ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । उहाँले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निर्णय गरिएको बताउनुभयो । “सामाजिक विभेद व्यवहार र भान्छाबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्छा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो । यो सामाजिक र जातीय विभेद हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो, “यसको अन्त्यका लागि दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ । समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।” गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतानामूलक कार्यक्रम गर्दै आएको भन्दै उहाँले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिनुभयो । “सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुनसकेको छैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रुपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन् ।” उहाँका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
काठमाडौं: प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ । २५ भदौ सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने भएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ । तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ । यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ
काठमाडौं: जिल्ला अदालत काठमाडौंले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ । २०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।
पोखरा: मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ । एन्फाका अनुसार मुख्य प्रशिक्षक गौरव बस्नेतले आज (आइतबार) १४ सदस्यीय टोली घोषणा गरेका हुन् । सो टोलीको गोलकिपरमा आशिष दंगल, सागर गुरुङ फिक्सोमा विजय श्रेष्ठ, सरोज तामाङ, साँजे स्याङ्तान, अलामा आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वोल शाही, रजत तिवारी, दिपेश घले र पिभोटमा सुजित बुढाथोकी, मणिकुमार लामा छन् । उनीहरुले मंगोलियामा हुने खेलमा सहभागिता जनाउने छन् ।
पोखरा: पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय गाडी चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आज (आइतबार) दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् । सार्वजनिक विद्युतीय गाडी चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताका दुई वटा फास्ट चार्जरहरू रहेका छन्, यसबाट ठूला बससहित छ वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच २०७९ भदौ ९ गते चार्जिङ स्टेशन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेशनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेशनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेशन तेस्रो व्यक्तिरसंस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेशनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । प्राधिकरणले पहिलो चरणमा देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा ५१ वटा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन सञ्चालित छन् । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरू चार्ज गर्न मिल्ने छन् ।
काठमाडौं: बिपी साहित्य महोत्सव आजदेखि शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे। कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । बिपीको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ । तीन दिनसम्म विभिन्न सत्रमा बिपीका साहित्यिक कृति र व्यक्तित्वका बारेमा बहस तथा छलफल हुँदैछ ।
पोखरा: नेपाल बीमा प्राधिकरणले पोखरेली पत्रकारसँग बीमासम्बन्धि अन्तरक्रिया तथा छलफल गरेको छ । छलफलमा अभिकर्ताहरुले बीमित (बीमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख केशव प्रसाद दाहालले बताए । अभिकर्ताले बीमितलाई समय पुगेपछि दोब्बर (डबल) रकम पाउने भन्दै प्रलोभनमा पारेर आफ्नो कम्पनीमा बीमा गर्न बाध्य पार्ने अभिकर्तालाई कारवाही गर्ने बताए । ‘अभिकर्ताले बीमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न, उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानून बमोजिम कारवाही हुन्छ ।’ उनले कुनै पनि बीमा कम्पनीले दोब्बर रकम उपलब्ध गर्न नसक्ने बताए । ‘हरेक बीमा कम्पनीको आ–आफ्नै नीति हुन्छ । त्यस अन्तरगत नै बीमितले भुक्तान पाउने हो । राज्यलाइ तिर्नुपर्ने कर र कम्पनीको पोलिसी अनुसार भुक्तान हुन्छ । त्यो सबै बीमितले बुझ्न आवश्यक छ,’ दाहालले भने । उनका अनुसार नेपाल बीमा प्राधिकरणमा ३४ वटा बीमा कम्पनी आवद्ध छन् । प्राधिकरणले नीजि तथा सरकारी बीमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउदै दाहालले चित्त नबुझेको खण्डमा बीमितले बीमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए । ‘हाम्रो काम भनेको बीमा कम्पनीहरुलाई नियमन गर्ने हो । बीमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बीमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’ उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बीमाको अपरिहार्यता रहेको बताइन् । ‘मानव जीवनमा बीमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बीमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बीमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बीमाको महत्व बढेको छ,’ उनले भनिन् । अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् । उनले छुटेका पत्रकारको पनि स्वास्थ्य बीमा गर्ने तयारी रहेको बताएकी थिइन् ।
पोखरा: काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको मृत्यु भएको छ । पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई काठमाडौंबाट बागलुङका लागि छुटेको बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट हिजो (शनिबार) मृत्यु भएको बताइएकाे छ । सापकोटाचोकमा हाइसको ठम्करबाट गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको क्रियाशील महिला विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पोखरा ७ का महिला वडा सदस्य बसुन्धरा लामिछानेले सहकारीलाई आयआर्जन र उत्पादनमा जोड्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले ऋण लगाने गर्दा सचेत भएर सुजबुझ ढङ्गले गर्नु पर्ने बताउदै यसमा संचालक समिति थप संवेदनशीलहुनु पर्ने बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्न वडा कार्यलय र सिङ्गो पोखरा महानगर नै लागेको बताउदै सहकारीमा आवद्घ सबै सदस्य सक्रिय हुन आग्रह गर्नुभयो । वडा सदस्य अर्जुन थापाले पोखरा वडा नं।७ मा भएका सहकारी संग सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्ने कोसिस भइ रहेको बताउदै कतिपय नितिगत समस्याका कारण समस्या परेको बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष शारदा गिरीले महिला दिदी बहिनीको क्षमता विकास र आर्थिक सवलिकरणका लागि संस्था जन्मिएको बताउदै सबै शेयर सदस्यलाई सक्रिय हुन आग्रह गर्नुभयो । तिजको शुभकामना दिदै उहाँले दिदि वहिनीहरुलाई आर्य आर्जनमा जोडिन आग्रह गर्नुभयो । सहकारीका सल्लाहकार शशिकला बरालले महिलाहरुले आत्मानिर्भर हुदै उद्यमी बन्नुपर्ने बताउदै एकले सिकेका कुरा अरुलाई सिकाउने भावना जागृत गराउनु पर्ने विचार राख्नुभयो । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सहकारी भनेकै सहकार्य भएकाले महिला दिदि बहिनीहरुको सहकारी उदारणीय हुनुपर्ने बताउनु भयो । उहाँले सबैलाई आफ्नो गक्ष अनुसार समाज नभड्कने किसिमले तिज मनाउन आग्रह गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा वडा सदस्य सुनिता सुनार , महिला क्लब पोखराका अध्यक्ष मिना बराल आचार्य , रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारी लगाएतले शुभकामना दिनुभयो । संस्थाको अर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी बराल र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन लेखा समिति संयोजक सृजना सापकोटा बरालले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष मनमाया पौडेल बरालको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला भट्ट र संचालन सचिव सावित्री तिम्सिना बरालले गर्नभयो ।

