पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौं:    आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।  मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।  नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै  सीता रानामगरले अविजित २ रन जोडिन् ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो ।  बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । 

सिन्धुपाल्चोक:    नेपाल-चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसको आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।  सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए ।  नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुग्नुभएको थियो । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा  पुग्नुभएका उहाँले अब नाका पूर्ण सञ्चालनमा आएको बताउनुभयो ।  विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो ।  चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसदमा सापकोटाले आवाज पनि उठाउनुभएको थियो । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण  गराउनुभएको थियो ।  केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

पर्वत:     पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।   स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।  वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।

काठमाडौं:     नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा मलेसियामा शुरु हुनेछ । पहिलो खेलमा नेपालले हिजो घरेलु टोलीलाई ५ रनले हराएको थियो । पहिलो खेलमा बहराइनले कतारलाई हराएको थियो । तेस्रो खेलमा नेपालले पर्सि १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग र समूह चरणको अन्तिम खेलमा १९ गते यूएईसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

गोरखा:    पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो ।   पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उहाँले बताउनुभयो । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

भोजपुर:    भोजपुरको तुङ्गेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौंका अनुसार गएराति १ बजेर ११ मिनेटमा तुङ्गेछा केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको हो । भोजपुर आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ । यसअघि गएको साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको पहाडी क्षेत्रलाई भूकम्पको उच्च जोखिम क्षेत्र मानिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम निरन्तर छ ।

काठमाडौं:     सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।       निगमले मूल्य वृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमा जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशस् प्रतिलिटर रु तीन दशमलव १७ र रु दुई दशमलव ४८ तथा एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर रु एक सय ८६ दशमलव ४५ ले वृद्धि भएर आएको छ ।  

पोखरा:   ट्रकको ठक्करबाट तनहुँकी वर्षा कुमालको मृत्यु भएको दुई दिनपछि फेरि मोटरसाइकलको ठक्करबाट अर्का युवतीले ज्यान गुमाएकी छिन् ।   जिल्ला ट्राफिक प्रहरी कास्की प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ नायव निरिक्षक शिव पाठकका अनुसार पोखरा १० अमरसिंहचोकमा हिजो (बुधबार) बिहानै मोटरसाइकलले ठक्कर दिँदा महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ घर भई पोखरा १० बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता कुमारी सिंह दनुवारको मृत्यु भएको हो ।   मर्निङ वाक हिडेकी उनलाई हिजो (बुधबार) बिहान करिब ५ बजे पृथ्वीचोकबाट औधोगिक क्षेत्रतर्फ जाँदै गरेको ग १० प ३५७६ को (पल्सर २२० सिसी) मोटरसाइकलले पैदल यात्री दनुवारलाई ठक्कर दिएको थियो ।   घाइते भएकी दनुवारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।    दुर्घटनापछि मोटरसाइकल चालक रिठेपानीका २१ वर्षीय सुजन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।     यसअघि गत ११ गते सोमबार सभागृहचोकमा मालबहाक ट्रकले स्कुटरलाई ठक्कर दिँदा तनहुँ म्याग्देकी २० वर्षीय वर्षा कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।   क्षतिपुर्ति नपाएसम्म शव नउठाउने पीडित परिवारको अडान    मृतक सविताको श्रीमान् दीपेन्द्र दनुवारले क्षतिपुर्ती नपाएसम्म शव नउठाने बताए । उनका अनुसार अहिले सविताको शव मणिपाल अस्पतालमा छ ।   उनले मोटरसाइकल चालकको लापरबाहीको कारण आफ्नो श्रीमतीले ज्यान गुमाउनुपरेको बताए ।   ‘मोटरसाइकल चलाउनेको चरम लापरबाही देखिएको छ । त्यसैले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएको छु । घरमा दुइटा सानो बच्चा छ । हामी ज्याला मजदुरी गरेर छाक टार्ने परिवार हो, उनले सुनगाभा न्यूजसँग भने, ‘कानून बमोजिम चालकलाई कारवाही र उचित क्षतिपुर्ति नपाएसम्म बुढीको शव उठाउदिन ।’   उनले क्षतिपुर्तिको मागसहित जिल्ला प्रहरी कार्यालय कास्की अगाडी शुक्रबार धर्ना दिनेसमेत बताए ।   ‘गाउँबाट आफन्तहरुलाई बोलाइसकेछु । भोलि धर्ना दिने तयारी छ । मोटरसाइकल चलाउने नेपाली कांग्रेसको नेताको मान्छे भन्ने सुनेको छु । हामीलाई उचित क्षतिपुर्ति चाहिन्छ, नत्र राँको बाल्छौ,’ दनुवारले भने ।    पोखरा १० बुद्धचोकमा बस्दै आएको दनुवार परिवारको ३ वर्षीय दुधे बालक र ५ वर्षीय छोरा छन् ।  

पोखरा:  समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् ।    प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्न पोखरा आउने लागेका हुन् ।    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश ईन्चार्ज एवम् पार्टी सचिव देवेन्द्र पौडेलले समाजवाद स्थापना गर्ने मूल उद्धेश्यसहित मोर्चा गठन गरेको बताए ।    ‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मुल उद्धेश्य हो’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिवद्धतासहित समाजवादी मोर्चा गठन भएको हो ।’   उनले समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेशको संयोजन समितिमा हरेक दलबाट तीन–तीन जना प्रतिनिधि हुने बताए ।    समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी,रमेश नेपाली, नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन् ।    मोर्चाको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत अहिले नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समाल्दै  आएकी छिन् ।    समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार भोलि भदौं १५ गते पोखरामा सभा आयोजना गरेको अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।