पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुनेभएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दैआएको थियो ।  विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष नवीकरण हुने गरेकोमा अब स्थायी र स्वतन्त्र पत्रकारका हकमा प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष कायम गरिने विभागका प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । अस्थायी प्रमाणपत्रको हकमा भने साविककै व्यवस्था निरन्तर रहने उहाँले जानकारी दिनुभयो ।  कानुनमा प्रमाणपत्रको अवधि तीन वर्ष भए पनि विभागले एक वर्षभित्र नवीकरण नगरे पुरानो परिचयपत्र खारेज गर्नेगरेको पत्रकारको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसमा चासो देखाउनुभएको थियो । ‘हामीलाई खासगरी राजधानीबाहिरका पत्रकारबाट यो गुनासो आएपछि विभागसँग चासो राखेका थियौं, विभागले तत्काल पहल गरेर नयाँ निर्णय गरेपछि प्रेस प्रतिनिधि प्रमाणपत्र अवधि थपिएको छ’ सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चार विज्ञ नरेन्द्र केसीले बताउनुभयो ।   उहाँका अनुसार छापाखाना र प्रकाशनसम्बन्धी नियमावली २०४९ को ११ (१) मा प्रमाणपत्रको अवधि तीन वर्षको हुने उल्लेख भए पनि अभ्यासमा एक वर्षमै नवीकरण गर्ने प्रचलन रहेकाले त्यसमा सुधार गरेर नियवालीअनुसार तीन आर्थिक वर्ष नै अवधि बनाउने निर्णयमा विभाग पुगेको छ । त्यस्तै, स्वतन्त्र पत्रकारको परिचयपत्र प्राप्ति र नवीकरणका सवालमा पनि गुनासो आएकाले यसमा पनि सुधारका लागि प्रयास थालिएको उहाँले जानकारी दिनुभयो । ‘लामो समयसम्म पत्रकारितामा लागिरहेका अग्रजहरुले स्वतन्त्र पत्रकार परिचयपत्र पाउने र नवीकरण गर्ने सवालमा असजिलो भयो भन्ने गुनासो गरिरहनुभएको छ’ केसीले भन्नुभयो,  ‘यसलाई सहज बनाउन के गर्न सकिन्छ, छलफल भइरहेको छ, यसमा पनि विभागले गृहकार्य गरिरहेको छ ।’ त्यस्तै, विभागले एफएम रेडियो इजाजत र लाइसेन्स प्रतिलिपी पनि अनलाइनमै पाउने व्यवस्था गरेको छ । विभागको वेबसाइटको ‘अन्य’ बाट प्रवेश गरेर निवेदन दिई सोको निर्णयपश्चात विभागबाट निवेदकको सम्बन्धित जिल्ला हुलाक कार्यालयमा सो प्रतिलिपि पठाइने व्यवस्था मिलाइएको विभागका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।  

काठमाडौं:    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आज बुधवार सर्वोच्च अदालतमा दर्ता गराउनुभएको छ । सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिनुभएको हो । सर्वोच्चले कार्कीको रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेसी तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मतदान गर्नुभएको थियो । कार्कीले थापाले लिएको विश्वासको मत असंवैधानिक रहेकोले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश पनि माग्नुभएको छ । कोशी प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल हो ।

काठमाडौं:     चार देश सम्मिलित टी-२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको छ ।  नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गोलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् । यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।   शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।   बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ छहरामा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।   ‘‘काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु ।’’   प्रधानमन्त्रीले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशनसमेत दिनुभएको छ ।

विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ घर भई दीपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा.तपेश्वरलाल कर्ण, विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई छन् ।   ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा.तपेश्वरलाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य चार जनालाई मङ्गलबार पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।   साथै पक्राउ परेकाहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।  

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ।   मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।   काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बुधबार बिहान दुर्घटनामा परेको थियो। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। बस त्रिशूली नदीमा पुगेको छ।   बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका- २ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।   धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु भएको गौतमले जानकारी दिए।   मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।    ‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्।   

काठमाडौं:   पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा बस खसेको छ । यतिबेला इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परेको बसको नम्बर खुलेको छैन ।  दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

काठमाण्डौ: वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।   वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिइकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो ।   चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताउनुभयो ।   अहिले नेपाली विद्यार्थीहरु नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव काप्रीले सम्बद्ध निकायले सूचना मार्फत् विद्यार्थीलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।   साथै उहाँले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा तथ्याङ्कगत अध्ययन रहेकोमा पनि जोड दिनुभयो । उहाँले नियमनकारी निकायको प्रभावकारीता नदेखिँदा अभिभावक र विद्यार्थी अन्योलमा परेका बताउनुभयो ।   प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा आयोगले समन्वय नगर्दा समस्या निम्तिएको टिप्पणी गर्नुभएको छ । उहाँले भारत सरकारले एक सय ५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये धेरैजसो सीमा क्षेत्रमै स्थापना भएका बताउनुभयो ।    चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थालाई राज्यले उपेक्षा गर्न खोजेको बताउनुभयो । पछिल्लो समय चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा मतभेद हुँदा नर्सिङ शिक्षामा समस्या उत्पन्न भएको छ ।