काठमाडौं: उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ’ उनले अघि भने, ‘त्यो कानुन यही सदनमा आउनेछ ।’ उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बताए । एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतिको व्यवस्था राम्रो नभएको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भने, ‘जवान, हवल्दारहरु १९–१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन् ।’ यसलाई सम्बोधन गर्न र क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको उनले बताए । उप्रपधानन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘मलाई विश्वास छ, सम्बन्धित मन्त्रालयको सहमति प्राप्त भएपछि कार्यान्वयनमा लैजान सकिनेछ ।’ उनले आन्तरिक बढुवा र खुला प्रतिस्पर्धामा लिने अनुपात मिलाउने विषयमा लोकसेवा आयोगसँग परामर्श भइरहेको समेत संसदलाई जानकारी गराएका छन् ।
काठमाडौं: जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । शनिबार काठमाडौंको एक होटलमा बैठक सुरु भएको हो । बैठकमा आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो । आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नुहुनेछ ।
काठमाण्डाै: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । शुक्रवार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको हो । उहाँले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप ठाउँमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयो – ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रियहितको रक्षाको लागि सरकार संवेदनशील र निरन्तर प्रयत्नशील रहेको छ । अहिलेसम्म स्थापना भएका २ सय ५० बोर्डर आउटपोष्टहरुमध्ये १ सय २८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् र यो विषयमा सरकार गम्भीर रहेको छ ।'
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनु जरुरी देखिएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले बर्खायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नका लागि देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । प्रधानमन्त्रीले सरकार र पालिकाले देशको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरि विकास मोडालिटी बनाउँदा बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको विकासको मोडालिटीको बारेमा भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीररूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो रोकथाममा सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेरमात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज बिहीवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको एक वर्षे यात्राको समीक्षा गर्दै भने, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपालीले आशा र भरोसाका रूपमा हेरेको नयाँ सफल पार्टीका रूपमा लिएका छौँ ।’ सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर नागरिकको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताए । ‘उपचुनावसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो’, उनले भने, ‘सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रूपान्तरण गर्न सक्ने गरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।’ उनले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रूपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले रास्वपाको संसदमा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षाका लागि पार्टी एकता गर्नेबारे छलफल भएको छ । गएको सोमवार माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो । मोर्चा गठनपछि माओवादी र नेकपा बीच पार्टी एकता हुन सक्ने विश्लेषण हुँदै आएको थियो । माओवादीबाट छुट्टिएर अलग्गै पार्टी गठन गरेका नेत्र विक्रम चन्दले पछिल्लो समयमा प्रचण्डको खुला रुपमा प्रशंसा गर्दै आउनु भएको छ । जनयुद्ध दिवस घोषणा र त्यस क्रममा मारिएकाको नाम शहीदको रूपमा राजपत्रमा प्रकाशित गर्ने निर्णयपछि विप्लव प्रचण्डप्रति नरम देखिनु भएको हो । यस्तै, आजको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा विषयमा पनि छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ । महानगरपालिकाको १३औँ नगर अधिवेशमा उपमेयर इम्तियाज आलमले आर्थिक वर्ष २०८० र ८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित आयव्यायको बजेट प्रस्तुत गर्नुभएको हो । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित उपमेयर आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ । सभामा उहाँले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याइएको उपप्रमुख आलमले जानकारी दिनुभयो । कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताउनुभयो ।
काठमाडौं: पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।
काठमाण्डौ: ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ । आर्थिक वर्ष २०८० र ८१ का लागि मेयर चिरीबाबु महर्जनले नगरसभामा पेस गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंकको तर्जुमा गर्ने, नागरिकका गुनासा तत्कालै सम्बोधन गर्नेगरी क्लिनिङ एम्बुलेन्सको अवधारणा लागू गर्ने विषयलाई समेटिएको छ । तेस्रो नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरले आगामी आर्थिक वर्षमा आवधिक योजना र मध्यकालीन खर्च संरचना तर्जुमा गरी सोहीअनुसार वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, कार्यक्रम कार्यान्वयन कार्ययोजना तथा खरिद कार्ययोजना तर्जुमा गर्ने, योजना कार्यान्वयनको त्रैमासिक समीक्षा गर्नेलगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरेको छ । बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि महानगरको चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकासे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने नीति महानगरले लिने विषय नीति तथा कार्यक्रममा उल्लेख छ । हरित र स्वच्छ सहरको अवधारणालाई ध्यान दिँदै आएको महानगरले धुलोरहित सडक व्यवस्थापनका लागि नक्खु खोला र अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने, टिपरलगायत मालवाहक सवारीसाधनको आवागमन नक्खु, बागमती करिडोरबाट मात्रै गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने महानगरको नीति छ । चालु आर्थिक वर्षमा सडक सौन्दर्यलाई ध्यानमा राखी महानगरपालिकाभित्रका सडकमा हरियाली प्रवर्द्धन गर्ने नीतिअनुरुप विभिन्न स्थानमा पार्क निर्माण गरिरहेको छ । परम्परागत पानीका मुहान, ढुङ्गेधारा, कुवा, इनार, पोखरी जस्ता स्रोतलाई संरक्षण गर्ने, सिस्नेरी खोलाको पानीलाई उपत्यकामा ल्याउने सम्बन्धमा सम्बद्ध निकायको समन्वयमा आवश्यक गृहकार्य गर्ने, प्रत्येक घरमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने, पानीको वितरण प्रणालीलाई व्यवस्थित गर्ने, पैदल यात्रुलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि ‘वाटर एटिएम’ सञ्चालन गर्नेलगायतका विषयलाई समेत महानगरले नीति तथा कार्यक्रममा समेटेको छ । आगामी वर्षको नीत तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा मेयर महर्जनले पारदर्शिता अपनाएर विधिसम्मत तरिकाले काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । हामीले गरेको कामले नागरिकमा ठूलो प्रभाव पार्छ, तसर्थ सबै जनप्रतिनिधिले पारदर्शिता अपनाएर विधिसम्मत तरिकाले काम गर्नुहोला, मेयर महर्जनले भन्नुभयो, हामीले नगरवासीका लागि आयआर्जन गर्नसक्ने गरी तालिम दिने योजनालाई समेटेका छौँ । केवल तालिमका लागि मात्रै नभएर साना तथा मझौला उद्यमी तयार गर्ने गरी तालिम सञ्चालन गर्छौं । उद्यमी बन्न चाहनेका लागि बीउ पूँजी दिने व्यवस्था पनि महानगरले गर्छ ।

