दार्चुला: दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ । मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । पाँच जना सम्पर्कविहीन भएका थिए । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृत अवस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो । “शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ ।” उहाँले भन्नुभयो, “शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।” मङ्गलबार दिउँसोबाट सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । “हिजो पनि राति ९:३० बजेसम्म खोजीमा जुट्यौँ ” उहाँले भन्नुभयो, “ आज पनि बिहानबाट टोली खटिएको छ ।” उहाँका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।
बलेवा: कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा यहाँका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यही वैशाख १७ गते आइतबार विकलाई निज शिक्षकले कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ गते साँझ प्रहरीमा निवेदन दिएका थिए । पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवैपक्ष बीचमा छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए । कुटपिटबाट बालकको निधारमा गहिरो चोट लागेको छ । वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा उनको टाउँकोमा चोट लागेको पीडित पक्षको आरोप थियो । यस विषयमा मङ्गलबार दिउँसो बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो । शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । बालकलाई वैशाख १८ गते बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।
धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज दिउँसो १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेंशी नगरपालिका-६ र थाँक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको छ । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।
पोखरा । नेपाली राजनीतिक इतिहासमा १८ सालको भरतपुर काण्डलाई त्यति याद गरिएको पाइदैन । राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा सशक्त र सशस्त्र आन्दोलनको ज्वारभाटा फैलिएको थियो । कांग्रेसका प्रमुख नेतामध्ये केही जेलमा थिए भने केही निर्वासनमा भारत लागेका थिए । तिनै नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहालीकाखातिर भरतपुरमा विशाल प्रदर्शन भयो । प्रदर्शन दबाउन राजधानीबाट समेत सेना परिचालन गरिएको त्यस दमनमा कति मारिए लेखाजोखा नै छैन । सोही आन्दोलनको अग्रपंक्तिमा रहेर मृत्युवरण गर्नेमध्येका एक हुन्, हरिप्रसाद गुरुङ । उनै गुरुङको पूर्णकदको सालिक पोखराको सिम्पानीमा देख्न सकिन्छ । र, सालिक स्थापनापछि त्यस ठाउँले नयाँ नाम पायो, ‘हरिचोक ।’ नाम र चोक भएपनि को हुन् हरिप्रसाद गुरुङ ? उनकोबारेमा नयाँ त परै जाउन्, पुराना कांग्रेसलाई समेत उतिबिघ्न थाहा छैन । ……………………………………………………………………………………….. वि. सं. १९७३ वैसाख १२ गते कास्कीको ल्वाङघलेलमा जन्मिएका हुन् हरिप्रसाद गुरुङ । जिम्मुवाल परिवारका गुरुङलाई शिक्षा दिन घरमै मास्टरको व्यवस्था गरिएको थियो । शिक्षा र उमेर बढ्दै जाँदा उनको ठाटले पनि सोही रफ्तार लियो । तबेलामा बाँधिएको सेतो घोडा चढेर शानकासाथ गाउँ चाहार्नु र पोखरा झर्नु उनका लागि सामान्य थियो । मुलुकमा जहाँनिया राणा शासनका बेला उनमा भने विपरित सोंचले मनभित्र क्रान्ति गरिरहन्थ्यो । प्रजाप्ररिषदका गतिविधिलाई यदाकदा सुन्ने अवसर पाएका गुरुङ प्रजातान्त्रिक व्वस्थाको कल्पना गर्थे । जमिन्दार बाबुका छोरा भएपनि उनको शैली भिन्न थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । आफन्तका