पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

नेपालको उत्तरीनाका रसुवागढीबाट अवैधरूपमा आयात गरिएको सुन स्याफ्रुबेँसी इलाकाबाट बरामद गरिएको छ ।   दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमा पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका–५ पोखरी गाउँ घर भएका २४ वर्षीय सुदीप शेर्पालाई सुनसहित नियन्त्रणमा लिइएको हो ।    जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी झलक शर्मा पौडेलका अनुसार सुन पठाउने उनका सहयोगी सिन्धुपाल्चोक जिल्ला भोटेकाशी–१ बगाम घर भई रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे बस्दै आएका ३० वर्षका फुसाङ्वो शेर्पा पनि पक्राउ परेका छन् ।   मेटालर वान किलो गोल्ड लेखिएको एक÷एक केजीका दुई डल्ला रहेको र सुनको बजार मूल्य भने रु एक करोड ८९ लाख रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुन परीक्षण गर्न र अवैध क्रियाकलाप गर्ने दुई शेर्पा उपर कानूनी कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग काठमाडौँमा पठाइसकिएको बताइएको छ ।

बाग्लुङ: बाग्लुङको गलकोट नगरपालिका- ३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।   गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका- ३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो । परियारको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।   दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बागलुङ​:     ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने  वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ ।  यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । वि.सं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ देखि नै विविध कार्यक्रम तय गरिएको सो पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो ।  उहाँका अनुसार पहिलो दिन पुस्तकालय परिसर सरसफाइसहित सदरमुकामका चोकमा दिवसको प्रचारात्मक ब्यानर प्रदर्शन गरिनेछ । १२ गते ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।  सोही दिन पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने सचिव शर्माले बताउनुभयो । १३ गते अन्य सामाजिक तथा शैक्षिक संस्थासँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम राखिएको पुस्तकालयले जनाएको छ ।  १४ गते लागुऔषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने कार्यक्रम राखिएको सचिव शर्माले जानकारी दिनुभयो । भदौ १५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिएको उहाँको भनाइ छ ।  “हामीले बर्सेनि पुस्तकालय दिवसलाई विशेषरुपमा मनाउँदै आएका छौँ”, सचिव शर्माले भन्नुभयो, “यो वर्ष पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्ने गरी कार्यक्रम तय गरिएको छ ।” राणाकालको प्रतिकूल समयमा खुलेका कारण पनि विद्यामन्दिर पुस्तकालयको अलग्गै पहिचान र गरिमा छ । धवलागिरि क्षेत्रको शैक्षिक, सामाजिक र राजनीतिक जागरणको केन्द्रका रुपमासमेत यस पुस्तकालयलाई लिने गरिन्छ ।  स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १७ हजार पुस्तक छन् ।  पुस्तकालयमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि सञ्चालित छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक पौवामा चलेको पुस्ताकालयले अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिँदै आएको छ । यस पुस्तकालयका संस्थापक दिवङ्गत ओमप्रसाद गौचन र मेघकुमार वैद्य हुनुहुन्छ ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले पेट्रोलियम पदार्थ (डिजेल) बिल भौचरमा उल्लेख गरे भन्दा बढी ट्या्ङकरमा राखेको आरोपमा चालकसहित दुईजनालाई प्रकाउ गरेको छ  ।  प्रहरीले नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेको अवस्थामा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनका प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई प्रकाउ गरेको हो ।   पोखरा महानगरपालिका ३० पावरहाउस स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गरेको भनेर बिल भौचरमा उल्लेख गरेपनि ट्याङ्करमा ३ हजार बढी डिजेल भेटिएपछि चालक थापा र पेट्रोलियमका प्रतिनिधि ढुङ्गानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले ट्याङ्करमा बिल भौचरभन्दा बढी डिजेल लोड गरेर पोखरा २७ स्थित प्रश्चिमाञ्चल पेट्रोल पम्प लैजादैै गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर शिशुुवाबाट खटिएको टोलिले उक्त ट्याङ्करलाई डाँडाको नाकमा फेला पारेको थियो ।  प्रकाउ परेका चालक थापा र पेट्रोलियम एसोसियनका प्रतिनिधि ढुङ्गानालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  उनीहरुलाई जिल्ल प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरु सहितको निर्देशनमा कसूर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिशुवा कास्कीमा मुद्धा दर्ता भएको छ ।   

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागुऔषधसहित ५जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, पुथाउत्तरगंगा गाउँपालिका–१ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका–५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन् ।   दिपेशले ५ किलो ७०० ग्राम अफिम लिएर पूर्वी रुकुमबाट पोखरा आएका थिए ।   कास्की प्रहरीका प्रवक्ता एवम् डिएसपी श्रवण कुमार बिकका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कास्कीको संयुक्ती टोलीले गएराति १० बजे दिपेशलाई पोखरा २५ हेम्जाबाट पक्राउ गरेको हो । भने विराज र तेजेन्द्रलाई लेकसाइडबाट पक्राउ गरिएको थियो ।     पूर्वी रुकुमबाट पोखरा आउने क्रममा दिपेशले बागलुङ–पर्वत–कास्की रुट प्रयोग गरेका थिए ।   यस्तै ठुलो  मात्राको लागुऔषधसहित पक्राउ परेका दुई जनालाई पनि कास्की प्रहरीले सार्वजनिक गरेको छ ।   कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ज्यू ठकुरी र पोखरा महानगरपालिका २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई आज (आइतबार) सार्वजनिक गरेको हो  ।   डिएसपी बिकका अनुसार उनीहरुको साथबाट बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजापाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की, मोबाइल सेट २ थान, ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडी बरामद गरेकोे छ ।   लागुऔषधसहित पक्राउ परेका पाँचै जनालाई लागुऔषध कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।      

