पोखरा: पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय.सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण.व्यवस्थापन गर्ने निर्णय गरेको हो । सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, “पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सबै सालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिना भित्र स्थानान्तरण/व्यवस्थापन गर्ने निर्णय गरियो ।“ निर्णय अनुसार एक महिना भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिनेछ । साथै बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडी राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ । पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका सालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ । पोखराका चोकहरूमा रहेका सालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताउनुभयो । “अहिले पोखराको ट्राफिक व्यवस्थापन समेत अरू कुरालाई ध्यान दिँदै अव सडकका बिचहरूमा सालिक राख्न सक्ने अवस्था छैन, उहाँले भन्नुभयो, यस सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गरेर, आवश्यक प्रक्रिया पुरा गरेर सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन छिट्टै गर्नुपर्नेछ, पोखरा महानगरपालिकाले निर्माण गरेको सहिद तथा विभूति पार्कमा बाजागाजा सहित सम्मानपूर्वक सबै सालिकहरूको व्यवस्थापनका लागि सबै सरोकारवालाहरू सहमत हुनुहुन्छ ।” उहाँका अनुसार एक महिना भित्र आवश्यक छलफल तथा परामर्श गरी सालिकहरूको व्यवस्थापन गरिनेछ । सालिकहरू व्यवस्थापनको विषय जित र हारको विषय हुनै नसक्ने समेत उहाँले बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको सालिक सडकमा राख्नु भन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताउनुभयो । विवादको शान्तिपूर्ण समाधानमा जोड दिनुभएका घिमिरेले दीर्घकालीन रूपमा सडकमा सालिक रहन्नन् भन्ने कुराको जानकारी हुदाँहुदैँ पनि क्षणिक रूपमा सडकमा राख्ने विषयको वकालत गर्नु उपयुक्त नहुने बताउनुभयो । राष्ट्रले मानेका व्यक्तिहरूको सम्मान गर्नु नागरिकको दायित्व हुने भएकाले ती सम्मानित व्यक्तिहरूको सालिकहरू व्यवस्थापनको विषयलाई स्वार्थसँग जोड्न नहुने बताउनुभयो । बैठकमा सहभागी दलका प्रमुख तथा प्रतिनिधिहरूले सडकमा रहेका सालिकहरूको उचित व्यवस्थापनमा मतएक्यता प्रकट गरेका छन् । सडकको बिचमा सालिक राख्दैमा उनीहरूको योगदानको सम्मान नहुने भन्दै एकीकृत रूपमा सबै सम्मानित व्यक्तिहरूको प्रतिमा व्यवस्थापनमा दलहरूले जोड दिए । सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूले सालिकको विषय साझा अपनत्वको रूपमा सम्मानजनक व्यवस्थापन हुनु आवश्यक रहेको बताए । सामाजिक रूपमा कायम सद्भावलाई खलल पुर्याउने काम कोही कसैबाट हुन नहुने भन्दै उनीहरूले एक महिना भित्र सबै सालिकहरूको व्यवस्थापन विभूति पार्कमा गर्ने विषयमा सहमति जनाएका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पद सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा ऐन दोहोरोपन देखिएपछि मन्त्रिपरिषदमा यसलाई सच्याएर मात्रै संसदमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो । केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने म आफैँले एउटा नयाँ सङ्कल्प लिएको विश्वास दिलाउन चाहन्छु । हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । त्यस्तै अन्य विषयहरु पनि छन् ।’’ प्रधानमन्त्री प्रचण्डले नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले हामी एउटा नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौं । सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो की भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन । स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान छ । सङ्घीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदैछ र मन्त्रिपरिषदमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको सक्कली शिक्षा ऐनको ठाउँमा केही डुब्लिकेशन देखेपछि त्यसलाई रोकेर सच्याएर मात्रै सदनमा पेश गर्ने प्रक्रिया सुरु भएको छ ।’’ प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताउनुभयो ।
प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँ नेपाली नक्कली नोट बरामद गरेको हो। प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भई हाल चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरा चाँगु बुढाथोकीगाउँस्थित घरमा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए। प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्य समेत गर्दै आएका थिए। प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ। यसैगरी नवलपरासीको सराबल गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौंको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
बाग्लुङ: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बिहीवार हिजो बेलुका साढे ५ बजे माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। करिडोर अवरुद्ध भएपछि बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाण्डौ जाने गाडी सडकमै अलपत्र परेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राखेका छन्। बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिएका हुन्। सुरूमा गंगाकुमारी बेल्वासे बोलेकी छन्। उनले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्न आग्रह गरेकी छन्। ‘सरकारमा हुँदा विघटन गर्ने, विपक्षमा हुँदा अवरोध गर्ने के तरिका हो योरु,’ माओवादीकी सांसद बेल्वासेले एमालेतर्फ लक्षित गर्दै भनिन्। नेकपा एमालेका सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा बैठक पनि पटकपटक अवरोध गर्दै आएका थिए। एमाले सांसद भगवती न्यौपानेले सदन अवरोधबारे विभिन्न ढंगले कुरा उठ्ने गरेको बताइन्। ‘विगतमा कुर्सी उचालेको इतिहास पनि देखिएकै हो, हामी त्यो ढंगले प्रस्तुत भएको छैन,’ उनले भनिन्, ‘कहिले राष्ट्रियतामाथि धावा बोलिँदै गर्दा त्यसका विरूद्ध सदन अवरोध गरियो, कानूनमाथि धावा बोल्दा आवाज उठाइएको छ। हाम्रा आवाज बेवास्ता गर्दा बाध्य भएर सदन अवरूद्ध गरिन्छ। यो रमाइलोका निम्ति गरिरहेको छैन, रहरका लागि पनि अवरोध गरेको होइन।’ उनले देशलाई तस्करीको अखडा बनाउन नहुने बताइन्। विभिन्न प्रकरणमा सरकारका मन्त्रीहरू संलग्न छन् भन्ने कुरा आइरहेको पनि उनले बताइन्। ‘प्रश्नहरूका चाङमा मन्त्रीहरू उभिइरहनुभएको छ,’ उनले भनिन्।
त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको सय किलो सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान छन्। उनीहरूलाई शुक्रबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। उनीहरू हिमालय एअरको फ्लाइटबाट बिहान ९ बजे चीन जाँदै थिए। सिआइबीले यी दुई व्यक्तिहरूलाई कालोसूचीमा राख्न यसअघि नै अध्यागमनलाई पत्राचार गरेको थियो। उनीहरू चीन जान लागेको सूचना अध्यागमनबाट प्राप्त भएपछि सिआइबीले विमानस्थलबाटै पक्राउ गरेको हो। सय किलो सुन प्रकरणमा उनीहरूको भूमिकाको विषयमा भने खुलाइएको छैन। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्। भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए। पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो। त्यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक(शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।
काठमाण्डौ: नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाण्डौबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ । बिहीवार हिजो पनि ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो ।
काठमाण्डौ: झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । उनीहरुबारे थप विवरण आउन बाँकी छ । यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, तिब्बती मूलका बेल्जियमका नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए । विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ’ब्रेक शु’ मा हालेर ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन बरामद पछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गएको २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

