काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न माग गरेका छन्। मिटरब्याजी पीडितहरूको धर्नालाई एक्यबद्धता जनाउँदै उनले माइतीघर मन्डलामा सञ्चारकर्मीहरूसँग भने, 'सरकारमा दस दल सहभागी छौं। दस दललाई २५ मन्त्रालय पुर्याउनुपर्ने छ। त्यसैले पार्टीको भूमिका हेरेर सिट भागबण्डा गरियोस्। सबैलाई मन्त्रालय दिनुपर्छ भन्ने पनि छैन।' उनले गठबन्धनमा आबद्ध पार्टीहरूले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको स्पष्ट पारे। 'सबैले धेरै मन्त्रालय दाबी गरेका छन्। जसका कारण सरकारले पूर्णता पाउन सकेको अवस्था छैन। आजको बैठकले पक्कै पनि केही सकारात्मक छलफल हुने अपेक्षा गरेका छौं,' उनले भने। उनले गठबन्धनमा आबद्ध दलहरूले सरकार विस्तार गर्नु अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। 'मैले के सुझाव दिन खोजेको हुँ भने, पहिले नीति बनाउनुस्, कार्ययोजना ल्याउनुस्। अनिमात्र भागबण्डा गरेको औचित्य हुन्छ। हतारमा सरकारमा विस्तार गरेर पनि केही हुँदैन,' उनले भने।
तनहुँ: निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् । उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि दिइएको समयमा आयोगमा सो सङ्ख्यामा दल दर्ता भएको जानकारीकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । दर्ता हुनेमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका रहेका छन् । आयोगले तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । आयोगले सूचना जारी गर्दै उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि समय दिएको थियो । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्य तालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यपालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यपालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको । यसै गरी आयोगले बारा २ बाट निर्वाचित राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको छ ।
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ। एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ। आज बस्ने बैठकले सोही विषयलाई औपचारिकता दिने संभावना छ । यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिए। आजै बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेको थियो। नेपालसहित सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। एसले गृहसहित तीन मन्त्रालयमा दावी गरिरहेको छ। मन्त्रिपरिषद् वितारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।
गुल्मी: एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन् । मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो’, ओलीले कार्यकर्तालाई भने शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्छ ।’ ओलीले एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी भएको भन्दै एमाले कार्यकर्ताबाट बेइमानी गर्ने कुरा कल्पनासमेत गर्न नसकिने बताए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो । उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताउनु भयो । राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताउनुभयो । उहाँले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनुभयो । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’ राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरू हिँड्नुपर्ने बताउनुभएको छ । जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरूले दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावस बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ । उहाँले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको बताउनुभयो । जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उहाँको भनाइ थियो । सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गर्नुभयो । विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उहाँ संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न हुनुहुन्थ्यो ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई पराजित गरे । कार्कीले २ सय ९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १ सय ४७ मत ल्याए । कुल ४८० मतदातामा ४ सय ३४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी भएको छ । अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल ९क्रान्तिकारी० लाई सचिव र दुई सदस्यको भागबन्डा गरी संयुक्त प्यानल सहित चुनाव लडेका थिए । सचिवमा क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन् । उनले २ सय ७७ मत ल्याए । सदस्यमै अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। सदस्यमा क्रान्तिकारीका लोकराज थापा र दीपा कार्की विजयी भए । चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा ४ सय ३४ मतदान भएको छ । आज भएको स्ववियु निर्वाचनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा भएका ४ सय ८० मतदाता मध्ये ४ सय ३४ जनाले मतदाताले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए । अहिले सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भैरहेको निर्वाचन अधिकृत डा. पुरीले जानकारी दिए । क्याम्पसमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेपनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले मात्र निर्वाचनमा भाग लिएका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते नै देशभरका क्याम्पसमा स्ववियुको निर्वाचको मिति सार्वजनिक गरेपनि कास्कीको ६ क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार यस क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।
सन्धिखर्क : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार र एमालेबाहेकका दल राष्ट्र खोक्रो पार्न लागेका बताएका छन्। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। अध्यक्ष ओलीले विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको त्यो प्रयासलाई असफल पारेर मिसन ग्रासरुट मार्फत मिसन ५१ प्रतिशत उपलब्धी हात पार्ने बताए। एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। हरेक वडा, हरेक पालिका हरेक प्रदेश र संघमा सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले संगठन निर्माणमा लागेको जानकारी दिए। उनले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्। अध्यक्ष ओलीले भने 'बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ' एमाले नेता तथा कार्यकर्ता बोली वचनबाट छुट्टिनु पर्छ। समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई आग्रह गरे। 'अहिले सिङ कस्का बलिया भनेर जोरी खोज्ने समय नभएको बताउँदै उनले मानवीय समाजको सभ्यतालाई बुझेर कम्युनिष्ट पाटीका नेता र अरू पाटीका नेता कार्ड छुट्ट्याउन नहुने बताए।
काठमाडौँ: प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताइन् । उनले भनिन्, “ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ? ” राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् । जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराइन् । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी नापी सुरु गर्न, चर्को रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए । राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधानको व्यवस्था गर्न आवश्यक रहेको बताइन् । नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्को विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए । एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरिन् । रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगर्न आग्रह गरे । नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे । नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे । रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए । सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जानुपर्ने बताइन् । कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए । एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरिन् । जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न ध्यानाकर्षण गरिन् । रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नं ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् । नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताइन् । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस् भनी माग गरे । रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै शेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे । नेकपा (माओवादी) केन्द्रका हितराज पाण्डेले पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए । नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए । राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे । माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरिन् । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए ।

