पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्।   श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।   अपराह्न ४ बजेदेखि  बेलुका ६ बजेसम्म  बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जानकारी दिएको छ।   प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार निधन भएको थियो। सीतालाई प्रचण्डसहित दुई छोरीहरु रेणु र गंगाले पशुपति आर्यघाटमा दागबत्ती दिएका थिए।

काठमाण्डौ: अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार रिहा भएका छन् ।   काठमाण्डौ जिल्ला अदालतको आदेशपछि कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), (भटभटे) भनेर चिनिने बेगम नेपाली, ९म्याकुरी ० भनेर चिनिने पवन खतिवडालगायत कलाकार रिहा भएका हुन् । ५ हजार रुपैयाँ धरौटीमा बुझाएर उनीहरु रिहा भएका हुन् ।   उनीहरु गएको जेठ ३१ गते पक्राउ परेका थिए । सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ  अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

डोटी:  डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा हिजो बेलुका जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् ।    बा १ झ ९४३४ नम्बरको जीप दुर्घटना हुँदा आदर्श(१ स्याउलेकी ६५ वर्षीया हीरा खड्काको ज्यान गएको हो । आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकाका लागि छुटेको जीप अनियन्त्रित भइ कच्ची सडकबाट तल खसेको प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।   घाइते हुनेमा वीरबहादुर खड्का, रविन्द्र सुनार र टेकबहादुर तिरुवा रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।

ढोरपाटन:     जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए ।  कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो  । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए ।  इलाका प्रशासन कार्यालय २०६३ सालमा पुन:स्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रहेको थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित भयो ।  इलाका प्रशासन २०६३ सालमै पुन:स्थापना भए पनि मालपोत र नापी कार्यालय २०७१ चैतमा मात्र  पुनःस्थापना भए । तर अहिलेसम्म तीनवटै कार्यालयको आफ्नो भवन भने छैन । भाडाकै घरबाट सेवा सञ्चालनमा छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताउनुभयो ।  “साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको छ”, उहाँले भन्नुभयो । यसअघि बुर्तिबाङको उपल्लो बजार र फाँट बजारमा कार्यालय संचालनमा थियो । मासिक रु ३३ हजार भाडा तिर्दै कुँवरले बताउनुभयो । यस्तै मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले मासिक रु ५० हजार तिरेर कार्यालयले सेवा प्रवाह गर्दै आएको बताउनुभयो । “सेवाग्राहीमैत्री भवन नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो ।  यस्तै नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहेअनुसारको सेवा प्रवाह गर्न नसकेको बताउनुभयो । उक्त कार्यालयले पनि मासिक रु ३० हजार भाडा तिर्दैआएको छ ।  छब्बीस वर्ष अगाडि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने तीनवटै कार्यालय निरन्तर सञ्चालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका नागरिकले सेवा लिएका छन् ।

कास्की:    माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ ।   गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।   यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुग्नुभएका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताउनुभयो । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”   पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन ।   बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाउनुभयो । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उहाँले भन्नुभयो, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।” पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताउनुभयो । यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उहाँले बताउनुभयो ।   हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उहाँले बताउनुभयो । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ । होमस्टेमा पुग्ने एकजना पाहुनावापत रु एक हजार एक सयको दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । यहाँको कोसेलीको रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ ।   गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षात्को समयमा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाउनुभयो । “होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन । हामीले पनि सकेको स्वागत सत्कार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ 

