म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

काठमाडौं:   वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथग्रहण गरेका छन् । चितवन-२ बाट निर्वाचित लामिछाने र तनहुँ-१ बाट निर्वाचित वाग्लेले आज (शुक्रबार) शपथग्रहण गरेका हुन् ।  निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराए । बारा-२ बाट निर्वाचित उपेन्द्र यादवको शपथग्रहण भने आज हुन सकेन । गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन ।

संघीय सरकारको ढुकुटी रित्तिदै गएपछि स्थानीय तह र प्रदेशमा पठाउनुपर्ने बजेटमा ५० प्रतिशत कटौती हुने भएको छ ।    सरकारले वैशाख २ गते पठाउनुपर्ने अन्तिम किस्ता (चौथो किस्ता) बापतको रकम ५० प्रतिशतसम्म कटौती गरेको छ । यो रकम वैशाख १५ गते भइसक्दा पनि हालसम्म पठाएको छैन । यो अनुदान कटौतीपछि प्रदेशमा ९ अर्ब ९३   करोड ६८ लाख रूपैयाँ र स्थानीय तहमा १३ अर्ब २० करोड १५ लाख रूपैयाँमात्र हस्तान्तरण हुने अर्थमन्त्रालयले जनाएको छ ।   अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार विभिन्न अनुदान प्रदेश तथा स्थानीयत तहमा हस्तान्तरण हुने व्यवस्था छ ।   सरकारले अहिले समानीकरण, समपुरक, विशेष र सशर्त गरी ४ किसिमको अनुदान दिँदै आएको छ । यो अनुदानको रकम वार्षिक बजेटमै व्यवस्था गरिदै आएको छ ।   यो वर्ष संघीय सरकारको राजस्व निकै प्रभावित बनेको छ । तर, अनिवार्य दायित्व भने निरन्तर बढ्दै जाँदा सरकारी कोषको घाटा फराकिलो हुँदैछ । 

काठमाडौं:   हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ ।   बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभाग केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्का(क्षणिक वर्षाको सम्भावना छ ।   शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।   देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन(चट्याङसहित हल्का(क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

काठमाडौं:    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ।  केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ।  केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५ हजार थान पुस्तक वितरण भएको छ। त्यस्तै बुटवल कार्यालयबाट १४ लाख २५ हजार, पोखरा कार्यालयबाट ११ लाख ७४ हजार पाँच सय, नेपालगञ्ज कार्यालयबाट १५ लाख ४४ हजार, सुर्खेत कार्यालयबाट आठ लाख १६ हजार चार सय, धनगढी कार्यालयबाट १८ लाख ९० हजार तथा भक्तपुरको सानोमिठीस्थित केन्द्रीय कार्यालयबाट १८ लाख ९६ हजार चार सय थान पाठ्यपुस्तक वितरण भएको छ।  बाँकी केही पाठ्यपुस्तक केन्द्रमै जगेडा राखिएको छ भने केही वितरणकै क्रममा छ। केन्द्रको क्षेत्रीय कार्यालयबाट वितरण भइरहेका पुस्तक सम्बन्धित जिल्लाका स्थानीय विक्रेतामार्फत विद्यालयमा पु(याउने काम भइरहेको छ।  यस वर्ष केन्द्र समयमै पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न सक्षम भएका कारण झन्डै एक दशकपछि सामुदायिक विद्यालयका विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका छन्। सरकारले वैशाख ३ गतेदेखि नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान पनि सुरु गरेको थियो। अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ।  मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय विक्रेता तोकेको छ। केन्द्रले पुस्तक विक्रेतालाई कमिसनबापत नौ प्रतिशत र ढुवानीका लागि पुस्तकको मूल्यको अधिकतम ६८ प्रतिशतसम्म रकम दिने गरेको छ। केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा समयमै कागज खरिद, कर्मचारीको सही परिचालन तथा केन्द्र परिसरमा रहेका सबै छपाइ मेसिनको प्रयोग गर्नु मुख्य उपलब्धि भएको बताउनुभयो। केन्द्रले गत वर्ष कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छापेको थियो। साथै त्यति बेला कागज खरिद प्रक्रिया लम्बिएका कारण पाठ्यपुस्तक छपाइमा समस्या हुने गरेको थियो। जसको असर विद्यार्थीको पढाइमा पुग्दथ्यो। यस पटक कागज खरिदमा सरकारले सहजीकरण गरिदिएको र जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको जिम्मा पनि कक्षा ६ देखि १० सम्मका लागि मात्रै दिएकाले सहज भएको केन्द्रले जनाएको छ।  “आउने दिनमा पनि यस्तै अवस्था रह्यो भने अहिले निजी मुद्रण संस्थालाई छाप्न दिएको पुस्तक पनि हामी नै छाप्छौँ। जसबाट केन्द्रको आम्दानी पनि वृद्धि हुनेछ,” केन्द्रका प्रबन्ध सञ्चालक झाले भन्नुभयो। उहाँले यस पटक पुस्तक छाप्ने कागज खरिदका लागि केन्द्रले विभिन्न बैङ्कबाट ८५ करोड रुपियाँ ऋण लिएको र उक्त ऋणमध्ये ४० करोडभन्दा बढी पाठ्यपुस्तक छापेर आएको आम्दानीबाट तिरिसकेको जानकारी दिनुभयो।  कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी मुद्रण संस्थाले पनि सम्पूर्ण पुस्तक छापेर वितरण गरिसकिएको जनाएको छ। यी पाठ्यपुस्तक छपाइका लागि १३ वटा मुद्रण संस्था छानिएका छन्।  