पोखरा:  पोखरा आदर्श सेकेन्डरी स्कुलले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।   शनिबार एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई अभिनन्दनसहित नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।   सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका पोखरा विश्वविद्यालयका डीन डा. अजय थापाले शिक्षाले व्यावहारिक एवम् जीवनोपयोगी  ज्ञाप प्रदान गर्नुपर्ने धारणा राखे ।   उनले पछिल्लो समय धेरै निजी विद्यालयहरु अस्तित्वमा रहेको बताउदै पोखरा आदर्श सेकेन्डरी स्कुलको छबी पृथक रहेको बताए ।   उनले आदर्श सेकेन्डरीले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गरेको बताउदै आथामी दिनमा रचनात्मक र सकरात्मक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   त्यसैगरी अभिनन्दित वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले  गीत प्रस्तुत गर्दै  विद्यार्थीहरुलाई पढ्न र लेख्न अभिप्रेरित गराएका थिए ।   सो कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने , लेक सिटी कलेजका अध्यक्ष प्रा. डा विश्वकल्याण पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा १० का छात्राहरुले स्वागत नृत्य १२ का विद्यार्थीहरुले विभिन्न भाषामा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।    ‘नराम्रो सोचाइमा डुल्न हुँदैन’ गीतको रचनाकार नेपाली विषय शिक्षक ज्ञानेश्वर सुवेदी तथा उक्त गीतमा स्वर भर्ने बाल कलाकारहरु क्रमशः संस्कृति सुवेदी, रोधा तामाङ , अभिषेक आचार्य , अस्मित पराजुली र निरुता श्रीसलाई सम्मान गरिएको थियो ।    कार्यक्रममा कक्षा १२ र ११ मा  अध्ययनरत विद्यार्थीहरुले गायन , नृत्य , कविता प्रस्तुत गरेका थिए भने कक्षा ११ विज्ञान संकायकी छात्रा ऋचा अधिकारीले धन्यवाद मन्तव्य राखेकी थिइन् । मनोरञ्जनात्मक कार्यक्रमको संचालन विद्यार्थीहरु क्रमशः भैरव सिर्पाली, नम्रता आचार्य , इश्वर रसाइली र आयुशा आचार्यले संयुक्त रूपमा गरेका थिए ।   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श सेकेन्डरी स्कुलका प्राचार्य श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाली भाषा विषय शिक्षक ज्ञानेश्वर सुबेदीले कार्यक्रम सञ्चालन गरेका थिए । 

दुई किलो सुनसहित रसुवाबाट दुई जना पक्राउ परेका छन् ।   हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा टिमुरेकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।   सुन चीनबाट तस्करी भएर आएको हो वा नेपालभित्रैबाट कारोबार भइरहेको हो भन्नेबारेमा नखुलेको पनि उहाँले बताउनुभयो ।   सुन र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभयो ।

पोखरा: पोखरा नदिपुरस्थित प्रतिभा माविका विद्यार्थी शनिबार महतगौंडा स्थित पोखरा वृद्धाश्रम पुगे । हजुरबुवा हजुरआमालाई नचाए र,आफ्नो खाजा खर्च कटाएर बचत भएको रकमले किनेका सामाग्री हस्तान्तरण गरे ।  विद्यालयमा गठित क्रियटिभ माइण्डस् क्लबका विद्यार्थीले मानवीय सेवाको कार्य गरी पुण्य मिलेको महसुस गरेका छन् । क्लबका अध्यक्ष सिद्धान्त खनालका अनुसार विद्यार्थीहरुले बचत गरेको ७० हजार रुपैंया बराबरको फलफूल, खाद्यान्न, कपडा लगायतका आवश्यक सामाग्री किनेर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थी केन्द्रित गतिविधि गर्दै आइरहेको क्लबले सामाजिक भावले ओतप्रोत भई आज ज्येष्ठ नागरिक भइसक्नुभएका आमाबाबाको लागि सहयोग गर्ने भावना जागृत भएको देख्दा अत्यन्त हर्षविभोर बनेको बताए । विद्यालयले संस्थागत रुपमै अबका वर्षदेखि वार्षिक २५ हजार रुपैंया वृद्धाश्रममा प्रदान गर्ने घोषणासमेत प्राचार्य सापकोटाले गरे ।  विद्यार्थीहरुले बृद्धा बाआमासँग आशिर्वाद लिँदै मनोरञ्जन समेत आदान प्रदान गरे । वृद्धाश्रमका सञ्चालक सदस्य धर्मराज रेग्मीले वृद्धाश्रमका बारेमा विद्यार्थीहरुलाई अवगत पनि गराए । हाल वृद्धाश्रममा २६ जना आमाहरु र २२ जना बुवाहरु आश्रित रहेको उनले जनाए । क्रियटिभ माइण्डस् क्लब, प्रतिभा माविले गण्डकी प्रदेश स्तरीय साइन्स क्वीज, वक्तृत्वकला प्रतियोगिता, ट्राफिक सचेतना लगायतका अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिसकेको छ । 

जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका- ८ का २८ वर्षीय तामाङ साउन ३२ गते पक्राउ परेका हुन्।   उनीविरूद्ध साउन २४ गते एक महिलाले  जबरजस्तीकरणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी दाहाले बताए।   अहिले उनीविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप भई घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए। बेलबारी- ८ का वडाध्यक्ष धनपति गौतमका अनुसार तामाङ केहीवर्ष अघिमात्रै विदेशबाट फर्किएर युवासंघमा आवद्ध भएका थिए। उनी क्रसर उद्योगी पनि हुन्।   घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।