पोखरा: गण्डकी प्रदेश सरकारले आइतबार राति बाढीले क्षति गरेको मुस्ताङको कागबेनी क्षेत्रमा तत्काल इन्धन र राहतका सामग्री पठाउने भएको छ । सोमबार बिहान बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीबाट विस्थापित र प्रभावित नागरिकलाई राहत दिन र उद्धारमा जुट्न निर्देशन दिइएको गण्डकी प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले राहतको उचित तवरले व्यवस्थापन र बाढीबाट भत्किएका संरचना व्यवस्थित गर्न इन्धन पठाउने निर्णयसमेत लिएको छ । जिल्लामा इन्धन अभाव भएपछि तीन हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाइने भएको छ । प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने भएको छ । मौसम प्रतिकूल भएपछि हवाई यातायातबाट राहत सामग्री ढुवानी हुन सकेको छैन । पीडितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाको काम प्रदेश सरकारले सुरु गरेको छ । बाढीग्रस्त क्षेत्रमा खानेपानी, यातायात, औषधोपचारको व्यवस्थामा गर्न सहजीकरण गर्न प्रदेशका सरोकारवाला मन्त्रालयलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिएका छन् । कागबेनीमा आइतबार राति कागखोलामा आएको बाढीले ठुलो क्षति तुल्याएको छ । बाढीले २९ घर र १२ सवारी साधनमा पूर्ण क्षति पुगेको छ । एक एस्काभेटरसमेत बाढीले बगाएको छ । कागबेनीका १३ घरमा आंशिक क्षति पुगेको छ भने नौ गोठ पूर्णरुपमा क्षति भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए । कागबेनी गाउँ जोड्ने तीन वटा अस्थायी पुल, जोमसोम—कोरला जोड्ने एक पक्की पुल र कागबेनीबाट तिरी गाउँ जाने एक झोलुङ्गे पुल बाढीले बगाएको छ । कागबेनी श्राद्धस्थल बगरमा परिणत भएको छ । कागबेनी खोला थुनिएपछि स्थानीयलाई सम्भावित क्षतिबारे सतर्क गराइएकाले मानवीय क्षति भने हुन पाएन । अहिले कागबेनी क्षेत्रमा तीन वटै सुरक्षा निकायसहितको टोली खटिएको छ ।
गोरखा: गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ । अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुलदेवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतीकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय भएको नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रुपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनलाई समेत थप आकर्षण गराउँछ”, उपप्रमुख थोकरले भन्नुभयो, “गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो ।” बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएको उहाँले बताउनुभयो । “खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो”, उपप्रमुख थोकरले भन्नुभयो, “राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्र्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित सङ्घसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो ।” आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसरभित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरुले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उहाँले बताउनुभयो । सर्वपक्षीय बैठकमा अलौकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णय गरिएको थियोे । त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्किने ढुङ्गाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुङ्गा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो । भूगर्भविद्को टोलीले दुई दिन लगाएर उक्त परीक्षण गरेको थियो । विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन तथा सङ्कलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो । परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए । उक्त ढुङ्गा ५२ किलो तीन सय ३० ग्रामको छ । गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुङ्गा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो । तस्बिरहरू:-
