काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।    बिहीबार उपसभापति खड्का निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ।    राजदूत सोङ बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।     

काठमाडौँ:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए ।   उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ ।’    महामन्त्री थापाले प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने सुझाव पनि दिए । उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’    महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए ।  उनले अहिलेसम्म यति धेरै मानिस निराश भएको नदेखेको बताउँदै भने, ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निरास भएको देखेको थिएन ।’    महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाए । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् । आज सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरू स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको भन्दै सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादनमा जोड दिने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।    उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौँ व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वदेशमा नै उत्पादित सामग्रीहरूको प्रयोग बढाउनुपर्ने बताए । उनले नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्रीहरूको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे ।    उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए । 

झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्।   जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन  लागेका हुन्। उनी  दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ।   उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।

काठमाडौँ:   त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको छ ।   स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन हुन नसकेका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्रचार गर्दै निर्वाचनको प्रक्रिया तत्काल अघि बढाउन पत्राचार गरेका हुन् ।   ‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्काल स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ,’ सदस्य सचिव अधिकारीले लेखेको पत्रमा उल्लेख छ ।   निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिँदै बिबादका कारण खोज्दै सहमति जुटाउन पनि निर्देशन दिएका छन् ।   उपत्यकाका आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, विश्व भाषा क्याम्पस  र आयुर्वेद क्याम्पसमा निर्वाचत हुन सकेको थिएन । उपत्यकाका क्याम्पस मध्ये आर आर क्याम्पसले बिद्यार्थी संगठनलाई वार्ताका लागि बोलाइसकेको छ ।   यसैगरी,  उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पोखरा नर्सिङ क्याम्पस, चितवन इञ्जिनियरिङ क्याम्पस, कृषि क्याम्पस चितवन,  पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।   पृथ्वी नारायण क्याम्पसमा अदालतको आदेशका कारण रोकिएको भए पनि अन्य क्याम्पसमा भने सहमति हुन नसक्दा तालाबन्दीसमेत भएका थिए । सो क्याम्पसको बिबाद हल गरी तत्काल निर्वाचन गराउन बिश्वविद्यालयले निर्देशन दिएको हो ।   त्रिविका उपत्यकाका २२ मध्ये १५ वटा आंगिक र उपत्यकाबाहिर ४० मध्ये ३० क्याम्पसमा भने गत चैत ५ गते नै निर्वाचन सम्पन्न भई नेतृत्व चयन भइसकेको छ ।

काठमाडौं:  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ। मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।    नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुन् नहुने बताउनुभयो। उहाँले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्नुभयो। १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको उहाँको भनाइ छ। नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताउनुभएको हो।    नेता कोइरालाले भन्नुभयो, ‘‘नेपाली कांग्रेस केही दिन भित्र नै सरकारमा जाँदैछ। अब हामीलाई गल्ती गर्ने छुट छैन। कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रूपले लिएको छ। त्यसलाई अघि बढाउने जिम्मा अब नेपाली कांग्रेसबाट जाने नेतृत्वले गर्नुपर्छ। उहाँहरूको जिम्मा सरकारलाई पनि प्रचण्डजीको सरकार छ, १० वटा सत्ता गठबन्धनमा दल छन्। त्यसलाई सम्हालेर अघि बढ्ने जिम्मा नेपाली कांग्रेसलाई छ। यो सबै कुरा नेपाली कांग्रेसको जिम्मेवारीमा, काँधमा आएको छ। यो सरकारलाई राम्रोसँग चलाएर हामी अघि बढ्नुपर्छ।’’   नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताउनुभयो। उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने दाबी गर्नुभयो। उहाँले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने भन्दै मिडियाको जिम्मेवारीलाई गम्भीर रूपमा लिएको बताउनुभयो। 

काठमाडौँ:  उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छन् ।    मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी हुन् ।      उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरुको क्षतिपूर्ति उनीहरुले दिनुपर्ने बताइन् । उनले नेपाल दुई ठूला देशहरुको बीचमा रहेकाले आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन् । त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताइन् । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनले बताइन् ।     प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनुपर्ने बताए । उनले पञ्चशिलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनैपनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पारे ।     प्रतिनिधि सभा सदस्य भट्टराईले नेपाल दुई ठूला छिमेकी देशहरु चिन र भारको बीचमा रहेको भन्दै कानुन बनाउँदा ठूला देशको बीचमा हुँदाको फाइदा र अपm्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताए । उनले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताए ।  

