काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ संसद बैठकमा खोज्नुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ सुन्ने अधिकार सिंगो संसदको भएको भन्दै अविलम्ब संसद सुचारु हुनुपर्ने बताउनु भयो । उहाँले सुन प्रकरणको गहिराइमा गएर छानबिन हुनुपर्ने बताउनु भयो । उहाँले छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गर्नु समस्याको समाधान नभएको भन्दै छलफलबाट समाधानमा पुग्नुपर्ने बताउनु भयो । सांसद शर्माले भन्नुभयो,‘‘काँग्रेस बैठकले भ्रष्टाचारको सन्दर्भमा भ्रष्टाचारको वर्ग, जाति, धर्म, सम्प्रदाय केही पनि हुँदैन । भ्रष्टाचार केवल भ्रष्टाचार हुन्छ । छानबिन गर्ने सन्दर्भमा कुनै मोलाहिजा नराखीकन सरकारले छानबिन गर्नुपर्छ । निर्दोष कोही फस्नुहुन्न । दोषी कोही उम्किनु हुन्न भनेर निर्णय गरेको छ । यो पनि स्पष्ट पारौँ । नक्कली भूटानी शरणार्थी प्रकरणदेखि सक्कली सुन प्रकरणसम्म छानबिनको लागि माग गरेको छ । आजको बैठकमा हामी छलफल गर्दै गर्दाखेरी मन्त्री र प्रधानमन्त्रीलाई बोलाउने कुरा गर्दैछौँ । गलत कुरा गरिरहेका छैनौँ । तर मन्त्री र प्रधानमन्त्रीको जवाफ सुन्ने अधिकार यो देशका प्रत्येक सार्वभौम सांसदले राख्छन् कि राख्दैनन् । प्रत्येक सार्वभौम सांसदले त्यो अधिकार राख्नुहुन्छ भने संसदमा त्यो अधिकारको रक्षा गर्ने सन्दर्भमा कसले बोल्ने रु त्यस कारण राज्य व्यवस्था समितिको ध्यान अवरुद्ध भएको संसद खुल्नुपर्छ । त्यो संसदमा मन्त्री र प्रधानमन्त्रीहरुले त्यहाँ पनि जवाफ दिनुपर्छ । यहाँ पनि बोलाउने अधिकार छ । नबोलाउने कुरै छैन तर त्यहाँ जवाफ दिनुपर्छ । छानबिन गहिराइमा हुनुपर्छ । छानबिन गर्ने कार्य माग गर्नका लागि आवेगका साथ बल प्रयोगबाट समाधान होइन । छलफलबाट समाधानमा पुग्नुपर्छ ।’’ उहाँले सरकारको कमजोरीका कारण विमानस्थलबाट सुन तस्करी भएको बताउनु भयो ।
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले यौन शोषणको आरोपमा ३७ वर्षीया एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ८ सिर्जनाचोकस्थित रोशन खाजा घरकी सञ्चालिका पार्वती काराखेती रहेकी छिन् भने उनको छोरी फरार छिन् । उनलाई बैदाम प्रहरीको टोलीले हिजो (बिहीबार) पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा शुक्रबारनै दिउँसो १ बजे उक्त खाजाघरबाट पोखरा ८ का जनप्रतिनिधि, शुभ अवसर ग्राम नामक संस्थाको सहकार्यमा एक १८ वर्षीया युवतीसहित नाबालिगलाई उद्धार गरिएको थियो । त्यसपछि अनुसन्धानको क्रममा ति खाजाघर सञ्चालिका पार्वती र उनकी छोरीले नाबालिग र युवतीहरुलाई कामदारको रुपमा राखी जबरजस्ती (इच्छाविपरीत) यौन व्यवसायमा संलग्न गराई यौन शोषण गरेको खुलेपछि सञ्चालिकालाई पक्राउ गरिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए । ‘नाबालिगलाई काममा राखेर यौन व्यवासयमा लगाउने सूचना आएपछि फलो गरेका थियौ, एउटा नानीलाई उद्धार गरेपछि खाजाघर चलाउने सञ्चालिकालाई नियन्त्रणमा लिएका छौ, ति प्रहरी अधिकृतले भने । बैदाम प्रहरीका अनुसार पक्राउ परेका पार्वतीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
पोखरा: गण्डकी प्रदेशका ११ जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा कुल १ सय ७९ वटा जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गण्डकीका १० जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी कसुरमा १ सय ७९ वटा मुद्धा दर्ता भएको छ । तर मनाङ जिल्लामा भने शून्य देखिएको छ । प्रदेश प्रहरीका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले मनाङमा महिला तथा बालबालिका सम्बन्धि कुनै पनि मुद्धा दर्ता नभएको पुष्टि गरे । उनका अनुसार कास्कीमा ४८, नवलपुरमा ११, स्याङ्जामा २२, तनहुँमा २४, गोरखामा २०, लमजुङमा ७, बागलुङमा २७, पर्वतमा १०, म्याग्दीमा ७ र मुस्ताङमा ३ जना विरुद्ध जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता भएको छ । यस्तै जबरजस्ती करणीसहित उद्योगतर्फ कास्कीमा ५, नवलपुरमा ५, स्याङ्जामा २, तनहुँमा ३, गोरखामा ३, लमजुङमा ७, बागलुङमा ८, पर्वतमा १ र म्याग्दीमा १ जना विरुद्ध मुद्धा दर्ता एसपी खत्रीले