पाल्पा: पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेका छन्। अन्य ८ जना घाइते भएका छन् । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए। ‘त्यहाँ सडक चौडा गर्ने काम भइरहेको थियो। पहिरो गइहाल्ने ठाउँ होइन, गुडिरहेको जिपमाथि ठूलो ढुंगा खसेछ। घटनास्थलमै तीनजनाको मृत्यु भयो,’ पोखरेलले भने। उनका अनुसार पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।
पोखरा: राष्ट्रिय फुटसल टोलीको क्लोज क्यापमा पोखरेली सुमित श्रेष्ठसँगै २५ खेलाडी बोलाइएका छन् । राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि पोखरेली सुमित सहित २५ जनालाई प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । एन्फा फुटसलले भदौ २७ गते चन्द्रागिरिस्थित मत्स्य मनोरञ्जन केन्द्रमा आयोजना गरेको विभिन्न चरणको छनोटपछि टोली आएको हो । टोलीको गोलकिपरमा सुमित आले, सागर गुरुङ, आशिष दंगल, सनम शेर्पा छन् यस्तै फिक्सोमा सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री, अलामा रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दरलामी, किरण चौधरी, पिभोटमा मणि लामा, रिवास मास्के, उज्वोल शाही, मनिस सेढाई रहेका छन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका (८ र ९ जोड्ने) लुम्रे –सिदिङ जोड्ने मनिलालमार्ग दुइसातादेखि अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ जोड्ने लुम्रे– सिदिङ मनिलालमार्ग सडकखण्डमा पहिरो जाँदा एकसातादेखि सडक अवरुद्ध भएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । स्थानीय बेलबहादुर गुरुङ अनुसार मनिलालमार्गमा पर्ने लुम्रे र घलेलबीचमा चट्टानसहितको पहिरो गएको छ । जेसिभीले उक्त पहिरो पन्छाउन नसक्ने र स्काभेटर नै प्रयोग गर्न पर्ने भएकाले केही समय लाग्ने उनले बताए । ‘मनिलालमार्ग पर्ने सडकखण्डमा ठाउँठाउँमा पहिरो गएका कारण सडक एकसाता देखि अवरुद्ध भएको छ’, गुरुङले भने, ‘लुम्रे–घलेल, भाङखोला–ल्वाङ जाने सडकखण्ड र ल्वाङ– चिया बगानतर्फ जाने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।’ लुम्रे–घलेल हुदै सिदिङ जोड्ने मनिलालमार्ग एकसातादेखि अवरुद्ध हुँदा स्थानीय व्यापारीसँगै स्थानीयहरु मर्कामा परेकाले सडक खुलाउन समन्वय भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । ‘वर्षाका कारण लुम्रे– सिदिङ सडकखण्ड अवरुद्ध हुँदा ८ र ९ वडाको सम्पर्क नै टुटेको छ, स्थानीय, पर्यटकहरुलाई पैदल हिड्न पनि समस्या भएको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘पहिरोसँगै चट्टान पनि सडकमा रहेकाले जेसिभिले उक्त चट्टान फाल्न सकिदैन्, स्काभेटर नै चाहिन्छ त्यसैले हामीले निर्माण व्यवसायीसँग सडकखण्ड खुलाउन समन्वय गरिराखेका छौं ।’
पोखरा: विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधि दिएको छ । यस उपाधिसँगै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधिसहित सम्मान गरिएको हो । समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले गुरुङलाई सो उपाधि प्रदान गरेकोमा महासंघले यसलाई अनुमोदन गरेको हो । सम्मान ग्रहण गर्दै डा गुरुङले आगामी जीवन सामाजिक कल्याणमा लगाउने बताए । उनले नेपालको सद्भाव कायम राख्न ¥याली भन्दा पनि धर्म र संस्कृतिको व्याख्या गर्ने बेला आएको धारणा राखेका थिए ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तिजको अवसरमा प्रशासनको स्वीकृती विना कार्यक्रम गरे कारवाही गर्ने बताएको छ । कास्की प्रशासनले आज (मंगलबार) एक सूचना प्रकाशित गर्दै हरितालिका तिज नजिकिदै गएकाले तिज पर्व मनाउने नाममा विभिन्न तडक भडक सहितका खर्चिला, भड्किला कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरेको हो । सूचनामा भनिएको छ, ‘तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला, महोत्सव जिल्ला प्रशासनको स्वीकृती विना आयोजना नगर्नु हुन जानकारी गराइन्छ ।’ कास्की प्रशासनले सूचना सामाजिक व्यवहार (सुधार) एने तथा नियमवाली २०३३ र अन्य प्रचलित कानूनको विपरित हुने गरी कोही कसैले त्यस्ता गतिविधि जात्रा,मेला महोत्सव, पार्टी जस्ता कार्यक्रम सञ्चालन नगर्न प्रत्राचार गरेको जनाएको छ । सूचना विपरित कार्यक्रम सञ्चालन गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने कास्की प्रशासनले जनाएको छ ।
