पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच सार्कका विविध विषयमा कुराकानी भएको छ।   सो अवसरमा प्रधानमन्त्री दाहालले महासचिवका रुपमा विराकुनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रसंशा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गोरखा:  आरुघाट गाउँपालिका–९ का वडा सदस्य ३६ वर्षीय शंकर माझीको रुखबाट खसेर मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबार राति करिब ९ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट खसेर मृत्यु भएको हो ।   रुखको हाँगा भाँचिएर खेसेका उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति नै मृत्यु भएको बताइएको छ ।   उनी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिनुभएको छ।   बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना व्यक्त गर्नुभएको हो।   शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताउनुभयो। भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो।    नेपालले आज बुधवार घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

पोखरा:  पोखरा ८ सिर्जनाचोकस्थित लक्ष्मी होटलबाट प्रकाउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जुवाडे जनही १ लाख ७५ हजार धरौतीमा छुटेका छन् ।    जुवाखालबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष लालचनसहित घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन धरौटीमा छुटेका हुन् ।    अध्यक्ष लालचनसहित सात जनाले जनही २५ हजारको दरले धरौटी बुझाएर छुटेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।   ‘सात जनाले २५ हजारको दरले धरौटी बुझाएर छुट्नुभएको छ,’ ढकालले सुनगाभा न्यूजसँग भने ।   उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई  ४ लाख ४७ हजार ८० रूपैयाँसहित भदौ ७ गते प्रकाउ गरेको थियो ।   

पोखराः    पाकिस्तानमा आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङ प्रस्तुति दिने तयारीमा छिन् । समूह ‘ए’ मा रहेका नेपाल र पाकिस्तानबीच नेपाली समयानुसार अपरान्ह सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुने तालिका छ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ । पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गर्दैछ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक विश्व नम्बर एक टिमसँग खेल्न लागेको हो ।

बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको मृत्यु भएको हो।   बडीमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए। अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गए राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए।   यस्तै अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ।   बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए।   यसअघि अक्सिजन अभावका कारण बिरामी भएका कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो।   यस्तै सेनाको हेलिकोप्टरमा उद्धार गरिएका बझाङको जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई उपचारपछि घर फर्काइएको छ।

