पोखरा: राजावादीहरुले पोखरा महानगरपालिका १० स्थित लखनचोकमा मयेर धनराज आचार्य र प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उक्त चोकमा पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर्ने अभियानका लागि ब्यानर टाँस्न एक टोली पुगेका थिए । लखन थापाको सालिकमुनि ब्यानर टाँस्न खोजेपछि प्रहरीले रोक लागाएको थियो । त्यसपनि उक्त टोलीले मेयर धनराज आचार्य र प्रहरीविरुद्ध नारा घन्काए– ‘सालिक चोर्न पाइदैन, धने तेरो पाराले दुख पायो साराले, प्रहरी दमन मुर्दावाद ! प्रहरी हस्तक्षेप मुर्दावाद ! राष्ट्रिय एकता कायम गर, राष्ट्रघातीहरु होसियार, प्रधानमन्त्री तिमि कुन देशको ? मेयर तिमि कुन देशको ? राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर, मुर्तिचोर देश छोड, हाम्राे ठाउँ खाली गर । २९ औं विश्व आदिवासी दिवसको अवसरमा लखनको सालिकमुनि राखेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको थियो । त्यसपछि विवाद सुरु भएको थियो । सो विवादपछि पोखरा महानगरपालिकाको सर्वदलीय बैठकले पोखरा महानगरभित्र रहेका सालिकहरुलाई सहिद पार्कमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आज (आइतबार) मात्रै कास्की कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णय मान्य नहुने बताएको छ । कास्की कांग्रेसले कुनैपनि हालतमा बिपी कोइराला, हरि प्रसाद गुरुङ लगायतको सालिक यथास्थानमै राख्ने अडान राखेको छ । यस्तै तमु ह्युला चोक (विराैटा) मा रहेको सालिक पनि त्यही राख्नुपर्ने भन्दै तमु धि नेपालले आन्तरिक कसरत थालेको छ ।
पोखरा: गण्डकी प्रदेश प्रहरीको गत वर्षको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा ५ सय ३१ जना मानिस बेपत्ता भएका छन् । गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङबाट हराएका पुरुष, महिला, बालक र बालिका सबै भेटिएका छन् । बाँकी अन्य जिल्लाबाट हराएका केही मानिस भने अझै भेटिन नसकेको प्रदेश प्रहरीले जनाएको छ । गण्डकी प्रदेशको गत आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार २ हजार ८३ जना मानिस हराउँदा १ हजार ५ सय ५२ जना मात्र भेटिएका छन् । प्रदेश प्रहरीका अनुसार गण्डकीबाट ५ सय ७३ जना पुरुष हराएको निवेदन पर्दा ३ सय ४३ जना मात्र भेटिएका छन् भने २ सय ३० जना अझै हराइरहेका छन् । यस्तै गण्डकीबाट ९ सय ५२ जना महिला हराएको निवेदन अनुसार ७ सय १६ जना भेटिएका छन् भने २ सय ३६ जना अझै हराएको सूचीमा छन् । एक प्रहरी अधिकृतका अनुसार हराएको सूचना वा निवदेन दिँदा परिवारले दिएको हुलियाको आधारमा खोजी भइरहेको जनाए । यस्तै गण्डकी प्रदेशबाट १ सय ५१ जना बालक हराएको निवेदन दर्ता हुँदा १ सय २९ जना भेटिएका छन् भने, २२ जना बालक अझै हराइरहेको सूचीमा छन् । गण्डकीमा सबैभन्दा बढी बालक हराउनेको सुचीमा कास्की पहिलो नम्बरमा छ । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गण्डकीबाट ४ सय ९ जना बालिका हराएका छन् भने ३ सय ६६ जना बालिका भेटिएका छन् र ४३ जना अझै हराइरहेको सूचीमा सुचीकृत छन् ।
लमजुङ: पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । “तत्काल सडक खुलाउन असम्भव छ”, उहाँले भन्नुभयो । सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।
दाङ: दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले जानकारी दिनुभयाे । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज आइतवार बिहान बगाएको हाे । ‘घरमा शाैचालय नभएका कारण विक शाैच गर्न सधैँ खोलामा जाने गर्ने गरेका थिए, त्यही क्रममा आज खोलामा गएको समयमा उहाँकलाई बगाएको भन्ने खुलेको छ’, डीएसपी गाैतमले भन्नुभयाे । अहिले बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन भएको छ ।
गोरखा: केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिनुभयो । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उहाँको भनाइ छ । त्यस्तै, पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उहाँको भनाइ छ । ुपहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छु, अध्यक्ष लामाले भन्नुभयो, ुघर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् । पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ। थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो। प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उहाँको भनाइ छ ।
