैबीच बाढीका कारण बाग्मती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मंगलवार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए ।   त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बाग्मती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ । बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । 

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ।   बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका- ५, संखुवासभाका  १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका- ७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो।संखुवासभाका प्रमुख जिल्ला अधिकारी  शिवकुमार कार्कीका अनुसार आज बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो। कारागारभित्र रहेका कैदीबन्दीले उनीहरू अचेत अवस्थामा भएको सूचना दिएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याएको थियो।   ‘अस्पताल पुर्‍याइएको डेढ घन्टामा दुबै जनाको मृत्यु भएछ,’ सिडिओ कार्कीले सेतोपाटीसँग भने। उनका अनुसार तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।   उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए। बुधबार राति शौचालयको झ्यालको रड काटेर दुई जना भाग्न लागेका थिए। शौचालयको ढोका अहिले पनि भित्रबाट चुकुल लगाएकै अवस्थामा रहेको सिडिओ कार्कीले बताए। नियन्त्रणमा लिएर कारागारमा राखिएका कैदीबन्दी अकास्मात् अचेत भेटिनु शंकास्पद रहेको उनले बताए। हाल कारागारमा १३८ कैदीबन्दी छन्। दुई कैदी अचेत भेटिएको कोठामा ३८ जना कैदीबन्दी छन्।   कैदीबन्दीको मृत्यु भएपछि कारागारमा केहीबेर तनावपूर्ण स्थिति बनेको थियो। अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि सिडिओ कार्कीले जानकारी दिए। घटना शंकास्पद् देखिएकाले  छानबिनका लागि संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरिएको छ। कैदीबन्दी जेलभित्रै अचेत भेटिनु आफैंमा शंकास्पद् कुरा हो, छानबिनपछि थाहा होला,ु उनले भने। 

दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो   तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ।   उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्। तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।   केही दिनअघि गौरीशङ्कर गाउँपालिका–७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो । 

बैतडी:     महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक किशोरीको घर पञ्चेश्वर गाउँपालिका केन्द्र नजिकै रहेको छ । महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलबार राति सर्पले टोकेको र बुधवार बिहान किशोरीको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो । अनिता जवलपुर मावि सैलोडामा कक्षा १० मा अध्ययनरत रहेको स्थानीय वीरेन्द्र चन्दले जानकारी दिनुभयो । किशोरीका बुवा रोजगारीका लागि भारतमा हुनुहुन्छ ।    छाउपडी कानुन कागजमै सीमित छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा उक्त कानुनबारे गाउँ समाज बेखबर रहेको पाइएको छ ।  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ । यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था यस ऐनमा गरिएको छ ।  सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ ।  सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ ।

गण्डकी:      गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।  प्रदेश स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले एम्बुलेन्स परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थापित प्रेषण केन्द्रबाट मङ्गलबार सो सेवाको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले प्रदेशभरिका नागरिकले एम्बुलेन्स प्रेषण केन्द्रबाट लाभ लिने बताउनुभयो ।  नेपाल सरकारले ल्याएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ बमोजिम गण्डकी प्रदेशमा पनि एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न सुरु गरिएको मन्त्रालयका उपसचिव उदयबहादुर पराजुलीले बताउनुभयो । प्रदेशभित्र सञ्चालित सबै एम्बुलेन्सलाई क्रमशः जिपीएस प्रणालीमा जोडेर एकद्वार सेवामा आबद्ध गरिने उहाँको भनाइ छ ।  “प्रेषण केन्द्र सञ्चालनमा आइसकेको छ, जुनसुकै बेला एम्बुलेन्स चाहिएमा १०२ मा फोन गरेर सेवा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “प्रेषण केन्द्रमा भएका कर्मचारीले बिरामी र एम्बुलेन्स चालकबीच सहजीकरण गर्छन्, एकैछिनमा बिरामी भएकै ठाउँमा एम्बुलेन्स पुग्छ ।” बिरामीले फोन गरेर आफ्नो नाम र ठेगाना बताएपछि जिपीएसबाट हेरेर त्यस क्षेत्र नजिकमा रहेको एम्बुलेन्सलाई बिरामी भएको ठाउँसम्म पठाउने प्रबन्ध प्रेषण केन्द्रबाट हुने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र हाल सञ्चालनमा रहेका एक सय २२ एम्बुलेन्समध्ये ३८ एम्बुलेन्समा मात्र जिपीएस जडान गरिएको छ ।  अहिले प्रदेशमा ‘क’ र ‘ख’ गरी दुई वर्गका बाँडेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । ‘क’ वर्गको एम्बुलेन्समा आइसीयू र ‘ख’ मा तालिमप्राप्त स्वास्थ्यकर्मीसहितको सेवा उपलब्ध छ । उपसचिव पराजुलीले जिपीएससहितको हटलाइन सेवाले एम्बुलेन्स परिचालनलाई व्यवस्थित र पारदर्शी बनाउने बताउनुभयो ।  “एम्बुलेन्सको भाडामा कसैले मनलाग्दी गर्न पनि मिल्दैन, सबै काम एकीकृत प्रणालीबाट हुन्छ, यसबाट नागरिकलाई पनि सहज र छिटो सेवा पुग्छ”, उहाँले भन्नुभयो, “अस्पताल जान एम्बुलेन्स नपाउने, समयमा नआउने अवस्थाको अन्त्यका लागि यो सेवा सञ्चालनमा ल्याइएको हो ।” प्रेषण केन्द्रमा थप जनशक्ति प्रबन्ध गरेर हटलाइन सेवालाई व्यवस्थित गर्दै लगिने मन्त्रालयले जनाएको छ । यो सेवालाई जिल्ला तहमा पनि विस्तार गर्ने योजना प्रदेश सरकारको छ । 

डोटी:      डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।  दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशीले जानकारी दिनुभयो । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली छन् ।  बिरामी भएका सबैको आदर्श गाउँपालिाकामा रहेको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी वरिष्ठ नायब निरीक्षक जोशीले बताउनुभयो ।