बागलुङ: भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेको उहाँको भनाइ छ । घर भत्किँदा नारायणको रु १० लाख बराबरको क्षति भएको छ भने जमुनाको रु छ लाख बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा रहेको वडाध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । “पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पहल गरेका छौँ”, अध्यक्ष केसीले भन्नुभयो, “बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जन बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भई रह्यो भने अझै अरू घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।” विस्थापित परिवारले बागलुङ नगरपालिकाबाट एक थान त्रिपालबाहेक कहीँकतैबाट सहयोग पाउन सकेका छैनन् । वर्षाको कारण बस्तीमाथिको जमिन बग्न थालेपछि रातिको समयमा जागराम बस्न बाध्य भएको स्थानीय सापकोटाले बताउनुभयो । घर कति बेला भत्किएर पुरिने भन्ने चिन्ताले पिरोली रहेको सापकोटाले दुःखेसो पोख्नुभयो । बागलुङ नगरपालिका–४ कुँडुले, वडा नम्बर ५ मालिका हुँदै पञ्कोटबाट वडा नम्बर ७ तितौरे जाने शाखा सडकखण्डअन्तर्गत मैदानमा सडकमा माथिबाट खसेको पहिरोले अन्य तीन घर परिवार पनि विस्थापित भएका उहाँको भनाइ छ । पहिरो वरपरका अन्य धेरै घर पनि जोखिममा पर्न थालेपछि स्थानीय त्रसित बनेको सापकोटाले बताउनुभयो ।
पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र नेपाल र बेलायतमा प्रदर्शनपछि हङकङमा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र हङकङमा अगष्ट ३० तारिखमा प्रदर्शन हुने भएको छ । ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज हङकङको सहयोगमा अगष्ट ३० तारिखमा जोर्डन स्थित ब्लु ओसन रेष्टुरेन्टमा बेलुका ८ बजे प्रदर्शन हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए । ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्र घान्द्रुक, पोखरा, काठमाडौंसहित बेलायतको तीन शहरमा प्रदर्शन भएको छ’, गुरुङले भने, ‘घान्द्रुकको (कोँड नाश)वृतचित्रलाई नेपाल र बेलायतपछि अगष्ट ३० तारिखमा हङकङमा प्रदर्शन गर्दै छौं ।’ लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुकको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ । लामा अमृत फाउण्डेशनले घान्द्रुक लगायत देशको विभिन्न स्थानमा सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।
पोखरा: पृथ्वीराजमार्ग बस संचालक कम्पनीले डिजिटल सेवालाई आत्मसात गर्दै बसमा क्युआर कोड सुरु गरेको छ । टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन सुरु गरेको हो । प्राइम कर्मसियल बैंक र पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँगबीच भएको सहकार्य अन्तरगत सुरुमा एक सय वटा बसमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख आर्या जोशी, प्राइम कमर्सियल बैंकका सहायक महा प्रबन्धक सुरेशमान सिंह र कम्पनीका अध्यक्ष योगेन्द्र केसीले संयुक्त रुपमा क्यूआर कोडको शुभारम्भ गरे । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख आर्या जोशीले अब नगदी कारोबार डिजिटल माध्ययमबाटै अघि बढेको सुनाइन् । हरेक क्षेत्रमा जसरी यातायातको क्षेत्रमा समेत डिजिटल बैंकिङ सेवा जोडिनु सकरात्मक पक्ष रहेको र यसलाई प्रभावकारी बनाउन जोड दिईन् । ‘केही वर्ष महामारीले व्यवसायलाई चलायनमान बनाउन सकेनौं’, उनले भनिन्, ‘सबै व्यवसायीहरु अब डिजिटल बैंकिङ सेवामा जोडिन आवश्यक छ ।’ डिजिटल बैंकिङ सेवा सेवालाई प्रभावकारी बनाउने उद्धेश्यका साथ पृथ्वीराजमार्ग बस संचालक कम्पनीसँग सहकार्य गर्दै अघि बढाएको प्राइमकमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंहले बताए । ‘डिजिटल बैंकिङ सेवालाई प्रभावकारी बनाउँने उद्धेश्यकका साथ यो कम्पनीसँग जोडिएका छौं’, महाप्रबन्धक सिंले भने, ‘डिजिटल बैंकिङ सेवा हरेक स्थानमा सरल र सहज सेवा विस्तारमा हामी जोडिनुपर्छ ।’ पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले कम्पनीअन्तरगत एक हजार चार सय बढी बस सञ्चालनमा रहेको बताए । ‘हाम्रो कम्पनीले अहिले १४ सय बढी बसबाट सेवा दिइरहेका छौं, सबै बसमा क्यूआर कोड जोड्ने छौं’, केसीले भने, ‘अहिले एक सय वटा बसमा मात्रै क्यूआर कोड जोडेका छौंं, केही दिनमा सबै बसमा यो सेवा विस्तार हुन्छ ।’ कम्पनीले पृथ्वी मोबाईल एप्सबाट पनि टिकट काट्ने सेवा विस्तारलाई चाँडै नै लागू गर्ने उनले सुनाए ।
