काठमाण्डौ: प्रतिनिधिसभाको बैठक ढिलो गरी शुरु भएको छ । आज आइतवारको बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहे पनि विधेयकको विषयमा सहमति जुट्न नसक्दा दिउँसो १ बजे बस्ने भनिएको बैठक साढे २ बजेमात्रै शुरु भएको हो । संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाएको र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० गतेभित्र पारित गरिसक्नुपर्नेमा नेकपा एमालेको संसद् अवरोधका कारण विधेयक निष्क्रिय बनेको थियो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।
पर्वत: पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई जना पुगेको छ । दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो । पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचारकाक्रममा बालकको ज्यान गएको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, दुर्घटनामा परि सात वर्षीया बालिका शीतल विकको ज्यान गएको छ । पर्वतको कुश्मा बजारबाट दुर्लुङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनि भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको छ । घाइतेमध्ये सात जनालाई पर्वतबाट उपचारका लागि पोखरा पठाइएको छ । कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । यात्रुवाहक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
पोखरा: काठमाडौंका मेयर बालेन्द्र शाहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा विद्यालयमा पनि त्यसरी नै एकदिन जीवनउपयोगी शिक्षा सिकाउन पाए राम्रो हुन्थ्यो ।’ जवाफमा गाउँपालिकाले आफूहरु विद्यार्थीलाई खेती सिकाउने योजना रहेको बतायो । जवाफमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले आफूहरु पनि हप्तामा एकदिन विद्यार्थीलाई मौसमअनुसारको खेती गर्न सिकाउने योजनामा रहेको सुनाए । ‘हामीकहाँ ५७ वटा विद्यालय छन् । सबैमा सुरुमा नसकिएला, २÷३ वटा विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई मौसमी खेती सिकाउने योजना छ,’ भुगाइँले भने, ‘असारमा धान लगाउन, त्यसपछि गहुँ, कोदो लगाउन अनि मौसमी तरकारी पनि खेतमै लगेर लगाउन सिकाउँछौं ।’ अन्नपूर्ण–२ का हरिराम भण्डारीले पशुमा लम्पी स्किन रोग देखिएकाले त्यसले भयावह स्थिति लिन नसक्ने गरी योजना ल्याउन गाउँपालिकालाई आग्रह गरे । गाउँपालिकामा मौज्दात औषधि पनि नभएको जानकारी पाएकाले त्यो समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराए । ‘मान्छेमा कोरोना देखिएजस्तै पशुमा लम्पी स्किन रोग भयावह देखिएको छ । यसमा गाउँपालिकाभरको अनुगमन एकैपटक गर्न नसकिएला । तर, त्यसको जोखिमलाई ध्यानमा राखेर औषधि तयार राख्नप¥यो,’ उनले भने । जवाफमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले आफूहरुले बिहीबार कार्यपालिका बैठकबाटै लम्पी स्किन नियन्त्रणका लागि सबै पहल गर्न सम्बन्धित शाखालाई जिम्मा दिने निर्णय गरेको जानकारी दिए । ‘रोग फैलन नदिन के गर्न सकिन्छ ? के–के औषधि चाहिन्छ, के गर्नुपर्छ सबै गर्न भनेर पशु शाखालाई भनेका छौं,’ उनले सुनाए । अन्नपूर्ण ११ का जमान गुरुङले आफूले चार वर्षअघि स्वास्थ्य चौकी बनाएबापतको पैसा अहिलेसम्म नपाएको बताए । गाउँपालिकाबाट उपभोक्ता समितिलाई पैसा गएको भनिए पनि आफूले त्यो नपाएको उनको भनाइ थियो । ‘पुरै पैसा पाएकै छैन । उपभोक्ता समितिले हामीले हार्डवेयरमा तिर्दियौं भन्छ । त्यहाँ तिर्ने त मेरो काम हो नि,’ ठेकेदार गुरुङले सुनाए । उनले छानबिन गर्न माग गर्दै शुक्रबार नै न्यायिक समितिमा निवेदन दिएका छन् । न्यायिक समिति संयोजकसमेत रहेकी गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले आफूहरुले दुवै पक्षलाई बोलाएर सत्य पत्ता लगाउने बताइन् । बजेट खर्च ७९ प्रतिशत अन्नपूर्णको चालु आर्थिक वर्ष २०७९–०८० को ७३ करोड ३४ लाख रुपैयाँको बजेटमध्ये ५८ करोड खर्च ९ लाख रुपैयाँ अर्थात् ७९.२१ प्रतिशत भएको छ । चालु आर्थिक वर्षको प्रतिवेदन सार्वजनक गर्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले चालुतर्फ विनियोजित ४४ करोड ७३ लाख रुपैयाँमध्ये ३७ करोड ६६ लाख रुपैयाँ अर्थात् ८२.२ प्रतिशत र पुँजीगततर्फ विनियोजित २८ करोड ६० लाख रुपैयाँमध्ये २० करोड ४३ लाख अर्थात् ७१.७२ प्रतिशत खर्च भएको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि गाउँपालिकाले ५८ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । विगत वर्षको एक करोड ५६ लाख रुपैयाँ बेरुजु चालु आर्थिक वर्षमा लेखापरीक्षण गर्ने क्रममा सम्परीक्षण गरेर फछ्र्यौट गरिएको देवकोटाले बताए । उनकाअनुसार स्वास्थ्यतर्फ गाउँपालिकाले ल्याएको ५० प्रतिशत अनुदानमा बिमा गर्ने कार्यक्रमबाट १ हजार ६७४ जना लाभान्वित भएका छन् । त्यसमध्ये ५६ जना विपन्न परिवारलाई शत प्रतिशत अनुदान उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षमा १ हजार १७४ जना पशु पालकलाई औषधि वितरण गरिएको र त्यसबाट ४ हजार ३२५ पशु लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष भन्छन्: चुनावको १५ दिनअघिसम्म निष्पक्ष पालिका हाँक्नेलाई राजनीतिक आस्था हेरेर बजेट, योजनामा विभेद हुने गरेको आरोप छ । अन्नपूर्णका अध्यक्ष विष्णुबहादुर केसीले आफूले अहिलेसम्म कसैले राजनीतिक आस्थाको हिसाबले निर्णय गरेको भनेर प्रश्न उठ्ने गरी काम नगरेको दाबी गरे । ‘मेरो नेतृत्वकोको टिम आएको एक वर्ष भयो तर आजसम्म राजनीतिक पूर्वाग्रह राखेर निर्णय गरेको छैन,’ शुक्रबारको सार्वजनिक सुनुवाईमा उनले थपे, ‘आफूलाई मन नपर्ने निर्णय भएपछि अनेक भन्नु त मानवीय चरित्र नै हो । तर, कुनै ठाउँमा राजनीतिक आस्थामा रहेर निर्णय गरेको भए त्यो मान्छेले प्रमाणसहित गाउँपालिका आए बल्ल स्वीकार्छु ।’ आर्थिक स्रोतको अभावले पाँच वर्षमा चाहेजस्तो काम गर्न सक्ने अवस्था नभए पनि सुरुआत भने गर्ने उनको भनाइ थियो । अध्यक्ष केसीले बाँकी ४ वर्षको कार्यकालमा पनि निष्पक्ष भएर काम गर्ने बताए । ‘हामी जति बाँडिए पनि चुनावभन्दा १५ दिनअगाडि टिकट पाएपछि हो । फेरि टिकट पाइन्छ–पाइँदैन थाहा छैन । तर, त्यो चुनावसम्म निष्पक्ष भएर काम गर्ने हो,’ उनले भने, ‘कास्कीका पाँच पालिकामध्ये हामी हरेक हिसाबले पहिलो छौं । यसलाई पहिलो बनाइराख्ने चुनौती सम्झेर काम गर्छौं ।’ विपद् व्यवस्थापनका सामान त्रिपाल बाँड्ने विषयमा उठेका प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए । त्यहाँ प्रक्रियागत त्रुटि रहेको स्वीकार्दै उनले आगामी वर्षदेखि वडाबाट सिफारिस हुँदै कडाइ गर्ने अध्यक्ष केसीले सुनाए । ‘सहयोग भनेको जसले केही गर्न सक्दैन उसलाई दिने हो । तर, यहाँ माग्न आउनेकहाँ हेर्न जाँदा दिनैपर्ने खालको अवस्था हुँदैन,’ उनले थपे, ‘सिफारिस नदिए वडाध्यक्षलाई पनि ठूलो पल्टियो भन्ने हुन्छ । तर, अब अतिविपन्न जो हो त्यो पहिचान गरेर बल्ल दिने व्यवस्था गर्छौं ।’ वडा नम्बर १, २ र ३ मा गाउँपालिकाबाट सामान लिएर घरमा लगेर थन्क्याउने अवस्था आफूहरुले अनुगमन गर्दा देखेको उनको भनाइ थियो ।
काठमाडौं: सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ। विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागु नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ। विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुके उपलब्ध गराउन भने पनि त्यो प्राप्त नभएको उल्लेख गरेको छ। सरकारले २०७९ चैत १५ गते आलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो। विदेशी टेलिभिजन च्यानलसमेत हेरिरहेका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भारलाई न्यायोचित बनाउन विद्यमान शुल्क प्रणालीलाई सुधार गरी सरकारले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने योजना अघि सारेको थियो। यो प्रणालीमा उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्न सक्ने सुविधा हुन्छ। अहिले उपभोक्ताले आफूले नहेर्ने च्यानलको पनि शुल्क तिर्दै आएका छन्। आलाकार्ट प्रणालीका लागि सरकारले आधारभूत प्याकेजको प्रतिमहिना २५० रुपियाँ निर्धारण गरेको थियो। त्यस्तै सशुल्क च्यानलसमेत गरी अधिकतम प्रतिमहिना पाँच सय रुपियाँ तिर्नुपर्ने गरी शुल्क निर्धारण गरिएको थियो। इन्टरनेट र च्यानल सुविधा उपलब्ध गराइरहेका सेवा प्रदायकका हकमा अहिले लिइरहेको शुल्कमा थप शुल्क बढाउन नपाउने व्यवस्था पनि यसमा गरिएको छ। आलाकार्ट प्रणाली अनुसार सशुल्क विदेशी च्यानलको शुल्क र बुके (टेलिभिजन च्यानलको बन्डल) उपलब्ध गराउन नेपालका सबै अपरेटर र विदेशी टेलिभिजन च्यानललाई डाउनलिङ्क अनुमति प्राप्त वितरकमार्फत विभागले पहिलो पटक वैशाख १७ गते, दोस्रो पटक वैशाख ३१ गते र तेस्रो पटक असार १७ गते पत्राचार गरेको थियो। बारम्बार पत्राचार गरेर पनि कुनै जानकारी प्राप्त नभएपछि उपभोक्ताबाट उठाउन सकिने बुके र प्रतिच्यानलको मूल्य निर्धारण हुन सकेको छैन। यो प्रणाली कार्यान्वयनमा आउँदा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबैलाई फाइदा हुने विश्वास सरकारको छ। त्यसमा लागि विभागले यो प्रणाली कार्यान्वयनमा सहयोग पु(याउन सबैलाई आग्रह पनि गरेको छ।
