काठमाण्डौ: नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बुधवारको बैठकमा सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको हो । एमालेले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि संलग्नता रहेको भन्दै उहाँको राजीनामा पनि मागेको छ । अब अर्को बैठक साउन १० गते सोमवारका लागि बोलाइएको छ ।
काठमाडौं: सत्तारूढ दल नेपाली कांग्रेसक सचेतक सुशिला थिङले तामाङ समुदायको संस्कृतिमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गरेकी छन् । एउटा टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ समुदायमाथि दिएको अभिव्यक्तिको विषयलाई लिएर उनले कार्यक्रम प्रस्तोता र अधिवक्ता पाण्डेलाई कारबाहीको माग गरेकी हुन् । 'अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगरलगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु,' उनले भनिन्, 'हाड नाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनीबीचमै विवाह हुँदा विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधामा संलग्न हुने भन्ने अभिव्यक्तिले मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ।' उनले यस्तो अभिव्यक्तिले आफू कति आपराधिक समुदायको माननीय भएछु भन्ने चिन्ता लागेको बताइन् । उनले गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गरिन् ।
कास्की: होटलमा मृतावस्थामा फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको शव परीक्षण गण्डकी अस्पताल पोखरामा गरिने भएको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँको निर्देशनमा उनको शव परीक्षणको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज पौडेल मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार राति मृत फेला परेको खबर सार्वजनिक भए पनि प्रहरीले मङ्गलबार साँझ उनको शवपरीक्षणको लागि धौलागिरी अस्पताल बागलुङ ल्याएको थियो । प्रहरी प्रधान कार्यालयले पोखरा पठाउन निर्देशन दिएकाले बागलुङमा शवपरीक्षण नगरी पोखरा पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए । इञ्चार्ज पौडेल मृत फेला परेको होटलका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । आजै उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । ‘इञ्चार्ज पौडेलको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेका हौं’ उनले भने, ‘पौडेलले लगाएको सुनको सिक्र्री होटलको भन्छा कोठामा फेला परेको छ ।’ घटना शङ्कास्पद देखिएको जनाउँदै प्रहरी उपरीक्षकको नेतृत्वमा घटनास्थल बडिगाड गाउँपालिका–६ खार बजार पुगेको प्रहरीले आमाछोरालाई पक्राउ गरेको थियो । आशा होटल एण्ड खाजा घरमा प्रहरी इञ्चार्ज पौडेल मृत फेला परेका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धानपछि मात्रै वास्तविकता बताउने जनाएको छ । प्रहरी उपरीक्षक खड्काले भने, ‘अनुसन्धान भइरहेकाले थप शङ्का गरिएका विषयमा अहिले नै केही भन्न मिल्दैन ।’
काठमाडौँ : तामाङ, मगर, मुस्लिम लगायत समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् । अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीच हुने विवाहबारे घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् । जाहेरीमा अभिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्तासमेत भइसकेको तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामाले जानकारी दिए । भगवती पाण्डे संघले टेलिभिजनलाई पनि विपक्षी बनाएको छ । कुनै समुदायको सामाजिक मान्यता, सांस्कृतिक मुल्य माथि चोट पुग्ने गरी र जातिय घृणा उत्पन्न हुने कुनै सामग्री प्रशारण पत्रकार आचार संहिता विपरित भएको कारण टेलिभिजनलाई विपक्षी बनाइएको हो । प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता, २०७३ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको दोस्रो बुँदामा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’
बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै प्रारम्भिक अनुसन्धानबाट पौडेलको हत्या भएको पुष्टि गर्दै हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल मिति २०८० साउन ८ गते ८ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका ६ खालबजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोही होटलका सञ्चालिका आशा कुँवर र निजतको छोरा विनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्तिले प्रहरी गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी साढे ११ बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्रीसमेत निकाली किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा घटनामा संलग्न निम्न दुई जनालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य गरिरहेको छ ।’ पौडेलको हत्या आरोपमा आशा होटलका सञ्चालिका ५१ वर्षीया आशा कुँवर र आशाकी छोरा २० वर्षीय बिनोद कुँवर पक्राउ हिजो (मंगलबार) नै पक्राउ परेका थिए । प्रहरी प्रधान कार्यालयको निर्देशनमा मृतक पौडेलको पोष्टमार्टम भने गण्डकी अस्पताल पोखरामा गरिने बताइएको छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ। जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन्। बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। स्थानीय नेत्रबहादुर सारुले भने, ‘उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो,’ उनले भने, ‘लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो।’ बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए। गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जङ्गलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाउनुभएको छ । विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको रास्वपाको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले गृहमन्त्रीको राजीनामा नमाग्ने बरु निष्पक्ष ढङ्गले अनुसन्धान छिटो सम्पन्न गर्न दबाब दिने बताउनुभएको छ ।
दमौली: तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिनुभयो । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गर्नुभएको छ । गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताउनुभयो । सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न÷ हेर्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।” बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।
बारा: आफ्नै २३ वर्षीया श्रीमती यास्मिन खातुनको हत्या गरेको एक युवक पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका मोहमदले सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई माइती घरमै आएर धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि स्थानीले ति मोहमदलाई कुटपिट गरेर घाइते भएका थिए । सो घटनाबारे प्रहरीलाई खबर पुगेपछि मोहमदलाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

