काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडितको समस्या सम्बोधनमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। संसद्को विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने बताए। उनले मिटरब्याज पीडितको समस्यामा ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरे। अध्यक्ष लिङ्देनले मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको भन्दै आक्रोश व्यक्त गरे। ‘के सरकार मुठभेड तर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन?,'उनले प्रश्न गरे।
काठमाडौं : मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब सात अर्ब ५० करोड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब तीन अर्ब ५० करोड फिर्ता हुने देखिएको छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनसमेतको खर्च विवरण समावेश भई महालेखा परीक्षकले लेखा परीक्षण गरेपछि वास्तविक खर्च थाहा हुनेछ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको खर्च विवरण भने यकिन भइसकेको छ। यस वर्षको स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता, २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेकामा कूल पाँच अर्ब चार करोड तीन लाख ९२ हजार खर्च भएको छ। यसअनुसार यो निर्वाचनमा प्रतिमतदाता खर्च दुई सय ८४ भएको देखिएको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा मात्रै प्रतिमतदाता खर्च पाँच सय नौ भएको थियो। अनावश्यक खर्चका शीर्षक कटौती गरी मितव्ययी तुल्याइएको प्रवक्ता पौड्यालको भनाइ छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ७२ हजार चार सय २४ मतदाता, १८ हजार पाँच सय ७३ मतदान केन्द्र र सात अर्ब १५ करोड ७७ लाख १९ हजार खर्च भएको थियो। त्यसबेला दुई चरणमा निर्वाचन भएको थियो। यस्तै, २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एक करोड ५४ लाख २७ हजार नौ सय ३८ मतदाता, १९ हजार आठ सय नौ मतदाता र सात अर्ब ८० करोड १४ लाख ४९ हजार खर्च भई प्रतिमतदाता लागत पाँच सय छ भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले निर्वाचन खर्चमा यस वर्ष भएको मितव्ययिताबारे पुष्ट्याइँ माग गरेकामा आयोगले पछिल्ला पाँच निर्वाचनका कूल मतदाता, मतदान केन्द्र, कूल खर्च र प्रतिमतदाता खर्चको हिसाबसहित विवरण उपलब्ध गराएको छ। नेपाल सरकारबाट २०७९ साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति २०७९ साल मङ्सिर ४ गते आइतबार देशैभर एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएको थियो। र्वाचन सम्पन्न गर्न सामान्यतः एक सय २० दिनको अवधि आवश्यक हुनेमा उपलब्ध एक सय सात दिनको समयसीमाभित्रै निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। यस निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सय ६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय १० सदस्य गरी कूल दुई सय ७५ सदस्य निर्वाचित भएका छन्। प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत तीन सय ३० सदस्य निर्वाचित भएका छन् भने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई सय २० सदस्य गरी कूल पाँच सय ५० सदस्य निर्वाचित भएका छन्। यो निर्वाचनमा आयोगले विद्युतीय माध्यमबाट खुला प्रतिस्पर्धामार्फत सामग्री खरिद गरेको छ भने ढुवानी योजना बनाई सुरक्षा निकायसँगको समन्वयमा समयमै ढुवानी गरेको थियो। निर्वाचनमा कूल ७२ निर्वाचन सामग्री प्रयोग भएकामा आयोगबाट ५७ प्रकारका सामग्री खरिद गरी १५ प्रकारका सामग्री जिल्ला र स्थानीयस्तरबाटै खरिद गराएको थियो। आयोगले यस वर्षका निर्वाचनमा मतदाता शिक्षा (घरदैलो कार्यक्रम) मा स्थानीय तहलाई जिम्मेवार बनाएको थियो भने मतदाता शिक्षा कार्यक्रममा विविधीकरण गरिएको (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, कन्सर्ट, सामाजिक सञ्जाल, कल सेन्टर आदि) बाट दिएको थियो। यस्तै सरोकारवाला (कलाकार, निजी क्षेत्र, गैसस, युवा, सञ्चारमाध्यम) सँग सहकार्य गरेको थियो। समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको निर्वाचन चिह्न समावेश गरी मतपत्र छपाइ गरेको थियो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरेपश्चात् मतपत्र छपाइ कार्य गरिएको थियो। स्थानीय तह निर्वाचनमा भएका खर्च र प्रतिमतदाता लागतको विवरण प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ राजनीतिक दलले भाग लिएका थिए भने समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ दलले बन्दसूची पेस गरेका थिए। निर्वाचन सम्पन्न भएपश्चात् १२ राजनीतिक दलले प्रतिनिधिसभामा विजय हासिल गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ नियमावलीअनुरुप निर्वाचन व्यवस्थापनको सिलसिलामा सम्पन्न गर्नुपर्ने विभिन्न कार्य प्रक्रियालाई निर्देश गर्न आयोगबाट विभिन्न मितिमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, मतदान तथा मतगणना निर्देशिका, आर्थिक, अनुगमन निर्देशिका, निर्वाचन आचारसंहिता लगायतका आवश्यक निर्देशिका तथा कार्यविधि जारी गरेको थियो।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको भूमिका हेरेर मन्त्रालय भागबण्डा गर्न माग गरेका छन्। मिटरब्याजी पीडितहरूको धर्नालाई एक्यबद्धता जनाउँदै उनले माइतीघर मन्डलामा सञ्चारकर्मीहरूसँग भने, 'सरकारमा दस दल सहभागी छौं। दस दललाई २५ मन्त्रालय पुर्याउनुपर्ने छ। त्यसैले पार्टीको भूमिका हेरेर सिट भागबण्डा गरियोस्। सबैलाई मन्त्रालय दिनुपर्छ भन्ने पनि छैन।' उनले गठबन्धनमा आबद्ध पार्टीहरूले धेरै मन्त्रालय दाबी गर्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको स्पष्ट पारे। 'सबैले धेरै मन्त्रालय दाबी गरेका छन्। जसका कारण सरकारले पूर्णता पाउन सकेको अवस्था छैन। आजको बैठकले पक्कै पनि केही सकारात्मक छलफल हुने अपेक्षा गरेका छौं,' उनले भने। उनले गठबन्धनमा आबद्ध दलहरूले सरकार विस्तार गर्नु अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। 'मैले के सुझाव दिन खोजेको हुँ भने, पहिले नीति बनाउनुस्, कार्ययोजना ल्याउनुस्। अनिमात्र भागबण्डा गरेको औचित्य हुन्छ। हतारमा सरकारमा विस्तार गरेर पनि केही हुँदैन,' उनले भने।
