सप्तरी: सप्तरीको कञ्चनरुप नगरपालिकामा एक नावालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुवेदी पक्राउ परेका हुन् । गत शुक्रवार राति सोही वडास्थित धरमपुर टोलमा १७ वर्षीया नावालिकामाथि सामूहिक बलात्कार भएको र घटनामा संलग्न योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपक कुमार राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा खुलेको छ । शुक्रवार मध्यराति आरोपी चारैजना नावालिकाको घरमै पसेर कोही नबस्ने छेउको घरमा लगि कैलाशको निर्देशनमा पालै-पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेपाल एअरलाइन्सको उडानमार्फत् काठमाण्डौदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला जाँच क्षेत्रबाट झोलामा लुकाएर लैजान लागेको एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज (मङ्गलबार) आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो । प्रधानमन्त्री प्रचण्डले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्नुभयो । उहाँले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले न्नुभयो, “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।” उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताउनुभयो । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो । “शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उहाँले भन्नुभयो, “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।” उहाँले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।
काठमाडौं: नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले प्रतिवेदन बुझाएका छन् । अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ । ‘मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएका छौं,’ अभियानका अगुवा जगदिश्वर नरसिंह केसीले भने । पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाइएको छ । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको थियो ।
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण अहिले पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । ब्लड बैंक निर्माणका लागि अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम त्यही बजेटबाट भएको उहाँको भनाइ छ । ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । अहिले सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नेपाल भलिबल सङ्घले विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी श्रेष्ठलाई राष्ट्रिय टोलीको नयाँ कप्तानका रुपमा नियुक्त गरेको हो । गएको महिना नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाएर श्रेष्ठलाई नियुक्त गरिएको हो । सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । एसियन गेम्समा श्रेष्ठको कप्तानीमा नेपालले प्रतियोगिता खेल्नेछ । सन् २०१८ मा इन्डोनेसियामा खेल्दा श्रेष्ठ टोलीका सदस्य थिए । सन् २०१५ मा बङ्लादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका उनी त्यसयता निरन्तर टोलीमा रहेका छन् ।
काठमाडौं: बाढी-पहिरोका कारण ३ वटा राजमार्ग बन्द छन् । १५ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका सडक विभागले जनाएको छ । सडक विभागका अनुसार मेची राजमार्गको केचना-चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ-ओलाङचुङ्गगोला सडक खण्ड अवरूद्ध छ । यो राजमार्ग असारको पहिलो हप्तादेखि नै बन्द छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक र तानसेन-रिडी-कोरला सडक बन्द छ । विभागले अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको पनि जानकारी दिएको छ । काठमाण्डौसँग मुख्य नाका जोडिएको नागढुङ्गा–नौबिसे तथा मुग्लिन नारागणगढ सडकमा केही दिनयता सामान्य रुपमा गाडी चलिरहेका छन् । पहिरोको जोखिम रहेकाले मुग्लिन नारागणगढ सडकको यात्रा गर्नु अघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गर्दै आएको छ।
