लमजुङ: डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “ सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ ।” सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रूपमा रोक लगाइएको उहाँको भनाइ छ । यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रूपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरू यात्रा गर्न बाध्य हुँदै आएको थियो । उदीपुरमा पहिराले सडक भत्किएसँगै विसं २०७८ भदौदेखि नै यात्रुहरूले सास्ती भोक्दै आएका छन् । सोही पहिराका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो । त्यस्तै, यस सडक खण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोन्नति गरेको छ । सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको रु १० लाखमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
तनहुँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गरेको गाडी तोडफोड भएको छ । दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको वायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ । उक्त गाडी अहिले प्रहरीको जिम्मा लगाइएको वाग्लेका सहयोगी ई. श्रीराम न्यौपानेले बताए । प्रहरीले गएराति अज्ञात समूहले गाडीको सिसा फुटाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
गुल्मी: गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका दिपक मुखियाको पाल्पामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । आगो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कुँवरलाई थप उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । धुर्कोट गाउँपालिका वडानम्बर-३ हाडहाडे बर्दवास जंगलमा बिहिवार देखि लागेको आगो निभाउन गएका बेला शरिरको बाहिरि भाग पुरै जलेको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो निभाउन प्रहरी स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा आउन सकेको छैन् । बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाकोघर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । आगलागिबाट इस्मा गाउँपालिका वडानम्बर ५ वस्ने रुद्रबहादुर कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको ३ तले कच्ची घर र ढुङ्गा माटोले बनेको खरको छानो भएको १ तले कच्ची कटेरो जलेर पुर्ण रुपमा नष्ट भएको छ । गोठमा बाँधेको छवटा माउँ बाख्रा पनि जलेर मरेको प्रहरीले जनाएको छ । त्यस्तै शिबलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्चि घर, ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । गर्मीयाम सुरुभएसँगै आगलागिका घटनाहरु दैनिकजसो वढदै गएका छन् । जिल्लाका आधा दर्जन बढी स्थानमा आगलागीका घटना भइरहेका छन् । त्यस स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधिहरु खटिएर नियन्त्रणमा लिने काम गरिरहेका छन् ।
काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव आठ डिग्री तथा अधिकमत तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस छ ।
काठमाडौं: आज रातीदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएकाे हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारवाही हुनेछ । आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।
काठमाडौं: वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन । उहाँले यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने बताउनुभयो । यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उहाँको भनाइ छ । आज लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ ।
काठमाडौं: भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।
हेटौँडा: कवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बुधबार बिहान घरबाट करिब दुई सय मिटर पर रहेको चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमण परी घाइते हुनेमा हेटौँडा १५ का वर्ष १७ का सुमन घलान र वर्ष ६५ का कृष्णबहादुर थिङ रहनुभएको हो । घलानको दाहिने कुम, ढाडको बायाँ साइड र छातीमा टोकेको र अवस्था मध्यम रहेको छ । यस्तै, थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर छ । दुवै जनाको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा सेवा अवरुद्ध हुने भएको हो । विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गरिने भएकाले सेवा अवरुद्ध हुने महाप्रबन्धक तिवारीले सूचना जारी गरेर जनाएका छन् । उक्त समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

