काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता नहुने बताएका छन् । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै राउतले सकभर सहमति हुने नभए मित्रवत् प्रतिष्पर्धा हुने बताएका हुन् । उनले भने,‘छलफलकै क्रममा छौं । संविधानको मर्म पनि पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्छ भन्ने हो । त्यहि आधारमा हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएका हौं । गठबन्धनमा कुरा मिल्न सक्छ । उहाँकै पक्षमा निर्णय हुनसक्छ भन्नेमा विश्वास छ । ’ उनले आफ्ना पार्टीका उम्मेदवारको पक्षमा सहमति हुनेमा आफू आशावादी रहेको बताए। 'हामीले गठबन्धनको निर्णय अनुसार नै मनोनयन दर्ता गराएका हौं । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आसावादी छौँ । सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता हुँदैन ।’ जनमत पार्टीका अध्यक्ष राउतले झालाई जनमत,लोसपा,नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताए। अध्यक्ष राउतका अनुसार राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको थियो। उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झाको प्रस्तावकमा अब्दुल खान,अनिता देवी,गंगाराम चौधरी,अभिराम शर्मा ,रुपाकुमारी यादव रहेका छन्। यस्तै समर्थकमा गोमालाभ सापकोटा,विनिता कुमारी सिंह,वसन्तकुमार कुसवाह,रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् । झालाई जनमत,लोसपा र नागरिक उन्मुक्तिको समर्थन छ । उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य,जनता समाजवादी पार्टीबाट राम सहाय यादव र प्रमिला यादव र जनमतबाट ममता झाको उम्मेदवारी परेको हो। आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो।
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्। एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताएका हुन्। उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए। यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन्। उनले भनिन्, 'लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।' एमालेले आज बिहान एमाले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।
काठमाडौँ: जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न प्रमिला यादव नयाँ वानेश्वर पुगेकी छन् । यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् । यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।
काठमाण्डाै: सत्ता गठबन्धनमा उपराष्ट्रपति पदका लागि विभिन्न दलबाट दाबी भएपछि बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक कुरा मिल्न नसक्दा निष्कर्षविहीन भएको हो । बैठकपछि जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफ्नो पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने बताउनुभएको छ । उहाँले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै ममता झालाई अगाडि सारेको बताउनुभयो । जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको छ । जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी गरेपछि गठबन्धनबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गर्ने सम्भावना देखिएको हो । सहमतिमा आइतवार भोलिसम्म एक जना मात्रैको उम्मेदवारी कायम हुने पनि जनमत पार्टीका अध्यक्ष राउतले बताउनुभयो । यसअघि नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
काठमाडौं : नेकपा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेको उपाध्यक्ष समेत रहेकी शाक्य बागमती प्रदेशको पूर्वमुख्यमन्त्री हुन्। उनी नेपालको पहिलो महिला मुख्यमन्त्री हुन्। चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।
काठमाडौं: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८ छ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार स्ववियु निर्वाचनमा देशभरको दाबी विरोध पूर्वको कुल मतदाता सङ्ख्या विवरण सार्वजनिक गर्नुभएको हो। अधिकारीका अनुसार उपत्यका अन्तर्गतको त्रिचन्द्र क्याम्पस, घण्टाघरको मतदाता सङ्ख्या विवरण भने प्राप्त हुन सकेको छैन। त्रिचन्द्र क्याम्पसमा सात हजारको हाराहारीमा विद्यार्थी मतदाता सङ्ख्या रहेको अनुमान छ। फागुन २७ गते प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ। त्रिविले आज उम्मेदवारको मनोनयन पत्र वितरण गरेको छ। काठमाडौं उपत्यकाबाहिर जम्मा ९५ हजार ६२२ र उपत्यकाभित्र ६६ हजार ६४६ गरी जम्मा एक लाख ६२ हजार २६८ कुल मतदाता सङ्ख्या सार्वजनिक गरेको हो। स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ।
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा देख्न चाहेको बताएका छन् । राष्ट्रपति पौडेललाई बधाई र शुभकामना ज्ञापन गर्दै महामन्त्री थापाले राष्ट्रपति संस्थाबारे संविधानले प्रष्ट व्यवस्था गरेको भन्दै राष्ट्रपति विगतको राजसंस्थाको निरन्तरता नभएको बताए । ‘नेपालको संविधानले राष्ट्रपति पदलाई नेपालको राष्ट्राध्यक्ष भनेर परिभाषित गरेको छ, सँगै राष्ट्रपतिमा संविधानको पालना र संरक्षण गर्ने संवैधानिक अभिभारा पनि रहेको छ,’ थापाले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक–राष्ट्राध्यक्षको चाहना हो । तपाईंलाई हामी राष्ट्रपति राजाजस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्न चाहन्छौं ।’ संविधानले ‘गल्ती नगर्ने राष्ट्रपति’को रुपमा दिशा निर्देशन गरेको महामन्त्री थापाको भनाइ छ । ‘हाम्रो संविधानको परिकल्पना ‘गल्ती नगर्ने राष्ट्रपति’ हो । किनभने राष्ट्रपतिले आफ्नो मनोमानिले केही पनि गर्दैन र गल्ती पनि गर्दैन,’ उनी भन्छन्, ‘संविधानको पालना, संरक्षण र प्रवर्द्धन गर्ने नाममा राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस वा सम्मतिमा कार्य गर्ने कुरा संविधानको मर्म हो ।’ उनले हरेक निर्णयको सिफारिस गर्ने सरकारले नै त्यसको जिम्मेवारी लिनुपर्ने मान्यता राखिएको बताए । ‘तपाईं हिजो राष्ट्रपतिको उम्मेदवार हुँदासम्म नेपाली कांग्रेसको सदस्य हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, एउटा राजनीतिक विचारसँग आवद्ध हुनुहुन्थ्यो, स्वभाविक रुपमा त्यसैप्रति तपाईंको लगाव र मिहिनेत थियो । तर, अब तपाईं मन, वचन र कर्मले योसँग अलग हुनुपर्छ, न नेपाली कांग्रेसप्रति न त हिजो तपाईंलाई मतदान गर्नेहरूप्रति कसैसँग पनि अतिरिक्त अनुराग रहनुहुँदैन,’ महामन्त्री थापाले भने । राष्ट्रपति पौडेललाई अब नेपाली कांग्रेसको मात्र होइन सबैको अभिभावक बन्न उनको आग्रह छ । उनले लेखेका छन् ,‘दलीय राजनीति, दलभित्रको राजनीति, दलहरूका बीचमा र दलभित्र हुने शक्ति संघर्ष वा अभ्यासबाट मुक्त हुने राजनीतिक चरित्र र क्षमता प्रदर्शन गर्नुहुनेछ । कुनैपनि क्षणमा जानेर नजानेर कुनै चाख वा रुची राख्नु हुनेछैन भन्ने अपेक्षा छ ।’ यसअघि राष्ट्रपतिको सम्मानका लागि सवारीको नाममा सडक खाली गराउँदा नागरिकलाई घण्टौंसम्म हिँड्डुल गर्न नदिने गरिएको भन्दै त्यस्तो अनावश्यक तडक भडक नगर्न थापाले सुझाए । ‘राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको पनि महत्त्वपूर्ण भूमिका छ । यो मौका हो नयाँ थालनी गर्न । अतः केही नयाँ शुरुवात गरौं,’ उनले भनेका छन् ।
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्। शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगेका पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताए। पौडेलले अब देशले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्ने समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राखे। अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउदै केहि सुधार गर्नुपर्ने भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उनको भनाइ छ । पौडेलले बीपीले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफूहरुको भएको जिकिर गरे। गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको बीपी संग्रहालय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले बीपी कोईरालाको शालिकमा माल्यार्पण गरेका थिए। सो क्रममा उनले संग्रहालयमा रहेको गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा पनि माल्यार्पण गर्नुको साथै बीपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोपेका थिए।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिइन् । उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेकी थिइन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै छिन् ।

