दाङ: दाङको तुलसीपुरमा एक बालकलाई कोठामा थुनेर सुनको मुन्द्रा लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले तुलसीपुरको बसपार्कमा रहेको एउटा घरमा ती बालकलाई शनिवार दिनभरिभित्रै थुनेर डर देखाई कानमा लगाएको मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ । मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आज सोमवारमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
बैतडी: बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रेम शाहीले बताए । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली– पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । सोमबार दिउँसो १ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनामा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमाण्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले बताए । बस सडकबाट अन्दाजी डेढसय मिटर तल खसेर रुखमा अड्किएको छ ।
संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू बस्दैछन्। प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेलाई बोलाइएको छ। त्यसअघि प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल हुन लागेको हो। प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो। प्रधानमन्त्रीको सचिवालयले गत असार २१ गते निकालेको प्रेस विज्ञप्तिप्रति ओलीले आपत्ति जनाएपछि हिजो अवरोध हट्न नसकेको बताइएको छ। आज त्यसलाई पनि सम्बोधन गरेर प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दिए ।
जोर्डन जान लागेका १५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्। आइतबार विमानस्थल पुगेका उनीहरूको कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ। जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शङ्कास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले त्यसतर्फ जानबाट रोकेको जानकारी दिए। त्यस विषयमा अनुसन्धान गर्ने र छलफलका लागि मेनपावर व्यवसायीलाई बोलाइएको जानकारी दिए। ुव्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने। महानिर्देशक अधिकारीका आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङमा महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेको छ । परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो। विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उहाँले बताउनुभयो । घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानीपिसानी गर्छौँ, परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौँ, उहाँले भन्नुभयो । आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदानसमेत निर्माण गरेको छ । खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकालाई खेल खेल्नका लागि सहज भएको छ । गण्डकी प्रदेश सरकारमार्फत् भौतिक पूर्वाधार विकास कार्यालयको चार लाख ५० हजार र गाउँपालिकाको पाँच लाख ३४ हजार रुपैयाँ बजेटको सहयोगमा आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबारसमेत गरिएको छ । नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ । भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आँगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिव राधिका खत्रीले जानकारी दिनुभयो ।
पोखरा: पोखरा महानगरपालिका मापडण्ड विपरितका संरचना हटाउने भन्दै एक्सनमा उत्रिएको छ । महानगरको सूचना पश्चातपनि अटेरी गरेका पृथ्वी राजमार्ग अन्तर्गत पोखरा रंगशाला गेट अगाडिदेखि विजयपुर खोलासम्म (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको हो । भिडियाे: पोखरा महानगरपालिकाले दुइवटा डोजरको प्रयोगमा आज (सोमबार) देखि मापडण्ड विपरितका ति संरचना हटाउन सुरु गरेको महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको थियो । यद्यपी उनीहरुले ति संरचना नहटाएपछि एक्सनमा उत्रिनुपरेको बताए । उनका अनुसार स्थायी–अस्थायी गरी ६० भन्दा बढी संरचनामा डोजर चल्नेछ । यद्यपी कहिलेसम्म सकिन्छ भन्नेबारे ऐकिन छैन । ‘आजबाट संरचना हटाउन सुरु गरेका छौ, गर्दै जाउँ कति दिन लाग्छ,’ मेयर आचार्यले भने । उनले बाटोका लागि एडीबीको टिम पर्सि आउने बताउदै भने, ‘त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको हो,’ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तारको तनहुँ तिरबाट हुदै आएको छ भने पोखरातिरबाट पनि सुरु गरिएको मेयर आचार्यले सुनाए । उनका अनुसार उक्त सडक गरेर ४ लेनको बन्नेछ । तस्बिरहरू:
नवलपरासी: रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा छ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न ठाउँबाट ती बाघको उद्धार गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका र घाइते भएका बाघलाई उद्धार गरिएको उहाँले बताउनु भयो । उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकरएक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । उद्धार गरी ल्याइएका कतिपय बाघ उपचारको क्रममा मर्नेगर्छन् भने कतिपयलाई बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ । यस वर्ष उद्धार गरिएकोमा चार वटा भाले र दुईवटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ । गएको आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात वटा बाघको उद्धार गरेको थियो । जसमध्ये दुईवटा उपचारका क्रममा मरेका, चार वटाको आनीबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उहाँले बताउनुभयो । यस वर्ष उद्धार गरिएका बाघमध्ये दुईवटा पोथी र पाँचवटा भाले बाघ रहेका छन् । निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुईवटा बाघ रहेका छन् ।
आफ्नै साथीको हत्या गरेको आरोपमा भोजपुरमा ६ जना पक्राउ परेका छन् । भोजपुर नगरपालिका–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटना गएको २२ गते शुक्रवार भए पनि हिजो मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । हिजो आफन्तले प्रधान हराएको भन्दै खोजीकका लागि उजुरी दिएका थिए । उहाँका अनुसार ज्यान गुमाएका प्रधानको शव अखुवा खोला बगरमा पुरेको अवस्थामा भेटिएको छ । प्रधानको हत्या गरी शव पुरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।