अनुसार उनी केही ‘रौसे’ र ‘टाठा’ थिए । त्यही टाठोपन, राजनीतिक प्रभाव र फरक जीवनशैलीबाट उनीप्रति परिवार केही सशंकित थिए । छोरा बिग्रेला भन्ने डरले बेचैन बाबु उनलाई कतै अल्झाउन चाहन्थे । यत्तिकैमा भारतीय सेनामा कार्यरत दाजु घर आएकाबेला हरिप्रसादलाई पनि भर्ती लगाउन भारत पुर्याइयो । यता, देसमा प्रजातन्त्र आइसकेको आफु भने भारतीय ब्यारेकमा बुट बजार्दै बस्नु परेको पीडाले उनलाई सताइरहन्थ्यो । भारतीय लाहुरे भएको ३ वर्षपछि छुट्टिमा आएका उनी पुनः ब्यारेक फर्केनन् । जमिन्दार परिवारका गुरुङलाई बुट बजारिहनु पर्ने समस्या पनि थिएन । त्यसपछि उनको पुरै परिवार भरतपुर बसाई सर्यो । यो समय थियो, ०१४ साल । प्रजातान्त्रिक व्यवस्था र आफुलाई मनपर्ने पार्टी नेपाली कांग्रेसको सरकार । गुरुङ पार्टीमा पूर्णरुपमा खटिने कार्यकर्ता पनि थिएनन् । उनको पुरै ध्यान भरतपुरलाई बस्ती हुँदै नगरमा परिणत गर्ने दैनिकीमै बित्थ्यो । जंगल फँडानी गरेर भरतपुरलाई नगरी बनाइरहँदा पार्टीभित्रको गुट उपगुटले कांग्रेस सरकारमा किचलो बढ्दै थियो । सम्भ्रान्त राणा र कोइराला खानदानको खिचातानीबीच राजा महेन्द्र सत्ताको च्याखे थापेर बसिरहेका थिए । दुई गुटको चेपुवामा उँभो लाग्न नसकिने सोंचमा थिए डा. तुलसी गिरी र विश्वबन्धु थापा । राजा महेन्द्रले दुबै असन्तुष्टलाई प्रभावमा पारी २०१७ पुस १ गतेविशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा रहेको मन्त्रीमण्डल खारेज गरी पञ्चायतको प्रादुर्भाव गरे । ०१५ सालदेखि सुरु भएको कांग्रेसको सत्ता कलहले अन्ततः व्यवस्था नै सुम्पनु परेको तीतो सत्य हो यो । राजा महेन्द्रले ‘कू’ पश्चात् डा. गिरीलाई मन्त्रीपरिषद् उपाध्यक्ष र थापालाई गृहमन्त्रीमा नियुक्त गरे । निर्दलीय व्यवस्थापछि भूमिगत भएका प्रमुख नेता, कार्यकर्ताको थातथलो उनै गिरी र थापालाई कण्ठस्थ थियो । फलस्वरुप, उनीहरु पक्राउ परे । केही भाग्न सफल भई भारततर्फ लागे । प्रजातन्त्रको उपभोग गरिसकेको नेपाली समाज राजतन्त्रविरुद्ध संगठित हुन थालिसकेको थियो । ०१८ को माघदेखिदेसैभर भएको विद्रोहको केन्द्रमा थियो भरतपुर । राजाको आदेशमा गृहमन्त्री थापा व्यापक धरपकड र दमनमा उत्रेका थिए । आन्दोलकारीहरुको मूख्य माग थियो, विपिलगायत नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहाली । प्रायः नेताहरु भारतको चम्पारणलाई मुकाम बनाएर बसेका थिए । यसकारण पनि भरतपुर आन्दोलनको केन्द्र बन्यो । आन्दोलन असफल भए वा धरपकड भए सीमा पार गरी ज्यान जोगाउन चम्पारण जिल्लाको नर्कटिया क्याम्प पुग्न सकिने कारण कांग्रेसको रोजाई भरतपुर थियो । आन्दोलनलाई गन्तव्यमा पुर्याउन भूमिगत शैलीमा करिब ८ महिना तयारी गरियो । भरतपुर, चितवनमा आन्दोलनलाई उँचााईमा पुर्याउन कमलकुमार राईको अध्यक्षतामा समिति गठन भयो । समितिको सचिवमा बुद्धसिंह रानामगर थिए । प्रचार र संगठनमन्त्रीको जिम्मा महेश्वरलाल श्रेष्ठले लिए । सदस्यमा हरिप्रसाद गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ र पद्यबहादुर बस्नेत चयन भए । चितवनको सरकारी क्वार्टरमा कसरी र कहिले आक्रमण गर्ने भन्ने जिम्मा योगप्रसाद उपाध्यायलाई दिइयो । आन्दोलनकारीहरुको तयारी जति तीव्र र चुस्त थियो, सरकारी तयारी झनै दूगुना भयो । यसको अर्काे कारण थियो, गृहमन्त्री थापा । उनी पहिले कांग्रेसमात्रै हैन चितवनबाटै निर्वाचित कांग्रेसी सभासदसमेत थिए । आन्दोलनकारीहरुले संघर्ष समिति गठन गर्दा यता सरकारले आन्दोलन दबाउन बडाहाकिम रामनारायण श्रेष्ठको संयोजकत्वमा जिल्ला न्यायधीश जनकमान श्रेष्ठ, सेनाका कमाण्डर भक्तनरसिंह राणा, मेजर मुहानसिंह महत र नारायणी अञ्चल एसपी जगतबहादुर सुब्बा सम्मिलित फोर्स गठन गर्यो । फोर्सको एउटै लक्ष्य थियो, कुनैपनि हालतमा आन्दोलन दबाएर छाड्नु ।