ढोरपाटन: उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ । ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकामा अवस्थित यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । केही वर्षअघिसम्म जनैपूर्णिमामा मात्रै पूजाआजा गर्ने गरिएकामा टाढाबाट भाकल गरी आउने दर्शनार्थीलाई लक्ष गरी वैशाखपूर्णिमा पनि पूजा गर्न थालिएको स्थानीय कुलबहादुर घर्तीमगरले बताउनुभयो । वर्षमा दुई पटक मन्दिरमा पूजाआजा गर्न थालेपछि उत्तरगङ्गा बराह मन्दिरमा जनैपूर्णिमाका दिन केही कम दर्शनार्थी आउन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले त जनैपूर्णिमाका दिन हजारौँ बोका, पाठा र भेडाको बलि दिइन्थ्यो, लाखको हाराहारीमा पूजा गर्नका लागि दर्शनार्थी आउथे, बर्खाको हिलो, बुर्तिबाङबाट आउने सडक पनि अप्ठ्यारो हुँदा दर्शनार्थीले दुःख पाउँथे । अहिले वर्षमा दुईपटक पूजा गर्न थालेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ । ढोरपाटन सडकले जोडिएपछि भक्तजनलाई सहज भएको छ । सडक नहुँदा भाकल गरेका बोकापाठा ल्याउन गाह्रो थियो, अहिले सजिलो भएको छ । भक्तजनको सजिलोका लागि ढोरपाटन नगरपालिकाले ठाउँठाउँमा डोजर राखेर सडक मर्मत गरिरहेको छ । वर्षाले सडकका विभिन्न स्थानमा क्षति पु¥याएकाले मर्मत गरिएकोध ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । आज बिहानैदेखि उत्तरगङ्गा मन्दिरमा बलि दिइ पूजाआजा भइरहेको बताउनुभयो । यस अवसरमा यहाँका स्थानीय क्लबले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन् ।
पोखरा: नेवार समुदायमा प्रचलित जात्राको पनि जात्रा ऐतिहासिक बाघजात्रा पोखरामा २३ वर्षपछि प्रदर्शन हुने भएको छ । बाघजात्रा आयोजक समिति पोखराले आगामी १८, १९ र २० गते पोखराको चोकचोकमा विभिन्न समुदायको सहभागितामा बाघजात्रा निकालिने आज (बिहीबार) आयोजिन पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । आयोजक संस्थाका सचिव सुनिल उलकले वि.स. २०५७ सालमा मोहरियाटोलले बाघजात्रा प्रदर्शन गरेपश्चात रोकिएको बताउदै यस वर्षदेखि निरन्तरता दिइने बताए । उलकले विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाइजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहेपनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको सुनाए । उनका अनुसार १८ गते नेवा छें हुदैं मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा नम्बर ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा छेमा समापन हुनेछ । यस्तै १९ गते नेवा छे हुदैं गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदैं नेवा छेमा पुगेर जात्रा समापन हुनेछ । २० गते मुख्य समापन समारोहका लागि नेवा छे हुँदैं भिमसेन मन्दिर तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदैं रंगशाला पुगेर समापन गरिने सचिव उलकले बताए । यस्तै आयोजक संस्थाका सदस्य शान्ति श्रेष्ठ उदासले सो जात्रामा किंवदन्तीमा आधारित बाघको डमी प्रयोग गरेर जात्रा प्रदर्शन गरिने जानकारी दिइन् । उनले बाइसे चौबिसे राजाको प्रतिमा झल्कनेगरी भाँकाीसमेत देखाइने बताइन् । तीन दिन हुने बाघजात्रामा नेवार संगै मगर, गुरुङ, तामााङ लगायतका अन्य समुदायको पनि सहभागिता रहने उनले बताइन् । उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी (५० जनाको समुह) ले विभिन्न साँस्कृतिक नृत्यहरु प्रदर्शन गर्नेछन् । २३ वर्षपछि पोखरामा प्रदर्शन हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा खल कास्कीले सहयोग गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् । नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो । चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।
काठमाडौं: आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक/एक विकेट लिए । मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई/दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
भक्तपुर: मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित गएराति एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उदयपुरको बलैया नगरपालिका–५ घर भइ लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो । सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले माझीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा ४३ प ९००० नम्बरको स्कुटर बरामद गरेको छ । माझीसँगै रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ । विकृतिका विरुद्ध हाँस्यव्यङ्ग्यका रुपमा गाईजात्रा पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हाँस्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो । हाँस्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
