काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

काठमाडौं: नेकपा (एमाले)का सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।   मिटरब्याज पीडितको समस्या समाधान गर्ने भनेर सरकारले वार्ता टोली बनाएको तर के भइरहेको छ ? भन्ने थाहा नपाएकाले संसदलाई सो बारे सरकारले तत्काल जानकारी गराउनुपर्ने सांसद पौडेलको भनाइ छ ।   सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै उहाँले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरुले पनि संसदमा कुरा उठाएको तर त्यसको सुनुवाइ भएजस्तो नलागेको पनि बताउनुभयो ।   सांसद पौडेलले भन्नुभयो, ‘‘गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । मिटरब्याज पीडित काठमाडौंमा आउनुभयो । धर्ना बस्नु भयो । सरकारलाई दुःख पनि देखाउनु भयो । सांसदहरुसँग पनि भेटनु भयो । हामीले संसदमा कुरा पनि उठायौं । वार्ता समिति बन्यो । अव के भयो ? हामी कहाँ छौं ? त्यो समस्या समाधान भयो कि भएन ? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई एक चोटी भनिदिए हुन्थ्यो भन्ने अनुरोध छ ।’’   सांसद पौडेलले मिटरब्याज पीडितको दुःखमा साथ दिने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताउनुभयो ।

तनहुँ:  उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।   आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिनुभएको गुरुङलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाइएको हो ।   अदालतले गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै १० लाख रुपियाँ भराउने तथा तीन दिन कैद सजाय सुनाएको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले गुरुङलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपियाँ भराउने आदेश गरेको हो ।   थप ४० हजार रुपियाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत भएको उच्च अदालतले जनाएको छ । यो फैसलाविरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउनुहुनेछ ।   कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने निर्वाचन आयोगले जनाएको छ ।   आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिनुभयो ।   सहसचिव भट्टराईले भन्नुभयो, ‘‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् भट्टराईले भन्नुभयो फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुँदैन ।’’    कैद सजाय भएको फैसला भएसँगै राप्रापा तनहुँले चैत २९ गते दमौली गर्ने सभा स्थगित गरेको छ । सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देल, नेताहरू रविन्द मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । विशेष कारणवश कार्यक्रम स्थगित गरिएको राप्रपा तनहुँले जनाएको छ ।

काठमाडौं:  संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ।   संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।    राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बत्तिसौं प्रतिवेदन, २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको छ।    त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।    प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन  २०७८÷०७९ पेस गर्ने कार्यसूची छ।    त्यस्तै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक  २०७८ मापत विचार गरियोस्,’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

काठमाडौं:  कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ।   मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन्।   आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा बुझाएका हुन्।   बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीलाई काम गर्न सहजताका लागि आफूहरूले राजीनामा दिएको उनीहरूको भनाइ छ।   यसअघि चैत १७ मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिँदा एमालेले उनलाई विश्वासको मत दिएको थियो।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता भएको हो।  छलफलमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ।  

काठमाडौं:    नेकपा एमालेकी सांसद विद्या भट्टराईले  सरकारले संविधान र कानुन विपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छिन् ।  शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडामा सरकारले गरेको सो परिपत्र फिर्ता लिएर संविधान सम्मत ढङ्गले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराईन् ।  उनले संविधान र कानुनको ख्याल गरेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराईन् । सांसद भट्टराईले भनिन्, ‘‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडामा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी गरिएको सो परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ। परिपत्रले संविधान र कानुनले साबित गरेको आमाका पहिचान र अस्तित्वलाई अस्वीकार गरेको छ। संविधान र देवानीसंहिता अनुसार पुन परिपत्र गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’’ सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता उनीको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसै अनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्ने पनि बताईन् ।