सोही कारण राजधानीबाट समेत भरतपुरमा सेना परिचालन गरियो । पूर्वनिर्धारित कार्यक्रम अनुसार माघ १८ गते कांग्रेसले शक्ति प्रदर्शन गर्यो । तर, सेना र प्रहरीको संयुक्त फौज अगाडी आन्दोलनकारी ढल्दै गरे, पक्राउ परे । प्रतिरक्षाका लागि जुटाइएका केही हतियारसमेत आन्दोलनकारीले प्रयोग गर्न पाएनन् । सुरक्षाकर्मीहरु बर्बर ढंगले प्रस्तुत भएपछि प्रदर्शनकारी हताहत भए । सोही क्रममा गुरुङ मारिए । गुरुङसँगै अन्य कति मारिए हालसम्म संख्या यकिन हुन सकेको छैन । त्यस काण्डमा गुरुङलाई बाँधेर लगियो । त्यसपछि उनी सदाकालागि बेपत्ता भए । गुरुङलाई जिउँदै खाल्डामा पुरियो भन्ने हल्ला चलियो । केहीले गोली हानेर मारियो त कतिले खाल्डोमा हालेर गोली हाने, भने । तर उनीलगायत अन्य कसैको पनि शव पाइएन । गुरुङसँगै आन्दोलनमा रहेका महेश्वरलाल श्रेष्ठले बताए अनुसार उक्त काण्डमा २८ जना बेपत्ता बनाइए । केहीले २२ जना मारिएको बताइएका छन् । आन्दोलनमा सहभागीमध्ये कतिलाई त्यहाँबाट पाता कसेर कसैलाई रक्सौल, कसैलाई मेची बोर्डर पुर्याइएको थियो । केहीलाई रौतहटको जंगलतर्फ लगेको स्थानीयले देखेको बताएका थिए । ती मध्ये कसैलाई पुनः जीवित देखिएन । आन्दोलनमा सरिक लालध्वज गुरुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुद्धसिंह राना, खेमबहादुर गुरुङ र ट्रफि लामासमेत बेपत्ता पारिए । सोही दिन ११ जनालाई सेनाले एउटै डोरीले बाँधेर टिकौलीको जंगल लगेपछि उनीहरु पनि फेरि देखिएनन् । आन्दोलनको त्यस दिनको घटनाबारे महेश्वरलालले बेलाबेला उल्लेख गरेका वृत्तान्त हुन् । त्य समयका एकमात्र जीवित पात्र उनी हाल भरतपुरमा छन् । गुरुङको योगदान र गाथालाई बिर्सन नदिन ०५० मा स्थापित शहिद हरिप्रसाद गुरुङ प्रतिष्ठान पोखराले सक्दो मिहिनेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष रुद्रबहादुर गुरुङ भन्छन्, ‘उहाँ (हरिप्रसाद) मारिएपछि शहिद घोषणा गरियोस् भनेर हामिले तारान्तार सम्बन्धित निकायमा खबरदारी ग¥यौं, तर सुनुवाई भएन । कांग्रेसले लामो समय सरकार चलाउँदा पनि हाम्रो कुरा सुनिएन ।’ अझ, कांग्रेसलाई नै घटनाबारे पूर्ण जानकारी नभएको भन्दै उनले दुखेसो पोखेका थिए । अध्यक्ष रुद्रकाअनुसार हरिप्रसाद बेपत्ता बनाइएपछि उनको सम्पूर्ण सम्पत्तिसमेत सरकारले रोक्का गर्यो । ससुराली खलकको भरथेगले परिवारमा ठूलै समस्या भने हुन पाएन । जुन सम्पत्ति ०४६ सालपछि मात्रै फुकुवा गरिएको थियो । गुरुङ बेपत्ता पारिएपछि श्रीमती दोधाँरमा परिन् र हातमा रातो चुरा लगाइरहेका थिइन् । प्रजातन्त्रको पूनर्बहालिपछि नेता गणेशमान सिंहले उनी मारिइसकेको र काजकिरिया गरे हुन्छ भनेपछि अन्ततः ०४६ भदौमा विधिवत काजकिरिया गरिएको प्रतिष्ठानका सचिव टिकाबहादुर गुरुङले जनाए । त्यसबेला नेता सिंहले गुरुङ परिवारलाई किरिया खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराएका थिए । आन्दोलनमा आफन्त हरिप्रसाद गुरुङको काजकिरिया गरेपछि परिवार र आफन्तले उनलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै कास्की, भरतपुर काँग्रेस हुँदै केन्द्रमा ढोका ढक्ढक्याउन सुरु गर्यो । प्रतिष्ठानका पदाधिकारीहरुको झोलामा सरकार र पार्टीलाई बुझाउन ज्ञापनपत्रका प्रति भइरहन्थे । कांग्रेसका योद्धा भएकाकारण उनलाई शहिद घोषणा गरियोस् भन्ने माग जायज थियो । तर, सुनुवाई भइरहेको थिएन । सुनुवाई नभएपनि उनको शालिक स्थापना गर्न प्रतिष्ठानले हदैसम्म पहल ग¥यो । र, फलस्वरुप ०५० मंसिरमा पोखराको सिम्पानीचोकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गुरुङको अद्र्धकद शालिकको स्थापना गरी उक्त स्थानलाई