काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भौगोगोलिक अखण्डता र लोकतन्त्र रक्षाका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहने बताएका छन् । संसद् भवनमा मतदानपछि ओलीले देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा,भौगोलिक अखण्डताको रक्षा,राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताए । ओलीले भने,‘राष्ट्रपतिले लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षकको भूमिका निर्वाह गर्नुपर्छ । ’ राष्ट्रपतिप्रति आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा ओलीले संकीर्ण स्वार्थ भएकाहरू सानो स्वार्थ पूरा नभएपछि उफ्रिनु स्वभाविक रहेको बताए । ओलीले भने,‘राजनीतिमा जे पनि सम्भव छ । कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सो निर्णय गरेको जानकारी दिनुभयो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने व्यवस्था भएकाले यस्ता निर्णयहरु सार्वजनिक गर्नु ऐन र संविधानको मर्म विपरीत भएकाले मतदान गर्ने उम्मेदवारको नाम सार्वजनिक नगरिएको उहाँको भनाइ छ । यद्यपि, रास्ववपाको एक नेताका अनुसार रास्वपाले नौ दलीय गठबन्धनलाई सघाउने भएको छ । यस बीचको राजनीतिक घटनाक्रम र पार्टीको संगठन विस्तारको व्यवस्ताका कारण पार्टीले यो निर्णय आज गरेको उहाँको भनाइ छ । “यसबीचमा जे जस्ता राजनीतिक घटनाक्रम भए । संगठन विस्तरको क्रममा थियो, राजनीतिक पार्टीको हिसाबमा, राजनीतिक संघर्षको रुपमा जुन व्यवस्था छ, हामी राष्ट्रपति निर्वाचनमा भाग लिनेछौं ।,” बैठकपछि रास्वपाका ती नेताले भन्नुभयो, ‘‘निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । हामीले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका कस्तो रह्यो भनेर बैठकमा समिक्षा गर्यौं ।” दलीय गठबन्धनलाई सहयोग गर्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले लोकतन्त्र एवम् संविधानको रक्षा गर्ने उद्देश्यले सो निर्णय भएको बताउनुभयो ।
पोखरा: कर्मचारीले सूचना चुहाएको भन्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा होमिएका विद्यार्थी संगठनहरुले पिएन क्याम्पसका केही विद्यार्थी संगठनहरुले कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै तालाबन्दीपछि विज्ञप्तीमा टाँसिएकाे छ । विज्ञप्तीमा भनिएको छ ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ ।’ अखिल क्रान्तिकारी पिएनका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले हस्ताक्षर गरिएको विज्ञप्तीमा क्याम्पसमा प्रशासनमा दुई बुँदे माग राख्दै तालाबन्दी भएको हो । ‘त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुनः प्रकाशित गर्नुपर्ने’ विज्ञप्तीमा उल्लेख छ ।
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन् । संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले प्रचण्डले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरे पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् । नेपालले भने, ‘मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दा नेपाली कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवार बनाऔं । हामी सबैको सहयोगमा पौडेल जीलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हौं । उहाँलाई राष्ट्रपति उम्मेदवार बनाउन हाम्रो पनि भूमिका छ । ’
काठमाडौं : राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा आज अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ गरी कूल ४२१ मत खसेको हो। बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय संसद्तर्फ प्रतिनिधिसभाका २७२,राष्ट्रियसभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी कूल ८८१ मतदाताले सहभागी हुँदैछन्। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्। पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।
काठमाडौं: आगामी नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो कार्यकालका लागि संसदीय अभ्यासमा बौद्धिक र परिपक्क छवी बनाउनुभएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ । पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको हो ।
काठमाडौं: मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उहाँले बताउनुभयो । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजनाको कर्मचारीको टोली खटिनेछ । राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौं आइपुगिसक्नु भएको छ ।
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रहेको उहाँको भनाइ छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सफल कार्यकालको मूल्याङ्कन गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनु भएको उहाँले स्मरण गर्नुभयो । उहाँको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाका लागि गर्वको विषय भएको अध्यक्ष ओलीले बताउनुभयो । भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि भण्डारीजस्तो महिला नेतृले त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्र प्रमुखको हैसियतमा भूमिका निर्वाह गर्नुभयो ।” भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर त्यस्तो ठाउँमा पुग्नु संघर्ष र लगनीशलताको उपज भएको उहाँको भनाइ छ । अघिल्लो कार्यकालको उहाँको सफल र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि निर्वाचित गरिएको उहाँले स्मरण गर्नुभयो । मुलुकले उहाँजस्तो सक्षम महिला राष्ट्रपति पाउनु गौरवको विषय भएको उहाँले चर्चा गर्नुभयो । महिला आन्दोलनकै कारण नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले महिला अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास गर्न उहाँले सुझाव दिनुभयो ।
पोखरा: आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ । स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् । स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए । ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने । नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए । ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’

