काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

काठमाडौं, चैत २३ गते। १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति गरेको जानकारी दिनुभयो।    उहाँले साना केही सुझाव बिहीबार साँझ ५ बजेसम्ममा प्राप्त भएपछि  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको बत्ताउनुभयो ।   उहाँले भन्नुभयो, ‘‘राजनीतिक दलबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो। मोटामोटी रूपमा सहमति भएको छ।सानातिना सुझाव केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ। लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ।’’   महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको उहाँले प्रष्ट पार्नुभएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १० गते हुने उपनिर्वाचनका लागि एजेन्डामा आधारित भई बहस गर्नुपर्ने बताएका छन्।   उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न उनले आग्रह गरेका हुन्।   ‌‘उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ फेसबुकमा आज लेख्दै उनले उल्लेख गरेका छन्, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु।’   उनले गत मंसिरको आमचुनावका बेला पनि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एजेन्डामा आधारित बहसका लागि आउन आह्वान गरेको उल्लेख गरेका छन्।   तर सभापति देउवा बहसका लागि तयार नहुँदा आफ्नो प्रयास सफल हुन नपाएको अध्यक्ष ओलीको भनाइ छ।   ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना,’ उनले भनेका छन्।   वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

काठमाडौं:   चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्।    नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति गरेका हुन्।    ‘देशभरि निर्वाचन हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ।    भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनसमेत उनीहरूको माग छ।    उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।    यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ।    यही चैत ५ गते  १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो। केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण निर्वाचन हुन सकेको थिएन।   

काठमाडौं:  वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।   आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ।    उम्मेदवारी फिर्ता लिनका लागि आयोगले बिहीबार दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।    आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्।    मनोनयन दर्ता गराउनेहरूमध्ये ३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्। 

चितवन : चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालय भरतपुरले लामिछानेको उम्मेदवारी कायम गरेको हो।    लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको थियो। आयोगले आवश्यक छानबिन गर्दा उम्मेदवारी बदर हुनुपर्ने स्पष्ट कारण नखुलेका कारण लामिछानेको उम्मेदवारी कायम गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए।   लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा, स्वतन्त्र उमेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरी सुवेदी र युवराज सफलले उजुरी दर्ता गराएका थिए। 

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन्।   बुधबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्ररूपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताए।   थापाले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए। उनले गएको १०-१५ वर्ष खेर फालेको भन्दै अब कांग्रेससमेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे।    पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उनको भनाइ छ। उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौति गरेर अफ्ठ्यारो अवस्थालाई सहज बनाउनुपर्ने बताए। थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने बताए।    उनले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिए। 

बारा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा- २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए।   ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क रहनुहोला । वर्गीय  प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’   यादवले जिते देशको विकास नहुने उनको भनाइ । ओलीले भने,‘यादवज्यू मोरङ,सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? ’    ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए । 

काठमाडौं : उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ।   भेटमा नेपाल र अमेरिकाबीच द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।   गृहमन्त्रालयका अनुसार नेपालमा अमेरिकी लगानी,कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखेका थिए ।  कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले त्यहाँ कार्यरत कर्मचारीको  भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेका थिए।    जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताएका थिए। गृहमन्त्री श्रेष्ठले वैदेशिक लगानी र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए।

तनहुँ–१ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफ्नो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ नभएको बताएका छन्।    बुधबार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देश र जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताएका हुन्।    ‘यही ठाउँले जन्माएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ छैन,’ खनालले भने।    ३० वर्षसम्म राष्ट्रसेवकका रूपमा काम गरिसकेको बताउँदै खनालले तनहुँ–१ मा आफूभन्दा योग्य उम्मेदवार अरू नभएको बताए।    राजनीतिक पृष्ठभूमि नभएपनि देश र जनताको सेवामा निष्ठापूर्वक लाग्ने खनालले बताए।    ‘मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितका लागि गरिने राजनीति राम्री जानेको छु’ खनालले भने।    लामो समय राष्ट्रसेवकका रूपमा काम गरेको अनुभव रहेको र त्यो अनुभवबाट  भ्रष्टाचार र बेथिती नियन्त्रण र न्यूनिकरणका लागि योगदान गर्नसक्ने दाबी खनालले गरे।    उनले बिगतको कार्य दक्षता र योगदान नै आफ्ना जीतका आधार भएको उनले स्पष्ट पारे ।    उनले सुरक्षालाई प्रमुख प्राथमिकता दिएर भ्रष्टचारमा शुन्य सहनशिलता र पारदर्शीतालाई अग्र स्थानमा राख्ने प्रतिवद्धता व्यक्त गरे।