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको सुन जोख्ने प्रक्रिया सुरु गरिएको छ । त्यसबाट सुनलाई छुट्याएर गाल्ने र तौलिने प्रक्रिया सुरु गरिएको हो । सोमबार नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा कडा सुरक्षाबीच सुनसहितको कार्टुन खोलिएको छ । एउटा कार्टुनमा २० वटा ब्रेक सु रहेको जनाइएको छ । विभाग स्रोतका अनुसार आज ब्रेक सुबाट सुन छुट्याउने प्रक्रिया पूरा हुन्छ । त्यसपछि गाल्ने र तौलिने प्रक्रिया सुरु गरिने जनाइएको छ । राजस्व, भन्सार, सीआईबीलगायत निकायको संयुक्त टोलीले सुन छुट्याउने र गाल्ने तथा तौलिने प्रक्रिया पूरा गर्नेछ । यही साउन ४ गते सो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सरकारको निर्देशनानुसार अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीसो प्रकरणको अनुसन्धान गरिरहेको छ ।
पोखरा: फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पनि पहिचान हुन सकेको छैन । पोखरा ममहानगरपालिका १८ रातोडाँडा तल फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । ‘साउन २७ गते पोखरा १८ रातोडाँडा तल फेवातालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको थियो’, डीएसपी विकले भने, ‘आवश्यक मुजुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान पठाएका थियौं, तर शवको पहिचान हुन सकेको छैन् ।’ मृतक युवकको दाहिने हातमा क्रिस्चियन धर्मको जिसस क्राइसको जस्तो देखिने ट्याटु भएको कोही हराएको भए कास्की प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गर्न प्रहरीले अनुरोध गरेको छ । मृतक युवकको शवलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
विराटनगर: धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगुका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् । मृतक ११ जनामध्ये एकजना उदयपुरका छन् । बाँकी १० जना धरानका हुन् । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार साउन १७ गते धरान १५ की ४६ वर्षीया एक महिला र साउन १८ गते धरान ११ का २१ वषर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुको मृत्युको जानकारी १० दिनपछि मात्रै उपमहानगरलाई भएको थियो । धरानमा डेङ्गुका कारण जेठ २३ गते ३० वर्षीय महिला, असार १५ गते ४०, वर्षीय महिला, साउन २ गते ७९ वर्षीय पुरुष र ८४ वर्षीय महिला, साउन ३ गते ५३ वर्षीय महिला, साउन ७ गते ५६ वर्षीय पुरुष, १० गते २९ वर्षीय महिला र साउन ११ गते १० वर्षीय बालिकाको मृत्यु भएको थियो । धरानमा घर-घरमा डेंगु संक्रमित छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र निजी स्वास्थ्य संस्था डेंगुका बिरामीले भरिएका छन् । संक्रमितको उपचारका लागि वडा कार्यालयहरुमा पनि बिरामीलाई राख्ने गरिएको छ ।
काठमाडौ: काठमाण्डौसँग जोडिएको मुग्लिन(नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् । तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा, बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
पोखरा: पछिल्लो समय विवादित बनेको लखनचोकको विषयमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश र तमु धि नेपालले सँयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ । यसअघि पृथ्वीनारायण शाहको सालिक पोखरा महानगरपालिकाले निर्माण गरेको विभुती पार्कमा ससम्मान व्यवास्थापन भइसकेको बताउदै सहिद लखन थापाको विषयमा विवाद नगर्न चेतावनी दिएको हो । महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ र गुरुङहरुको छाता संगठन तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङद्वारा हस्ताक्षरित सँयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावनामाथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं’ । यस्तो छ सँयुक्त विज्ञप्ति प्रकृति र सँस्कृतिले सुन्दर शहर पोखरा । परिवर्तनका लागि भएका आन्दोलनले सुन्दर शहर पोखरामा रहेका हिजोका राजा महाराजाहरुका सालिकहरु