काठमाडौं: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।
काठमाडौं: नेपाल एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो नेपालको ओडिआई इतिहासको सबैभन्दा खराब हार हो । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अल आउट भयो । नेपालका सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । सोमपाल हरिस रौफलको बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट उत्कृष्ट क्याच आउटको शिकार हुन पुगे । चौथो विकेटका लागि आरिफ शेख र सोमपाल कामीले ७८ बलमा ५९ रनको साझेदारी गरेका थिए । हरिस रौफको बलमा आरिफ क्लिन बोल्ड आउट भए । आरिफले ३८ बलमा ५ चौकासहित २६ रन बनाए । सोमपाल र आरिफ बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको यो ओडिआईमा रनको हिसाबमा सबैभन्दा ठूलो फराकिलो अन्तरको हार हो । यसअघि वेस्टइन्डिजविरुद्ध १ सय १ रनले हार्न पुगेको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरमै दुई विकेट लिएका थिए । नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख एज लागेर स्लिपमा इफ्तिखर अहमदबाट पाँच रनमा क्याच आउट भए । नेपालका गुलशन झा १३, दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, सन्दीप लामिछाने र ललित डक आउट भए । करण ७ रनमा नट आउट रहे । पाकिस्तानका शादब खानले ६।४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । शाहिन शाह अफ्रिदीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले दुई, नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए । त्यसअघि मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो । यो नेपालविरुद्ध कुनैपनि टोलीले ओडिआईमा बनाएको उच्च योगफल हो । दुई महिना अघि वेस्टइन्डिजले विश्वकप छनोटमा बनाएको ३ सय ३९ रन यसअघि उच्च थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । विश्व ओडिआई वरियताका बाबरले ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । त्यसको भरपूर्ण सदुपयोग गरे । बाबरको ओडिआईमा उच्च प्रदर्शन २०२१ मा इंग्ल्यान्डविरुद्ध १ सय ५८ रनको शतकीय इनिङ थियो । बाबर ब्यक्तिगत ५५ रनमा जीवनदान पाएका थिए । २९ औं ओभरको पाँचौं बलमा बाबरलाई करणले कट एण्ड बोल्ड आउट गर्ने अवसर चुकाएका थिए । फिनिसर इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित इनिङ खेले । इफ्तिखार अहमदले ६७ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हाने । पाँचौं विकेटका लागि अहमद र बाबरले १ सय ३१ बलमा २ सय १४ रनको सानदार दोहोरो शतकीय साझेदारी गरपछि कमजोर सुरुवातका बाबजुद विशाल योगफल बनाएको थियो । एक समय ६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले ८६ रनको साझेदारी गरेका थिए । विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान नन स्टाइकमा अप्रत्याशित रुपमा रन आउट हुँदै पेभेलिएन फर्केका थिए । नेपालले सुरुवात राम्रो गरेपनि त्यसलाई निरन्तरता दिन सकेन । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए । सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । नेपालका सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर १ विकेट लिए । करण केसीले ९ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चेर २ विकेट लिए । सोमपाल नेपालबाट एकै ओडिआई खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । यसअघि सोमपाल र करणले समान ८१ रन खर्चिएका थिए । नेपालले अन्तिम १० ओभरमा १ सय २९ रन खर्चिदा २ विकेट लिएको थियो । डेथ ओभरमा पुन एक पटक खराब प्रदर्शन गर्न पुग्यो । नेपालले भदौं १८ मा भारतसँग खेल्नेछ । सुपर फोरमा स्थान बनाउन उक्त खेलमा जितसँगै अन्य नतिजामा निर्भर हुनुपर्छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारवादी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सामाजिक–सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तित्व, पोखराको वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा टेकनाथ बरालको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । पोखरेलीका अभिभावक बरालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।” राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक बराल लामो समय नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । बरालको मङ्गलबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको थियो । मङ्गलबार साँझ नै बरालको सेतीनदी तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राजनीतिक दलका नेता, अधिकारकर्मीलगायत सयौँको उपस्थिति थियो । रासस