पोखरा:  चर्चित र्‍यापर आशिष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् ।   आज (बुधबार) आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गर्दै लाउरेले बालेन र धरानका मेयर हर्क साम्पाङजस्तै काम गर्न सुझाएका हुन् ।   लाउरेले मेयर आचार्यलाई लेखेको पत्रमा आफूहरुले पर्यटकीय पोखरालाई स्वस्थ, पूर्ण, प्राकृतिक र स्वर्गजस्तै देख्न चाहेको बताएका छन् ।    साथै मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् ।   लाउरे लेख्छन्: १) पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रङ्गशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ ।  जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन् ।   २) भित्री टोल र गल्लीको सडक अवस्थालाई केही समयको लागि अलग राखौं ।  मुख्य बजारका सडकको अवस्था दरार र खाल्डाले भरिएको छ ।  ती भत्किएका सडकको मर्मत सम्भार गर्दा प्राधिकरणले राति देखिने ‘सावधानी’ चिन्ह कहिल्यै राखेन, जसले गर्दा धेरै दुर्घटना, गम्भीर चोटपटक र मृत्युसमेत हुने गरेको छ ।    ३) पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो छन् ।  कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन ।    ४) लगभग हरेक राउन्ड (चौक) को डिजाइन र नियमहरू भ्रमित छन् ।  ट्राफिक प्रहरीले कहिलेकाहीँ चोकको बीचमा घेरा हाल्ने सङ्केत दिन्छ तर कहिले केन्द्रको परिक्रमा नगरी सवारीसाधन चलाउन दिन्छ, जसले गर्दा फेरि धेरै दुर्घटना हुने गरेको छ ।   ५) कुनै बस स्ट्यान्ड छैन, जहाँ सार्वजनिक सवारी साधनले यात्रु बोकाएर गन्तव्यमा र्पुयाउन केही बेर रोकिनुपर्ने हुन्छ (अर्थात अर्काे बस स्ट्यान्ड) सार्वजनिक बसहरूले यात्रु ओराल्ने ठाउँमा रोकिएर समस्या, ट्राफिक जाम र दुर्घटनासमेत गराउँछन् ।  हामी, सर्वसाधारण पनि बस स्ट्यान्डसम्म हिँडेर बसको प्रतीक्षा गर्न अल्छी छौं ।   ६) पोखराका मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न अनुरोध गर्न चाहन्छु, जसले अन्ततः युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो  पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्म दिन सक्छ ।  र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ ।   ७) नेपाली कला, संगीत र मनोरन्जनको क्षेत्रमा पोखराले महत्वपूर्ण योगदान र उदाहरण दिँदै आएको छ, जसलाई हाम्रो सरकारी क्षेत्रबाट कहिल्यै मान्यता नदिइएका पोखरेलका दिग्गज कलाकारहरू छन् ।  प्रदेश सरकारको तर्फबाट कला, संगीत र मनोरञ्जनका लागि एउटै प्रेक्षागृह वा कन्सर्ट हल खोलेर सानो सहयोगले ठूलो फरक पार्न सक्छ ।  हामी कलाकारको हैसियतले सरकारलाई कर तिरिरहेका छौं ।   ८) हाम्रो प्रादेशिक सरकारले युवाहरूले गरेको रचनात्मकतामा ध्यान दिनुपर्छ ।  उदाहरणका लागि, विगत ३–४ वर्षअघि पोखरामा कतै युवाहरुको समूहले फोहोर प्लाष्टिक संकलन गरेको थियो ।  ती फोहोर प्लास्टिक पग्लिएपछि, ढुङ्गा र अन्य आवश्यक सामग्रीहरू थप्दैछ ।     उनीहरुले प्रदर्शनका लागि मात्रै १०० मिटर लामो भित्री सडक खाल्डो लगाएका थिए ।  अचम्मको कुरा, त्यो सडक प्रयोगको लागि उत्तम हो ।  भित्री गल्लीमा फोहोर प्लाष्टिकबाट बनेको सडक उत्तम र टिकाउ हुने विज्ञहरुले बताएका छन् ।     ९) पोखराको चट्टान, लामो र व्यस्त आकाश पुल सडक सेल्फी भिडियो, डेटिङ र अन्य अनावश्यक चीजहरू बनाउन मात्र प्रयोग गरिन्छ ।  मनोवैज्ञानिक रूपमा, मानिसहरूले चट्टान र व्यस्त आकाश पुलमा एक कदम चाल्न चाहँदैनन् ।  भूमिगत ट्युब च्यानल बढी लागत प्रभावकारी र प्रयोगयोग्य हुने मलाई विश्वास छ ।  किनकी, भूमिगत ट्यूब मार्फत जाने पहिलो प्रक्रिया तल र सजिलो हुनेछ ।   १०) नेपालमा सङ्गीत, अभिनय, नृत्य, राजनीति, सामाजिक कार्य आदि क्षेत्रमा धेरै रत्न, तारा र महापुरुषहरू छन् जो मरेका र जीवित छन् ।  आफ्ना प्रियजनलाई श्रद्धाञ्जली दिन मूर्ति बनाउने विषयमा जहिले पनि ठूलो विवाद र बहस हुन्छ ।     तालको छेउको फुटपाथ क्षेत्र र तालको छेउमा हिड्ने ट्रेल संयुक्त राज्य अमेरिकाको हलिवुड वाक अफ फेम स्ट्रीटू जस्तै प्रयोग गर्न सकिन्छ, जहाँ हामी उनीहरूलाई श्रद्धाञ्जली दिन भुइँमा प्रत्येक मार्बलमा कलाकारको नाम शिल्प गर्न सक्छौं ।   ११) सडकमा नेपाल प्रहरीको अकस्मात चेकजाँचलाई सुरक्षा र बत्तीले राम्रोसँग लैजानुपर्छ ।  प्रायजसो, तिनीहरू अँध्यारो कुनामा जाँच गर्छन् जसले दुर्घटना निम्त्याउन सक्छ ।  तसर्थ, अचानक दुर्घटनाबाट बच्न कम्तिमा ५० मिटर टाढा उचित प्रकाश र सिग्नल राख्नुपर्छ । यी पोखरामा हामीले सामना गरिरहेका केही प्रमुख समस्याहरू हुन् ।  

पोखरा:    पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्रदान गरिएको छ ।  बेल्जियम निवासी मिन गुरुङको संयोजकत्वमा संकलित सो रकम बेल्जियम नेपाली समाजले पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे ।  पोयुसाँपका सदस्यसमेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए ।  देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर  गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।  कोषमा २५ लाख पुर्याउने लक्ष्य राखिएको छ भने हालसम्म १९ लाख संकलन भइसकेको साँस्कृतिक परिवारले जनाएको छ ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।  उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गर्नुभयो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।  आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उहाँका छोरीहरु रेणु र गंगा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । पत्नी शोकमा रहनुभएका आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।  

काठमाडौं:     प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ ।  आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि ठूलो जनसमूह ओइरिएको छ । केहीबेरमा उहाँको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।  आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।