काठमाडौं : चिनियाँ विदेशमन्त्री छिन काङ र  परराष्ट्र सचिव भरतराज पौड्याल नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ। बेइजिङस्थित विदश मन्त्रालयमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ।    भेटमा नेपाल-चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।   वार्तामा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ, नेपालका परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा र दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी र उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।  नेपाल र चीनबीच भोलि (शुक्रबार) कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बस्दैछ। बैठकमा सहभागी हुन परराष्ट्र सचिव पौड्यालको नेतृत्वको नेपाली टोली बेइजिङ पुगेको छ। बैठकअघि परराष्ट्र पौड्याल नेतृत्वको टोली विदेशमन्त्री काङसँग भेटवार्ता गरेको हो।    शुक्रबार हुने संयन्त्रको बैठकमा चीनको तर्फबाट विदेश मन्त्रालयका उपमन्त्री सोन् वेतोङले नेतृत्व गर्नेछन्। बैठकमा नेपाल-चीन सम्बन्ध, बिआरआई परियोजनालगायत मुख्य एजण्डा रहेको बताइएको छ।   

काठमाडौं : बैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ।    निर्वाचन आयोगले चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो।   प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर आचारसंहिता लागू हुने जनाएको छ।   

काठमाडौं: प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको हो ।   उहाँले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको औंल्याउनुभयो । गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उहाँले यो सबैको कारण बेथिति भएको बताउनुभयो ।   ‘‘विदेशबाट शव ल्याउँदाखेरी शवको बाक्सा फोरिएको छ, एयपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरु फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछकि यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ ।,’’ सांसद ढकालले भन्नुभयो, ‘‘अचम्मको छ एयरपोर्ट यताबाट लागूऔषध स्क्रिनमा देख्दैन । लागूऔषध कतारमा पुग्छ । संस्थागत यति भएछ भ्रष्टाचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’’   प्रतिनिधि सभाका अर्का सदस्य प्रेम सुवालले सिक्टा सिचाइँ आयोजनामा भ्रष्टाचार भएको भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले भरतपुरको बिपी कोइराला क्यान्सर अस्पतालमा उपचारका लागि आवश्यक मेशिन खरिदका लागि छुट्याइएको रकमबाट कर्मचारीलाई तलब खुवाइएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गर्नुभयो ।   ‘‘भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक र उपनिर्देशकले क्यान्सर उपचारका लागि मेसिन खरिदका लागि प्राप्त सरकारी बजेट १५ करोड ४५ लाख र स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राफी मेसिन खरिदको लागि प्राप्त सरकारी बजेट ३ करोड कर्मचारी तलवमा खर्च गरेको र बिरामीलाई निजी अस्पतालमा पठाएको समाचार छ । अस्पताल नेपाली काँग्रेसको भन्ने सुनिएको ।,’’ सदस्य सुवालले भन्नुभयो, ‘‘सत्ता पक्ष पनि हो ध्यान जानुप¥यो । सिक्टा सिचाइ आयोजनाको नहर परीक्षणमै भत्किनुमा निर्माण अघि माटो परीक्षणमा त्रुटी भएको, फिजिबिलिटी अध्ययन नभएको, विज्ञ परामर्श विचार नलिइएको । निर्माणस्थलको विस्तृत अध्ययन नभएको यथार्थलाई बेवास्ता गरि ८ अर्बभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको माग, दाबी विरुद्ध फैसला दिने, दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? भनेर जनताले आवाज उठाइरहेका छन् ।’’   सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै सङ्घीयताको विरोध गर्नुभयो । उहाँले सङ्घीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको बताउनुयभो । कही पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उहाँको भनाइ छ ।   ‘‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ युवाहरु हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक एक हिसाव किताव अहिलेका प्रधानमन्त्रीहरुले र आजसम्म भएका प्रधानमन्त्रीहरुले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपियाँ गयो ।,’’ उहाँले भन्नुभयो, ‘‘यदी एक अर्ब बराबर तीन सय जना कर्मचारी राख्न सकिन्छ भने जम्मा चार लाख ८९ हजार छ सय जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ । तर आज देशमा सङ्घीयता कार्यकर्ता भर्ति गर्ने । कही नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’’   प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताउनुभयो ।