काठमाण्डौ: सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन शुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बिहान ११ बजे स्वचालित पेसी तारेख व्यवस्थापनको उद्घाटन गर्नुभयो । उहाँले प्रविधिको प्रयोगमा जोड र तारेख तोक्ने काममा कर्मचारीको हस्तक्षेप नहोस् भनेर स्वचालित प्रणाली जडान गरिएको बताउनुभयो । यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा आजदेखि स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो । अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, त्यस्तै अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ । तत्कालका लागि सर्वोच्च अदालतबाट स्वचालित तारेख व्यवस्थापन शुरु गरिएको र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।
काठमाण्डौ: काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका– ८ घर भइ कठमाण्डौ टोखा नगरपालिका– ३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भइ काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भइ भक्तपुर सूर्यविनायक नगरपालिका– १ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भइ ललितपुर महानगरपालिका– १४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक दुई लाख रुपैयाँ तलबमा काम लगाइदिने जनाउँदै पीडितहरुबाट पाँच लाख ४५ हजार रुपैयाँ ठगी गरेको हो । त्यस्तै सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी दुई लाख रुपैयाँ ठगी गरेको हो । यस्तै खड्काले एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक ५० हजार रुपैयाँ तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी एक लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो। यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाइ सुपर मार्केटमा मसिक एक लाख रुपैयाँ तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
पाल्पा: पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका– २ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको हो। जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका– १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियो।
काठमाण्डौ: सरकारले अब सार्वजनिक खरिदका नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमुना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।’ सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभइ विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइ सुधारका आवश्यक काम गर्ने क्रममा सार्वजनिक खरिद ऐनलाई पनि सामयिक बनाउन लागिएको उल्लेख गर्नुभयो । राष्ट्रियस्तरमा प्रयोग हुने कागजातमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न कार्यालयले त्यस्तो आवश्यकता महसुस गरेको जनाएको छ । त्यससम्बन्धी सुधार कार्यले प्रदेश र स्थानीय तहको खरिद क्षमतामा वृद्धि गर्ने र सबै सार्वजनिक निकायको खरिद क्षमतामा वृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ । सार्वजनिक निकायमा सबै संवैधानिक अङ्ग वा निकाय, अदालत,सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा त्यस अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा सबै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ का प्रवधान पालना गर्नुपर्ने बाध्यता छ । खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ट र विश्वसनीय बनाउने उद्देश्यका साथ यस्तो कार्यहरु गर्न लागिएको सचिव रेग्मी बताउनुहुन्छ । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले यही महिनाको अन्तिम हप्ता पोखरा र हेटौँडामा प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्न लागेको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद एकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले क्लिनिक कार्यक्रम सञ्चालन लागेको हो । सार्वजनिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएकाले यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने विश्वास गरिएको छ ।
काठमाण्डौ: कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या भएको छ । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो । बजेट कार्यान्वयन गर्नुपर्ने अवधि हिजो सकिएको छ । हिजोसम्म प्रदेश सभाबाट पारित भइ त्यो अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइनुपर्ने थियो । तर वर्तमान प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरिसकेको छ । संविधानमा बजेटविहीनताको अवस्था परिकल्पना नगरिए पनि कोशी प्रदेशको राजनीतिक परिस्थितिका कारण यस्तो स्थिति उत्पन्न भएको हो । गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत बजेट ल्याउनुभएको थियो । प्रतिस्थापन विधेयक ल्याएर सदनबाट बजेट पारित गर्ने सरकारको योजना थियाे । तर, मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको सभाध्यक्ष गरेका कांग्रेस सांसद इसराइल मन्सुरी समेतको मत जोडेर भदौ ४ गते विश्वासको मत लिएपछि कार्की रिट लिएर सर्वोच्च अदालत पुग्नुभयो । सर्वोच्चले ‘दीर्घकालीन महत्व राख्ने निर्णय नगर्न’ पुनः आदेश दिएपछि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको सरकार निर्णयविहीन भएको छ । अब, कसरी अघि बढ्ने भन्ने विषयमा अलमलमा परेपछि सरकारले सर्वोच्चलाई सोध्ने तयारी गरेको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नियमित प्रक्रियाबाट हुनुपर्ने कामका लागि अहिले पनि जनताले ‘सोर्सफोर्स’ लगाउनुपर्ने, चाकरी गर्नुपर्ने र घुस दिनुपर्ने अवस्था रहेकाले अब यस्तो कार्य सह्य नहुने बताउनुभएको हो। मुलुकमा राजनीतिक परिवर्तन भए पनि सोको अनुभुति जनताले गर्न नपाएको उल्लेख गर्दै उहाँले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो। संविधान र कानुनअनुसार नियमित प्रक्रियाबाट हुनुपर्ने काम सहज र सरलरुपमा जनतालाई उपलब्ध गराउन निर्देशन दिँदै उहाँले सार्वजनिक जग्गा गैरकानुनी रुपमा कब्जामा लिनेलाई सरकारले नछाड्ने स्पष्ट पार्नुभयो। भ्रष्टाचारका ठूल्ठूला काण्डको छानबिन सुरु गरी सरकारले थालेको सुशासनको अभियानमा सहयोग गर्न सबै पक्षसँग अपिल गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न बाधा, अवरोधका बाबजुद सरकारले भ्रष्टाचारका फाइलको छानबिन गरी निष्कर्षमा पु¥याएर दोषीलाई कानुनी दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र बनाएर अघि बढेको उल्लेख गर्दै उहाँले सामाजिक, आर्थिक रुपान्तरण गरी मुलुकलाई समृद्ध बनाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउनु सरकारको कार्यभार रहेको बताउनुभयो। मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियान सुरु गरिएको चर्चा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कुनै कमिकमजोरी नगरी सबै पक्षको साथ लिएर मिटरव्याज पीडितलाई न्याय दिलाउन निर्देशनसमेत दिनुभयो। कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वर्षौंदेखि अतिक्रमण भएको सार्वजनिक जग्गा खोज्ने र अतिक्रमण मुक्त बनाउने अभियान सुरु गरिएको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन कुल रु छ करोड ५३ लाखको लागतमा निर्माण गरिएको हो। नवनिर्मित तीनतले भवनबाट गत वैशाखदेखि जिल्ला प्रशासन कार्यालयको कामकाज सञ्चालन हुँदै आएको छ। रासस
पोखरा: पोखराका खिम रानामगर गत २ गते शनिबार दिउँसोपख खाना खाए । बिदाको दिन साथीहरुसँग बल्छी बोकेर रुपाताल निस्के । माछाको शिकार नभएपनि घुमघाम हुने भनेर टोली रुपाताल पुगेको थियो । रानामगर बल्छी नजिक बसेर माछा पर्ने दाउ हेर्दै दिए । त्यतीकैमा ठुलो आवाज (बम ब्लास्ट भएजस्तो) आयो । उनी माथीतिर फर्किएर हेरे । रानामगरले माथिल्लो घुम्तीबाट तल्लो बाटोमा खसेको क्रसफायर देखे । ‘तालको डिलमै थियौ एक्कासी ठुलो आवाज आयो बम नै पड्किएजस्तो । त्यसपछि माथी फर्किदा क्रसफायर उडेको देखे । एकैछिनमा रुखमा घस्रदै तल्लो बाटोको नालीमा बजारियो । त्यो रुखमा अड्किएको भए दुइटै बाँच्न सक्थे,’ प्रत्यक्षदर्शी रानामगरले भने । त्यो मोटरसाइकलमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ थिए । उनीहरुको उद्धारपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएपनि करिब ५ बजे दुवैलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले पुष्टि गर्याे । अशोक लमजुङको स्थानीय क्लब लालीगँुरास युवा क्ल कलतुङ छापडाडाका अध्यक्षका रुपमा सामाजिक क्रियाकलापमा सक्रिय थिए भने कृष्ण ब्रिगेड गोर्खा एजुकेश्नल एण्ड फिजिकल टे«निङका सञ्चालक थिए । रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको क्रसफायर मोटरसाइकल दुर्घटना भएको थियो । प्रहरीका अनुसार करिब ९० मिटर माथिबाट तल्लो सडकमा मोटरसाइकल बजारिदाँ दुवैजनाको ज्यान गएको थियो । सोही स्थानमै करिब ६ महिना अघि मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको थियो भने अर्का व्यक्ति घाइते भएका थिए । दुर्घटना दोहोरिएपछि रेलिङ निर्माण गर्ने पालिकाको निर्णय एउटै स्थानमा मोटरसाइकल दुर्घटना दोहोरिएपछि रुपा गाउँपालिकाले सवारी सचेतनाका होडिङ बोर्डसहित रेलिङ निर्माण गर्ने निर्णय गरेको छ । रुपा गाउँपालिकाको १ सय ६७ औं बैठकले दुर्घटना भएको स्थान र जोखिमयुक्त क्षेत्रमा रेलिङ निर्माण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गत ८ गते भएको कार्यपालिका बैठकले ५ लाख रकम छुट्याएको छ । अध्यक्ष ओझाले दुर्घटना भएको घुम्तीमा रेलिङ निर्माण गर्ने र अन्य जोखिमयुक्त क्षेत्रमा आवश्यक ट्राफिक सचेतनाका बोर्डहरु राख्ने तयारी भइरहेको बताए । ‘त्यो घुम्तीमा करिब ६ महिना अघि पनि मोटरसाइकल दुर्घटना भएको थियो, अहिले फेरि दुखद घटना दोहोरियो त्यसैले हामीले कार्यपालिका बैठकबाट नै निर्णय गरेर ट्राफिक सचेतनासम्बन्धि होडिङ बोर्ड राख्ने र रेलिङ निर्माण गर्ने निर्णय गरिसकेका छौं, अध्यक्ष ओझाले सुनगाभा न्यूजसँग भने, ‘अब केही समयमै प्रकृया पुर्याएर निर्माणको थालनी गर्छौं ।’
काठमाडौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये आठ सय ५० जनालाई जापान पठाउने तयारी गरेको छ । २०१९ मार्चमा नपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएअनुसार नेपालले जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकाहरुलाई पठाउने तयारी गरेको हो । जापानले १४ वटा विभिन्न पेसागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने सहमति भएको थियो । तर, श्रम समझदारीमा भएका केही विषय अस्पष्ट भएपछि यो प्रक्रिया रोकिएको थियो । जापानले सम्झौता गरेको १४ वटा विभिन्न पेसागत क्षेत्रमध्ये अहिले केयर गिभर, कृषि र सेवा क्षेत्रमा मात्र कामदार लैजाने छ । जापान रोजगारीको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । गत सातासम्ममा पाँच हजार तीन सय २० जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्झौताअनुसार परीक्षा पास भएका सबै जापान रोजगारीका लागि योग्य हुन । केयर–गिभरमा एक हजार आठ सयजनाले परीक्षा पास गरेको मन्त्रालयले जनाएको छ । जापानले पहिलो चरणमा केयर–गिभरका लागि नेपाली कामदार लैजाने बताएको थियो । तर, मन्त्रालयले भने निर्माण, उत्पादन र सेवाक्षेत्रमा पनि नेपाली कामदार लैजान प्रस्ताव गरेको मन्त्रालयका उपसचिव भुसालले बताए । नेपालको सो प्रस्तावमा जापान सहमति भएको छ । एसएसडब्लु प्रणालीमार्फत कामदार लगिने जापानले विशिष्टीकृत दक्ष मोडल (क्क्ध्)बाट नेपाली कामदार लैजानेछ । कामदार छनोट प्रक्रियाका लागि नेपालमा जापानका लागि जापान फाउन्डेसनले काम गर्नेछ । फाउन्डेसन जापानको अर्धसरकारी संस्था हो । कम्प्युटर परीक्षाको जिम्मेवारी भने जापानिज कम्पनी प्रोमोटिकले पाएको छ भने परीक्षा नेपालको लागि काठमाडौंमा हुने गरेको छ । जापानले भाषा तथा सीप परीक्षामा उत्तीर्ण भएका कामदारलाई मात्रै रोजगारीका लागि लैजानेछ । दुवै परीक्षामा उत्तीर्ण भएका कामदार नेपालको वैदेशिक रोजगार विभागको जापान इकाइमा सूचीकृत हुनेछन । जापानी रोजगारदाता वा रोजगारदाताका एजेन्टले आफ्नो आवश्यकताअनुसार विभागको जापान इकाइमा माग गर्नेछ । विभागले जापानी रोजगारदाताको आवश्यकता र उपलब्ध नेपाली कामदारबीच म्याचिङ गर्नेछ । म्याचिङ भएपछि रोजगारदाताले नेपाली कामदारको नाममा योग्यताको प्रमाणपत्र (ऋभ्इ) पठाउनेछ । ऋभ्इ प्राप्त गरेका कामदार भिसा प्रक्रियाका लागि योग्य हुनेछन । कामदारले अन्य कागजपत्रसहित जापानिज दूतावासमा भिसाका लागि आवेदन दिन सक्नेछन् । भिसा प्राप्त भएपछि कामदार मेडिकल परीक्षण, बिमा र कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्नेछ । त्यसपछि जापान इकाइ श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । श्रम स्वीकृतिपछि कामदार जापान जान पाउँनेछन । जापान सरकारले नेपालबाट व्यक्तिगत र प्रशिक्षार्थी कामदार प्रक्रियाबाट पनि नेपाली कामदार जापान लैजाने गरेको छ । व्यक्तिगत प्रक्रियाअन्तर्गत कामदारले व्यक्तिगत रूपमा नै जापानी रोजगारदातासँग सम्पर्क गरी रोजगारीका लागि जान सक्नेछन । नयाँ पत्रिकाको सहयोगमा
पोखरा: बुहारी समुह पोखरा – ३ तेसापट्टिको आयोजनामा शनिवार निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोग तथा विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा।लि र पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो । पोखरा महानगरपालिकाको तेर्सापट्टि स्थित श्रीवन्त किर्ति बिहारमा आयोजित शिविरमा करिब चार सय बढीको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासले यस प्रकारका शिविरहरुले महिलाहरुको प्रजनन् स्वास्थ्यमा ब्यापक सुधार ल्याउन सहयोग गर्ने उल्लेख गर्नुभयो । उहाँले जनताको आवश्यकता र चाहानालाई बुझेर आफूले काम गर्ने प्रयास गरिरहेको बताउनुभयो । नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्थानीय सरकारसँगको सहकार्यमा कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्दै अब छिट्टै वडा सँग मिलेर अन्य कार्यक्रमहरु गर्ने अपेक्षा रहेको बताउनुभयो । त्यस अवसरमा पोखरा महानगरपालिका वडा नं ३ का सचिव चन्द्रावती वाग्ले, नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रबन्धक नबराज तिवारी, विद्याज डाइट एण्ड फिटनेस सेन्टर प्रा।लिका श्रीबिद्या कायस्थ लगायतले बोल्नुभएको थियो । बुहारी समूहका अध्यक्ष निलम उदासको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एलिशा श्रेष्ठले स्वागत र सचिव ज्योती उदासले संचालन गर्नुभएको थियो ।