पोखरा: सर्वदलीय बैठकमार्फत पोखरा महानगरभित्र रहेका सडक चोकका मुर्तिहरु सहिद पार्क लाने निर्णयप्रति कास्की कांग्रेसले आपत्ती जनाएको छ । विज्ञप्ती जारी गर्दै आज (आइतबार) महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘पोखरा शहरका मुख्य सडकहरुमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण भएको छ । पोखराको शहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।’ कास्की कांग्रेसले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेकोसमेत जनाएको छ ।
पर्वत: मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र संवर्द्धनमा जोड दिइएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रियामा सहभागीले नेपालमा मात्र नभई विश्वमै कालीगण्डकी नदीको छुट्टै पहिचान र विशेषता रहेको तथा मानव जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको सभ्यता जोगाउनुपर्ने बताएका छन् । नदीको पर्यावरणीय संरक्षण र यहाँको प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, पर्यावरण नखलबल्लिने गरी नदीजन्य पदार्थ उपयोग गर्नुपर्नेजस्ता विभिन्न विषयमा चर्चा-परिचर्चा गरिएको हो । कालीगण्डकीको संरक्षण र प्रवर्द्धनमा लामो समयदेखि सक्रिय मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले कागवेनीबाट त्रिवेणीधामसम्मको कालीगण्डकीको सभ्यता जोगाउनका लागि सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं पर्यटकीय र पर्यावरणीय हिसाबले समेत उत्तिकै महत्त्वपूर्ण रहेको कालीगण्डकी नदी र शालग्राम शिला सङ्कटमा पर्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको संरक्षण तथा विकासका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो । उहाँले कालीगण्डकीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा प्राध्यापक डा जगन्नाथ रेग्मीले कालीगण्डकीको अस्तित्व जोगाउन नसके मानव जीवन नै सङ्कटमा पर्ने बताउनुभयो । जन्मेदेखि मृत्युपर्यन्त आवश्यक गण्डकीको जल संरक्षणमा राज्यको ध्यान जानुपर्नेमा उहाँको जोड छ । पछिल्लो समय अवैधरूपमा भइरहेको नदीजन्य वस्तु उत्खननले कालीगण्डकी र शालिग्राम शिला सङ्कटमा परेको जनाउँदै यस्तो गैरकानुनी कार्य तत्काल रोकिनुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी नदी धार्मिक एवं पर्यटकीय हिसाबले उत्तिकै महत्त्वपूर्ण रहेकाले यसको उचित संरक्षण र संवर्द्धन गर्न सकेमा सिङ्गो मुलुकको अर्थतन्त्र माथि उकासिने उहाँको भनाइ छ । कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वमन्त्री विकास लम्सालले कालीगण्डकीको सभ्यता संरक्षणका लागि आफू लामो समयदेखि सक्रिय रहँदै आएको जनाउँदै मुक्तिनाथबाट देवघाटसम्मको नदीको अस्तित्व जोगाउनका राज्यले नै ध्यान दिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण पवित्र कालीगण्डकीको संरक्षणका लागि प्रदेश सरकारमार्फत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । अवैधरुपमा नदी दोहन रोक्न, शालिग्राम शिलाको संरक्षणलगायत नदी वरपर पाइने जलचर, थलचरसमेतको संरक्षणमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । मुक्तिनाथबाट देवघाटसम्म थुप्रै धार्मिकस्थल जोडिएका छन् । कालीगण्डकी नदीलाई संरक्षण र संवर्द्धन गरिएन भने संस्कार, संस्कृति र यहाँको पर्यावरणमा ठूलो असर पर्ने प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो । उहाँले राज्य र प्रशासन मात्र नभई आम नागरिकसमेत कालीगण्डकीको संरक्षणमा जुट्नुपर्ने बताउनुभयो । कालीगण्डकी नदीको पर्वत र म्याग्दी खण्डमा भइरहेको अवैध दोहनले पर्यावरणमा समेत असर गर्दै गएको छ । यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर संरक्षणमा लाग्नुपर्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताउनुभयो ।
काठमाडौं: साता देखिको निरन्तर भएको वर्षा आइतबार पनि निरन्तर हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर भारी वर्षाको सम्भावना रहेको जनाएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक(दुई स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। देशभर भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

