काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो। मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।
काठमाडौं: सत्तारूढ गठबन्धनका दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको बैठकमा उपस्थित छन्। बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डलाई) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछानेले भेटेपछि रास्वपा सरकारमा सहभागी हुन्छ वा हुदैन भन्ने विषयले चर्चा पाएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ। आज (सोमबार) पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए। महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने बताइएकाे छ । साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा उठेको थियो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिनुभएको थियो ।
काठमाडौं: सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने उनले बताएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यो प्रस्ताव सिङ्गै देशलाई मान्य नहुने पनि बताए । महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने पनि पटकपटक दोहो¥याए । उनले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए । महामन्त्री शर्माले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं । तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाही देखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ । मैले सार्वजनिक रुपमा पनि के भन्न चाहन्छु भने सरकारलाई यो भ्रष्टाचार निवारण ऐनमा जुन राखिदै गरिएको अवस्था छ । पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्विकार्य छैन । यो देशले स्विकार गर्दैन । कडिकडाउनका साथ यसमा जानु पर्छ राज्य ।’ महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए । उनले देशको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
पोखरा: नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय गरेको भन्दै विरोध गरेको छ । राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववियुले आज शुक्रबार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै विरोध गरेको हो । प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियुले नालायक सरकार राजीनामा दे, प्रचण्डे चोर देश छोड्,अयोग्य लडाकुलाई राहत दिने निर्णय खारेज गर लगायतका नारासमेत लगाए । विरोध प्रदर्शन पश्चात कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष विष्णु पोखरेलले अयोग्य लडाकुलाई कहिले सम्म सरकारले अयोग्य बनाएर रकम बाँड्ने हो भनेर प्रश्न समेत गरे ? उनले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । अनेरास्ववियुले पोखरामा सरकारको यो निर्णय विरुद्ध कालो ब्यानरसमेत प्रदर्शन गरेको थियो । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउन लागेको भन्दै अनेरास्ववियुले पोखरामा विरोध गरिएको हो ।
पोखरा: बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले आज पदभार ग्रहण गरेका छन् । शुक्रबार पाण्डेले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत् महशुलमा सत् प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । यस्तै बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने , सवारी चालक अनुमतिपत्र वितरण पक्रिया छिट्टो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न कार्यदल गठन समेत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव संयोजक, मुख्यमन्त्री कार्यालयका समन्वय महाशाखाका सचिव सदस्य, आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य, भौतिक पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन गरिएको छ । मन्त्रिपरिषद्को प्रवक्तामा कांग्रेसबाट मन्त्री बनेकी सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी तोकिएको छ । तिवारीले शुक्रबारनै मुख्यमन्त्री पाण्डेसँगै पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । तीन सदस्य मन्त्रिपरिषद्ले लोकतन्त्र प्राप्तिका लागि भएको सबै किसिमका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
पोखरा: गण्डकी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा बिहीबार नियुक्त भएका कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज शपथ लिदैछन् । नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज दिउँसो करिब साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिने भएका हुन् । पाण्डेले सपथ लिएसँगै अन्य मन्त्रीहरुलाईसमेत नियुक्त गर्ने बताएपनि नेकपा माओवादी केन्द्रसँगको भागबण्डा मल्नि नसकेको माओवादी केन्द्रका एक सांसदले बताए । ‘उनीहरुले आज मन्त्रिपरिषद् बिस्तार गर्ने भनेपनि हामीसँग अझै सहमती जुटेको छैन,’ ति प्रदेश सांसदले भने । माओवादी केन्द्रले गण्डकीमा तीन मन्त्रालयको दाबी गर्दै आएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बचन दिए । यस्तै सत्ता साझेदार माओवादी केन्द्रका संसदीय दलको नेता हरि बहादुर चुमानले पनि मन्त्रालयलाई ७ वटै कायम गर्ने प्रष्ट पारे । उनले मन्त्रालय बिस्तार गर्न आवश्यक नरहेको बताउदै भने, ‘मन्त्रालय सँख्या ७ वटै हुन्छ । अहिले नमिलेको मन्त्रालयहरुलाई मिलाउने काम हुन्छ ।’
दाङ: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् । चौधरीलाई ५३ सांसदको समर्थनसहितको हस्ताक्षर बुझाएको नेपाली कांग्रेस प्रदेश सभा सदस्य राजु खनालले जानकारी दिए । गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

