काठमाडौं :आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ। गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्ने कार्यसूची छ। त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ। मस्यौदा प्रतिवेदनमा पर्ने संसोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने छ। त्यसपछि समितिका सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
काठमाडौं: नेपाली कांग्रेसले चितवनस्थित रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ। क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी निर्वाचन गराएको भन्दै कांग्रेसले यस विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यहाँ चैत १७ गते स्ववियु चुनाव भएको थियो। ‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थितिबिना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ। यस्तै अवैधानिक कार्यको विरोध गर्दा नेविसंघका २ जना घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ। ‘क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको छ। उहाँहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ,’ मुख्यसचिव पौडेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै यो घटनाको छानबिन गर्नसमेत कांग्रेसले माग गरेको छ। ‘घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ,’ उनले भनेका छन्। सभापतिका उम्मेदवार आशिष देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताएका छन्। ‘क्याम्पस प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सूर्यप्रसाद भट्टले प्रशासनको दुरूपयोग गरी बुथ क्बजा गरी स्ववियु निर्वाचन गर्न खोज्दा मैले औंला उठाएँ, बोलेँ, रोक्न खोजेँ तर मेरो केही सिप चलेन,’ उनले भनेका छन्, ‘मलाई प्रहरीले कुट्यो। क्याम्पस प्रशासनले रोकेन। सबै टुलुटुलु हेरेर बसे।’ स्ववियु चुनावका लागि २४१ जना मतदाता भए पनि शुक्रबार जम्मा १२० जनाले मतदान गरेका थिए। क्याम्पस प्रशासनले भने गत चैत ५ मै गर्ने तयारी रहेको चुनाव नेविसंघले तालाबन्दी गरेका कारण रोकिएको प्रतिक्रिया दिएको छ। नेविसंघका केहीले मतपत्र च्यात्न खोज्दा धकेलाधकेल भएको क्याम्पस प्रशासनको भनाइ छ। चुनावमा नेविसंघले भाग लिएको थिएन।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन्। रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताए। खरेलले भने, ‘सुशासन कायम गर्न सामान्य दाजु भाई बहिनीलाई हौसला प्रदान गर्नुपर्ने छ। नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ।’ उनले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताएका छन्। राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उनको भनाइ छ। खरेलले भने, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ। सिण्डिकेट, माफीयातन्त्रको अन्त्यमा लडौं। यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं।’
काठमाडौँ: नेपाली कांग्रेस परित्याग गरेका डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई पार्टीको चिन्ह भएको ब्याज लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीमा स्वागत गरिएको छ । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले ब्याज लगाइदिएर पार्टीमा स्वागत गरेका हुन् । वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूलभूत रूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ । शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘अहिले नयाँ–नयाँ राजनीतिक समीकरण बनिरहेको छ । आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा हामी मूलभूत रूपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ । देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको छ । राजनीतिक स्थायित्वको कुरा पनि छ । सुशासनको कुरा पनि छ ।’’ उहाँले देश अहिले आर्थिक रूपमा अप्ठ्यारो स्थितिबाट गुज्रेको भए पनि श्रीलङ्का बन्ने स्थितिमा नरहेको दाबी गर्नुभयो । प्रधानमन्त्रीले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताउनु भयो । उहाँले अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको जानकारी दिनुभयो । उहाँले तीन महिनामा रेमिट्यान्स, राजश्व सङ्कलनमा गुणात्मक सुधार भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितामा देश धेरै राम्रो स्थितिमा आइसकेको बताउनुभयो । ‘‘मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु । सुशासन कायम गर्नको लागि लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन लगायत अन्य कुराको लाइनलाई घटाउन काम भएको छ । सुधार भएको मसँग अनुभव छ यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अर्थतन्त्रको स्थितिमा गएको तीन महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, करिब गुणात्मक, राजश्व सङ्कलनमा धेरै सुधार भएको छ करिब गुणात्मक, विदेशी मुद्रा सञ्चितामा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ ।’’ प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको बताउनु भयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ। शुक्रबार नवनियुक्त मन्त्रीले राष्ट्रपति समक्ष मन्त्री पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पुस १० गते गठन भएको मन्त्रिपरिषद्मा शुक्रबार व्यापक हेरफेर भएको हो। हेरफेरसँगै मन्त्रिपरिषद्को संख्या १७ पुगेको छ। नेपालको संविधान अनुसार संघीय सरकारको मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ। अब आठ सदस्य मन्त्री थप्न सकिने छ। पहिलो पटक सत्तारुढ भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिनुभएको छ। थप चार जनाको नाम सिफारिस हुन बाँकी छ।
काठमाडौं: नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताउनुभएको छ । शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ । राजश्व सङ्कलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन् । राहदानी, लाइसेन्स लगायतका काममा विगतको झण्झट हटेका छन् । यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजाउँ ।’’ “सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्,’’ प्रधानमन्त्रीले थप्दै भन्नुभयो, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’’ प्रधनमन्त्री प्रचण्डले नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको बताउनुभएको छ । ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’’