काठमाडौं:   सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेछ भने प्रतिनिधि सभा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने छ । त्यस्तै, बैठकमा मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भई सूचना गर्नुभएको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । यसैगरी, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अध्यागमन विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यस्तै, प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहनुहुने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नुहुने कार्यसूची रहेको छ । ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावली सहितको प्रस्ताव पेस गर्नुहुने, उक्त प्रस्तावको रघुजी पन्तले समर्थन गर्नुहुने । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो ।  २२ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले स्थापना काल देखिको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने बताईन् । निर्देशक डा.माया लामाले स्रोता शुभेच्छुकहरुको साथ र सहयोगका कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताईन् । निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती सँगसँगै नयाँ सम्भावनाको खोजी गर्ने बताए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी ,अन्नपूर्णकर्मी बासुदेव मिश्र, कन्जन थापा र नारायण पौडेलले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए । रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट संबाददाता सबिन रेग्मी सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरेको छ । त्यस्तै रेडियोकर्मी आरजु बिष्ट सल्यानी र कृष्ण सुबेदी लाई बिभिन्न कार्यक्रमको संयोजक बाट सम्मान गरेको छ ।   शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्ण अन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।    

काठमाडौं:    ‘महिला तथा बौद्धिक सम्पत्ति स् नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ ।      विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ । नेपाल विपोको सदस्य राष्ट्र हो ।      विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबद्र्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति रहेको छ । विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । दिवसको अवसरमा  आज विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् ।  

काठमाडौं:   सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७९८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो ।       विमान चालक ९पाइलट०ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो । त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए ।   फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौँ विमानस्थलको टावरलाई  जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए  । उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए ।  विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । जहाजले सामान्य रुपमा उडान भरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा  सकुशल अवतरण ग¥यो । फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए ।   यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ ।  फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् ।  जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् । तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विष्फोट भएको दाबी गरेको छ । यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो । विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।”      नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ ।  “जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उहाँले भन्नुभयो, “जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।”           निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ ।       इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउको उल्लेख गर्नुभयो ।       उहाँका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउनसक्छ । “सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ”, श्रेष्ठले भन्नुभयो । जहाज उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ । यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उहाँको भनाइ छ ।      हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ ।       उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ । यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ ।  पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ ।   आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इण्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ । सोमबारको घटनामा जहाजको सबै इण्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उहाँले बताउनुभयो ।        नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ । उहाँले जहाजमा चरा ठोक्किँएको अहिलेसम्म पुष्टि नभएको बताउनुभयो । “नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालको तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला सहजीकरणका लागि प्राधिकरण तयार छ”, प्रवक्ता निरौलाले भन्नुभयो ।       उहाँले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गर्नुभयो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।        दमकलसहित सवारी साधान, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाइएको थियो । जहाजका सम्बन्धमा नेपालको एटिसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । आगो लागेपछि जहाजको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिनुभयो । विमानस्थलको टावरका एटिसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ । रासस

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो । घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद् सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा। ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद् सचिवालयमा दिएकाले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको ब्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’’ श्रेष्ठ रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।