काठमाडौं:    एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ । गत हप्ता मात्र श्रीलङ्कामा भएको तीन खेलको शृङ्खलामा अफगानिस्तानलाई ३-० ले हराएर पाकिस्तान विश्व एकदिवसीय वरीयतामा नम्बर एक टिम बनेको थियो । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तानले एसिया कपमा सोही लयलाई कायम राख्न कोसिस गर्ने छ । नेपाल जिम्बाब्वेमा भएको आइसिसी विश्वकप छनोट–२०२३ मा सहभागी भएपछि एसिया कप खेल्दै छस जहाँ नेपालले अमेरिका र युएईलाई हराएको थियो भने जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता ठुला टिमलाई कडा टक्कर दिएको थियो । पाकिस्तानविरुद्ध पनि सोही प्रदर्शन दोहो(याउने नेपालको प्रयास हुने छ । नेपालका कप्तान रोहितले सामाजिक सञ्जालमार्फत एसिया कपमा पहिलो सहभागितालाई सम्झनलायक बनाउने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ, “सपना पूरा हुँदै छ तर चुनौती अझै छ । हामी एसिया कपमा पूर्ण रूपमा समर्पित भएर खेल्ने छौँ । टिम भावना, समर्पण र अथाह समर्थनले नेपालको नाम उच्च पार्ने छौँ ।” यसै गरी पाकिस्तान जानुअघि पनि रोहितले उच्च आत्मविश्वास देखाउँदै भन्नुभएको थियो, “पाकिस्तानविरुद्ध खेल्न उत्साहित हुनुका साथै मानसिक रूपमा पनि तयार छौँ ।” पाकिस्तानविरुद्ध कप्तान रोहितसँगै आसिफ सेख, कुशल भुर्तेल कुशल मल्लबाट रनको अपेक्षा हुने छ । पछिल्लो एक वर्ष हेर्ने हो भने विकेटकिपर ब्याट्सम्यान आसिफले एक शतक र पाँच अर्धशतकसहित नेपालका लागि सबैभन्दा बढी ६७३ रन बनाउनुभएको छ । कप्तान रोहित नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी हुनुहुन्छ । उहाँले नेपालका लागि एक शतक र आठ अर्धशतकसहित एक हजार ४६९ रन बनाइसक्नुभएको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली टिममा एक्स फ्याक्टर क्रिकेटर पनि हुनुहुन्छ । एसिया कपमा नेपालको बलियो पक्ष भनेको एकजुट टिम नै हो । यस टिममा लामो समयदेखि एकसाथ खेलिरहेका खेलाडी धेरै छन् । कप्तान रोहितको नेतृत्वमा रहेको ब्याटिङ लाइनअपमा आसिफ, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह, आरिफ सेख जस्ता खेलाडी हुनुहुन्छ । नेपाली टिममा नवौँ क्रमसँग ब्याटिङ गर्न सक्षम खेलाडी छन् तर नेपाली ब्याट्सम्यानहरूले साहिद अफ्रिदी, जस्प्रित बुमराह, मोहम्मद सामी जस्ता तेज बलरको सामना गरेका छैनन्स जुन नेपालका लागि टाउको दुखाइ बन्न सक्छ । यसै गरी बलिङमा कप्तान रोहितलाई सात बलरको विकल्प छ । त्यसैले टिम सन्तुलित देखिन्छ । नेपालको सबभन्दा बलियो पक्ष भनेको स्पिनरहरू नै हुन् । सन्दीपको प्रदर्शनले धेरै हदसम्म नेपालको प्रदर्शन निर्धारण गर्ने छ । सन्दीपले सन् २०२३ मा मात्र ४२ विकेट लिनुभएको छ । अर्का स्पिनर ललित राजवंशी पनि विश्वस्तरीय बलर हुनुहुन्छ । यी दुई बलरमा जुनुसुकै टिमलाई पनि धराशायी बनाउने क्षमता छ ।  नेपालको कमजोरी भनेको तेज बलिङ आक्रमण हो । नेपालले लगातार प्रारम्भिक तेज बलिङ आक्रमणमा फेरबदल गर्दै आएकाले पनि यस पक्षमा नेपालको अस्थिरता थाहा हुन्छ । तर पनि पाकिस्तानविरुद्ध नेपालका प्रारम्भिक तेज बलरहरू सोमपाल कामी, करण केसीबाट चाँडै विकेटको अपेक्षा हुने छ ।  यसै गरी नेपालसँग ठुला टिमसँग खेलेको अनुभव पनि खासै छैन । अहिलेसम्म नेपालले खेलेका ५७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले तीन टेस्ट राष्ट्र जिम्बाब्वे, वेस्ट इन्डिज र आयरल्यान्डसँग मात्र खेलेको छ । नेपाल यी सबै खेलमा पराजित भएको थियो । पाकिस्तानको कुरा गर्ने हो भने सो टिममा कप्तान बाबर, प्रारम्भिक ब्याट्सम्यान फकर जमान, इमाम उल हक, मोहम्मद रिजवान, आगा सलमान र इफ्टिकार अहमद जस्ता एकसेएक ब्याट्सम्यान हुनुहुन्छ । अफगानिस्तानविरुद्धको शृङ्खलामा बाबर र इमाम शानदार लयमा देखिनुभएको थियोस जुन नेपाली टिमका लागि टाउको दुखाइ हुन सक्छ । साहिन सा अफ्रिदी, नसिम साह र ह्यारिस राउफको तेज आक्रमण नेपालका लागि ठुलो खतरा हुन सक्छ । नेपालविरुद्ध मोहम्मद नवाज र सादाब खानले स्पिन पक्ष सम्हाल्ने सम्भावना छ । नेपालले एसिया कपका लागि पाकिस्तानमै करिब एक हप्ता अभ्यास गरेको हो । नेपाल दोस्रो खेलमा समूह ‘ए’ मा रहेको अर्को टिम भारतको सामना गर्न भने श्रीलङ्का प्रस्थान गर्ने छ । नेपाल र भारतबिच भदौ १८ गते केन्डीमा खेल हुने छ । समूह ‘बी’ मा गत विजेता श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई दुई टिम सुपर फोरमा पुग्ने छन् । सुपर फोरमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टिमबिच भदौ ३१ गते श्रीलङ्काको कोलम्बोमा फाइनल हुने छ ।

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीका बुवा ७२ वर्षीय जनकलाल चौधरी छन्।   उनलाई मंगलवार साँझ नुहाउने क्रममा पानीको मोटर चलाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेको थियो।   बेहोस भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारको क्रममा मंगलवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

कास्की:  सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु. तीन लाख १८ हजार बचत भएको छ ।   मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिनुभयो । बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट रु ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो ।   महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट रु १७ लाख ८६ हजार सङ्कलन भएको थियो । सो गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बनेको थियो ।   खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।   प्रतियोगितामा बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमी सञ्चालनमा उपयोग गरिँदै आएको क्लबले जनाएको छ । विभिन्न जिल्लाका २८ बालक राखेर प्रारम्भ गरिएको एकेडेमीले उनीहरूको बास, शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको काम निःशुल्करूपमा गर्दै आएको छ । रासस