जानकारी दिए । उनका अनुसार बहुबिवाह कसुरमा नवलपुरमा ७, कास्कीमा ९, स्याङ्जामा ११, तनहुँमा ५, गोरखामा ५, लमजुङमा १, बागलुङमा ८, पर्वतमा ४, म्याग्दीमा १ जना विरुद्ध मुद्धा दर्ता भएको छ भने स्याङ्जामा १ जना विरुद्ध बालबिबाह कसुरमा मुद्धा दर्ता भएको छ । यस्तै मानब बेचबिखन तथा ओसारपोसार कसुरमा कास्की र तनहुँमा ३÷३ जना विरुद्ध मुद्धा दर्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । एसपी खत्रीका अनुसार बालयौन दुरुपयोगतर्फ नवपुरमा ३, कास्कीमा १४, स्याङ्जामा २, तनहुँमा ३, गोरखामा २, लमजुङमा ४, बागलुङमा २, पर्वतमा ६, म्याग्दीमा २ जना विरुद्ध मुद्धा दर्ता भएको छ । यस्तै अपाकृतिक मैथुन कसुरमा कास्कीमा १, बागलुङमा ३ र म्याग्दीमा १ जना विरुद्ध मुद्धा दर्ता भएको छ । यस्तै बोक्सीको आरोप लगाएको कसुरमा तनहुँमा १ जना विरुद्ध मुद्धा दर्ता भएको छ भने बालबालिका सम्बन्धी ऐन सम्बन्धी कास्कीमा ४ जना विरुद्ध मुद्धा दर्ता भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा महिला तथा बालबालिका सम्बन्धि गण्डकी प्रदेशमा कुल ३ सय २१ वटा मुद्धा दर्ता भएको छ ।
काठमाडौँ: ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् । ‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन् । उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाई छ ।
गण्डकी: सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनमा लगायको कर खारेज गर्नुको विकल्प नभएको बताउनु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित वन महासंघ गण्डकी प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै उहाँले वनका हेरालोका रुपमा रहेका समुहसंग कर लिनु न्यायोचित नहुने बताउनुभयो । कृषिको मौसम र प्रचण्ड गर्मीको प्रवाह नगरि वागमती र लुम्विनी प्रदेश सरकारले वनमा लगाएको २० प्रतिशत कर फिर्ता लिन माग गर्दै उपभोक्ताहरु आन्दोलनरत रहेको बताउँदै उहाँले सामुदायिक वन प्रकृति, संस्कृति, वातावरणमैत्री, सामाजिक र आर्थिक पक्ष भएको हुदा कर छुट गर्न आग्रह गर्नुभयो । कृषि वन, पर्यापर्यटन, उद्यम विकास र व्यवसायिक वन्यजन्तु पालनबाट समृद्धि प्राप्ति गर्न सकिनेमा महासंघले जोड दिंदंै आएको बताउँदै उहाँले प्राकृतिक श्रोतको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई दिनुपर्ने आवश्यकता औल्याउनुभयो । वन पैदावार समितिमा सवै भन्दा बढी अनियमितता हुने गरेको बताउँदै उहाँले त्यसबाट संकलित रकमबाट समाजका गरिव, दलित एवम् विपन्न वर्गलाई सुविधा दिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । सामुदायिक वनका अभियन्ताले वन ऐन र विनियमले गरेका व्यवस्थावारे सुस्म तरिकाले अध्ययन गर्नुपर्नेमा जोड दिंदै भण्डारीले भन्नुभयो, परियोजनाहरु महासंघको समन्वयमा सञ्चालन हुनु पर्ने आवश्यकता औल्याउनुभयो । वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले गण्डकी प्रदेश सरकारले तयार गरेको प्रदेश वन ऐन मस्यौदामा विभिन्न १४ बुँदे सम्शोधन प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु हरि बास्तोला, दोवबहादुर कार्की र खुमप्रसाद सुवेदी प्रदेश महासंघ उपाध्यक्षव्दय खगराज सापकोटा र किशोर सापकोटा, महासचिव आँशु विश्वकर्मा, कोषाध्यक्ष लिला दवाडी लगायतले वनको महत्व र भए गरेका गतिविधि माथि चर्चा गर्नुभयो । गण्डकी प्रदेश अन्तर्गतका महासंघका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्य, जिल्ला अध्यक्षहरु र विभिन्न समितिका संयोजक एवम् सदस्यको सहभागिता रहेको बैठकले करको खारेजीको माग गर्दै वागमती र लुम्विनी प्रदेश महासंघले शुरु गरेको आन्दोलनमा एकेवद्धता जनाएको छ ।
छापा मारेर प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो २ बजे धनगढीको बोराडाडीको एक होटलमा किनबेच गर्न लागिएको अवस्थामा चितुवाको छाला बरामद गरिएको हो। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको सादा पोसाकमा खटिएको टोलीले छालासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ४८ वर्षीय बामदेव जोशी र डडेल्धुराको परशुराम नगरपालिका–१२ का १७ वर्षीय गोविन्द भट्टराई छन्। उनीहरूले ३ लाख ५० हजार रुपैयाँमा चितुवाको छाला किनबेच गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा आवश्यक कारबाहीका लागि पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
