काठमाडौं: नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपप्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताउनुभएको छ । शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषदको बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ । राजश्व सङ्कलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन् । राहदानी, लाइसेन्स लगायतका काममा विगतको झण्झट हटेका छन् । यसलाई ठीक ढङ्गले बुझेर जनतामा लैजाउँ ।’’ “सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्,’’ प्रधानमन्त्रीले थप्दै भन्नुभयो, “एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’’ प्रधनमन्त्री प्रचण्डले नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाहरूले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको बताउनुभएको छ । ‘‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, “विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रूस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएको फेरबदललाई ठीक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’’
भैरहवा: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक दलहरुको भूमिका अब बदलिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले राजनीतिक क्रान्ति पूरा भएको अवस्थामा अब विकास निर्माण र जनताका आकांक्षा पूरा गर्नेतर्फ दलहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “हिजो राजनीतिक दलहरु परिवर्तनको आन्दोलनको भूमिकामा दिए, मुलुकमा व्यवस्था परिवर्तन भएसँगै अब यसलाई संस्थागत गर्न र जनताका आकांक्षा परिवर्तन गर्न दलहरुले विगतको भूमिका बदल्नुपर्छ ।” मन्त्री शर्माले आम सञ्चार क्षेत्रको नीति तर्जुमा गर्नका लागि राष्ट्रिय मिडिया सम्मेलन महत्त्वपूर्ण कोशेढुङ्गा हुने पनि बताउनुभयो । सरकारले अब आगामी वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा लागेको अवस्थामा मिडिया सम्मेलनले सञ्चारमन्त्री नीति तर्जुमा गर्न सघाउ पुग्ने उहाँको भनाइ छ । राजनीतिक र पत्रकारिता क्षेत्र एक अर्काका परिपुरक रहेको बताउनुहुँदै मन्त्री शर्माले भन्नुभयो, “आम सञ्चार क्षेत्र र राजनीतिक क्षेत्र एक अर्काका परिपुरक हुन्, दुवै क्षेत्रले परिवर्तनको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुराएका छन्, अबका दिनमा पनि यी दिई क्षेत्रले अझै महत्त्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।” जनताको आकांक्षा र सपना बदल्ने कुरातर्फ राजनीतिक दलहरुले ध्यान दिनुपर्ने र यसतर्फ मिडियाले खबरदारी गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले सरकार र सार्वजनिक निकायमा रहेका व्यक्तिहरुलाई मिडियाले खबरदारी गर्ने हो भने उनीहरुलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । यसैगरी, कार्यक्रममा बोल्नुहुँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले पत्रकारितामा विश्वसनीयताको सङ्कट रहेको भन्दै अब प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । सल्लाहकार तथा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता शुद्धीकरण आवश्यक रहेको बताउनुभयो । सल्लाहकार निर्मला शर्माले पत्रकारितामा महिला सहभागिता बढाउनका लागि सबै तहका सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी (मैत्तय) ले नेपाली चिन्तन र छलफलको केन्द्र लुम्बिनी बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका निमित्त उपकुलपति डा. तिलकराम आचार्यले लुम्बिनीमा देशभरका पत्रकार जुट्नु आफैँमा गौरवको विषय भएको जानकारी दिनुभयो । सदस्यता शुद्धीकरण अभियानमा महासंघ प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विज्ञापन बोर्डले कमिसनमा काम गरेको भन्दै यो विज्ञापन बोर्ड खारेजी गर्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उनले अहिलेसम्म निर्माण भएका कानुन, ऐन नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्नुहुँदै सरकारी र निजी सञ्चार प्रतिष्ठानले श्रमजीवी सञ्चार ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने औंल्याउनुभयो । शुद्धीकरणको अभियान कसैको पूर्वाग्रही ढङ्गले भन्दा पनि काउन्सिल बनाएर सदस्यता दिनु पर्ने भन्दै चुनाव लड्नेभन्दा पनि पत्रकारिताको विषयमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले नेपाली पत्रकार र सञ्चार गृहका बीचमा सघन छलफल आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पनि बोल्नुभएको थियो ।
काठमाडौं: निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । यसैगरी, उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘निर्णयबमोजिम चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा बारा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने र यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइनेछ ।’’
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित सरकारमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजैबाट सत्तारुढ हुने भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै ३ बजे राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मन्त्री पदको शपथ ग्रहणको समय तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सञ्चारकर्मीहरूलाई २ः३० बजे नै राष्ट्रपति भवनमा आउन निमन्त्रणा पनि गरिएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले शपथ ग्रहणको तयारी सुरु भएको जानकारी दिनुभयो । यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै राष्ट्रपति पौडेलसँग भेट गरी नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि समय लिनु भएको जानकारी प्राप्त भएको छ । राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेट हो ।
काठमाडौं: आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतको नियुक्ति गरेको हो । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले चैत १८ गते शनिबारदेखि लागू हुने गरी निर्वाचन अधिकृतहरूको नियुक्त गरिएको जानकारी दिनुभयो । प्रवक्ता पौड्यालका अनुसार नियुक्त हुनुभएको मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि माननीय जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको छ । अब निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुनेछ ।
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन्। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक वा दुई हप्ताभित्र अहिले देखिएको समस्या समाधान हुने बताए। प्रधानमन्त्रीले भने,' क्रिकेट रंगशालाको १ या २ हप्ताभित्र समस्या समाधान हुन्छ र निर्माणकार्य अघि बढ्छ।' धुर्मुस सुन्तली फाउन्डेसन रंगशालाको निर्माणको जिम्मा लिएको थियो। तर, ऋण काढेको रकम तिर्न नसकेपछि फाउन्डेसनले रंगशालाको स्वामित्व लिन महानगरपालिकासँग आग्रह गरेपछि थप पक्रिया अघि बढने भएको हो। भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका हुन्। जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुन: २ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए। केही मन्त्रालयमा सहमति हुन नसकेकाले शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्। श्रेष्ठले पार्टीहरूले नाम दिए साँझसम्म मन्त्रीहरूको शपथ गर्ने तयारी भएको बताए। स्रोतमा अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय माओवादी केन्द्रले राख्ने भएका छन्। उनले हाल उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालय दिने तयारी गरेका छन्। एमाले नेतृत्वको गठबन्धनमा अर्थमा एमाले र गृहमा रास्वपाले पाएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा भने माओवादीले अर्थ र कांग्रेसले गृह लिएको थियो। यसैगरी कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। उक्त नामसहित अन्य मन्त्रीको टुंगो लगाउन बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ। यसैगरी एसले प्रकाश ज्वालालाई मन्त्रिमा पठाउने बताइएको छ।
काठमाडौं : मन्त्रालय भागण्डा र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम खाका ल्याउने बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठले भने, ‘भोलि सपथ ग्रहण गराउने भन्ने छ। केही कुरा मिलाउन बाँकी छ। प्रधानमन्त्रीज्यूले होमवर्क गरेर अन्तिम रुप दिनुहुन्छ।’ श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने बताए। मन्त्रालयको संख्यामा दलहरू सहमतिमा पुगे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न बाँकि रहेको श्रेष्ठको भनाइ छ। भोलि बीहीबार फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ। नेकपा एकीकृत समाजवादी पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ।