हरिचोक नामाकरण गरे । पछि ०६५ मंसिरमा पूर्णकदको शालिक राखियो । उनको शालिक राख्न कास्की कांग्रेसका शुक्रराज शर्माको योगदान रहेको सचिव टिका बताउँछन् । शालिक राखियो, सिम्पानी चोकले नयाँ नाम पायो, तर उनलाई शहिद घोषणा नगरिएकोमा प्रतिष्ठानको लडाई निरन्तर थियो । त्यसपछिको समय विभिन्न तवर र शैलीमा मारिएका व्यक्तिहरुलाई राज्यले आफुखुशी शहिद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपुर्ति दिँदै गर्दा प्रतिष्ठानका पदाधिकारी बेचैन थिए । ज्ञापनपत्र बुझाउँदै, खबरदारी गर्दै विभिन्न निकायमा धाउँदा आश्वासनबाहेक केही पाएका थिएनन् । तरपनि उनीहरु थाकेनन् । यहि अनवरतको खटाइपछि गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ११ गते शहिदहरुको नामावली सार्वजनिक गर्ने क्रममा गुरुङको नाम पनि समावेश गरे । यसरी बेपत्ता पारिएको ५६ वर्षपछि उनी शहिदको लिष्टमा परे । घोषणासँगै प्रतिष्ठानले चैनको सास फेरेको अध्यक्ष रुद्र बताउँछन् । ‘२ दर्जन बढी मारिएको वा बेपत्ता भएको आन्दोलनमा हरिप्रसादमात्रै शहिद घोषणा भए नि ?’ सोधाइमा सचिव टिका भन्छन्, ‘हाम्रो उद्देश्य हरिप्रसादलाई मात्रै चर्चामा ल्याउने, शहिद घोषणा गर्ने थिएन, यकिन संख्या पत्ता लगाउन हामीले लामो समय भरतपुरमा सोधखोज गर्यौ, तर कोही भेटेनौं ।’ अन्य कोही नभेटेपछि हरिप्रसादलाई शहिद घोषणा गर्न प्रतिष्ठानले संघर्ष गरेको उनले सुनाए । प्रतिष्ठानको तयारी शहिद घोषणा गर्ने योजना सफल भएपछि अब शहिद गुरुङलाई चिनाउने योजनामा प्रतिष्ठान लागेको छ । उनका चिनो खोज्ने तयारीमा जुटिरहेको प्रतिष्ठान पोखराको पुरानो घर र भरतपुरमा केही भेटिन्छ कि भनेर खोज्दैछ । हालसम्म गुरुङले यौवनावस्थामा सेतो घोडा चढेकोबाहेक अन्य तस्बिर पाउन सकेको छैन । सोही तस्बिरको आधारमा उनको शालिक निर्माण गरिएको हो । प्रतिष्ठानले वैसाख १२ गते गुरुङको जन्म दिवस मनाउँदै आइरहेको छ । – व्यक्तिगत अर्काइभ
काठमाडौं: एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । गएको वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् । महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनामा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन् । इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्ति पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारको बेडरुमसम्म पनि धम्कीका सन्देश पुग्ने गरेका छन् । यस्ता धम्कीको आधिकारिक तथ्याङ्क नभए पनि पत्रकार महासङ्घका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्तासँको संवादको आधारमा यो सङ्ख्या सामान्यरूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने महासङ्घका महासचिव रोशन पुरीले जनाकारी दिनुभयो । महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पनि पत्रकारको पेसागत सुरक्षाको अभाव जनाउँदै सयौँ उजुरी आएका छन् । त्यसैगरी इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको महासङ्घको भनाइ छ । कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको महासचिव पुरीको भनाइ छ । महासङ्घका अध्यक्ष विपुल पोखरेलले भन्नुभयो, “मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको पनि आठ वर्ष भइसकेको छ तर, यतिका अवधि भइसक्दा पनि अझ पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण हुन सकिरहेका छैनन् ।”
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको उपचार खर्च स्वयं तिर्ने बताएका छन् । राष्ट्रपति कार्यालयले भर्खरै विज्ञप्तीमार्फत उक्त सूचना सार्वजनिक भएको हो । पौडेलको स्वकीय सचिवालयका प्रेस संयोजक खिला कार्कीको हस्ताक्षर रहेको विज्ञप्तीमा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरेको खर्च राष्ट्रपति पौडेलले नै व्यहोर्ने उल्लेख छ ।
