पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

पोखरा:     पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज (सोमबार) शिलान्यास गर्नुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख लिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् । डिपो निर्माणका लागि रु ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ । “एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिनेछन्”, उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।” नायब कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ । 

काठमाडौं:   अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनुभएको  छ ।  भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्नुहुँदै मन्त्री डा. महतले अल्पविकसित मुलुकका राजस्व स्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास लक्ष्य हासिल गर्न चुनौति थपेको बताउनुभयो । उहाँले स्रोत अभावले गर्दा स्वास्थ्य क्षेत्रमा प्रतिव्यक्ति लगानीसमेत बढाउन नसकिएको जिकिर गर्नुभयो । अन्तर्राष्ट्रिय समुदायले सहुलियत पूर्ण, सुविधाजनक, लचक खालका अनुदान र स्रोत उपलब्ध गराउन बैठकमा उहाँले आह्वान गर्नुभयो । सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक जस्ता संस्थाहरूको सहभागिता रहेको छ । बैठकमा मुख्य गरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली, वित्तीय समावेशितालगायतका विषय सत्रमा छलफल भएको छ । सार्वजनिक ऋण व्यवस्थापनमा सहकार्य, क्रिप्टो कारोबारको नियमन एवम् सुपरीवेक्षण, सार्वजनिक पूर्वाधारमा प्रविधिको प्रयोगलगायतका विषय बैठकमा उठाइएको छ । सम्मेलन भोलि (मङ्गलबार) सम्म चल्ने छ ।

काठमाडौं:    सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मङ्गलबार बस्ने केन्द्रीय कार्य समिति बैठकको विषय तय गर्नका लागि पदाधिकारी बैठक सुरु भएको जानकारी दिए ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी सभापति, उपसभापति, महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्व पदाधिकारी उपस्थित छन् । आजको बैठकले भोलि (मङ्गलबार)बाट बस्ने पार्टी केन्द्रीय समितिको बैठकका विषय तय गर्ने प्रयोजनका लागि बैठक बसेको हो । केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।

बुटवल:      प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिरलाई सम्पादन गरी भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोपमा केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलका एक युवकलाई पक्राउ गरेको छ । बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको हो । उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेला समेत लिएर असंवेदनशील पोस्ट गरेका थिए ।   ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाइ इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । आइतबार साँझ पक्राउ परेका रानालाई सोमबार टोलीले काठमाडौं लगेको छ । उनलाई काठमाडौंमै साइबर क्राइम सम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सुनसरी:     सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   सप्तकोसी किनारमा युवतीहरुको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।       जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईकाअनुसार उक्त घटनामा संलग्न अरु चार जनाको खोजी भइरहेको छ । उनीहरु फरार छन् । गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले तीन युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कुटपिटमा संलग्नहरुले आफ्नो पोल अरु कसैलाई खोलिदिएको भन्दै मुक्का र लात्ती वर्षाएको देखिन्छ । 

काठमाडौं:    सरकारले सार्वजनिक गाडीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा घटाएको हो ।   स्वचालित प्रणालीअनुसार डिजलमा चार र पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ घटेको थियो । यसैलाई आधार बनाएर विभागले यात्रुवाहक गाडीमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ । यसैगरी मालवाहक गाडीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव ०९ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ । घटेको भाडा आज सोमवारदेखि नै लागू हुने छ । घटेको यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने गाडीमा लागू हुनेछ । छोटो दुरीको गाडी भाडा भने प्रदेश सरकारले समायोजन गर्नेछ ।   हेर्नुहोस कहाँ कति भाडा  

काठमाडौं:     एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’ सँगको खेलमा टस जितेको छ । श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।  प्रतियोगितामा नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा पर्सि बुधवार यूएईको ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा छ । त्यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

पोखरा:    राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८०’ बाट पत्रकार खेम सारुमगर पुरस्कृत भएका छन् ।    नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारिता मार्फत उजार गरेको भन्दै रेडियो नेपालमा कार्यरत पत्रकार खेम सारुमगरलाई आज (आइतबार) पुरस्कृत गरेको हो ।  रेडियो नेपाल गण्डकी प्रदेश प्रादेशिक कार्यालयमा कार्यरत पत्रकार सारु मगरलाई गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन् ।    सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेकी थापामगरले पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन् ।    ‘अहिले हाम्रा पहिचानको रुपमा रहेको कला संस्कृति, भाषा  र भेषभुषाको संरक्षणमा सबैले चासो राख्नुपर्ने दायित्व रहेको छ’, उपसभामुख थापामगरले भनिन्, ‘विभिन्न समुदायमा बसोबास गर्ने विभिन्न जातजातिको संरक्षण र संस्कृतिको संरक्षणमा पत्रकारिताले थप सहयोग पुगेको छ ।’   उनले पत्रकारितामा इमान्दारिता र कर्तव्यमा रहेर यो पेशालाई थप जागरुक बनाउन आवश्यक रहेको धारणा राखिन् ।    यस्तै पुरस्कृत पत्रकार खेम सारुमगरले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउदै उत्प्रेरणा मिलेको बताए ।    ‘रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएको छु’, पत्रकार सारुमगरले भने, ‘मौलिक कौराहा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएपछि म माथि अझै थप जिम्मेवारी थपिएको छ र उत्प्रेरणा पनि मिलेको छ ।’   नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठन गरिएको समितिले पत्रकार सारुमगरलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।   श्र   व्यदृश्य माध्यमबाट मौलिक कौराहा संरक्षणमा योगदान पुर्‍याउँदै आएका पत्रकारहरुलाई पुरस्कार प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका केन्द्रिय अध्यक्ष हर्क आलेमगरले बताए ।   उनका अनुसार मौलिक कौराहा पत्रकारिता पुरस्कार स्थापना २०७५ मा गरिएको हो ।    यस अघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), मान बहादुर घर्ति (एमबी आस्था) मगर (कास्की), मनोज घर्ति मगर (कास्की ) पुरस्कृत भइरसकेका छन् ।   

पोखरा:   पोखराबाट लमजुङका लागि छुटेको बसले कास्कीको रुपा गाउँपालिका पोल्याङमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।  पोखराबाट लमजुङको बेशीँशहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग१५ प ८४८३ नम्बरको मोटरसाइकललाई रुपा गाउँपालिका ३ पोल्याङमा ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको हो ।  लमजुङको मध्यनेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।  यस्तै मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भिर घाईते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । बसको ठक्करबाट मृत्यु भएका विवेक दाजु र घाईते भएका जितेन्द्र भाई हुन् ।  दुर्घटना पछि प्रहरीले बस चालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।