काठमाडौं: आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो । नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।
काठमाण्डौ: बाग्मती प्रदेश सरकारले आज तीन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी ९छोनाम० को अवसरमा बाग्मती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बाग्मतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताउनुभयो । बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको छ
स्याङ्जा: स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षका यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजे तिर मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिल बहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटा सहित नियन्त्रणमा बरामद गरिएको सूचना अधिकारी लामाले जानकारी दिए। शवलाई पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा राखिएको र थप अनुसन्धान कार्य जारी प्रहरीको भनाई छ ।
पोखरा: पोखरा महानगरपालिका ५ प्रस्याङमा धरान घर बताउने एक पुरुषको शव फेला परेको छ । पोखरामा विगत केही वर्ष यता बेवारिसे अवस्थामा बस्दै आएका धरान घर बताउने कुमार राई नाम गरेको एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए । ‘पोखरा ५ प्रस्याङ सडक किनारामा एक पुरुषमा शव फेला परेको सूचना पछि आवश्यक अनुसन्धान गर्दै जाँदा सडकमा बेवारिसे अवस्थामा हिड्ने व्यक्तिको भएको जानकारी पायौं’, डीएसपी जोशीले भने, ‘सडकमा सँगै खाने, बस्ने हिडडुल गर्ने उसको साथीसँग बुझ्दा नाम कुमार राई र घर धरान बताउने गरेको अनुसन्धानमा खुल्न आएको छ ।’ उनले शवको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बताए । वडा प्रहरी कार्यालय बैदामले प्रारम्भिक अनुसन्धानमा शव फेला परेको पुरुषको नाम कमार राई र घर धरान बताएपनि शवको पहिचान हुन नसकेको जनाएको छ ।
तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार तनहुँ भिमाद नगरपालिका–४ नरीकोट बस्ने वर्ष ३३ की कमला रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएकी रानाको तत्काल उद्धार गरी उपचारका लागि शुक्लाण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपि कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ को योगेश थापा र उक्त नम्बरको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं: प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ । बैठकको विशेष समयमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गर्नुभयो । उहाँले नेपाललाई आत्मनिर्भर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराउनुभयो । प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । रासस
काठमाडौं: प्रतिनिधिसभा बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल पुगेको टिप्पणी गर्नुभएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले)का विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थी निराश भएका हुँदा यसमा सरकार जिम्मेवार देखिन आग्रह गर्नुभयो । नेपाली कांग्रसका सांसद श्यामकुमार घिमिरेले कानुनी अन्योलका कारण देशका विभिन्न ७३ नर्सिङ कलेज बन्द भएको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सोही पार्टीका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको श्रीलङ्का टापुमा आएको बाढीका कारण प्रभावित भएका स्थानीयवासीलाई उचित राहत दिई कोशी कटानको नियन्त्रणका दिगो समाधानका उपाय खोज्न आग्रह गर्नुभयो । जनमत पार्टीका विनीताकुमारी सिंहले तराई–मधेशका विद्यालयमा पर्याप्त शिक्षक पूर्वाधार नहुँदा गुणस्तरीय शिक्षा हासिल हुन नसकेकामा ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्द गर्न आग्रह गर्नुभयो । सोही पार्टीका शिशिर खनालले नेपालका राजनीतिक नक्साबारे विदेशी मुलुकलाई कूटनीतिक माध्यमबाट जानकारी दिनुपर्छ भन्नुभयो । बैठकमा कांग्रेसका सीताकुमारी राना, सुशीला श्रेष्ठ, सन्तोष चालिसे, सरस्वती बजिमय, नेपका ९एकीकृत समाजवादी० का शेरबहादुर कुँवर, एमालेका सरिता भुसाल र शान्ति चौधरीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले भोलि शुक्रवार शोक बिदा दिने भएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज बिहीवार बिहान निधन भएको थियो । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको सूचनामा उल्लेख छ । रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उहाँको निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका सदस्यले बताएका छन् ।
बैतडी: पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ । न्वाघरी नदीले विद्यार्थीका कयौँ सपना बगाइसकेको छ । न्वाघरीले बगाउँदा हालसम्म तीन जनाको ज्यान गइसकेको छ । यो पीडा सिगास गाउँपालिका–७, साङडा र थलार गाउँका विद्यार्थीको हो । सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् । विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आउनुभएको छ । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बन्नुभएको छ । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाउनुभयो । नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् । २०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताउनुभयो । ४० जना विद्यार्थी सधैँ नदी तरेर विद्यालय आउनेगरेको उहाँले बताउनुभयो । संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उहाँको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको प्रधानाध्यापक साउदले बताउनुभयो । पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन । बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ । यो खबर आजको गोरखापत्र अनलाइनमा प्रकाशित छ ।

