दमौली: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका–४ मा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले जनताले आफ्ना हरेक सुख, दुःखमा सँगै हुने उम्मेदवार खोजेको उल्लेख गर्नुभयो । “भाषण गर्ने तर गाउँ ठाउँ नबुझेको व्यक्ति अहिले जनताले चाहेका छैनन्, वैशाख १० गते हुने उपनिर्वाचनमा पक्कै पनि जनताले मूल्याङ्कन गर्नुहुनेछ”, नेता सिंहले भन्नुभयो । हरेक पार्टीमा असन्तुष्टि भए पनि त्यसलाई अहिले थाँती राखेर चुनावमा एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको उहाँले जिकिर गर्नुभयो । नेता सिंहले सत्ता गठबन्धनका उम्मेदवार जिताउन नसकिए सन्देश राम्रो नजाने बताउनुभयो । “गठबन्धन गरेर हामी चुनावमा गएका छौँ, गठबन्धनकै उम्मेदवारले नजिते नराम्रो सन्देश जान्छ”, उहाँले भन्नुभयो । वर्तमान सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । तनहुँ क्षेत्र नं. १ का उम्मेदवार गोविन्द भट्टराईले आफ्नो उम्मेदवारी कसैका विरुद्ध नभई तनहुँको विकासका लागि भएको बताउनुभयो । गाउँको उन्नति र प्रगति अहिलेको आवश्यकता भएको भन्दै उहाँले आफू त्यसैमा केन्द्रित भएको बताउनुभयो । ४२ वटै वडामा मतदाता शिक्षा आगामी वैशाख १० गते तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि मतदाता शिक्षा सञ्चालन गरिने भएको छ । उपनिर्वाचनमा बदर मत न्यून गर्न र मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराउने उद्देश्यसहित निर्वाचन कार्यालयले प्रत्येक वडामा मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो । तनहुँ क्षेत्र नं. १ अन्तर्गतका ४२ वटै वडामा मतदाता शिक्षा सञ्चालनका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । एउटा वडामा दुई जनाका दरले स्वयंसेविका परिचालन गरिनेछन् । स्वयंसेविकालाई वैशाख १ देखि ७ गतेसम्म सबै वडामा खटाइने छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँमा कुल खसेकोमध्ये पाँच दशमलव छ प्रतिशत मत बदर भएको थियो । तनहुँका दुवै क्षेत्रमा गरी एक लाख ३४ हजार चार सय एक मत खसेकामा सात हजार पाँच सय ८१ मत बदर भएको कार्यालयले जनाएको छ । तनहुँ क्षेत्र नं. १ अन्तर्गत पाँच स्थानीय तह पर्दछन् । व्यास नगरपालिकाका १२, भानु नगरपालिकाका १३, बन्दीपुर गाउँपालिकाका छ, देवघाट गाउँपालिकाका पाँच र आँबुखैरेनी गाउँपालिकाका छ वडा यो निर्वाचन क्षेत्रमा पर्दछ । उपनिर्वाचनमा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ मा नौ जना प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले० बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार प्रतिस्पर्धामा हुनुहुन्छ ।
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देससहित प्राप्त 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७७ माथि विचार गरियोस्,'भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ। बैठकमा नेपाली कांग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची रहेको छ। नेता तुम्बाहाम्फेको चैत्र २४ गते निधन भएको थियो।
पोखरा: सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाहीको माग गर्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पर्क कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेपछि बैशाख ३ गते क्याम्पसले घोषणा गरेको निर्वाचन मितिमा असहमति जनाउँदै चार विद्यार्थी संगठनले स्ववियु निर्वाचन सम्पर्क कार्यालयमा पुनः तालाबन्दी गरेका हुन् । तालाबन्दी गर्दै अखिल क्रान्तिकारी विप्लवका पिएन क्याम्पस अध्यक्ष सचिन सीले लोकतन्त्रमा निष्पक्ष निर्वाचन हुन नसकेको सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्दै तालाबन्दी गरेको बताए । ‘लोकतन्त्रमा पनि स्ववियु निर्वाचन निष्पक्ष रुपमा क्याम्पस प्रशासनले गराउन सकेन, क्याम्पसबाट सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही हुनपर्छ भन्ने हाम्रो माग हो, सीले भने, ‘कुनै राजनीतिक दलको दवावमा क्याम्पस प्रशासनले सहमति विपरित निर्वाचनको तालिका निकाल्नु हाम्रो माग विपरित हो त्यसैले सम्पर्क कार्यालयमा तालाबन्दी गरेका हौं ।’ अनेरास्ववियू, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी सयुक्त र अखिल छैठौले सयुक्त रुपमा विज्ञप्ती निकाल्दै तालाबन्दी गरेका हुन् । सयुक्त रुपमा चार विद्यार्थी संगठनले विज्ञप्ती जारी गर्दै प्रथम वर्षको परीक्षालाई असर पर्ने गरी निर्वाचन तालिका निकालिएको , क्याम्पस प्रशासन, स्ववियु निर्वाचन समितिले एकलौटी र मनोमानी रुपमा स्ववियु निर्वाचनको मिति घोषणा गरेको आरोप लगाइएको छ । सूचना चुहावट गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग समेत चार विद्यार्थी संगठनले राखेका छन् । उनीहरुले स्ववियु निर्वाचन समिति प्रमुख विकास केसी र सदस्य सचिव बोधराज ढकालको भूमिका शंकास्पद र गैरजिम्मेवारी रहेको भन्दै निर्वाचन तालिका खारेज गरी निर्वाचन प्रक्रिया नरोक्किनेजेल सम्म क्याम्पस प्रशासन र निर्वाचन सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हुन् । क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यालयमा तालाबन्दी नखुलेपछि बिबिए भवनमा सम्पर्क कार्यालय स्थापना गरेको थियो । चार विद्यार्थी संगठनले सोही सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
