काठमाडौं: भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले मंगलबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘एन्टिबायोटिकको उपयोगका कारण उहाँमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको सूचना साथमा रहेका परिवारका सदस्यहरुबाट अवगत हुन आएको व्यहोरासमेत जानकारी गराइन्छ।’’ उहाँको एक सातादेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँसँग सम्बन्धित केही परीक्षण भइसकेको र केही परीक्षण भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पोखरा: पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ । दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र केशव पाठकलाई पुरस्कृत गर्न लागेको हो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गर्दै छ । प्रेस चौतारी कास्कीले बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई यो वर्षबाट पुनः निरन्तरता दिएको अध्यक्ष अर्जुन गिरीले बताए । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने श्याम कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हुन् । हाल उनी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष छन् । २०७६ बाट पुरस्कृत हुने रामकृष्ण ज्ञवाली र २०७७ बाट पुरस्कृत हुने दीपेन्द्र श्रेष्ठ चौतारीका अग्रज नेता हुन् । यस्तै, २०७८ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने केशव पाठक प्रेस चौतारी कास्कीका सल्लाहकार हुन् । २०७९ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने सुष्मा पौडेल चौतारीका केन्द्रीय सचिव र गण्डकी प्रदेश ईञ्चार्ज हुन् । प्रेस चौतारी नेपालका ईञ्चार्ज एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आगामी विहीबार एक कार्यक्रम आयोजना गरी पुरस्कार एवं सम्मान अर्पण गरिने अध्यक्ष गिरीले जनाए । कार्यक्रममा एमाले सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्याललगायतका नेताहरु विशेष आतिथ्यता रहनेछ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरु पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । सहसंयोजक सहसचिव माधव भुसाल र सदस्यहरु अनुप पौडेल, अनिता घिमिरे र सन्दीप खनाल छन् । कोषाध्यक्ष गिरीधारी पोखरेल संयोजक र राजु गिरी सहसंयोजक रहेको मञ्च व्यवस्थापन समितिमा निरज बसौला क्षेत्री र दीपक अधिकारी सदस्य छन् । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन र भोजन व्यवस्थापन समिति बनाइएको छ । सहसंयोजकमा उपाध्यक्ष तारा पौडेल र सदस्यहरु ऋषिराम दाहाल र अमृतकुमार भट्टराई छन् । सहसचिव उमा आलेमगरको संयोजकत्वमा गठन गरिएको अतिथि सत्कार समितिमा सहसंयोजक दीपा पौडेल र सदस्यहरु सुरक्षा श्रेष्ठ र विनिता सुनार रहेका छन् । सहभागी व्यवस्थापन समितिको संयोजकमा तारा पौडेल संयोजक छन् । कार्यसमितिका सबै सदस्यहरु यसका सदस्य छन् । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको प्रेस चौतारी कास्कीले जनाएको छ ।
पर्यटनमन्त्री सुदन किराँतीले हिजो राती काठमाण्डौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएर आगो लागेको भन्ने समाचार खण्डन गरेका छन् । मन्त्री किराँतीले भर्खरै सामाजिक सञ्जालमा लेखेका छन् ‘जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’ हिजो उक्त जहाजबारे विभिन्न खबर फैलिएपछि पनि किराँतीले जहाज सुरक्षित रहेको र दुबई जाँदै गरेको आधिकारिक सूचना दिएका थिए । आज उनले लेखेका छन् ‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । 'कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’
पोखरा: जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका काममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण कार्य गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोलि अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरि सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रशर उधोग सहित ,निर्माण सामाग्रीको गुणस्तर ,मापदण्ड सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो। अनुगमनमा जिल्ला समन्वय समिति कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर भण्डारी तथा प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको थियो।
काठमाडौं: सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणको लागि पहलकदमी लिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताउनुभयो । मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको हो । “दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ”, उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छौ, तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।” नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । मन्त्री ज्वालाले नेपाली उत्पादनलाई प्रोत्साहन र सहजीकरण गरिने उल्लेख गर्नुभयो । कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभागको कार्यविधि निर्देशिका संशोधन हुनेभएको छ । यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सवारीसाधनको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुनसकेका थिएनन् । प्रज्ञापनपत्रको सट्टा कर विजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छन् भन्ने आङ्कलन गरिएको छैन । वि.