लायन्स क्लव अफ पोखरा सृजना चौतारीको स्थापना दिवस तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लव स्थापना दिवसको दिन भदौ ७ गतेको अवसर पारेर तीन महिना अघि निर्वाचित दीपक तिमिल्सिना नेतृत्वको कार्यसमितिलाई पदस्थापन गरिएको हो । लायन्स क्लवमा पदभार सम्हाल्नु तीन महिना अघि निर्वाचित हुने प्रावधान छ । सो अनुसार जुलाई एक तारिखका दिन निर्वाचित तिमिल्सिनालाई निवर्तमान अध्यक्ष जनकबहादुर कार्कीले शुक्रबार साँझ एक विशेष कार्यक्रमका बीच पदभार हस्तान्तरण गरेका थिए । पदभार ग्रहण गरेपछि अध्यक्ष तिमिल्सिनाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । आफ्नो कार्यकालमा कुल २६ वटा कार्यक्रम बनाएकोमा १४ वटा सम्पन्न गरिसकेको र बाँकी १२ वटा कार्यतालिका बनाएर गर्ने योजना रहेको उनले जानकारी गराए । आगामी कार्यकाललाई स्वर्णिम बनाउनका लागि उनले मधुमेह सचेतना कार्यक्रम, सरसफाई कार्यक्रम, देउसीभैलो कार्यक्रम, मिर्गौला पीडितलाई सहयोग, लायन्स क्वेष्ट कार्यक्रम, न्यानोकपडा वितरण, स्टेसनरी वितरण, अन्र्तराष्ट्रिय ईसामे डिष्ट्रिक्ट कन्भेन्सनमा सहभागिता, वनभोज कार्यक्रम, शुभकामना आदानप्रदान, पिस पोष्टर कार्यक्रम र गभर्नर क्लव भिजिट कार्यक्रमको तालिका निर्धारण गरेर त्यसको संयोजकसमेत घोषणा गरे । कार्यक्रममा केक काटेर क्लवको स्थापना दिवस मनाइएको थियो भने नया सदस्यहरुलाई स्वागतसहित सदस्यता वितरण गरिएको थियो । सो अवसरमा क्लवले भरत अधिकारी र कृष्ण लामिछानेलाई ह्वीलचेयर प्रदान गरेको थियो भने अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) मार्फत दृष्टिविहीनहरुलाई वितरण गर्नेगरी २० वटा सेतो छडी प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर हरिप्रसाद मरहठ्ठाले लायन्स क्लव अफ सृजना चौतारी सामाजिक कार्यमा अब्बल क्लव भएको भन्दै क्लव र अध्यक्ष दीपक तिमिल्सिनाको प्रशंसा गरे । कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठ, पिएमसिसी प्रेमबहादुर श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष बालकृष्ण बराल, निवर्तमान अध्यक्ष जनकबहादुर कार्की, पूर्व अध्यक्ष बिना गुरुङ, चिफ एडभाईजर प्रजापती बास्तोला, सहायक चिफ एडभाईजर मधुसुदन कोईराला, जिएलटी कोअर्डिनेटर सन्तोष घिमिरे, रक्तदान कार्यक्रम संयोजक जितबहादुर थापा –गोपाल), ईनसामे चिफ जीवन गोर्खाली, लगायतले क्लवहरु मध्ये सृजना चौतारीले आफूभन्दा कम भाग्यमानी तथा सिमान्तकृत समुदायको हितमा अनुकरणीय कार्य गरेको बताए ।
काठमाडौं: चार देश सम्मिलित महिला टी– २० शृङ्खलाको खेलमा नेपाल मलेसियासँग पराजित भएपनि फाइनलमा पुगेको छ । आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १/१ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् । नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । मलेसियाले पनि ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।
शिवसताक्षी नगरपालिका- ९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका- ९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु छन्। उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे-४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरूलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले बञ्चरोले हानेका थिए। लुकाइछिपाई ल्याएको बन्चरो अचानक प्रहार गर्दा घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ। मोटरसाइकलका चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए। उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए। वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ६ वटा घर पहिरोको जोखिममा परेका छन् । कृष्ण कार्कीको बन्दै गरेको घर, डम्बर कार्की, कमानसिं राई, केशव परियार, दीपक परियार र रमेश बस्नेतको घर पहिरोको जोखिममा परेको हो । यस्तै, झरीका कारण लेदो र पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रवार आज बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको बयाक्ता र राँगाकाटेमा लेदो र पहिरो खस्दा गाडी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताउनुभयो । सडक अवरुद्ध हुँदा खोटाङबाट काठमाण्डौ तथा पूर्वी सहर आवतजावत गर्ने गाडी बीच बाटोमा रोकिएका छन् । एक्स्काभेटर प्रयोग गरेर सडकमा खसेको पहिरो तथा लेदो पन्छाउने काम भइरहेको छ । सडक खुलाउनका लागि प्रहरीचौकी च्यास्मीटारबाट प्रहरी परिचालन गरिएको छ । असार १५ गतेदेखि जिल्लाको सबै कच्ची सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।
झापा: इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाल एक युवकको धारिलो हतियार प्रहारबाट घाइते हुनुभएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झरना खोला नजिक हिजो बेलुका नियमित गाडी जाँचका क्रममा उहाँमाथि धारिलो हतियार प्रहार भएको हो । तीन जना युवा चढेको मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरो प्रहार गर्दा कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी गाडी जाँचमा खटिनु भएको थियो । उहाँको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवाहरुले जाँडरक्सी खाएर मोटरसाइकल चलाएका प्रहरीले जनाएको छ ।

