काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरू जान नहुने बताएका छन्।   मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै आज अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताए।   मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उनको भनाइ थियो।   ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’   फरक प्रसंगमा अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन्।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्।   नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई बिघटित नहुनेगरी गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन्।   उनले मुलुकलाई स्थीरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने जिकिर गर्नुभयो । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्या,व्यवसायीको पीडालगाय मुलुकमा देखिएका नकारात्मक संकेतलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ  छ। उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे।   महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।

काठमाडौँ:  निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।   निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।    उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।   निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।   निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।

पोखरा:    नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले योजनाबद्ध विकास अहिलेको आवश्यकता भएको बताएका छन् । देशको चौतर्फी विकासका लागि आवधिक कार्ययोजना आवश्यक हुने उनको तर्क थियो ।  उनले कार्ययोजना बिनाको कुनै पनि काम सफल नहुने भन्दै हरेक क्षेत्रमा यसको महत्व रहेको दाबी गरे । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको पोखरामा सम्पन्न तेस्रो बैठकलाई सम्बोधन गर्दै गुरुङले संगठनलाई चुस्त राख्नुपर्नेमा पनि जोड दिए । एमालेका जनसंगठनहरुमा रहेका कमजोरीहरुको खोजी र निराकण गर्नुपर्ने उनको धारणा थियो ।  कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त प्रधान हुने भएकाले संसाररभरका कम्युनिष्टहरुले विधिमा बसेर काम गर्ने गरेको पनि जिकिर गरे । ‘कहिलेकाहिँ पार्टीमा सिद्धान्त र विधिभन्दा व्यक्तिप्रधान भएको देखिन्छ, तर विशिष्ट परिस्थितिमा मात्रै त्यस्तो देखिएको हो’, गुरुङले भने,‘सिद्धान्त र विधिलाई व्यवहारमा लागू गर्नसक्ने, विशिष्ट परिस्थितिको सामना गर्नसक्ने व्यक्ति नै नेता हो ।’ बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रस्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए । आचार्यले सूचना र सञ्चारको युग भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरुले आत्मसाथ गर्नसक्नुपर्ने बताए ।  बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी इञ्चार्ज रामकृष्ण ज्ञवाली, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, सचिव शुष्मा पौडेल र कोषाध्यक्ष इन्द्र आचार्यलेलगायतले बोलेका थिए । बैठकले संगठन सुदृढीकरणसहित प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले राखेका २१ प्रस्ताव पारित गरेको छ । बैठकबाट विभिन्न विभाग गठन गरिएको महासचिव आश गुरुङले बताए ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।   राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्नुहुँदै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने ब्यहोरा जानकारी गराउनुभएको छ ।   साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।   सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।   यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।   शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो ।    त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।    त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिनुभयो । 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरूलाई समाधान  गर्ने गरी शिक्षा ऐन ल्याउने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन‍। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उनको दावी छ।    पद्मोदय विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भने,'संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या प्याकेजमै समधान गर्न सरकार प्रतिवद्ध रहेको छ ।' त्यसका लागि गृहकार्य भइरहेको छ।'   प्रधानमन्त्री प्रचण्डले  शैक्षिक गुरुयोजना बनाइ सरकारी शैक्षिक संस्थाको गुणस्तर बढाउने बताए ।   शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान, प्रविधि र व्यवसायी बनाउन पाठ्यक्रममा गुणात्मक सुधार ल्याउनु आवश्यक रहेको उनको भनाइ  छ।   उनले भने,'शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान प्रविधि र व्यवसायी बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ।'   प्रधानमन्त्री प्रचण्डले  प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान गणित र इन्जिनिरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य बनाउनुपर्नेमा जोड दिए।    उनले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन पनि उत्तिकै आवश्यक रहेको बताउँदै यसका लागि नीतिगत,कानुनी,संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक हुने बताए।   सरकारी र नीजि क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारी शैक्षिक क्षेत्रको गुणस्तर बढाउन शैक्षिक गुरूयोजना निर्माण  गरी कार्यान्वयन ल्याउनुपर्ने दायित्व भएको बताए।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि उम्मेदवार दिएकी जसपा सांसद प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।   गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।   यादव राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक-पटक भएका बिभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन्।   ‘मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवाद प्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उप-राष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, उनले भनिन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’   उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अब उपरान्त म उप-राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’

काठमाडौँ:  उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादव आफ्नो लागि मत माग्नका लागि प्रधानमन्त्री प्रचण्डकहाँ जान लागेका छन् ।   जसपाका कार्यकारिणी सदस्य समेत रहेका उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै बिहान नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर मत मागिसकेका छन् ।   ‘प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजै समय दिनुभएको छ उहाँसँग मत माग्नका लागि जान लागेको छु,’ उम्मेदवार यादवले भने ।   अन्य दलसँग पनि समय लिन लागेको बताउँदै उनले सम्भवतः आजै दलका नेता तथा सांसदसँग भेट्ने बताए । आफू गठबन्धनको साझा रहेको बताउँदै सम्पूर्ण दल आफूलाई सहयोग गर्ने उनले बताए ।