काठमाडौं: सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो । मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ । कायरोस्थित नेपाली राजदूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा सुरक्षित तवरले सकुशल पुगेका छन् । यसअघि नै एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका सबै नेपालीहरुको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पोखरा: मानव जीवनमा अप्ठ्यारो, आपतकालीन, भयभित अवस्था सिर्जना भई धनजनको क्षति हुनु विपद्को समय हो । यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्का बेला सधैँ होसियारी सहित तयारी हुनुपर्छ । विपत्ति प्राकृतिक र मानविय दुई कारणबाट हुने गर्दछ । प्राकृतिक विपत्तिमा हुने बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपदमा आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ । मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा नेपाली सेनाले कृतिम घटनाको अभ्यास प्रदर्शन गरेका छन र नेपाली सेनाद्धारा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गलकोट नगरपालिका वडा नम्बर ७ मा सम्पन्न भएको छ । नेपाली सेनाको श्री मेहरगण घोडाबाँधे बागलुङको आयोजनामा ३ दिने समुदायमा विपद् प्रतिकार्य तथा कृत्रिम घटनाको अभ्यास कार्यक्रम सम्पन्न भएको हो । गलकोट नगरपालिका वडा नम्वर ७ दरमखोला स्थित भिमसेन ढुङ्गा परिसरमा बाढि पहिरो, खोलामा डुबान, बस्तीमा आगलागी लगायतका विषयमा कृत्रिम अभ्यास प्रदर्शनी गरेका थिए। प्रदर्शनी कार्यक्रममा कृत्रिम घटना अभ्यासका लागि एम्बुलेन्स, ड्रोन क्यामेरा, रबर बोट, मोटर वोट, लाइफ ज्याकेट, विभिन्न औजार तथा उपकरण सहित बन्दोबस्तीका सामग्रीहरु नेपाली सेनाले प्रयोग गरेका थिए । जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा, बिपत व्यवस्थापन सम्र्पक व्यक्तिहरूको सहभागितामा नेपाली सेनाको घोडाबाँधे स्थित श्री मेहरगणले उक्त प्रदर्शनी आज एक कार्यक्रमका बिच सम्पन्न गरेको नेपाली सेनाले जनाएका छन । कार्यक्रममा बोल्दै नेपाली सेना पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपक कुमार बानियाँले बागलुङ जिल्ला विपद्मा जोखिमयुक्त जिल्ला भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताएका छन् । बाँनियाले समाजमा हुने हरेक प्रकारका विपत्मा नेपाली सेना, नेपाल प्रहरी, सरकार, नागरिक र विपत्प्रतिकार्य तालिम प्राप्त नागरिकको सहकार्य हुनुपर्ने उल्लेख गरेका थिए भने सो अवसरमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, सहभागी प्रशिक्षार्थी नवराज पौडेलले मन्तव्य राखेका छन । वैशाख १५ र १६ गते नेपाली सेनाले जिल्लाका १० वटा स्थानीय तहका ३१ जना नागरिकलाई विपत्मा कसरी उद्दार गर्ने लगायतका विषयमा तालिम प्रदान गरेको थियो । त्यस्तै कार्यक्रम सफल पार्न सहयोग गर्ने जनप्रतिनिधी, संघसंस्था र व्यक्तिलाई सम्मान समेत गरेका थिए।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ । “राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।” स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवामा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री दाहालले गर्नुभएको छ । सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ । नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ । नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, “नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।” आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।

