पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बहादुर केसीले गाँजाबाट बन्ने औषधि उत्पादनदेखि निर्यातसम्मको वातावरण निर्माण गर्नेबारे प्रदेश सरकारमा प्रश्न उठाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको बजेट छलफलको क्रममा सांसद केसीले उक्त प्रश्न गरेका हुन् । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रमदेखि बजेटसम्म गाँजाको औषधिजन्य प्रयोगका लागि अध्ययन गर्ने भनेको छ’ सांसद केसीले प्रश्न गरे, ‘गाँजाको व्यवसायिक खेती र घरेलु मदिरालाई ब्राण्डिङ गर्नेबारे प्रदेश सरकारसँग योजना के छ ?’ ‘प्रदेश सरकारले घरेलु मदिराको गुणस्तर वृद्धि र ब्राण्डिङको विषय समेटेको छ । गाँजाबाट बन्ने औषधि उत्पादनदेखि निर्यातसम्मको वातावरण निर्माण छिटो गरौं,’ उनले थपे । सांसद केसीले विदेशबाट आयात हुने मदिराको बजारको हिस्सा ठूलो रहँदा नेपाली उत्पादन भनेर हामीले घरेलु मदिरा बेच्न नसकेकोमा दुखेसो पोखे । उनले फरक प्रसंगमा प्रदेश सरकारले विश्वविद्यालयको ९ करोडको बजेट कटौटी गरेको भन्दै संस्थाको शैक्षिक, भौतिक विकासमा मलजल गर्न प्रदेश सरकार किन अघि नबढेको होला ? भन्ने जिज्ञासा राखे । ‘विश्वविद्यालयको अधुरा काम पूरा हुन्छ हुँदैन भनेर यो निर्णय गरिएको हो रु,’ केसीले प्रश्न गरे । उनले प्रदेश सभाको भवन साँघुरो भएको विषयमा प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।
पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटीको ११ औ पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले कास्की इन्चार्ज थममाया थापाको प्रमुख आतिथ्यता आज बैठक सम्पन्न भएको हो । कमिटी बैठकले कार्यकर्ताले पालना गर्नुपर्ने २२ बुँदे आचार संहिता पास गरेको कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए । उनका अनुसार मदन भण्डारीको जयन्तीको दिनमा महानगर कमिटीका सदस्यले आफ्नो घर वा टोल क्षेत्रमा कम्तीमा २ वटा विरुवा रोप्ने, नियमित रुपमा पार्टी स्कुल सन्चालन गर्ने योजना तयारी गर्ने, असार १४ गते मदन जयन्तीको दिनमा विशेष कार्यक्रम सन्चालन गर्ने, विभागहरुलाई पूर्णता दिनुका साथै वडा कमिटीका इन्चार्जहरुको जिम्मेवारी हेरफेर समेतको निर्णय गरेको छ । बैठकमा नेकपा एमालेका कास्की इन्चार्ज थममाया थापा ,महानगर इन्चार्ज कृष्ण थापा ,जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीले मार्गनिर्देशन गरेका थिए ।
काठमाडौं: परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले दिल्लीमा रहेको नेपाली दूतावासलाई अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन निर्देशन दिएको बताउनुभएको छ । मङ्गलवार आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा समितिमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउथले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भारतले बनाएको नयाँ संसद् भवनभित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभागहरु पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताउनु भयो । उहाँले अखण्ड भारतको नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनेर भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको बताउनु भयो । मन्त्री साउदले अखण्ड भारतको नक्साका विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन दूतावासलाई निर्देशन दिएको बताउनु भयो। उहाँले अखण्ड भारतको नक्साभन्दा पनि चित्र भएको बताउनु भयो। उहाँले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चार माध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआइ बोल्न नमिल्ने बताएको जानकारी दिनुभयो । दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले पूर्ण जानकारी नलिइ बोल्नु परिपक्व नहुने उहाँले बताउनु भयो । उहाँले सरकार नेपालको नक्साको बारेमा स्पष्ट रहेको पनि बताउनु भयो। उहाँले नेपालको नक्सा के हो भन्ने कुरा २०७७ साल असार ४ गते संविधानमा दोस्रो संशोधन गरेर सर्वसहमतिमा नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अध्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको बताउनु भयो। उहाँले नक्साका विषयमा सधैँ विवाद बनाइराख्नु उचित नहुने बताउनु भयो। उहाँले ईपीजीको प्रतिवेदनमा के लेखिएको छ भन्नेबारे नेपाल सरकारलाई जानकारी नभएको बताउनु भयो। मन्त्री साउदले ईपीजीको प्रतिवेदन नेपाल सरकारले अधिकारिक रुपमा बुझेर अध्ययन नगरेको बताउनु भयो । नेपाल सरकार ईपीजीको प्रतिवेदन बुझ्न तयार रहेको भन्दै अर्को देशलाई प्रतिवेदन तत्काल बुझ्नु भन्न नमिल्ने बताउनु भयो ।
काठमाण्डौ: प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर आउँदो शुक्रबार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आउँदो शुक्रबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको आज मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम शुक्रबार हुने गरी निर्धारण गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि सबै सदस्य सङ्ख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताउनुभयो । यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरूको पालो रहेको उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै बेलुकी ५ बजेसम्म प्रतिनिधि सभाका सचिबसमक्ष लिखितरूपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं: महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच गराउँदै छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार टोलीले एक साताभित्र अध्ययन तथा छानबिन सक्ने छ। आयोगमा ८२ वटा राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदन विज्ञ टोलीले अध्ययन तथा छानबिन गर्दै छ। प्रतिवेदन जाँच्न महालेखा परीक्षकको कार्यालयका निर्देशक ललितबहादुर शाक्यको नेतृत्वमा पाँच जना कर्मचारी खटिएका छन्। सो टोलीले प्रारम्भिक अध्ययन सम्पन्न गरेको बताइएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार अध्ययनका व्रmममा दलले बुझाएको कागजातलाई पुष्टि गर्ने प्रमाण नभएको र शङ्कास्पद देखिएका शीर्षकको थप कागजात मगाउन टोलीले आयोगलाई आग्रह गरेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले भन्नुभयो, “टोलीले दलले बुझाएको कागजातलाई पुष्टि गर्ने प्रमाण मगाउनु पर्ने भनेका छन्, आवश्यकता अनुसार आयोगले निर्णय गरेपछि दललाई कागजात बुझाउन पत्राचार गरिने छ।” यसअघि आयोग पदाधिकारीको बैठकले आयोगमा दलले बुझाएको लेखा प्रतिवेदन र दलको कार्यालयमा रहेको लेखाको स्रेस्तासँग भिडाएर जाँच्ने निर्णय गरेको थियो तर आयोग र विज्ञ टोली दलको कार्यालयमा गएर छानबिन गर्न अनिच्छुक देखिएपछि आवश्यकताबमोजिम पत्राचार गरेर कागजात मगाइने आयोग स्रोतले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनमा राजनीतिक दलले आर्थिक वर्ष सम्पन्न भएको छ महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने र परीक्षण गराएको एक महिनाभित्र आयोगमा उक्त प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ।
काठमाडौं: चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज सोमवार समाजवादी मोर्चा घोषणा गरेका हुन् । काठमाडौंको राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा चार दलका अध्यक्षहरूले सहमतिपत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन् । सहमतिपत्रमा माअोवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् । नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मोर्चाले दैनिक कार्यसञ्चालनका लागि एउटा सचिवालय गठन गर्नेछ । मोर्चालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ ।
काठमाण्डौ: नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिनुभएको छ । आइतवार गाउँपालिका राष्ट्रिय महासङ्घले बजेटको बारेमा गरेको छलफलमा उपाध्यक्ष पाण्डेले बजेट यथास्थितिमा पारित गर्ने भए आफ्नो पार्टी र सांसदहरूले त्यसमा समर्थन गर्न नसक्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बजेट यथास्थितिमा पारित गर्न नदिने भनिसकेको भन्दै अहिलेकै अवस्थामा बजेटमा आफ्नो समर्थन नरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै सांसद र मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । बरु गाउँपालिका, नगरपालिकामा जित्ने साथीले पाँच वर्षका लागि केही हुँदैन भनेर ढुक्क हुनुहुन्छ तर मन्त्रीहरूले आफूलाई अस्थायी ठान्यौँ । हामीले जसमात्रै खोज्यौँ । राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनालाई के गर्नुपर्छ भन्नेमा हाम्रो विचार भएन । मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईँ एक्लै हाल्नुस्, हामी हाल्दैनौँ भनेको छु ।’ उपाध्यक्ष पाण्डेले केन्द्र सरकार राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित भएको भए बजेटमा यस किसिमका समस्या नै नआउने दाबी गर्नुभयो ।
काठमाण्डौ: विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमाथिको चलिरहेको छलफलअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ । प्रतिनिधि सभाको आज आइतवारको बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले शीर्षकमा प्रदेशको नामको सट्टा अङ्क उल्लेख भएको भन्दै नियमापत्ति जनाएका छन् । सचेतक बर्तौलाको नियमापत्तिका सन्दर्भमा सभामुख देवराज घिमिरले पर्यटनमन्त्री सुदन किरातीलाई त्यसबारे स्पष्ट पार्न समय दिएका थिए । बैठकमा पर्यटनमन्त्री किरातीले उल्लेख भएका अङ्क सच्याइ प्रदेशको नाम राख्ने बताए, तर सचेतक बर्तौलाले त्यो विषय गम्भीर भएको र नसच्याएसम्म बैठक अघि बढ्न नहुने तर्क गरेपछि सभामुख घिमिरेले आजको छलफलबाट पर्यटन मन्त्रालयको नाम सूचीबाट हटाई बैठक नियमित सञ्चालन गरेका थिए ।
काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएकाहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण हुन नसक्ने टिप्पणी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले सो टिप्पणी गरेका हुन् । समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरुको निर्णयप्रति लक्षित गर्दै उनले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा आउँदा त्रसिन आवश्यक नरहेको बताए । समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र काँग्रेसलाई तर्साउन गठजोड भइरहेको उनले चर्चा गरे । अध्यक्ष ओलीले सँगै काम गरेका नेतालाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको बताए । आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको उनले दावी गरे । “हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ जो देश, जनता, विकासप्रति समर्पित हुन्छ” ओलीले भने, “चारतिर फर्किएका चार तिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन ।” एमालेलाई अब कसैले पनि राष्ट्रिय शक्ति बन्नबाट रोक्न नसक्ने उनले दावी गरे । अध्यक्ष ओलीले एमाले मिसन २०८४ को तयारीमा जुटेको र २०८४ मा एमालेलाई राष्ट्रिय शक्ति बन्ने विश्वास दिलाए । एमाले राष्ट्रिय शक्ति बनेमात्र देशको समृद्धि कायम हुने उनले चर्चा गरे ।