गोरखा:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले अब लय पक्रिएको बताउनु भएको छ । गोरखाको पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्ती कार्यको शिलान्यास गर्दै उहाँले अब पुरानै गठबन्धन कायम भएको बताउनुभयो ।   ‘हिजोबाट एउटा राजनीतिक वातावरण बनेको छ, राजनीतिले लय पक्रिएको छ,’ उहाँले भन्नुभयो, ‘सदनमा भएका झण्डै ११ वटा दलको विश्वासको मत सहित अब हामी सरकारलाई पूर्णता दिने पक्रियामा छौँ । आज बिहानदेखि नेपाली कांग्रेस र अन्य पार्टीहरुसँग गम्भीर सम्वाद छलफल सुरु भएको छ ।’ सोमबार आफूले विश्वासको मत पाएँ सरकार पुर्नगठनबारे दलहरुसँग छलफल समेत सुरु भएको उहाँले बताउनुभयो ।   संघ सरकारदेखि प्रदेश सरकार पुर्नगठन र आलोपालोका विषयमा दलहरुसँग छलफल सुरु भएको उहाँको भनाइ छ । अब निर्वाचन पूर्व जनतामा गरिएका प्रतिवद्धताअनुसार काम हुने उहाँले बताउनुभयो । सत्ता साझेदार सबै दल र साझेदार निकायबीच छिट्टै छलफल गरि विकासको मोडालिटी तय गरेर काम अगाडि बढाउने प्रधानमन्त्रीको भनाइ छ ।   सडक विकासको पहिलो आधारशिला भएको भन्दै उहाँले देशभरका रणनैतिक सडकहरु प्राथमिकताका साथ स्तरोन्नती गर्ने सरकारको योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उपप्रधान तथा भौतिक पूर्वाधार विकास मन्त्री नारायणकाजी श्रेष्ठले जनताको भावनाअनुसार काम गर्न सरकार प्रतिवद्ध भएको बताउनुभयो ।   ‘यो सडकको शिलान्यास मात्र होइन, जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने कार्यको उद्घाटन पनि हो,’ उहाँले भन्नुभयो, ‘अब सरकारले दृढताका साथ विकास निर्माणका काम अघि बढाउँछ ।’    यसैगरी, पूर्व उपप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त सडकले यो क्षेत्रको विकासमा सम्भावना खोल्ने बताउनुभयो । गोरखा र लम्जुङलाई जोड्ने रणनीतिक सडकले जनताको जीवनस्तर उकास्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।   ‘मेरो लागि सबैभन्दा खुसीको क्षण हो । म आफैँ अर्थमन्त्री हुँदा यो बाटो स्तरोन्नतीको कार्य सुरु गरेको थिएँ,’ उहाँले भन्नुभयो,‘तर बारम्बार पहल गर्दा पनि यसले पूर्णता पाउन सकेको थिएन ।’   यही क्षेत्रका जनप्रतिनिधि समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल प्रचण्डद्वारा सडक शिलान्यास गराउनु पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा २०.३ किलोमिटर सडक कालोपत्र गर्न लागिएको सडक विभागका महानिर्देशक सुशिल ढकालले जानकारी दिनुभयो ।   त्यसको लागि ८१ करोड ६१ लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । गोरखाको पालुङटार १ को पन्थडिहीबाट लम्जुङको साहलटारसम्म सकड कालोपत्रे हुने बताइएको छ । 

काठमाडौं :  नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भागबण्डाको टुंगो  लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ।   मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले  मन्त्रालयको बाँडफाँट र भागबण्डा टुंग्याउन अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो   बैठकपछि सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुंगो लगाएपछि पार्टीले निष्कर्श निकाल्ने बताए। उनले भने,' सरकारमा कसरी जाने,के उद्देश्यले जाने, के नीति कार्यक्रमका साथ जाने,सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ,'उनले भने।   बैठकमा मन्त्रालयबारे प्रारम्भिक छलफल सुरू भएको हो।   प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार  विश्वासको मत लिएलगत्तै आजदेखि सरकार विस्तारको तयारी थाल्ने बताएका थिए। त्यसपछि गठबन्धन आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।