बेनी: म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी हुनुभएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण हुनुभएको हो । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल हुनुभएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि उहाँले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताउनुभएको थियो । उहाँ २०६९ सालमा घर फर्किनुभएको थियो । घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध हुनुभएको थियो । उहाँ गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसइई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुनुभएको छ । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समीर सुवेदीले ४ जिपिए नतिजा ल्याउनुभएको हो । शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोत्कृष्ट बन्न सफल भएको बताउनुभयो ।
पोखरा: पोखरामा महिला अधिकारकर्मीहरु विचको दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा महिला अधिकार रक्षक सञ्जालको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । महिला अधिकारर्कीहरुका विच पहिलो पटक आयोजित उक्त प्रतियोगितामा राइट फर चिल्ड्रेनकी निति तामाङले प्रथम भएकी छन् । शुक्रबार पोखरा रंगशालामा भएको ८०० मिटर इभेन्टमा राइट फर चिल्ड्रेनकी निति तामाङले २ मिनेट ४४।३५ सेकेण्डमा दौड पुरा गरी प्रथम भएकी हुन् । उनले जित संगै नगद रु ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् । त्यसै गरी नौलो बिहानीकी दिपिका रानाले ३ मिनेट २८।७५ सेकेण्डमा पुरा गर्दै द्वितिय हुँदा सोही संस्थाकी वर्षा राना ३ मिनेट ३२।७० सेकेण्डमा दौड पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका छन् । द्वितिय हुने दिपिकाले नगद ५ हजार र तृतिय भएकी वर्षाले नगद रु ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नारीजागरण अभियानकी सन्तोषी भण्डारी र महिला उद्यमी महासंघकी गिता योगी क्रमश चौथो र पाँचौ भए । उनीहरुले जनही नगद १ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न २२ सस्थाका ५० भन्दा वढि महिलाहरुलो दौडमा सहभागिता जनाएको प्रतियोगिताकी संयोजक एवं प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारा मायाँ थापा मगरले बताइन् । यस अघि प्रतियोगिताको उद्घाटन सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गरेकी थिइन् । सो अवसरमा उनले यस प्रकारका कार्यक्रमले खेलकुद विकासमा जागरण ल्याउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
ललितपुर: ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक व्यक्तिको ७ हजार ४७ अमेरिकन डलर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका–५ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ रहेकी छिन् । साथै चोरी गरेको डलर सटही गर्ने ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरू बरामद गरेको थियो । यस्तै डलर सटही गरेकी लक्ष्मीको साथबाट १ सय दरको २८ थान डलर फेला पारेको थियो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।
काठमाण्डौ: कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए । उनी कलाकार सानु ताम्राकारका छोरा हुन् ।
काठमाण्डौ: वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको छ। नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाण्डौ उपत्यकामा ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यति नै महिना बन्द गर्ने भनी निर्णय त गरेको छैन । तर वर्षापछि बाढी आउने हुँदा अहिलेलाई सुरुङ बन्द गरिएको छु, उहाँले भन्नुभयो । वर्षा रोकिए सङ्लो पानी भएको अवस्थामा पुनः पानी काठमाण्डौ उपत्यकामा ल्याइने पन्तको भनाइ छ। आयोजनाले काठमाण्डौ उपत्यकामा पानी यस वर्ष वर्षाभरि नै बन्द नगर्ने गरी योजना बनाएको थियो । अहिले लेदोसहितको पानी आएपछि सुरुङ केही समय बन्द गरिएको आयोजनाले जनाएको छ । आयोजनामा संलग्न दातृ निकाय र परामर्शदाता कम्पनीले चलाउँदै बन्द गर्दै गर्दा सुरुङमा समस्या आउनसक्ने सम्भावना भएकाले वर्षा हुँदासम्म बन्द गर्न सुझाव दिएको पन्तले बताउनुभयो । पानी पठाउँदा बालुवा र माटो थुप्रिन सक्ने भएकाले बन्द गरिएको होु, पन्तले भन्नुभयो । मेलम्चीको पानी यसअघिका वर्षमा पनि हिउँदमा काठमाण्डौ ल्याइएको भए पनि वर्षामा सुरुङ बन्द गरिएको थियो । विसं २०७८ साल असार १ गते मेलम्चीमा बाढी आउँदा आयोजनामा क्षति पुगेको थियो । क्षति भएका संरचनाको पुनःनिर्माण बाँकी छ ।
इलाम: इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरकी जेठी श्रीमती हुन् । गएराति करिब साढे १० बजेतिर बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताउनु भयो । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ । गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै ज्यान गएको एसपी घिमिरेले जानकारी दिनुभयो । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
विराटनगर: नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नं. ६ तप्राङ्गस्थित भेडीखर्कमा पहिरोका कारण दुई घर परिवार विस्थापित भएका छन् । गएको असार १९ गते परेको अविरल वर्षाका कारण मादी ६ मा पर्ने काहुँखोला दुधपोखरी ग्रामिण सडकको दोस्रो खण्डमा सजुक भेडीखर्कचोकमा पहिरोका कारण तीन घर विस्थापित भएकाे वडाध्यक्ष डिल बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अन्य तीन घरपरिवार पहिरोको जोखिम परेको छ । ‘गएको असार १९ गते परेको अविरल वर्षाका कारण काहुँखोला दुधपोखरी ग्रामीण सडकको दोस्रो खण्डमा पहिरोले क्षति पु¥याएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने, ‘पहिरोले दुई परिवारकाे तीन घर पूर्ण क्षति भएसँगै विस्थापित नै बनाएको छ भने तीन घर परिवारलाई जोेखिम बढाएको छ ।’ पहिरोका कारण कमलापति बरालको दुई घर र दिपक बरालको घर र गोठ पहिरोका कारण विस्थापित भएको र सम्सेर पाण्डे, भगवान सिं गुरुङ र विष्णुमाया घर्तिको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । ‘पहिरोका कारण विस्थापित भएका दुई घर परिवार मध्ये एकलाई आफन्तको घरमा र एक घरपरिवारलाई समाज घरमा व्यवस्थापन गरेका छौं’, उनले भने, ‘राहतका लागि वडा कार्यालयबाट गाउँपालिकाका सिफारिस गरेका छौं ।’
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ । यसैगरी , www.see.gov.np www.neb.gov.np www.see.ntc.net.np https://see.nicasiabank.com www.see.edusanjal.com www.ekantipur.com www.theconnectplus.com https://khalti.com/app www.neemaacademy.com https://mypay.com.np www.nepleeducationpoetal.com www.ayoresult.com www.results.matraeducation.com www.tuteeline.com मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