काठमाडौं: नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘पालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार २० दशमलव ४५ प्रतिशत पालिका बजेटविहीन रहेको देखिएको हो । यस अवधिसम्ममा बजेट पेस भइसकेका पालिकाको सङ्ख्या पाँच सय ९९ छ । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेस प्रदेशमा ६३ वटा पालिकाले बजेट ल्याएका छैनन् । सबैभन्दा कम कर्णाली प्रदेशका चार पालिकाले मात्रै बजेट ल्याउन बाँकी रहेको देखिएको हो । कोशी प्रदेशका २९, बाग्मतीका २४, गण्डकीका सात, लुम्बिनीका १४ र सुदूरपश्चिमका १३ पालिकाले आफ्नो वार्षिक बजेट पारित भएको विवरण पेस गरेको देखिँदैन । सङ्घीय मामिला मन्त्रालयका सहायक प्रवक्ता अश्विनकुमार पोखरेलका अनुसार बजेट पारित गरिसकेका पालिकाले पनि मन्त्रालयको प्रणालीमा प्रविष्टि (इन्ट्री) नगर्दा यस्तो सङ्ख्या धेरै देखिएको हो । ‘धेरै पालिकाले बजेट पारित गरिसकेका भए पनि पोर्टलमा हालिसकेका छैनन् । अहिलेसम्म बजेट पेस नै नगरेका २० वटाभन्दा बढी पालिका छैनन् भन्ने हाम्रो अनुमान छ’, उहाँले भन्नुभयो । मन्त्रालयको प्रणालीमा बजेट प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण चाँडो बुझाउन परिपत्र गरिएको उहाँले बताउनुभयो । सङ्घीय मामिला मन्त्रालयले आइतवार अस्ति सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०र८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने व्यवस्था छ । गाउँसभा तथा नगरसभामा पेस भइ पारित भएको विवरण सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । बजेट पेस गरेका तर गाउँसभा तथा नगरसभाबाट पारित हुन बाँकी रहेका पालिकालाई पनि बजेट पेस भएको विवरण जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ । जिल्ला समन्वय समितिलाई पठाएको पत्रअनुसार सम्बन्धित पालिकाले बजेट पेस गरेरनगरेको विवरण मन्त्रालयलाई जानकारी गराउन भनिएको छ । असार १० गतेभित्र बजेट पेस गर्ने पालिकाको सङ्ख्या, तोकिएको समयपछि बजेट पेस गर्ने पालिकाको नाम र सङ्ख्या, असार मसान्तसम्म पनि बजेट पेस नगर्ने पालिकाको नाम, असार मसान्तभित्र बजेट पारित गर्ने पालिकाको सङ्ख्या र त्यस अवधिमा बजेट पारित गर्ने पालिकाको नाम माग गरिएको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि आज (मङ्गलबार) बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यत: १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो। महामन्त्री शर्माले सभापति देउवा र महामन्त्रीहरूबिचको परामर्शमा तय भएका एजेन्डाबारे पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग छलफल गरिएको बताउनुभयो। उहाँका अनुसार बैठक प्रतिवेदन र प्रस्तावसहित १० बुँदे एजेन्डामा केन्द्रित रहन्छ। समसामयिक राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र, शासन र सुशासनका सन्दर्भमा बैठक केन्द्रित रहने छ। उहाँले साङ्गठनिक कार्ययोजना र कार्यतालिका बैठकमा प्रस्तावित हुने बताउँदै पार्टीको निर्वाचन समितिमार्फत गर्नुपर्ने कतिपय काम पनि बैठकमा प्रस्ताव गरिने जानकारी दिनुभयो। त्यसै गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय अनुमोदनको प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले निर्वाचन परिचालन समिति २०७९ का संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत हुने बताउनुभयो। महामन्त्री शर्माले नीति अधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनमा नेतृत्व चयनको अधिवेशन र नीति निर्माणको अधिवेशनलाई छुट्याउने निर्णय भयो। यो बैठकमा नीति अधिवेशनको केही खाका प्रस्तुत हुन्छ। मिति, ढाँचा र प्रक्रिया तय गर्नेछ।” उहाँका अनुसार विभाग गठनका सन्दर्भको प्रस्तावमा केही विभाग थप्नुपर्ने र विभागको कामको व्याख्यासम्बन्धी प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ। उहाँले देश र विदेशका नेता–कार्यकर्ता र शुभचिन्तकको माग अनुरूप कांग्रेसको राष्ट्रव्यापी अभियानको नाम, उद्देश्य र खाका पनि बैठकमा प्रस्तुत हुने बताउनुभयो। त्यसै गरी अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टी अनुशासनसम्बन्धी प्रतिवेदन बैठकमा प्रस्तुत गर्नुहुने छ। महामन्त्री शर्माका अनुसार निर्वाचनपछि सबैभन्दा ठुलो दलका रूपमा कांग्रेसले संसद्मा गरेका काम, भूमिका, विधेयक र प्रस्तुतिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सङ्घीय सरकारसँगै चार प्रदेशमा कांग्रेसले गरिरहेको नेतृत्व र सातै प्रदेशका सरकारमा सहभागिताबारे विवरण राख्नुहुने छ। प्रत्यक्ष प्रसारणको बहस कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ। महामन्त्री शर्मा र पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताउनुभयो। उहाँहरूका अनुसार बैठकको प्रत्यक्ष प्रसारणबारे फेरि छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी भएको छ। डा। कोइरालाले भन्नुभयो, “पहिलो दिन प्रत्यक्ष प्रसारण गर्ने र त्यसको प्रतिक्रिया कस्तो आउँछ, त्यसलाई हेरेर निर्णयमा पुग्ने छौँ।”