सं २०५४ मा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले यात्रीलगायत स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने गरी दर्ता प्रक्रियालाई सहज बनाउन आवश्यक कानुनी उल्झन सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली उत्पादनका सवारीसाधन कम खर्चमा उपभोक्ताको पहुँच तथा सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यात्रीको दर्ताका लागि तत्काल कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको र कम्पनीको उत्पादन सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिनुभयो । रासस
पोखरा: मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्षमा रामजी प्रसाद अधिकारी निर्वाचित भएका छन् । पोखरामा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्यिय कमिटिको घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित अधिकारी सहारा क्लव पोखराका महासचिव समेत हुन् । उनी लामो समय देखि खेलकुद लगायत सामाजिक क्षेत्रमा कृयाशिल छन् । त्यसै गरी कमिटिको उपाध्यक्षमा बलराम तिमिल्सिना, सचिवमा दिपक आर्चाय, सहसचिवमा शेरकाजी गुरुङ, कोषाध्यक्षमा विजय भुजेल र कार्यसमितिको सदस्यमा कन्चन थापा गणेश भण्डारी, हरि जि.सी, बुद्घि खनाल, जितु शाही, लेखनाथ लम्साल, टंक पौडेल, बुद्घ सिंह, रमेश भण्डारी, प्रविण रानाभाट, प्रेम बहादुर भुजेल, बेल बहादुर गुरुङ, सुन्दर श्रेष्ठ, कुशल राना, फणिन्द्र तिमिल्सिना, विशाल खड्का र महेन्द्र अधिकारी रहेका छन् । भेलाले माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा अनिल गुरुङसहित ११ सदस्यिय कमिटि र रुपा गाउँ पालिकाका् अध्यक्षमा सुन्दर श्रेष्ठसहित ९ सदस्यिय कमिटको घोषणा गरेको छ । भेलालालाई सम्वोधन गर्दै एकेडेमीका अध्यक्ष धु्रव आचार्यले नेपाली खेलकुदको जगलाई बलियो बनाउने काममा एकेडेमी अघि बढेको बताए । जननेता मदन भण्डारीको विचारले नै खेलकुदलाई अग्रगति दिने बताउँदै उनले भने–“एकेडेमी मदन भण्डारीको विचारमा उभिएको छ । यो उहाँको विचार र अभियान संग जोडिएको मात्रै छैन हजारौं खेलाडी र खेलप्रेमीहरुको भावना संग समेत यसको सामिप्यता छ ।” खेलाडीहरुको सम्वन्धमा एकेडेमी गम्भिर रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले खेलाडीको खेल जिवन पश्चात जिवन निर्वाहका लागि रोजगार संग जोड्न एकेडेमीले आफ्ना कार्यक्रमहरु अघि सार्ने बताउँदै उनले खेलकुद मनोरन्जनका लागि मात्रै नभई रोजगार, समृद्धि र पर्यटनसमेत जोडिएको बताए । लुम्विनीमा सम्पन्न दोश्रो राष्ट्रिय भेलामा ६७ जिल्लाबाट प्रतिनिधित्व रहेको जनाउँदै अध्यक्ष आचार्यले खेलकुदलाई अग्रगति दिन संगठनको विस्तारलाई समेत तिव्रता दिएको बताए । उनले हालै एकेडेमीले प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्ने गरी घोषणा गरेको बताउँदै आगामी असारमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने गरी तयारी सुरु गरिने बताए । पोखरामा यहि बैशाख २३ गते बाट सुरु हुने केपी ओली कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिता भव्य बनाउन उनले पोखरेलीहरुलाई साथ दिन आग्रह समेत गरे । कार्यक्रममा आफ्ना भनाई राख्दै कास्की क्षेत्र नं ३ का संघिय सांसद दामोदर बैरागी पौडेलले एकेडेमी खेलकुद विकासका लागि महत्वपूर्ण संस्था रहेको जनाउँदै एकेडेमीका कृयाकलापमा आफ्नो साथ रहने बताए । एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज तथा उपाध्यक्ष राजेश कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश पूर्व सांसद एवं एकेडेमीका सल्लाहकार मोहन रेग्मी, एकेडेमीका उपाध्यक्षद्वय तेज विक्रम बस्नेत, तुल्सी मैनाली र केन्द्रिय सचिवालय सदस्य कृष्ण तिमिल्सिना, नवनिर्वाचित कास्कीका अध्यक्ष रामजी प्रसाद अधिकारीलगायतले आफ्ना भनाई राखेका थिए ।
चितवन: चितवन-२ उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत पाएका छन्। उनलाई पछ्याउँदै रास्वापाका रवि लामिछानेले ३१९ मत ल्याएका छन्। कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्। अहिले इच्छाकामना गाउँपालिका-१ र ३ को मत गणना चलिरहेको छ।
चितवन: चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सुरु गरिएको हो । चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत उम्मेदवार छन् ।
बारा: बारामा मतगणना सुरु भएको छ । हिजो (आइतबार) भएको उपनिर्वाचनको मतगणना सोमबार मध्याह्न १२:४५ बाट सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार सर्वदलीय बैठकपछि दलहरुकै सहमतिमा मतगणना सुरु गरिएको हो । यस क्षेत्रमा जसपाबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र प्रसाद कुशवाहा, एमालेबाट पुरुषोत्तम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आम जनता पार्टीबाट अरुण ज्ञवालीसहित ३४ उम्मेदवार चुनावी मैदानमा छन् ।