तनहुँ: निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् । उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि दिइएको समयमा आयोगमा सो सङ्ख्यामा दल दर्ता भएको जानकारीकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । दर्ता हुनेमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका रहेका छन् । आयोगले तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । आयोगले सूचना जारी गर्दै उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि समय दिएको थियो । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्य तालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यपालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यपालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको । यसै गरी आयोगले बारा २ बाट निर्वाचित राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको छ ।
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरू भएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ। एकीकृत समाजवादी पार्टीले तीन मन्त्रालयसहित उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ। आज बस्ने बैठकले सोही विषयलाई औपचारिकता दिने संभावना छ । यद्यपि भुसालको नेतृत्वमा सरकारमा जाने कि राजेन्द्र पाण्डेको नेतृत्वमा जानेबारे पार्टीभित्र बहस चलिरहेको एसका एक पदाधिकारीले जानकारी दिए। आजै बिहान पार्टी अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेट गरेको थियो। नेपालसहित सम्मानित नेता झलनाथ खनाल,महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले मन्त्रालयको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए। एसले गृहसहित तीन मन्त्रालयमा दावी गरिरहेको छ। मन्त्रिपरिषद् वितारका विषयमा छलफल गर्न आज बेलुका ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ।
गुल्मी: एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्ताउलो नहुन निर्देशन दिएका छन् । मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । ‘एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो’, ओलीले कार्यकर्तालाई भने शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्छ ।’ ओलीले एमाले पार्टी इमानका लागि इमानका साथ लडेको पार्टी भएको भन्दै एमाले कार्यकर्ताबाट बेइमानी गर्ने कुरा कल्पनासमेत गर्न नसकिने बताए ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो । उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताउनु भयो । राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताउनुभयो । उहाँले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनुभयो । राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ । जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’ राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरू हिँड्नुपर्ने बताउनुभएको छ । जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको दिनमा २०४६ को परिवर्तनपछि, २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाजले, दलहरूले दिएको हामीले पाएका छौँ । तर २०४६ को परिवर्तनपछि प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावस बेस पोलिटिक्समा जुन रूपान्तरण भएको कारणले मूल्य मान्यताको राजनीति, आदर्शको राजनीति आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा हामीले कत्तिको ध्यान दिन सकेका छौँ, त्यसमा सबैले मनन गरौँ । उहाँले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको बताउनुभयो । जोशीकी पत्नी एवम् सांसद सपना राजभण्डारीले जोशीले लिनुभएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उहाँको भनाइ थियो । सोही अवसरमा राष्ट्रपति पौडेलले विस २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गर्नुभयो । विस २०१९ पुस २२ गते काठमाडौँमा जन्मनुभएका जोशीको विस २०७७ चैत १३ गते निधन भएको थियो । उहाँ संविधानसभा सदस्य, उद्योगमन्त्री, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न हुनुहुन्थ्यो ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजय भएका छन् । कार्कीले निकटतम प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई पराजित गरे । कार्कीले २ सय ९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १ सय ४७ मत ल्याए । कुल ४८० मतदातामा ४ सय ३४ मत खसेको निर्वाचन मण्डलले जनाएको छ । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानल नै विजयी भएको छ । अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल ९क्रान्तिकारी० लाई सचिव र दुई सदस्यको भागबन्डा गरी संयुक्त प्यानल सहित चुनाव लडेका थिए । सचिवमा क्रान्तिकारीका धिराजन परियार विजयी भएका छन् । उनले २ सय ७७ मत ल्याए । सदस्यमै अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। सदस्यमा क्रान्तिकारीका लोकराज थापा र दीपा कार्की विजयी भए । चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन ।
पोखरा: वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा आज (आइतबार) भएको स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा ४ सय ३४ मतदान भएको छ । आज भएको स्ववियु निर्वाचनमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा भएका ४ सय ८० मतदाता मध्ये ४ सय ३४ जनाले मतदाताले निर्वाचनमा भाग लिएको निर्वाचन अधिकृत डा. लिला पुरीले जानकारी दिए । अहिले सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भैरहेको निर्वाचन अधिकृत डा. पुरीले जानकारी दिए । क्याम्पसमा क्रियाशिल ५ विद्यार्थी संगठनहरुले नाम दर्ता गरेपनि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीले मात्र निर्वाचनमा भाग लिएका थिए । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते नै देशभरका क्याम्पसमा स्ववियुको निर्वाचको मिति सार्वजनिक गरेपनि कास्कीको ६ क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको नामावली सार्वजनिक नभएको भन्दै फागनु २५ गते केही विद्यार्थी संगठनहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा त्रिविको कार्यतालिका अनुसार यस क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