काठमाडौँ: जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा। सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो । बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ । पार्टीले आज स्थानीय जनप्रतिनिधिसम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ । बैठकमा वडाध्यक्ष, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ । रासस
दोलखामा पहिरोमा परेर तीन वर्षका एक बालकको ज्यान गएको छ । यस्तै पहिरोमा परेर तीन जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो गएको हो । पहिरोको विस्तृत जानकारी आउन सकेको छैन । तर पहिरोले पाँच घर बगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर ज्यान गुमाएका तीन वर्षका प्रिन्स थामीका आमाबुवाको नाम खुल्न बाँकी छ भने घाइते भएकाको पनि परिचय खुलेको छैन । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ । यस्तै पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती बेपत्ता भएका छन् ।
काठमाडौं: हनी ट्रयाप पारी लाखौं ठगी गरिसकेको अवस्थामा एक गिरोह समातिएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले एक युवतीसहित ४ जनालाई नियन्त्रण लिएको हो। जसमा झापा बिर्तामोड नगरपालिका ९ घरभइ काठमाडौं बानेश्वर बस्ने २४ वर्षकी अनिता मगर भनेर चिनिने सिया मगर रहेकी छन्। उनले बिवाहित केटाहरुसँग सामाजिक सञ्जालमा जोडिएर सम्बन्धमा बस्ने सम्मको कुरा गर्ने गरेकी थिइन्। त्यसपछि गिरोह लगाएर पैसाको माग गर्ने गरेकी प्रहरीले जनाएको छ। गिरोहले पीडितहरुलाई फेसबुकमा अनिता मगरको नामबाट साथी बनाउने गरेका थिए। त्यसपछि मेसेन्जरबाट कुराकानी गर्ने र सियाले पिडितहरुलाई विभिन्न स्थान तथा होटलमा जानको लागि अनुरोध गर्ने गरेकी प्रहरीले जनाएको छ। होटलमा सामान्य कुराकानी गरी विभिन्न बाहानामा बाहिर निस्कने र सियाले आफुहरुको सम्बन्ध आफ्नो दाजु भाउजुले थाहा पाएको भन्दै उनीहरुले भने अनुसार नै गर्न अह्राउने गरेकी अनुसन्धानबाट खुलेको छ। त्यसलगत्तै गिरोहका अन्य सदस्यले पीडितहरुलाई कल तथा म्यासेज गरी धाकधम्की दिने, रकम माग गर्ने तथा ब्याल्यकमेलिङ गर्ने गरेपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए। सिया मगरलाई पत्रकारको भुमिका खेली पैसाको डिमाण्ड गर्न सिन्धुपाल्चोक बलेफी गा.पा. ४ मान्खा घर भई बानेश्वर बस्ने दिपक पराजुलीले सहयोग गरेका थिए। गिरोहमा पक्राउ परेका उनी पेशाले गाडी चालक हुन्। उनले पिडितहरुलाई भने आफु गृह मन्त्रालयको प्रेस सल्लाहकार बताउने गरेका प्रहरीले बताएको छ। पराजुलीले पीडितको सम्पुर्ण विवरण रेकर्ड राखी पैसाको माग गरी पत्रकार हुँ भन्दै तर्साउने भुमिका खेलेका थिए। गिरोहमा म्यासेज र भेट गरी ब्याल्यकमेलिङ गर्ने भुमिका राइडरले खेलेका थिए। पेशाले राइठ सेयरिङ गर्ने बलेफीकै २७ वर्षका विमल सुवेदीले धाक धम्की दिएर पैसा माग गर्ने गरेका प्रहरीले जनाएको छ। सोही पेशामा लागेका सिन्धुपाल्चोक सुनकोशी गा।पा। ७ घरभइ भक्तपुर जिल्ला सानोठिमी बस्ने २४ वर्षका सरोज तिमल्सेनाले भने भेट गर्न बोलाएका बेला निगरानी गरेर डर त्रास देखाउने गरेका ललितपुर प्रहरीले जनाएको छ। गिरोहविरुद्धको उजुरीमाथि अनुसन्धानका क्रममा ३ लाखको चेक लिइसकेको अवस्थामा काठमाडौं बालकुमारीस्थित द बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकनबाट बुधबार पक्राउगरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। उनीहरुको साथबाट धाकधम्की दिन प्रयोग गरिएको मोबाइलको सीमकार्ड, पिडितले दिएको चेकसहित अन्य प्रमाणहरुसमेत बरामद गरेको छ। उक्त गिरोहले अर्का एक जना पीडितबाट समेत २०८० असार २८ गते ३ लाख २५ हजार रुपैंया लिएको पाइएको ललितपुर प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध दुइ जना पिडितहरुले आपराधिक लाभको कसुरमा जाहेरी दिएका छन्। उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