काठमाडौं: नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट हटाएकाे छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो । सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेपछि गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो । महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको छानविन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए । छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ । यस्तै विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।
धादिङ: धादिङमा एक युवक १० किलो गाँजासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ का २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् । उलनाई गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तनहुँ: भानु जयन्तीका अवसरमा शुक्रबार भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कार्यक्रममा २९ वर्षीया मनिषा कुमाल र ४२ वर्षीया हीरा कुमालले लोपोन्मुख पाउदुरे नृत्यमा मारूनी बनेर तालमा ताल मिलाएर घन्टौं नाचे। पाउदुरे नाच पुरुषले महिला बनेर नाच्ने प्रचलन छ। तर गाउँमा पुरुष नहुँदा भानु नगरपालिका–४ कुमालगाउँका यी दुई महिला पाउदुरे नाच संरक्षणमा पछिल्लो पाँच वर्षदेखि अहोरात्र खटिएका छन्। ‘के गर्नु यस्तो पुरानो नाच त्यसै मर्न दिन मनले मानेन’, पाउदुरे नाच्दै गरेकी मनिषाले भनिन् ‘त्यसैले गाउँका सबैलाई भेला गरी हामीलाई पनि नाच्न सिकाउनुस् हामी यो नाच बचाउँछौँ भनेर संरक्षणमा कस्सियौं।’ शुक्रबार विभिन्न क्षेत्रबाट आएका पाहुनालाई देखाउन भनेरै आफूहरूले पाँच दिनअघिदेखि लगातार मेहनत गरेर पाउदुरे नाच्न सिकेको मनिषाले बताइन्। पाँच वर्ष पहिले नाच सिक्ने क्रममा सुरुका दिनमा गाउँकै केही व्यक्तिले महिलाले पाउदुरे नाच्न हुँदैन भनेर असहमति जनाए पनि अहिले तिनै व्यक्तिले प्रशंसा गरेको देख्दा आनन्द लाग्ने गरेको हीराले बताइन्। ‘पहिले नाच्न हुँदैन, अनिष्ट हुन्छ भन्नेहरू नै अहिले कति राम्रो ताल समातेको भनेर हौसला दिने गरेका छन्’, उनले भनिन्, ‘पाउदुरे नाच देखाउन भनेरै पाँच–सात स्थानमा पुगिसकेका छौं।’ आफूहरूले पाउदुरे नाच्न थालेपछि दिगोरूपमा संरक्षणका लागि आफूहरूले गाउँका अन्य साना बालबालिकालाई समेत नाच्न सिकाउँदै गरेको हीराको भनाइ छ। पाउदुरे जनजातिमाझ लोपोन्मुख नाच हो। विभिन्न जनजातिले आ–आफ्नो तवरले पाउदुरे नाच्दै आएको पाइन्छ। यो नाचमा विजबारे, मारुनी, मादले, गुरुलगायत आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यूचोली र गरगहना लगाएर महिलाजस्तै बनेर नाच्ने चलन छ। छेउमा नाच्ने दुई पुरुषलाई ‘मारूनी’ र बीचमा नाच्नेलाई ‘बिजबारे’ भनिन्छ। नाच्दा बिजबारेकै भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्छ। गीत गाउने मुख्य व्यक्तिलाई ‘गुरुबा’ भन्ने चलन छ। गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादलेलगायतले पनि गीतलाई होमा हो मिलाउने चलन छ। बेला–बेलामा ताल काट्दै मादलेसमेत नाच्ने भएकाले पाउदुरे हेर्दा रमाइलो हुने गर्छ। पाउदुरे नाच्दा चारै दिशाका देवीदेवतालाई सम्झने चलन छ। देवीदेवतासँग सबै जिवात्माको कल्याणको कामना गर्दै यो नाच नाचिन्छ। पैसठ्ठी वर्षीय बाबुराम, सोमबहादुर