तनहुँ: प्रहरीले तनहुँको बेनीटारबाट एक जनालाई करिब १ किलो गाँजासहित फक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३० वर्षीय तिलक गुरुङ रहेका छन् । उनलाई तनहुँ प्रहरीले सोमबार बिहान आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट पक्राउ गरेको हो । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग.२ ख ९१७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरिएको तनहुँ प्रहरीले जनाएको छ ।
सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाले बृहत महिला भेला सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ । संस्थामा रहेका महिला शेयर सदस्यहरुलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारी सहित आपसी सम्बन्धको विस्तार गराउने उद्धेश्यले कार्यक्रम गरिदै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए । कार्यक्रमको शुभारम्भ गर्दै संघीय सांसद विद्यादेवी भट्टाराईले सहकारीमा महिलाको सहभागिता हुनु महत्वपूर्ण रहेको र सहकारीको माध्यमबाट हुने रचनात्मक, सामाजिक, आर्थिक कार्यक्रमहरुले सकारात्मक सन्देश सहित देशको आर्थिक सहभागितामा सहयोग पुगेको बताइन् । सहकारीको मुख्य खम्बा शेयर सदस्य नै रहेकोले कस्तो सहकारी बनाउने जिम्मेवारी संचालक सहित सवै सदस्यहरुको भूमिका महत्वपूर्ण रहने बताईन् । २०६३ मा स्थापित संस्थाले सदस्यहरुको लागी आर्थिक सङ्गै रेडियो सराङ्गकोटको संचालन गर्दै हाल ६४ करोड कुल कारोबार गर्दै आएको कोषाध्यक्ष राममणि पौडेलले बताए । कार्यक्रममा संस्थाका सल्लाहकार रोहितराज बास्तोला, शोभियत बहादुर अधिकारी, पुर्व अध्यक्ष प्रेम बहादुर जि.सी, सृजना विकास केन्द्रका पूर्व अध्यक्ष इन्द्र पौडेल, राष्ट्रिय सहकारी बैँकका प्रबन्धक नरेश पाण्डे, सल्लाहकार इन्द्रकमल मानन्धर, लक्ष्मी पाण्डे , सचिव कुल सुवेदी, महिला समिति संयोजक माया कुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ लगाएतले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुती सहित विविध साँस्कृतिक प्रस्तुतीहरु राखीएको थियो ।
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुविहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुरु गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल एयरलाइन्सको विमान मलेसियाबाट साताको एक पटक भैरहवा आउने विमानमार्फत काठमाडौँ हुँदै दिल्ली र हङकङको उडान सुरु गरिएको हो । आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको पाण्डेले जानकारी दिनुभयो । हङकङ जाने यात्रुलाई काठमाडौँ हुँदै गन्तव्यमा पुर्याइन्छ भने दिल्ली जाने यात्रुलाई काठमाडौँ विमानस्थलमा कनेक्टिङ फ्लाइटमार्फत गन्तव्यमा पठाइन्छ । महाप्रबन्धक पाण्डेले आजको उडानमा भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको जानकारी दिनुभयो । उक्त रुटका लागि निगमले भदौ १० गतेदेखि टिकट बुकिङ खुल्ला गरेको थियो । नेपाल वायुसेवा निगमले मलेसिया(भैरहवा रुटमा थप जेठ ३० गतेबाट उडान सुरु गरेको थियो । त्यसयता निगमले उक्त रुटमा १२ वटा उडान गरिसकेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो । रासस
पोखरा: मानवअधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको आज निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बरालको निधन भएको हो । विसं १९९६ मा पोखरा नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राना विरोधी आन्दोलनमा सहभागी थिए । वि.सं. २०१३ मा उनी रात्री पाठशाला छात्र संगठनको अध्यक्ष भएका थिए । २०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनी पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । बनारसबाट मेट्रिक पास गरेका उनी २०२२ मा नेपाल छात्र संगठनको चुनावमा नेकपाको तर्फबाट सचिव चएका थिए भने ०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश निकाला भएका थिए । २०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।