काठमाडौँ: आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ । बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयंसेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं. २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं. २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो । निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक रु एक हजार भत्ता दिनेछन् ।
सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ। बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन्। महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा बोलाइएको छ। यसअघि गत शनिबार सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा तीन शीर्ष नेताहरूको बैठक भएको थियो। उक्त छलफलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक फास्ट ट्रयाकबाट पारित गर्न प्रस्ताव गरेका थिए। आजको बैठकमा उक्त विषयमा थप छलफल हुने बताइएको छ।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो। ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ। दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै ढाकाकुमारले गौतमलाई फोन गरेको उक्त अडिओमा सुनिन्छ। तर फोनमा बोल्ने व्यक्तिले आफू गाडीमा भएको भन्दै 'भरे कुरा गरौंला' भनेर फोन काटेका छन्। अहिले सार्वजनिक भएको अडियोमा के छ ? सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्। प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन्। उनले हो भन्छन्। यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले 'दाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयो' भन्छन्। दुर्गा प्रसाईंले यसमा मैले के गर्नुपर्छ त भन्नु न भनेर सोध्छन्। 'मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त।बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,' प्रसाईंले भनेका छन्। फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, 'जे भए पनि दाइले बीचमा पारे क्यार। लाटो सोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।' प्रसाईं भन्छन्, 'म वीरगन्जमा छु। बेलुकी भेट्न भनिदिनु। वीरगन्जमा लघुवित्तको कार्यक्रममा छु। लघुबित्त, बैंक र सहकारीले सके। रवि लामिछानेहरू यस्तै हो, लुट्न गएका छन् त्यहाँ। अब तपाईंले बुझिहाल्नुभयो।' उनले थप भनेका छन्, 'मलाई एउटा कुरा चित्त नबुझेको। सांसद बनाउँदा पनि पैसा लिने र मन्त्री बनाउँदा पनि पैसा लिने। पार्टी अध्यक्षहरूको कुरा चित्त बुझेन।' फोनमा बोल्ने व्यक्ति भन्छन्, 'अब यो त दाइहरूको कुरा भयो। म बुझ्दिनँ क्यार। मलाई त दाइले एकचोटि कुरा गर न त भन्नुभएको थियो।' यो अडिओसँगै ढाकाकुमारका भाइ भन्ने व्यक्तिको भिडिओ पनि कपुरबोटले सार्वजनिक गरेको छ। आइतबारको अडिओ सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारसँग ७२ घन्टे स्पष्टीकरण सोधेको थियो। देवकोटाका अनुसार सांसद ढाकाकुमारले आफ्नो स्पष्टीकरणमा अडिओमा आफ्नो आवाज नभएको बबताउदै आएका छन् ।
नेपालगञ्ज : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दस दलीय गठबन्धनले कुकर्म गरिरहेको आरोप लगाएका छन्। नेपालगञ्जमा सोमबार युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए। उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए। 'कुनै बेला पञ्चायत पनि थियो। तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो। घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो। हामीले केही समयपछि नै ढल्छ भन्यौं। हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं। त्यो पनि समाप्त भयो। आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ। गठे संस्कृत, यो गठबन्धनको संस्कृति। जसमा राजनीति छैन, विचार छैन। जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ,' उनले आरोप लगाए। उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए। उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे। उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए। उनले एमालेले काम गर्न सकिन्छ भनेर देखाएको बताए।
काठमाडौं: राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा. वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । प्रस्तावमाथिको छलफलमा सदस्यले उठाएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले राष्ट्रियसभाबाट पारित भएर पठाएको प्रस्तावलाई प्रतिनिधिसभामा पनि गहन छलफल गरी समृद्ध तुल्याइने बताउनुभयो । यसअघि प्रस्तावमाथिको छलफलमा सदस्य जीतेन्द्रनारायण देव, डा विमला राई, सुरेश आलेमगर र रामचन्द्र राईले भाग लिनुभएको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट मन्त्री डा. भुसालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औँ वार्षिक २०७८/७९ प्रतिवेदन प्रस्तुत गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ३० गते बिहीबार दिनको १ बजेर एक मिनेटमा बस्नेछ ।
काठमाडौँ: राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो । सांसद देवकाटाले भने, ‘२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सिमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।' सांसद देवकोटाले काठमाडौँमा धेरैवटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरे । उनले भने, '१६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो चाँही धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।’