कुमालले पाउदुरे नाच्दै आए पनि उनीहरुको स्वास्थ्य प्रतिकूल भएपछि विगत १२–१५ वर्षदेखि आफूले पाउदुरे नाच्न छाडेको ६२ वर्षीया भीमबहादुर कुमालले बताए। बोलाएको ठाउँमा एकैपटक दुई–तीन घन्टा पनि नाच्नुपर्ने भएकाले नाच्न नसकेर छाडेको उनको भनाइ छ। ‘हामीले नाच्न छाडेपछि आठ–दश वर्ष नाच्ने मान्छे नै भएनन्,’ भीमबहादुरले भने, ‘अहिले महिलाहरू नाच्न कस्सिएपछि पुनः पाउदुरेको रौनक गाउँमा ह्वात्तै बढेको छ।’ मनिषा र हीराले पछिल्लो समय आफूलाई नाचेर साथ दिँदै आएकाले खुसी लागेको विगत ३५ वर्षदेखि बीचमा नाच्दै आएका ९बिजबारे० ५८ वर्षीय लालबहादुर कुमालले बताए। महिला पनि पुरुषले जस्तै घन्टौँ खटिन सक्ने गुण देखेको उहाँले जानकारी दिए। नाच देखाउन आफूहरू गोरखा, दमौली, देवघाट, चितवन, नवलपरासी र लमजुङलगायतको जिल्लामा पुगिसकेको उनले जानकारी दिए। यहाँको पाउदुरे नाचमा ६५ वर्षीय गङ्गाबहादुर कुमाल, ६८ वर्षीय टीकाराम कुमाल र ६६ वर्षीय सन्तबहादुर कुमालले मादल बजाउने गर्दै आएका छन्। कुमालगाउँमा रहेका ९२ घरमध्ये युवा वैदेशिक रोजगारीका क्रममा विदेशमा भएकाले पाउदुरे नाच्ने पाउनै मुस्किल भएको स्थानीय चुदेली कुमाल समाजका अध्यक्ष ३९ वर्षीय विष्णु कुमालले बताए। ‘गाउँका युवा जति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्’, उनले भने, ‘पाउदुरे नाच्ने पुरुष नहुँदा महिलालाई नचाउनुपरेको छ। गाउँका अन्य महिलाले पनि नाच्नका लागि चासो व्यक्त गरेका छन्।’ महिलाले पाउदुरे नाचेपछि नाच लोप हुने अवस्था भने नरहने आफूले विश्वास व्यक्त गरेको अध्यक्ष कुमालले बताए।
पाल्पा: पाल्पाका ८९ स्वास्थ्य संस्थामध्ये ३४ वटाले दूषित पानी प्रयोग गरिरहेको भेटिएको छ । ८९ स्वास्थ्य संस्थामा बिरामी तथा कुरुवाहरुले प्रयोग गर्ने पानीको परीक्षण गर्दा ३४ वटाको पानीमा दिसामा पाइने कोलीफर्म भेटिएको हो । कोलीफर्म तातो रगत भएका जीवजन्तु तथा मानिसको दिसामा पाइने एक प्रकारको जीवाणु हो । जिल्लाका दुई वटा नगरपालिकासहित आठ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा पानीको शुद्धता परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । रिब्दीकोट, माथागढी र बगनासकाली गाउँपालिकाका ६र६ वटा गरी १८ वटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म भेटिएको छ । त्यस्तै, रैनादेवी छहरा र तिनाउँ गाउँपालिकाका तीन÷तीन वटा, रम्भा गाउँपालिकाका दुई वटा तथा निस्दी गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थाको पानी दूषित भेटिएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकामा तीन वटा र तानसेन नगरपालिकाको एउटा स्वास्थ्य संस्थाको पानीमा कोलीफर्म जीवाणु फेला परेको छ । स्वास्थ्य कार्यालयले पानीको गुणस्तर सुधार तथा सचेतना अभिवृद्धि गर्न र महामारीबाट बच्न पानीको जाँच गरिएको जनाएको छ । जाँच गरिएकामध्ये ४० प्रतिशत स्वास्थ्य कार्यालयको पानी दूषित रहेको पाइएको कार्यालय प्रमुख डा. गिरीले जानकारी दिए । दुषित भेटिएको पानीको गुणस्तर सुधार गर्न पालिकाको स्वास्थ्य शाखालाई सुझाव दिइएको उनले बताए ।