ढालिए, चोकहरु बेवारिसे जस्तै बने । यहि परिवेशमा देश र जनताका लागि नेपालका पहिलो सहिद लखन थापाको सालिक स्थापित गरियो, सामुदायिक सँस्कृतिलाई सम्मानका लागि तमु ह्युल चोक लगायत धेरै चोकहरुमा सालिकहरु निर्माण गरिए । सडक विस्तार र ट्राफिक व्यवस्थापनलाई सहजताका लागि चोकहरुका घेरा साँघुरो बनाउने कार्य पनि भयो । यसैबीच पोखरा महानगरपालिकाले सहिद÷विभुतिहरुलाई ससम्मान व्यवस्थित गर्ने भनि पोखरा १८ जामुनबोटस्थित पार्कमा तत्कालिन बडमहाराज पृथ्वीनारायण शाहको सालिक निर्माण गरिसकेको छ । लथालिङ्गैको अवस्थामा रहेको पृथ्वी चोकमा प्रथम सहिद लखन थापाको सालिक स्थापित गरी चोकको नामसमेत लखनचोक नामाकरण गरिसकेकोमा केही समय अघिदेखि बारम्बार लखनचोकमा षडयन्त्रमुलक ढंगले समस्या उत्पन्न गराउने गतिविधी भइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । पहिचान र स्वाभिमानी आन्दोलनबाट स्थापित सालिकहरु स्थानान्तरण गर्ने पोखरा महानगरपालिकाको निर्णयप्रति घोर आपत्ति जनाउदछौं । बरु सालिकहरुलाई यथास्थानमै व्यवस्थित र सुसज्जित गर्न पोखरा महानगरपालिकालाई अनुरोध गर्दछौं । नेपाली जनताको लामो बलिदानी आन्दोलनबाट आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अग्रगतिमा लम्कनुपर्नेमा परिवर्तनको मर्मलाई आत्मसाथ गर्न नसकेको हो कि भन्ने आशंकाहरु उब्जिएका छन् । जनताका प्रतिनिधिहरुले देश र जनताले चाहे अनुसार परिवर्तनको महसुस गराउन नसकेको गुनासोहरु छन् । व्यवस्थाहरु फेरिए पनि अवस्था उस्ता उस्तै देखिएको छ । यसैबीच आज विभिन्न रुप धारण गरेर संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि नियोजित रुपमा प्रहार भइरहेको छ । पोखरामा पटक पटक सालिकको नाउँमा समस्या उत्पन्न गराइरहने, अस्थिरता निम्त्याउदै संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि औला ठड्याउनेहरु प्रति होशियार रहन आग्रह गर्दछौं । अन्त्यमा, तत्कालिन बडामहाराज पृथ्वीनारायण शाहको सालिक विभुति पार्कमा ससम्मान स्थापित भईसकेकाले प्रथम सहिद लखन थापाको सालिक रहेको चोकलाई बारम्बार विवादित नगराउन हुन अनुरोध छ । पुनश्चः आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावना माथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं ।
मुस्ताङ: मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान गएराति खाना खाने तयारी गर्दै हुुनुहुन्थ्यो । तर, एक्कासी बाढी आएको सूचना पाएपछि कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने उहाँलगायत अन्य शिक्षक, विद्यार्थी र स्थानीयवासीको भागदौड मच्चियो । ‘खाना खाने तयारी गर्दै थियौँ । बाढी आएको थाहा पाएपछि ज्यान बचाउन पकाएको खाना छाडेर अन्यत्र गएर बस्यौँ, उहाँले भन्नुभयो, यहाँका बूढापाका हिजो र अस्ति अहिलेसम्मकै ठूलो बर्सात भएको अनुभव सुनाउँछन् ।’ कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी प्रसिद्ध तीर्थस्थल र पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेर बितण्डा मच्चाएको हो । मुक्तिनाथबाट शुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । तिरिखोलामा आएको बाढीले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ । यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घररहोटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मानिस ओहोरदोहोर गर्ने पुल, दुई गाडी र तीन विद्युतका पोल समेत बगाएको छ । तर, बाढीबाट कुनै मानवीय क्षति भने भएको छैन । कागबेनीकी कल्पना मगर बाढी आएको पूर्वसूचना पाएर भागेर ज्यान बचाउन सफल भए पनि घरबारविहीन हुनुपरेकोमा दुःखित हुनुभएको छ । ‘कागबेनीमा सबैको ज्यान बचेकोमा सुखी मान्नुपर्छु, उहाँले भन्नुभयो ,ज्यान त बच्यो तर हाम्रो घरबास केही रहेन ।’ गाउँपालिकाको केन्द्रसमेत रहेको कागबेनीमा बाढी पसेर भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले खोलाको छेउछाउमा रहेको २० वटाभन्दा बढी घर/होटल भत्काएको बताउनुभयो । ‘कागबेनीका धेरैजसो घरभित्र बाढी पसेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘रातभर विस्थापितको व्यवस्थापनमा लाग्यौँ । बिहानदेखि क्षतिको विवरण सङ्कलन र थप क्षति हुन नदिन बाढी नियन्त्रणको काम भइरहेको छ ।’ कागबेनीको प्रहरी चौकीमा बाढीले क्षति पुर्याएपछि सुरक्षाकर्मीलाई गाउँपालिकाको कार्यालयमा राखिएको छ । प्रहरी चौकीका हतियार र सामग्री भने सुरक्षित रहेका छन् । कागबेनीको बीच भाग भएर कागखोला बग्छ । बस्तीभित्र कागखोला वारपार गर्न बनाइएका तीन वटा मान्छे हिँड्ने पक्की पुल बाढीले बगाएको छ । जोमसोम–कोरला सडक अन्तर्गत कागबेनीमा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल बगाएको छ । पुलको स्ल्याब बाढीले बगाएर केही तल पुर्याएको छ । पुलसँग जोड्ने पहुँचमार्ग बगाएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको सदरमुकाम जोमसोमसँग यातायात सम्पर्कविच्छेद भएको हो । विद्युतका पोल पनि बाढीले बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । पार्किङ गरेर राखेका गाडी पनि बाढीले बगाएको र पुरिएको बताइएको छ । कागबेनीमा पितृलाई तर्पण दिने ठाउँ बगाएको छ । भक्तजनले आवासका रुपमा प्रयोग गर्ने तीर्थयात्री निवासमा बाढी पसेको छ । नदी कटान नियन्त्रण गर्न बनाइएको पक्की संरचना र ग्याबियन पर्खाल बाढीले बगाएको छ । कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुनबाट जोगिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । बस्तीभित्र बाढी पसेर हिलाम्मे भएको छ । जोमसोमबाट गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । पाण्डा खोलाको बाढीले सुरक्षाकर्मीलाई समेत जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी अनुप केसीले कागबेनीमा विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको बताउनुभयो । क्षतिको विवरण सङ्कलन, थप क्षति हुन नदिन गर्नुपर्ने काम, अवरुद्ध सडक, विद्युत् सुविधा आपूर्ति गराउने विषयमा बैठकमा छलफल भइरहेको उहाँले बताउनुभयो । दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ । स्थानीयवासीका अनुसार यसअघिको वर्ष मुस्ताङमा यसपालिजस्तो धेरै र ठूलो वर्षा भएको थिएन । बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ । मुस्ताङको जोमसोम विमानस्थलमा रहेको मौसम मापन केन्द्र पछिल्लो २४ घण्टामा २५ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । मुस्ताङको बाढीका कारण म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिका भएर बग्ने कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले सोमवार बिहान म्याग्दीको कालीपुलमा कालीगण्डकीमा बाढीको सतह चार दशमलव ३१ मिटर पुगेको जनाएको छ । कालीगण्डकी पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै देवघाटमा पुगेर त्रिवेणी नदीमा मिसिन्छ । भारी बर्सातका कारण कालीगण्डकी र सहायक नदीमा बाढी आएकाले म्याग्दीका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । तटीय क्षेत्रमा प्रहरी खटाएर अनुगमन गरिरहेका छौँ, उहाँले भन्नुभयो, ‘म्याग्दीमा क्षति गरिसकेको छैन । जोखिमयुक्त ठाउँमा सतर्कता अपनाउन र नदी किनारमा नजान अनुरोध गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिका–४ कोप्नेपानीको पाखोबाट कालीगण्डकीमा पहिरो खसेको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा संयन्त्रलाई तयारीमा अवस्थामा राखिएको प्रजिअ पौडेलले बताउनुभयो । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ र ३ को सिमानामा पर्ने अधेरीखोलामा पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक एक हप्तायता अवरुद्ध छ । हवाई र सडक मार्गबाट सम्पर्क टुटेको मुस्ताङको जनजीवन प्रभावित बनेको गण्डकी प्रदेश सभा सदस्य विकल शेरचनले बताउनुभयो । मुस्ताङमा पेट्रोल डिजेललगायत इन्धनको अभाव हुन थालेको विषयमा प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

